‘भारतले नेपालमा जे गल्ती गरेको थियो, चीनले त्यही गल्ती गरिरहेको छ’

भाद्र २९, २०८१

कान्तिपुर संवाददाता

”What India did in Nepal, China is doing the same mistake”

एकैसाथ दुई पुस्तक लिएर आएका छन् लेखक तथा पत्रकार सुधीर शर्मा । इतिहासदेखि सन् २००८ सम्मको नेपाल र चीनबीचको सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धका आधारमा ‘भिक्षु, व्यापार र विद्रोह’ किताब लेखका छन् । त्यस्तै नेपालमा गणतन्त्र स्थापनापछिको सम्बन्धका आयाममा ‘हिमालपारिको हुरी’ लेखका छन् ।

हिमालपारिको हुरीले विश्व व्यवस्थामा चीनको महत्त्वाकांक्षा र प्रभावका पृष्ठभूमिमा नेपालसँगको सम्बन्धलाई विवेचना गरेको छ । किताब विमोचनको पूर्वसन्ध्यामा कान्तिपुरका उमेश चौहानकिशोर दहालले शर्मासँग संवाद गरेका छन्– 

तपाईं एकैपटक ‘ट्वीन्स बुक’ लिएर आउनुभएको छ । दुवै किताबका शीर्षकले उत्तरी भूगोलको सन्दर्भ प्रस्तुत गर्छन् । पहिलो किताबको शीर्षक नै छ– भिक्षु, व्यापार र विद्रोह । भिक्षुले सांस्कृतिक, व्यापारले आर्थिक र विद्रोहले राजनीतिक सम्बन्धको प्रतिनिधिवत्व गर्छन् । भिक्षु, व्यापारी र विद्रोहीका रूपमा तपाईंका किताबका पात्रहरूको चरित्र र भूमिका कस्तो छ ? 

मैले अघिल्ला किताब ‘प्रयोगशाला’ र ‘नेक्सस’ सशस्त्र द्वन्द्वको पृष्ठभूमिमार्फत आन्तरिक राजनीतिलाई लेखेको थिएँ । त्यसमार्फत भारततर्फको सम्बन्धलाई हेर्न खोजेको थिएँ । तर यी नयाँ किताबमार्फत चीन र तत्कालीन स्वायत्त राज्य तिब्बतसँगको सम्बन्धलाई हेर्न खोजेको छु । तर किताबमा ठाउँठाउँमा भारत र अमेरिका पनि आउँछन् । दुईमध्ये पहिलो किताब (भिक्षु, व्यापार र विद्रोह) ले इतिहासलाई हेर्छ । सातौं शताब्दीदेखि सन् २००८ सम्मको अवधि त्यसमा छ । दोस्रो किताब (हिमालपारिको हुरी) मा सन् २००८ पछिको अवधिलाई हेरेको छु । त्यसयता कस्ता उचारचढाव आए, चीनको संलग्नता कस्तो रह्यो भनेर केलाउने प्रयास गरेको छु ।

 ‘भिक्षु, व्यापार र विद्रोह’ लाई मैले प्रतीकात्मक रूपले प्रयोग गरेको हुँ । भिक्षुको कुरा गरौं, ‘बुद्धिजम’ भित्रको वज्रयान भन्ने धार यहीँ विकसित भएको थियो । त्यो सातौं/आठौं शताब्दीमा ‘सफ्टपावर’ का रूपमा तिब्बतमा निर्यात भएको थियो । जुनबेला उत्तर भारतमा नालन्दा, विक्रमशीला जस्ता ठूल्ठूला विहारहरू थिए, काठमाडौंका विहारहरूसँग गतिशील सम्बन्ध थियो । त्यो सम्बन्धले तिब्बतमा विहार तथा ज्ञानकेन्द्रहरू बनाउन भूमिका खेलेको थियो । हुन त काठमाडौंमा अहिले पनि सयौं विहार छन् । तर पहिले जस्तो ज्ञानको केन्द्रका रूपमा छैनन् । त्यतिबेला तिनीहरू ध्यानको केन्द्रका अतिरिक्त ज्ञानको केन्द्र पनि थिए । त्यहाँ गणित, ज्योतिष, खगोलशास्त्र, औषधि विज्ञान पनि पढाइन्थ्यो । औषधि विज्ञानमा त हरेक रोगका छुट्टाछुट्टै किताब पनि थिए । त्यतिसम्म अध्ययन हुन्थ्यो । इतिहासमै उत्तर भारत, नेपालको काठमाडौं र तिब्बत हुँदै प्रकारान्तरले चीनसम्मै ज्ञानको सम्बन्ध/सम्पर्क देखिन्छ । आधुनिककालसम्मै भिक्षुहरूको भूमिका जोडिएको विषयलाई मैले खोजेको छु । अर्कोतर्फ, तिब्बतसँगको व्यापारमा हाम्रो एकाधिकार थियो । यसका लागि केही जीवित पात्रहरूसँग पनि कुराकानी गरेको छु । दलाई लामा पोतला दरबारमा बस्दा सँगसँगै खादा ओढेर संवाद गरेका पञ्चवीर सिंह तुलाधर काठमाडौंमै हुनुहुन्छ । उहाँलाई पनि मैले किताबको एउटा पात्र बनाएको छु । त्यस्तै, सन् १९५९ मा चीनले तिब्बतमाथि नियन्त्रण गर्ने बेला राति भएको भीडन्तको प्रत्यक्षदर्शी प्रज्ञारत्न तुलाधरसँग पनि कुरा गरेको छु ।

”What India did in Nepal, China is doing the same mistake”

अर्को विषय विद्रोह छ । चीनमा कम्युनिस्ट शासन व्यवस्था आएपछि कम्युनिस्ट पार्टी, कम्युनिस्ट राजनीति र विद्रोहको राजनीति नेपालमा कसरी प्रवेश गर्‍यो ? त्यसमा बुद्धिजम र ल्हासाको व्यापार कसरी जोडिएका थिए भन्नेमा नयाँ दृष्टि किताबमा आउँछन् । नेपालको कम्युनिस्ट पार्टी कलकत्तामा स्थापना भए पनि त्यसको विचारधारात्मक धार हिमालपारिबाट आएको थियो । २००७ साललगत्तै डा. केआई सिंह तथा गौरीभक्त प्रधानहरूले यहाँ विद्रोह गरेर चीन जाँदा त्यहाँको कम्युनिस्ट पार्टीले शरण दिनुको अन्तरकथालाई अहिले आएका नयाँ तथ्यका आधारमा केलाएको छु । खम्पा विद्रोहका विषय पनि उल्लेख छन् ।

खासगरी औद्योगिक क्रान्तिअगाडिसम्म संसारको दुई तिहाइ जीडीपी एसियामा थियो, अझ ५० प्रतिशत चीन र भारतमा थियो भनिन्छ । समग्रमा यो क्षेत्र समृद्ध थियो भने त्यसबाट नेपालले कति फाइदा पाएको थियो ? नेपाल आफैं कति समृद्ध थियो ? तपाईंको अध्ययनले के भन्छ ?

अहिलेको नजरियाबाट हेर्दा त्यतिबेलाको काठमाडौंको समृद्धि मेल खाँदैन । तर तत्कालीन सापेक्षतामा हेर्दा भने काठमाडौं विकसित थियो । त्यसको कारण पनि थियो । किनभने, तिब्बतको व्यापारमा नेपालीको एकाधिकार थियो, खासगरी नेवा साहुहरूको । भोटको राजनीतिक, कूटनीतिक र सैन्य विशेषाधिकार तथा मुद्रा छाप्ने अधिकार पनि काठमाडौंले पाएको थियो । त्यहाँको सुन व्यापारमा पनि एकाधिकार थियो । कृषि उत्पादन राम्रो हुने तर जनसंख्या कम भएकाले पर्याप्त थियो । अतिरिक्त आय भएकैले यहाँ कला, संस्कृति, ज्ञान विकास हुने आधार तयार भएको थियो । तपाईंले भनेजस्तै चीन र भारत पहिलो र दोस्रो अर्थतन्त्रका रूपमा थिए । उनीहरूको मध्यस्थ व्यापार केन्द्र भएर काठमाडौंले लाभ उठाउन सकेको थियो । त्यतिबेला काठमाडौं विश्वव्यापी सहर जस्तो भएको थियो । मल्लकालको उत्तरार्द्धतिर यहाँ आर्मिनियन, कश्मीरी, इराकी, अफगानी तथा पर्सियनहरू काठमाडौं आएर व्यापार गर्थे । युरोपियनहरू भारतबाट काठमाडौं हुँदै तिब्बत पुग्थे । हिमाली भेगकै समृद्ध सहरका रूपमा काठमाडौं विकसित भएको थियो ।

भोटसँगको राजनीतिक सम्बन्धमा अधिकांश समय नेपाल हाबी रहेको वा कम्तीमा सन्तुलन कायम भएको देखिन्छ । वेत्रावती सन्धिदेखि थापाथली सन्धिसम्म आउँदा नेपालले भोटलाई सन्तुलनमा राख्न सकेको थियो । चीन तिब्बतमा आएपछि नेपालले त्यो सन्तुलन गुमाएको हो ? चीनको शक्ति त एउटा कारण होला, नेपालको आफ्नै कमजोरीको पक्ष के होला ? 

भारत र चीन पहिलो र दोस्रो अर्थतन्त्रका रूपमा हुँदाखेरि तुलनात्मक रूपमा काठमाडौंमा पनि समृद्धि थियो । त्यतिबेला व्यापारको केन्द्र भएर काठमाडौंले फाइदा लिएको थियो । अहिले पनि ऐतिहासिक सम्पदा भनेर काठमाडौंमा देखिने दरबार, मठमन्दिर र मूर्तिहरू त्यतिबेला नै निर्माण गरिएका हुन् । वज्रयानको अतिरिक्त सफ्टपावरका रूपमा कलाकारहरू जन्माउन र एक्पोर्ट गर्न सकेका थियौं । अरनिकोका अतिरिक्त अन्य धेरै कलाकारहरूले तिब्बत र चीनका धरोहरहरू बनाएका थिए । यसरी तिब्बत स्वायत्त छँदासम्म ल्हासा र काठमाडौंबीचको सम्बन्ध निकै ‘भाइब्रेन्ट’ देखिन्छ । कम्युनिस्ट चीनले तिब्बत लिइसकेपछि जनस्तरीय सम्बन्ध खुम्चियो । त्यसअघिसम्म तिब्बतसँग रहेको नेपाली एकाधिकार गुम्यो । हामीले तिब्बतलाई स्वतन्त्र र स्वायत्त देशका रूपमा मान्यता दिएका भए पनि चीनसँग दौत्य सम्बन्ध कायम गर्दा छाडेका थियौं । खासगरी राजा महेन्द्रको पालादेखि जनस्तरीय सम्बन्ध ओझेलमा पर्‍यो, राज्यराज्यबीचको सम्बन्ध केन्द्रमा आयो ।

”What India did in Nepal, China is doing the same mistake”

राजा महेन्द्रकै कुरा गरौं, चीन र भारतसँगको कूटनीतिलाई उनले सन्तुलनमा राखेका थिए, अझ अमेरिकालाई पनि ‘इंगेज’ गर्न सफल भए भन्ने छ । भारत र पश्चिमासँग मिलेर पूर्वपश्चिम राजमार्ग र चीनसँग मिलेर कोदारी राजमार्ग पनि बनाए ।  राजा महेन्द्रलाई तपाईंको पुस्तकले कसरी मूल्यांकन गर्छ ?

मलाई राजा महेन्द्र एकदमै ‘एक्सन ओरियन्टेड’ नेता जस्तो लाग्छ । त्यसैले पनि ‘टेक ओभर’ गर्नतिर लागे । २००७ पछि नेपालमा भारतको दबदबा थियो । त्यसबाट मुलुकलाई बाहिर निकाल्नुपर्छ भन्ने उनको कोसिस युवराज छँदैदेखि थियो । छुट्टै पहिचान बनाएनौं भने नेपालको स्वतन्त्र अस्तित्व रहँदैन भन्ने उनको बुझाइ देखिन्छ । त्यही बुझाइको मातहतमा रहेर चीनसँग सम्बन्ध विस्तारका लागि प्रयत्न गरेका थिए । राजा भएपछि त सुरु नै गरे । २०१७ सालमा सत्ता लिएपछि चीनसँग कोदारी राजमार्ग पनि खोले । भारतको विरोध भए पनि उत्तरतिर ‘एक्सेस’ खोल्यो भने दक्षिणतिर पनि सन्तुलन हुन्छ भन्ने उनको बुझाइ थियो । केही हदसम्म त्यो सही पनि थियो । तर त्यस सँगसँगै सगरमाथालाई आधाआधा मान्ने तथा कालापानीमा भएको त्रिदेशीय बिन्दुलाई खुला राखेर चीनसँग सीमा सम्झौता गर्ने जस्ता ‘कम्प्रोमाइज’ पनि उनले नै गरेको देखिन्छ । 

उनले चीनसँगको सम्बन्धलाई एक सीमाभन्दा अगाडि बढ्न दिएनन् । महेन्द्रले चीनसँग कहिल्यै पनि सैन्य सम्झौता गरेनन् । हातहतियार लिएनन् । आफ्नो शासनसत्ता र पञ्चायतलाई सहयोग दिलाउन राजनीतिक हतियारका रूपमा चीनसँगको सम्बन्धलाई लिने तर धेरै अगाडि नबढ्ने उनको नीति देखिन्थ्यो । चीनलाई देखाएर भारतसँगको सम्बन्ध सुधार गरे । खासगरी सन् १९६२ को युद्धपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू स्वास्थ्यका हिसाबले पनि कमजोर अवस्थामा थिए । जीवनको उत्तरार्द्धमा पनि पुगेका थिए । यही बेला चीनसँग विकास भएको सम्बन्धलाई देखाएर महेन्द्रले दिल्लीसँग सम्बन्ध बढाए । त्यसपछि नै दिल्लीले महेन्द्र र उनको पञ्चायती व्यवस्थालाई सहयोग गरेको थियो ।

महेन्द्रले अमेरिकासँग पनि नजिकको सम्बन्ध राखे । इतिहास र अहिले ‘डिक्लासिफाइड’ गरिएका दस्ताबेज हेर्दा थाहा पाइन्छ, ‘अमेरिकी सहयोग नियोग’ को सहयोगमा ‘पञ्चायत डेभलपमेन्ट प्रोजेक्ट’ चलाइएको थियो । पञ्चायत मिनिस्ट्री नै अमेरिकी सहयोगमा स्थापना भएको थियो । पञ्चायत प्रशिक्षण केन्द्र नै अमेरिकी एक्पर्टहरूले स्थापित गरेका थिए । ‘फोर्ड फाउन्डेसन’ को ठूलो संलग्नता थियो । पञ्चायती व्यवस्थालाई ‘फलाउने र फुलाउने’ काम अमेरिकीहरूले गरेका थिए । अमेरिकाको दुई पटक ‘स्टेट भिजिट’ गर्ने नेपालमा एक मात्र राष्ट्राध्यक्ष पनि महेन्द्र नै हुन् । मैले किताबमा चीनका पुराना राजदूत याङ कोङ्सुको संस्मरणलाई ‘कोट’ गरेको छु । उनले लेखेका छन्– ‘महेन्द्र यति चलाख थिए कि, उनले हामीसँग राम्रो सम्बन्ध राखे । हामीलाई देखाएर भारतसँग पनि राम्रो सम्बन्ध राखे । हामी दुवैलाई देखाएर अमेरिकासँग पनि नजिकको सम्बन्ध राखे । तर त्यति गर्दा पनि चीनसँग ‘होस्टायल’ चाहिँ भएनन् ।’

”What India did in Nepal, China is doing the same mistake”

यसरी चिनियाँ पक्षले महेन्द्रलाई उदारपूर्वक नै हेरेको पाइन्छ । उनी यस्तो राजा हुन्, जसले चीनविरोधी खम्पा विद्रोहीलाई पनि नेपालमा बस्न दिए तर पनि चीनसँगको सम्बन्ध बिग्रिन दिएनन् । उनले खम्पालाई यहाँ बस्न दिने ‘डिल’ मा टेकेर अमेरिकासँग सम्झौता गरेका थिए । एकातर्फ खम्पालाई यहाँ बस्न दिने र अर्कोतर्फ पञ्चायतलाई अमेरिकाले सहयोग गर्ने कुरामा दुई पक्षबीच ‘एक्सचेन्ज’ भएको थियो । वीरेन्द्रको पालामा त्यसलाई ‘ब्रेक’ गरियो ।

तर, नेपालको उत्तर–पश्चिम सिमाना कालापानी क्षेत्रमा भारतको सैन्य चेकपोस्ट रहिरहने स्थिति पनि महेन्द्रकै पालामा बन्यो, होइन ?

हो, कालापानी, लिपुलेक क्षेत्र नेपालको पश्चिम सिमानाको त्रिदेशीय बिन्दु हो । विवादित स्थलहरू धेरै भएकाले भारतसँग त हाम्रो सीमा सन्धि हुन सकेको छैन । तर चीनसँग भने बीपीको बेलामा पनि सीमा सम्झौता गर्‍यौं । र महेन्द्रले सीमा सन्धि नै गरे । त्यहाँ विभिन्न नक्साहरू पनि समावेश गरिएको छ । त्यसमध्ये एउटा नक्सा मैले किताबमा पनि राखेको छु । त्यस सन्धिमा पूर्वतिरको नेपाल, भारत र चीनबीचको त्रिदेशीय बिन्दु तोकिएको छ तर पश्चिमतिर तोकिएको छैन । यदि त्यतिबेलै त्यताको पनि त्रिदेशीय बिन्दु तय गरिएको भए सायद अहिले लिपुलेक–कालापानी क्षेत्रको विवाद आउने थिएन । तर महेन्द्रले त्यसलाई खुला राखिदिँदा भारतलाई पनि त्यहाँ आएर बस्न सजिलो भयो । अझ, भारतीय सेना त्यहाँ बसेको दरबारको ज्ञानमा पहिल्यै थियो । तर भारत चिढिन्छ भनेर हटाउन दबाब दिएनन् । जब भारतद्वारा नेपालमा राखिएका १८ वटा चेकपोस्टमध्ये १७ वटा महेन्द्रकै पालामा कीर्तिनिधि विष्टले हटाए, नहटाइएको १८ औं चेकपोस्ट त्यही कालापानीको थियो । १७ वटाका बारेमा थाहा हुने तर एउटाको बारेमा थाहा नहुने भन्ने हुँदैनथ्यो । तर राजतन्त्रले आँखा चिम्लिदिएकै हो । यसलाई अर्को दृष्टिकोणबाट हेर्दा ‘१७ वटा चेकपोस्ट त हट्यो नि’ भन्न पनि सकिएला । एउटालाई छाडिदिँदा १७ वटा हट्छ भने किन त्यसो नगर्ने भन्ने पनि तर्क थियो होला । तर राजाले आँखा चिम्लिएको पनि सत्य हो । 

”What India did in Nepal, China is doing the same mistake”

तपाईंको किताबको एउटा च्याप्टर माओ र महेन्द्रमा समर्पित छ । माओ एउटा कम्युनिस्ट नेता हुन्, महेन्द्र त ‘फुयडल’ राजा नै भए । यी दुईको सम्बन्ध कस्तो थियो ?

उनीहरू ‘फिजिकल्ली’ त एकपटक मात्रै भेटेका हुन् । बरु, चीनका प्रधानमन्त्री चाउ एन लाई र महेन्द्रबीच बाहिर पनि विभिन्न अवसरमा भेट भएको छ । त्यस नाताबाट महेन्द्रले माओसँग निरन्तर अप्रत्यक्ष संवाद गरे होलान् । तर माओले उनलाई विश्वास गरेको जस्तो देखिन्छ । सुरुमा महेन्द्र कस्ता मान्छे हुन् भनेर बुझ्नलाई माओले विभिन्न दूतहरू पठाएको पनि देखिन्छ । कम्बोडियाका नरेश सिंहानुक र चिनियाँ नेताहरूको कुराकानीलाई पनि मैले कोट गरेको छु, त्यस लगायतका अन्य वार्तामा पनि उनीहरू भन्छन्– फिलिपिन्सको मार्कोसभन्दा पनि प्रोग्रेसिभ नेपालका राजा हुन् । नेपालका राजा नभएका भए महेन्द्र कम्युनिस्ट हुन्थे भन्ने धारणा पनि माओबाट आएको छ । उनले नजिकको मित्रशक्तिका रूपमा महेन्द्रलाई राखेको देखिन्छ । माओ आफू गणतन्त्रवादी कम्युनिस्ट भए पनि सामान्तवादको प्रतिनिधि ठानिने नेपालका राजतन्त्रको नेतृत्वकर्तासँग सम्बन्ध किन राखे त ? इतिहासदेखि नै त्यहाँका बादशाह, माओ वा अहिलेका सी चिनफिङसम्मले पनि आफ्नो राष्ट्रिय स्वार्थलाई बढी प्राथमिकतामा राखेर हेरेको देखिन्छ । राजतन्त्र रहँदासम्म उनीहरूले त्यसलाई नै नजिकको मित्रशक्तिका रूपमा ठहर गरेका थिए ।

”What India did in Nepal, China is doing the same mistake”

राजतन्त्रको कुरा गर्दा महेन्द्रदेखि वीरेन्द्र र पछि ज्ञानेन्द्रसम्मले चीनबाट ओत खोजेको जस्तो देखिन्छ । चीनसँगको सम्बन्धलाई उपयोग गर्नेमा उनीहरूको अग्रसरता बढी नै देखिन्छ, त्यसबाट उनीहरूले के कस्तो फाइदा पाए अथवा क्षति बेहोरे ?

सबैभन्दा चलाख त महेन्द्र नै देखिन्छन् । तर महेन्द्र एकपटक चीन गए, वीरेन्द्र दस पटक गए । वीरेन्द्रले त पहिलो पटक राष्ट्राध्यक्षका रूपमा तिब्बतको पनि भ्रमण गरे । त्यसअघि चीनले अन्य देशका राष्ट्र प्रमुखलाई त्यहाँ लैजाँदैनथ्यो । वीरेन्द्रको चाहिँ विश्वासको सम्बन्ध देखिन्छ । यद्यपि, माओले सुरुवातमा वीरेन्द्रलाई विश्वास गरेको देखिँदैन । चीनसँग नजिकको सम्बन्ध रहेका नेपालका नेता कीर्तिनिधि विष्टसँग माओले सोध्छन्– ‘यो वीरेन्द्रलाई विश्वास गर्न सकिन्छ ? उसले त जापान, अमेरिका र बेलायतमा पढेको छ । पश्चिमा शिक्षाबाट दीक्षित छ । ऊ बाबु (महेन्द्र) जस्तो छ कि छैन ?’ माओले अन्य स्रोतबाट पनि वीरेन्द्रलाई बुझेको देखिन्छ । वीरेन्द्र पनि चीनसँग धेरै नै नजिक भएको देखिन्छ । जस्तो कि, चीन भ्रमणबाट फर्केलगत्तै उनी राजा भए र लगत्तै फेरि चीन भ्रमणमा गए, त्यसपछि तुरुन्तै महेन्द्रले बस्न दिएका खम्पाविरुद्ध सैन्य कारबाही सुरु गरिदिए । त्यो एकदमै अचानक थियो । किनकि, खम्पा विद्रोहीलाई सघाउने कुरामा भारत र अमेरिकाको खुफिया संलग्नता थियो । यो विषय भूराजनीतिको ठूलो अंग थियो । साथसाथै, अमेरिकाले पञ्चायतलाई सघाउने र राजतन्त्रले खम्पालाई सघाउने डिलको पनि विषय थियो ।

खम्पाविरुद्धको कारबाहीमा अमेरिका र भारत दुवै खुसी थिएनन् । त्यसले पनि अमेरिका र भारतसँग वीरेन्द्रको सम्बन्ध संशयपूर्ण रह्यो । २०४५ सालमा त उनले भारतबाट ठूलो ‘थ्रेट’ महसुस गर्छन् । चीनबाट ‘एन्टी एयरक्राफ्ट गन’ नै ल्याउने निर्णयमा पुग्छन् । त्यसले ठूलो भूराजनीतिक तरंग नै ल्यायो । त्यसअघि सिक्किमको विलय र बंगलादेशको स्थापनाबाट निकै तर्सेको देखिन्छ । चीनसँग सम्बन्ध राख्ने कुरा त्यस्तै घटनाबाट निर्देशित देखिन्छ । उनी कति सफल वा असफल भए भन्ने कुरा इतिहासको समीक्षाको विषय हो । तर, अचानक दरबार हत्याकाण्ड भयो । चिनियाँहरूले यस्ता सबै कुरालाई ठूलो षड्यन्त्रका रूपमा प्रस्तुत गर्छन् । चीनले आधिकारिक धारणा व्यक्त नगरे पनि संस्थापनसँग निकटका प्राज्ञिक मान्छेहरू, जोसँग मैले अन्तर्वार्ता गरेको छु, उनीहरूले ठूलो षड्यन्त्रको चित्र प्रस्तुत गर्छन् । वीरेन्द्रको चीनसँगको ऐतिहासिक सम्बन्धको नतिजाका रूपमा यस्तो भएको पनि भन्छन् । तर त्यसको आधार उनीहरूले केही नदिएकाले हामी पनि ठोकुवा गर्न सक्दैनौं । यद्यपि, किसिन्जर र निक्सनको चीन भ्रमणपछि अमेरिका र चीनको सम्बन्ध सुधार भएकाले वीरेन्द्रलाई अनुकूलता प्राप्त हुन्छ । किताबमा मैले उद्धृत पनि गरेको छु, इन्दिरा गान्धीले सिक्किमलाई भारतमा विलय गराएपछि अमेरिकी राष्ट्रपति जेराल्ड फोर्ड र माओ लगायतका चिनियाँ नेताहरूका बीचमा संवाद हुन्छ– ‘कतै इन्दिरा गान्धीले नेपालमा पनि सैन्य हस्तक्षेप त गर्दिनन् ?’ माओको भनाइ ‘जबसम्म नेपालसँग चीन कनेक्ट हुँदैन, हाइबे र रेल बनाउँदैन, तबसम्म नेपाललाई धेरै सहयोग गर्न सक्दिन, नेपालमा स्टेक बढ्दैन’ भन्ने छ । त्यो नीति अहिलेका चिनियाँ नीति निर्मातामा पनि देखिन्छ ।

”What India did in Nepal, China is doing the same mistake”

राजा ज्ञानेन्द्रले त चीनको सहयोग पाउने आशामा राजनीतिक रूपमा निकै ठूलो जोखिम उठाएको देखिन्छ । उनले त पाउनुभन्दा पनि सबथोक गुमाए नि, होइन ? 

ज्ञानेन्द्रको इमेज व्यापारिक हो । चीनसँग उनको नजिकको सम्बन्ध होइन । बरु व्यापार व्यवसायको हिसाबले भारतसँगै राम्रो सम्बन्ध थियो । तर जब उनले ‘कु’ गरे, त्यसपछि भारतसँग सम्बन्ध बिग्रियो । त्यसपछि आफ्नो राजनीति टिकाउने मुख्य आधारका रूपमा चीनसँग सम्बन्ध बनाएर अगाडि बढेको देखिन्छ । त्यसैअनुसार उनले सार्कमा चीनलाई सदस्य बनाउनुपर्ने प्रस्ताव लगायतका कुरा ल्याए । त्यसपछि भारतसँग सम्बन्ध झनै बिग्रियो । तर चीनसँगको आफ्नो सम्बन्धको दायरा कति हो ? ऊसँगको सम्बन्धका कारण अन्य शक्तिहरूले कसरी बदला लिन सक्छन् भन्ने कुराको ज्ञानेन्द्रले वस्तुगत आकलन गर्न सकेको देखिँदैन । यहाँ २०६२/६३ को जनआन्दोलन चलिरहँदा पनि ज्ञानेन्द्रलाई चिनियाँ दूतावासले सहयोग दिइरहेको थियो । त्यतिबेला एकदमै महत्त्वपूर्ण समयमा चिनियाँ स्टेट काउन्सिलरको भ्रमण हुन्छ, त्यसपछि भने ज्ञानेन्द्रप्रति उनीहरूको बुझाइ बदलिएको देखिन्छ । दुईवटा धारको बीचबाट चिनियाँ नीति अगाडि बढिरहेको देखिन्छ । आन्दोलनको सफलतापछि ज्ञानेन्द्रको सत्ता जान्छ । राजतन्त्र नै जान्छ । तर दशकौंको सम्बन्ध भए पनि चीनले त्यसलाई जोगाउन प्रयत्न गरेको वा गर्न खोजेको पनि देखिँदैन ।

”What India did in Nepal, China is doing the same mistake”

चीनसँग निकट सम्बन्धमा राजाहरूपछि सघन संवाद भएका अर्का ठूला नेता बीपी कोइराला हुन् । माओसँग भन्दा पनि चाउ एन लाईसँग बीपीको विशिष्ट सम्बन्ध थियो । बीपीको चीन नीति र भूराजनीति कस्तो थियो ? 

बीपी कोइराला समकालीनमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय छवि भएका नेता थिए । विश्वका धेरै नेतासँग निकट सम्बन्ध भएको, ‘एक्पोजर’ पनि भएको र विश्व राजनीतिलाई नजिकबाट हेरेका थिए । उनी ‘ओपन माइन्डेड’ लाग्छन् । कांग्रेसले चुनाव जितिसकेको तर बीपी प्रधानमन्त्री बनिनसकेको समयमा दलाई लामा भागेका हुन्छन् । त्यतिबेला नेहरूले बीपीलाई त्यसबारेमा साझा धारणा बनाउन र चीनको विरोध गर्न दबाब पनि दिएका हुन्छन् । कांग्रेसका महामन्त्रीहरूले वक्तव्य निकालेका पनि थिए । त्यसलाई बीपीले आंशिक रूपमा अपनत्व लिए पनि प्रधानमन्त्रीको शपथ लिएपछि भने राष्ट्रिय स्वार्थलाई हेरेर आफूहरू तिब्बती मामिलामा धेरै फस्न सक्दैनौं भन्छन् । तिब्बतीलाई मानवीय आधारमा शरण दिने तर उनीहरूलाई राजनीति गर्ने छुट भने नदिनेमा उनी स्पष्ट देखिन्छन् । वास्तवमा ‘एक चीन नीति’ वा तिब्बतीलाई राजनीतिक गतिविधि गर्न नदिने नीतिको सुरुवात बीपीले नै गरेको देखिन्छ । त्यसैले उनले राष्ट्रिय स्वार्थको दायरा कति हो र के हो भन्ने कुरालाई राम्रोसँग बुझेको देखिन्छ । त्यसमा उनको अरू ‘हिडन एजेन्डा’ केही देखिँदैन । धेरै विषयमा नेहरूसँग पनि उनको ठाकठुक परेको छ । २०१७ सालको काण्ड हुँदा पनि नेहरूसँग उनको राम्रो सम्बन्ध थिएन । यसरी राष्ट्रिय हितको पक्षमा अडान लिँदा बीपीको भारत र चीन दुवैसँग सम्बन्ध राम्रो नभएको देखिन्छ ।

चाउ एन लाईसँग बीपीको मित्रतापूर्ण सम्बन्ध देखिन्छ । बीपी चीन भ्रमणमा गएका बेलामा सूचीमा नभए पनि दिनभर चाउ एन लाईको घरमा बस्ने, दुवैका श्रीमतीले नेपाली र चिनियाँ खाना पकाउने, दिनभर छलफल गर्ने खालको मित्रतापूर्ण सम्बन्ध पनि थियो । त्यस्तै चाउ एन लाई नेपाल आएका बेलामा पोखरामा दुवै जना ‘बोट’ मा बसेर गफ गर्दै ठूल्ठूला कुराको टुंगो पनि लगाएका थिए । बीपी कोइरालाले नै चीनसँग शान्ति तथा मैत्री सन्धि गरे । त्यो भारतसँगको १९५० को शान्ति तथा मैत्री सन्धिको चिनियाँ जवाफ जस्तो पनि देखिन्थ्यो । भारतसँगको त्यस सन्धि असमानतापूर्ण भए पनि चीनसँग त्यस्तो छैन । त्यतिबेला चीनले शान्ति तथा अनाक्रमण सन्धि गर्न खोजेको थियो, जो उसले बर्मासँग गरेको थियो । माओले दबाब दिए पनि बीपीले मानेनन् । अनाक्रमण सन्धि गर्नु भनेको रणनीतिक रूपमा चीनको सैन्य अलायन्समा बसे जस्तो हुन्छ भनेर उनले अस्वीकारोक्तिको अडान लिएका थिए । राष्ट्रिय स्वार्थको हिसाबले त्यो सही जस्तो पनि देखिन्छ ।

”What India did in Nepal, China is doing the same mistake”

त्यसैगरी त्यतिबेला सगरमाथा नेपाल कि चीनको भन्ने विवाद थियो । सगरमाथा आधाआधा गरौं भन्ने माओको प्रस्तावलाई बीपीले सिधै इन्कार गरेको देखिन्छ । सिधै सीमा सन्धि गरौं भन्ने कुरालाई पनि इन्कार गरेको देखिन्छ । बरु महेन्द्रले पछि आएर सगरमाथा आधाआधा हो भनेर सम्झौता गरेको देखिन्छ । तर बीपीले कोदारी राजमार्ग खोल्न मानेनन् । त्यसको कारणबारे बीपी आफैंले पनि स्पष्ट पारेका छैनन् । त्यसलाई महेन्द्रले खोले । मुस्ताङमा चिनियाँ सेना पसेर नेपाली सैनिक मारिन्छन्, त्यतिबेला बीपीलाई चाउ एन लाईसँगको मित्रतापूर्ण सम्बन्धका बाबजुद आफ्नो पक्षमा अडान लिएको देखिन्छ । त्यसैले उनले राष्ट्रिय हितलाई आधार मानेर आफ्नो अडानहरू लिएको देखिन्छ । चाउ एन लाईले त्यसलाई राम्रोसँग बुझेको देखिन्छ । दस्ताबेजहरू हेर्दा बीपीले खुलस्त रूपमा आफ्ना कुरा राखेको देखिन्छ । जबकि महेन्द्रको कुरा खुला देखिँदैन । यसरी बीपीले स्पष्ट अडान लिएकै कारण भूराजनीतिक भुमरीमा परेर २०१७ सालमा महेन्द्रले ‘टेक ओभर’ गर्ने आधार खडा भएको जस्तो लाग्छ । 

राजाहरू वीरेन्द्र र ज्ञानेन्द्र चीनप्रति अलि बढी अतिशयोक्तिपूर्ण भर परेको देखिन्छ । तर राजतन्त्र जोगिएन । उसले जोगाउन पनि खोजेन । त्यसपछि नेपालमा आएको नयाँ व्यवस्थामा चीनले आफूलाई कसरी समायोजित गर्‍यो ?

दोस्रो किताब (हिमालपारिको हुरी) को ‘प्रिफेस’ मा मैले २००८ बारे लेखेको छु । यो वर्ष नेपाल र चीनको सम्बन्धमा धेरै हिसाबले महत्त्वपूर्ण छ । त्यस वर्ष विश्वमा आर्थिक मन्दी आएको थियो । त्यसले पश्चिमी संसारलाई नराम्रोसँग हल्लाएको थियो । बैंकहरू टाट पल्टिएका थिए । वित्तीय प्रणालीमा असर परेको थियो । त्यतिबेलै चीनले बेइजिङ ओलम्पिक गरेको थियो । आफूले आर्जन गरेको शक्ति उसले ओलम्पिकमार्फत विश्वलाई देखाएको थियो । त्यतिबेलैदेखि उसले सक्रिय विदेश नीति अपनाएको थियो । अफ्रिकादेखि ल्याटिन अमेरिकासम्मका विभिन्न खानीहरू कब्जा गरेर नयाँ खालको ‘साम्राज्यवादी शक्ति’ का रूपमा विश्वलाई नेतृत्व गर्ने हिसाबले अगाडि बढेको देखिन्थ्यो । संसारभर ऊ सक्रिय भएर गइरहेको भए पनि नेपालमा भने त्यतिबेला धेरै कुराहरू गुमाइरहेको थियो । नेपालमा उसको नजिक मित्रशक्ति राजतन्त्रको औपचारिक अन्त्य र गणतन्त्रको घोषणा भएको थियो । नयाँ खालको राजनीतिक प्रणाली आएको थियो तर त्यो कस्तो हुन्छ भन्ने थाहा थिएन । त्यसमा भारतको बढी भूमिका थियो । त्यसैले चिनियाँ पक्षको ‘स्टेक’ कमजोर थियो । शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको संलग्नतासँगै पश्चिमा शक्तिहरूको सहभागिता पनि बढेको थियो । त्यसबाट पनि चीन त्रसित थियो । सोही वर्ष काठमाडौंमा चीनविरोधी तिब्बतीहरूको सबैभन्दा लामो प्रदर्शन भएको थियो । त्यो चीनका लागि टाउको दुखाइको ठूलो विषय भएको थियो । त्यसपछि उसले धेरैवटा प्रतिनिधिमण्डल र अनुसन्धान टोलीहरू नेपालमा पठायो । थिंक ट्यांक, सरकारी निकाय, विदेश मन्त्रालय, विश्वविद्यालयबाट धेरै थरी टोलीलाई छुट्टाछुट्टै पठाएर परिस्थितिको अवलोकन गरेर मात्रै निष्कर्षमा पुगेको देखिन्छ ।

२००८ पछि उसले नेपालमा यति धेरै सक्रियता बढायो कि हुँदाहुँदा नेपालमा गणतन्त्र आएपछि तत्कालीन कार्यवाहक राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालासँग ओहदाको प्रमाणपत्र बुझाउने पहिलो राजदूत नै चिनियाँ भए । अर्थात् गणतन्त्रलाई औपचारिक ऐक्यबद्धता जनाउने पहिलो देश नै चीन भइदियो । ऊ त्यति अगाडि बढ्यो । त्यसपछि पनि उसले आफ्नो भूमिका बढाउँदै थियो । राजनीतिमा मात्रै नभएर समाजका अन्य आयामहरू आर्थिक क्षेत्रमा अगाडि बढ्यो । टुरिजममा हात हाल्यो । सफ्टपावरमा आफूलाई केन्द्रित गर्‍यो । भारतले समेत आफ्नै सहजीकरणमा सुरु भएको नेपालको शान्ति प्रक्रियाको अन्तिम नतिजाका रूपमा बनेको संविधानलाई विरोध र असहमति जनाउँदै ‘नोटेड’ भनेर लेख्ने मात्रै होइन कि नेपालमाथि नाकाबन्दी नै लगायो । तर चीनले भने संविधान जारी गर्ने प्रक्रियालाई राजनीतिक समर्थन गर्‍यो । उसले देखिने र नदेखिने गरी कांग्रेस, एमाले, माओवादी र केही मधेशकेन्द्रित दललाई भरथेग गरेको थियो । यसरी नेपालको सन्दर्भमा २००८ मा भारत आक्रामक र चीन रक्षात्मक थियो । तर, २०१५ सम्म पुग्दा चीन आक्रामक भयो, रक्षात्मक अवस्थाको भारतले नाकाबन्दीमार्फत आक्रामकता देखायो ।

”What India did in Nepal, China is doing the same mistake”

हाम्रो समाज र शासक चीनप्रति अलिक बढी आशावादी देखिन्छन्, तर त्यसैअनुसार उताबाट व्यवहार भएको देखिन्छ कि देखिँदैन ? किनकि एंग्लो–नेपाल वारमा नेपालले चीनको भरोसा खोजेको थियो, दोस्रो जनआन्दोलनका बेलामा ज्ञानेन्द्रले आस गरेका थिए । त्यस्तै २०१५ मा भारतले नाकाबन्दी लगाउँदाका परिवेशमा पनि नेपालले अपेक्षा गरेजस्तो भूमिका चीनको देखिएन नि ? 

चीनका बादशाह, माओ, देङ सियाओपिङ वा सी चिनफिङलगायत सबै कालखण्डमा एउटै स्थायी नीति अपनाएको देखिन्छ । अर्थात्, उसले आफ्नो राष्ट्रिय स्वार्थलाई नै प्राथमिकता दिने गरेको छ । वैचारिक विषय सहायक कुरा हुन् । जस्तो ब्रिटिससँग युद्ध हुँदाखेरि नेपालले बारम्बार चिनियाँ सहयोगका लागि कोसिस गर्दागर्दै पनि उसले सघाएन । त्यतिबेला उसले तिब्बतमाथि ब्रिटिसहरूको रुचि होइन भन्ने निष्कर्ष निकालेपछि नेपाललाई सघाउँदैन । त्यसका अरू कारण पनि छन् । अर्को विषय, राजतन्त्रलाई जोगाउन सक्ने सामर्थ्य ऊसँग थिएन । त्यो गरेन पनि । २००८ सम्म तिब्बती स्वार्थसँग उसको बढी सरोकार जोडिएको थियो । त्यसमा धक्का नपुगुञ्जेल नेपालमा ठूला गतिविधि नगर्ने नीति देखिन्छ । तर २००८ अघि र पछिको चीनमा आकाश जमिनको फरक छ । त्यसपछि ऊ नेपालको आन्तरिक राजनीतिमा सक्रियतापूर्वक सहभागी भएको छ । कुनै बेला भारतकै हाराहारीमा पनि पुगेको देखिन्छ । उसको संलग्नता बढेको छ । यो सरकार र त्यो सरकार, यो गठबन्धन र त्यो गठबन्धन, बनाउने र भत्काउनेमा पनि उसको प्रयत्न जोडिन थालेको देखिन्छ । भारतले जे गल्ती गरेको थियो, चीनले त्यही गल्ती गरिरहेको जस्तो मलाई लाग्छ । अब ऊ हिजोकै जस्तो बेसरोकार बस्छ जस्तो लाग्दैन । सन् २०१५ मा भारतले नाकाबन्दी लगाउँदा चीन भारतसँग आफ्नो सम्बन्ध नबिग्रियोस् भन्ने पक्षमै थियो । तर दोक्लमको तनाव र गलबानको भिडन्तपछि उनीहरूको सम्बन्ध बिग्रियो । तर नेपालमा चीनको नीति किन पनि विरोधाभाषी छ भने, ऊ नेपालमा पस्न, गतिविधि र प्रभाव बढाउन पनि चाहन्छ । तर फेरि चीन भारतसँग सम्बन्ध बिगार्न पनि चाहँदैन । २०१५ कै नाकाबन्दीका बेलामा पनि चीनले नेपाललाई खुलेर सहयोग गरेन । पेट्रोलियम पदार्थ चीनबाट नेपाल ल्याउनेसम्बन्धी एमओयू पनि चीनले गर्न चाहँदैनथ्यो । त्यसको पछाडिको कारण हो, ऊ भारतसँगको सम्बन्ध बिगार्न चाहँदैनथ्यो । तर अहिलेको स्थिति फरक छ । सी चिनफिङ र नरेन्द्र मोदीकै बीचमा व्यक्तिगत कटुता जस्तो छ । त्यस्तो अवस्थामा चीनले भारतको मुख ताकेको देखिँदैन । यद्यपि, चीनको नेपालमा सरोकार भारतभन्दा पनि अमेरिका नै हो । किनकि, अमेरिकासँगै चीनको विश्वव्यापी रूपमै टसल परिरहेको छ र नयाँ शीतयुद्धको अवस्था बनेको छ । त्यसको बाछिटा नेपालमा देखिन थालेको छ । चीन र भारत हिजो जस्तो अवस्थामा छैनन् । अर्थतन्त्रमा बढोत्तरी आएसँगै उनीहरूको आकांक्षा र संलग्नता पहिलेभन्दा धेरै बढेको छ । अमेरिका र सामूहिक पश्चिमा शक्तिको नेपालमा सरोकार बढेको छ । यस्तो परिस्थिति नेपालका लागि अवसर पनि हो, जोखिम पनि हो । जोखिमलाई बढ्न नदिने र भूराजनीतिक प्रतिस्पर्धाबाट कसरी फाइदा लिने भन्ने नेपाल राज्यका सामु आजको प्रखर प्रश्न हो ।

कान्तिपुर

Link copied successfully