कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नकारात्मकताको महामारी

भाद्र २९, २०८१
नकारात्मकताको महामारी

Highlights

  • २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । के ५९ लाख ६० हजारको कथा कसैलाई नभन्ने ? राज्यलाई तिनको आँसु नदेखाउने ?

भगवान्‌माथि कसैको विश्वास हुन्छ, कसैको हुँदैन । भगवान्लाई भरोसाको विम्ब मान्ने हो भने विद्या चापागाईं र उनको ‘हेर्ने कथा’ टिम प्रकाश तामाङको जीवनमा भगवान् भएर छेकम्पार पुग्यो । उनीहरू नपुगेको भए प्रकाश भोजपुर फर्किन पाउने थिएनन् ।

छाप्लेगाउँमा आमाको खुट्टा समात्दै डाँको छाडेर रुन पाउने थिएनन् । बिरामी बुवालाई औषधि खुवाउन र भाइ रिट्ठेसँग अँगालोमा बेरिएर कहाँ रुन पाउँथे र !

मलाई लागेको थियो, विद्या र उनको टिमलाई सबैले धन्यवाद भन्नेछन् । यद्यपि, धन्यवाद नभन्न पाइन्छ । आलोचना गर्न पाइन्छ । तर कतिपयले त भर्त्सना र घृणासहितका उपदेशात्मक आदेश लेखे । उनीहरूले सोधेका छन्, ‘विद्या चापागाईं किन आँसुको व्यापार गर्छौ ? प्रकाशहरूको आँसुलाई आम्दानीको स्रोत किन बनाएको ?’ कतिले त हेर्ने कथालाई ‘पोभर्टी पोर्न’ सम्म भन्न भ्याए ।

उनीहरूले जान्नुपर्छ कि पत्रकारिताको पहिलो कखरा ‘पत्रकारिता समाजको ऐना हो ।’ कम्तीमा थाहा पाउनुपर्छ, हाम्रो समाज कुन बाटो भएर कहाँ आइपुग्यो ? हामीले संघर्ष वा क्रान्तिका लागि उद्वेलित हुने समय पार गरिसक्यौं । ‘हामीले दुःखहरू यसरी ढाल्यौं’ भनेर सफलताको कथा सुनाउने चरणमा पुगेका छैनौं । जसरी चिनियाँहरूले सुनाइरहेका छन् । हामी हाम्रा विद्यमान दुःख दुनियाँलाई सुनाउने समयमै छौं । ताकि, ती दुःखका कथा सुनेर राज्यले नीति बनाओस्, पहलकदमी लेओस् ।

नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० ले भन्छ, ‘२०.२७ प्रतिशत अर्थात् ५९ लाख ६० हजार नेपाली गरिबीको रेखामुनि छ ।’ नेपालका ठूला पत्रिका, म्यागेजिन, टीभी र अनलाइनहरूले दुःखमा रुनु नपर्ने ती अरूका रुचि, अभिरुचि, दैनिकी, आकारप्रकार अनेक देखाइरहेकै छन् । तिनका हेरूँहेरूँ लाग्ने तस्बिर पनि छापिरहेकै छन् । बाँकी २०.२७ प्रतिशत नेपालीको कथा आँसुको नै हो । के ५९ लाख ६० हजारको कथा चाहिँ नभन्ने ? राज्यलाई नसुनाउने ?

आँसुको कथा लेख्ने एक साहित्यकार छन् । धेरैले आँसु बिक्री गरेको आरोप लगाएपछि उनले स्पष्टीकरण दिएका छन्, ‘समाजमा पीडा र समस्या यति भरिभण्ड छन् कि तिनलाई नलेखेर म कुन रोमान्स लेखूँ ? आँसु बेच्दा बिक्ने भए मानिसले बाल्टीमै थापेर बेच्थे होला । साहित्यले आँसु बेचेको होइन, लेखेको हो ।’ हो, विद्याले पनि आँसु बेचेको होइन, कथा देखाइदिएको हो ।

चिन्तक नोम चोम्स्की भन्छन्, ‘मिडियाको काम सहमति निर्माण गर्ने होइन, (जुन आधुनिक मिडियाले गरिरहेको छ), मिडियाको भूमिका तथ्यमा आधारित समाचार प्रचारप्रसार गर्नु हो ।’ पत्रकारले तथ्य देखाइदिएपछि प्रशासकविरुद्ध नाराजुलुस वा हप्कीदप्की अरूले गरिदिन्छन् । तर्क नै गर्ने हो भने भन्न सकिएला, ‘विद्याले २०.२७ प्रतिशतमा पर्ने नेपालीको आँसुको कथा भनिन् । तिमीहरू हर्क बढाइँ वा सफलताको कथा दुनियाँलाई सुनाइदेऊ न त ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहे । उनले लेखे, ‘हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरें । प्रकाश तामाङ (काले मोक्तान) को परिवारसँग मिलनको दृश्यले आँसु आयो । सोचें– यस्ता कति प्रकाशहरू वर्षौंदेखि हराएका होलान् ।’ लगत्तै मैले प्रधानमन्त्रीको सचिवालयमा गएर प्रकाशको अप्ठ्यारो सुनाएँ । प्रकाशको पहिलो आवश्यकता थियो, नागरिकता । बेलुकी प्रधानमन्त्रीले तत्कालीन गृहसचिव, हालका मुख्यसचिव एकनारायण अर्याललाई छिटो नागरिकता दिलाउन सहजीकरण गर्न निर्देशन दिए । अनि त प्रधानमन्त्रीमाथि आक्रोश सुरु भयो । कसैले सोधे, ‘प्रकाशले प्रधानमन्त्रीको निर्देशन वा निगाहबिना नागरिकता बनाउन गएका भए पाउँथे कि पाउँथेनन् ?’ कसैले निचोड सुनाए, ‘यो प्रधानमन्त्रीको चटक हो ।’

कलाकार लियोनार्दो दा भिन्ची भन्छन्, ‘आँसु मुटुबाट आउँछ, मस्तिष्कबाट होइन ।’ प्रकाशको भिडियो हेर्दाहेर्दै प्रधानमन्त्रीले प्रकाश जस्ता अरू कति छन् भनेर तुरुन्तै खोज्नुपर्ने हो ? एउटा प्रकाशको प्रतिनिधि कथा नै हजारौं प्रकाशहरूको कथा होइन र ? यहाँ प्रकाशका लागि पहिलो आवश्यकता नागरिकता थियो । प्रकाशको कथा आएपछि उनलाई सहयोग गर्छु भन्नेहरू धेरै थिए । उनको नागरिकता नभएपछि बैंक खाता बन्दैन थियो । जग्गापास हुँदैन थियो । फेरि सहयोग गर्नेहरूको ध्यान त्यतिबेला मात्रै तानिन्छ, जतिबेलासम्म प्रकाशजस्ताको कथाले तानिरहेको हुन्छ ।

‘पिप्ली लाइभ’ र पत्रकारको आँसु

प्रकाशलाई प्रधानमन्त्री, भोजपुरका नेता र युवाले सहयोग गरिरहँदा अर्को आरोप थियो, ‘प्रकाशमाथि पिप्ली लाइभ ।’

आफ्नो जिल्लाका एक नागरिकको कथाले रुवाएपछि भोजपुरका नेता पूर्वमुख्यमन्त्री शेरधन राईले एक लाख सहयोग दिए । प्रकाशकै माग बमोजिम खेत जोत्ने ट्र्याक्टर, एक हल गोरु र गरिखाने जग्गा दिने घोषणा गरे । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले जग्गा दिए । त्यही जग्गामा भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन किरातीले घर बनाइदिने योजनासहित शिलान्यास गरे ।

आफ्नै नागरिकका कथाले रुवाएपछि पूर्वमुख्यमन्त्रीले जग्गा दिन्छु भन्दा वा संसद्ले घर बनाइदिन्छु भन्दा कसरी भयो ‘पिप्ली लाइभ’ ? वा, मैले छिमेकी गाउँको हिसाबले गोरखादेखि काठमाडौं ल्याएर नागरिकता दिलाउन भोजपुरसम्म पुग्दा वा नागरिकता प्राप्तिपछि बैंक खाता खोल्दा, काठमाडौं ल्याएर उपचार गर्दा वा प्रधानमन्त्रीलाई भेटाउँदा कसरी भयो ‘पिप्ली लाइभ’ ?

हामी यो अभियानमा भोजपुरे पत्रकार साथी श्यामकृष्ण दाहाल, राजेन्द्र श्रेष्ठ, सरस्वती तामाङ, प्रविन कुलुङ राई, नवीन राई, बैंकर शम्भु राईलगायत थियौं । पत्रकारका पनि पेसाबाहेक निजी सुखदुःख र अभिरुचि हुन्छन् । के पत्रकारको आँसु आउँदैन, भावुक हुने अधिकार उसलाई छैन । कसैलाई सहयोग गर्न पत्रकारको काम, कतर्व्य र अधिकार पढिरहनुपर्छ र ?

प्रकाशलाई छेकम्पारबाट काठमाडौं ल्याएर भोजपुर लैजाने र फेरि काठमाडौं ल्याउने क्रममा अत्यधिक सास्ती भएको अर्को विषय हो, युट्युबरसँगको लुकामारी । काठमाडौं विमानस्थलमा छापामार शैलीमा छक्काएर हामी तुम्लिङ्टार लाग्यौं । लागेको थियो, ठुलै युद्ध जितियो । बेलुकी भोजपुर छाप्लेगाउँतिर त एक हुल साथी पुगिसकेका रहेछन् । ठीक अघिल्लो दिन नागरिकता पाएपछि राष्ट्रिय वाणिज्य बैंक तुम्लिङटारमा खाता खोल्न पुगेका थियौं । त्यहाँ पनि कुनै सोधखोज नगरी युट्युबर अचानक बैंकभित्र छिरे र दृश्य लिन थालिहाले ।

हामीसँग प्रकाशका भतिज सुदिप तामाङ थिए । युट्युबरको हुल छिरेपछि म ज्यान जोगाएर निस्कें । पछि भतिज भन्दै थिए, ‘अंकल, काकालाई कपडा किन्न गएको उतै पनि खिच्न थालेपछि मैले त भगाएर बाइकमा लिएर आएँ ।’ भतिजले गल्लीको बाटो भगाएर हामी बसेको होटलमा ल्याएका रहेछन् ।

तुम्लिङटारबाट बिहान उडान थियो, काठमाडौको । काठमाडौंमा यति धेरै युट्युबर भेला भएका रहेछन् कि प्रकाशको भतिजको मोबाइल तातिने गरी फोन आयो । भतिजले आइडिया फुराए र प्रकाशसँगको तस्बिरसहित फेसबुकमा लेखे, ‘काकासँग आज विराटनगर हुँदै काठमाडौंतिर लागियो ।’ विराटनगरबाट काठमाडौं जाने भनेपछि ढिलो हुने भयो भनेर काठमाडौं विमानस्थलमा रहेका युट्युबर साथीहरू तितरबितर भएछन् ।

अहिले पनि भोजपुर प्रकाशको घरमै पुग्ने क्रम रोकिएको छैन । अब यति भनौं, युट्युबर साथीहरू, प्रकाशलाई गरिखान दिनुहोस् ।’

प्रकाशलाई पछ्याइरहँदा मलाई लाग्यो, समाजमा निराशा, घृणा र उत्तेजनाको आगो फैलिरहेको छ । आलोचनात्मक चेतका नाममा हामी यति कृतघ्न भइसक्यौं कि हामी धन्यवाद कसैलाई पनि भन्न सक्दैनौं । नकारात्मकताको महामारी यस्तरी फैलिरहेको छ, त्यसले चेतना होइन, समाजलाई डिप्रेसनतिर लगिरहेको छ ।

प्रश्न गरौं, तर घृणा नफैलाऔं । चारसुर कसेर आलोचना गरौं, उत्तेजना नफैलाऔं । प्रकाशको आँसुमा भावुक हुने प्राधिकारमाथि प्रश्न त गरौं तर तर्कसहित । असहिष्णुताको आँधीबेहरी र निराशाको व्यापारले सुन्दर समाज निर्माण हुँदैन । देश त आखिर तपाईं–हाम्रै होइन र ?

प्रकाशित : भाद्र २९, २०८१ ०८:४८
×