कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रकृति र कर्मको पूजा

भाद्र २९, २०८१
प्रकृति र कर्मको पूजा

Highlights

  • थालमा अस्मा (मालपुवा), काँकडो पुँप, जमरा, अक्षता, धुप, जाँड, अम्खोरामा पानी र सजिएको थालमा दियो राखेर घरघरबाट निस्कँदा गाउँ नै उज्यालो यात्रामा हिँडेझैं देखिन्छ ।

करम खन्डा केरका रो जोखा रो...
काँकडो लाता नु होम्बयचा होम्बयचा नान्दार
पुँप तोख्खा केरकागा पेल्ला यो...
काँकडो लातानु धारबार धारबार नान्दार 

खेंल (मादल), डिग्री, झाँझको झन्कार सुन्दा मेरा कान उत्सुक हुन्छन् । शरीर र खुट्टाहरू बाजाको तालमा झुम्न थालिसक्छन् । करमपूजाको साँझ गोरगोर (मालपुवा), ठकुवा अस्मा (पुरी) को मगमग बास्ना गाउँभर छरिन्छ । करम रूखको हरियो हाँगा र काँकडो पुँप (गंगटो फूल) नल्याएसम्म करमपूजा विधि नै पूरा हुँदैन ।

त्यो साँझ मेरा दौंतरीहरू पनि करमपूजाको नाममा उपवास बसेका थिए । जति केटी थियौं त्यति नै केटा साथी उपवासमा । तीन–तीन जना अथवा पाँच–पाँच जना अविवाहित केटाकेटी उपवास बस्ने चलन छ । साँझ पुरुषहरू बाजागाजासहित करम रूखको हाँगा काट्न जान्छन् भने महिला बाजागाजासहित काँकडो पुँप टिप्न जान्छन् ।

करमपूजा उराँव समुदायको ठूलो पर्व हो । यो भाद्र शुक्ल पूर्णिमाका दिनदेखि दसैंसम्म मनाइन्छ । यस अवधिमा पनि विभिन्न करम छन् । निज्ज (नेंग) करम, जोंख करम, गछुवा करम, जितिया करम हुँदै दसे करममा पुगेर समापन हुन्छ । पहिलो दिन निज्ज करम मनाइन्छ । नेपाल र अन्य देशका उराँवले यो पर्वलाई धुमधामका साथ मनाउने गर्छन् । जुन गाउँमा नेंग (समुदायका अगुवा) हुन्छन्, उनले मात्र करम गाड्ने गर्छन् । फरकफरक गोत्रमध्ये केही गोत्रले मात्र करम गाड्न पाउने नियम जस्तै छ । नेंगले तीन वर्ष या पाँच वर्ष लगातार करम गाड्नुपर्छ ।

पुँप टिप्न गएको महिलाको बाजागाजा टोली र करमको हाँगा काट्न गएका पुरुष टोलीलाई गाउँभन्दा पर नहरमा भेट गराउनुपर्ने हुन्छ । त्यो पनि घुम्टोले मुख छोपेर । त्यहींबाट नेंगले दुवै समूहबाट ल्याइएको करमको हाँगा र काँकडो पुँपलाई लिएर आफ्नो घरको छानामा राख्छन् ।

करमपूजामा जौवा राख्नु अनिवार्य छ । त्यसका लागि एक हप्ता अगाडि नै गाउँलेहरू भेला हुन्छन् र जमरा राख्ने दिन तोक्छन् । जमरा राख्ने दिन सबै गाउँलेले आ–आफ्नो घरआँगन लिपपोत गरी चिटिक्क पार्छन् । जमरा राख्ने भाँडो लिएर बाजागाजासहित नदी वा नहरमा गएर नुहाइधुवाइ गर्दै बालुवा ल्याइन्छ । लिपपोत गरेर चौका लगाएको ठाउँमा सबै बालुवा थुपारिन्छ । गहुँ, मकै, जौं र धान बालुवामा मिसाएर, छेउमा धुप बालेर पूजाविधि सम्पन्न गरिन्छ । र, सबैले आ–आफ्नो भाग लिएर घर जान्छन् । त्यही दिनदेखि गाउँलेहरू साँझको समय अखडा जगाउन थाल्छन्, नाचगानको अभ्यासमा जुट्छन् । नेंगको घरमा करमको हाँगा र काँकडो पुँप लगिसकेपछि सबैले आ–आफ्नो घरमा मिठो पकवान बनाउँछन् । परिवार, साथीसंगी, आफन्त सँगै बसेर खाने गरिन्छ । जो उपवासमा छन्, उनीहरूले भने नेंगकै घरको पकवान खाने चलन छ ।

थालमा अस्मा (मालपुवा), काँकडो पुँप, जमरा, अक्षता, धुप, जाँड, अम्खोरामा पानी र सजिएको थालको बीचमा दियो राखेर घरघरबाट मानिस निस्कन्छन् । दियोको दीप्तिमा उज्यालिएको उनीहरूको अनुहारमा ठूलो उत्साह देखिन्छ । यही उत्साह बोकेर उनीहरू अखडातिर सोझिन्छन् । अखडामा पूजाका सामग्री र जमरा राखिन्छ । फरक–फरक अन्नबाट टुसाएका जमरा सामूहिकताको बिम्ब पनि हो । जसरी समाजमा फरकफरक जात, धर्म, समुदायका मानिस मिलेर बस्छन्, जमरा पनि एउटै भाँडोमा सुन्दर देखिन्छ ।

उराँवहरूको उत्पत्ति मिथकसँग जोडिएकाले काँकडो पुँप महत्त्वपूर्ण मानिन्छ । जति पनि पूजाका सामग्री हुन्छन्, सबैमा यो छुट्दैन । प्राकृतिक महत्त्व बुझेर पनि यसलाई पुज्ने गरिन्छ, जुन मानिसको जीवनयापनसँग आत्मीय रहेको हुन्छ । करम रूखलाई पूजा गर्नुको कारण जंगली जनावरबाट जोगिने विश्वास पनि हो । बोटबिरुवा त हाम्रो जीवनका लागि अति आवश्यक हुन् । यिनलाई पूजा गर्नु, संरक्षण गर्नु सबै समुदायको उत्तिकै जिम्मेवारी छ ।

अखडामा बुज्रुग बूढाबूढी हुन्छन् । तर पूजा भने पुरुषको हातबाट सुरु हुन्छ अनि मात्र महिलाले पालो पाउँछन् । प्रकृतिको पर्वमा समेत महिलालाई दोस्रो स्थानमा राख्नु विडम्बना छैन त ? यहाँबाट पनि देख्न सक्छौं, पुरुषहरू कसरी महिलालाई आफूभन्दा पछाडि सोच्दा रहेछन् ।

करम गाड्ने बेला उपस्थित महिला–पुरुषले गीत गाउँदै अखडा परिक्रमा गर्छन् ।

नेगनिगे नेगनि भले नेगनि

एङ्गहा करम गाँडाय चियो, भले नेगनि...

करम गाडेदेखि नउखेलेसम्म अखडा रुँग्न बसेको बूढाबूढी अथवा धामीले करमपूजाको महत्त्व र करमपूजा किन गर्न थालियो कुरा ‘कथा’ भनेर सुनाउँछन् । कथा सुन्दै रातभर जाग्राम बसेर नाचगान चल्छ । ठाउँअनुसार उराँव समुदायमा पनि करमपूजा बारे फरक–फरक कथा छन् । खासमा उराँवहरू प्रकृतिप्रेमी हुन्, जो गाउँघरमा, खेतीपातीमा रमाउँछन् । कर्ममा विश्वास गर्ने भएकाले उनीहरूको मनमा शान्ति हुन्छ भनिन्छ ।

उराँव समुदायका महिलाको पहिरनमा लामो सेतो खदर कपडा हुन्छ, त्यसको तल एक बित्ताजतिको रातो पैडा (बोडर) भएको साडी लाउँछन् । खुट्टामा पाँइडा, पाखुरामा पाइथ, घाँटीमा पितोजी, गागला पुन, चादवा, हासली र कट्सेर लगाउँछन् भने नाकमा नकबुनी र कानमा बिडियो लगाउँछन् । टाउकामा जुरो बाँधेर जमरा सिउरिन्छन् । पुरुषहरू सेतो धोती, सेतो सर्ट वा भेस्ट, टाउकामा रातो अथवा सेतो फेटा बाँध्छन् र कानमा जमरा सिउरिन्छन् । तर, अहिलेको बजारीकरण र आधुनिकताले नयाँनयाँ डिजाइनका पहिरनले प्रभाव परेको छ ।

करम नृत्यमा तीनवटा तह हुन्छन्– करम बेच्ना (नृत्य), कानाबरना (जाने आउने) र झुमर नृत्य ।

करम बेच्ना : कथा वाचनपछि करम बेच्ना नाचिन्छ । करम किन, कसरी, कुन दिन मनाइन्छ भन्ने कथामा आधारित रहेर गीत गाउँदै समूहमा नृत्य गरिन्छ । यो नृत्यको गति मध्यम खालको हुन्छ ।

कानाबरना : करम नृत्यपछि नाच्ने कानाबरना हो । जहाँ महिला र पुरुष एकअर्कालाई भेट्ने, आउनेजाने क्रमलाई गीत र नृत्यमार्फत नै प्रस्तुत गरिन्छ ।

झुमर नृत्य : कानाबरना नृत्य सकिएपछि र कुखुराले बासेपछि झुमर नृत्य खेल्न थालिन्छ । बिहानै सुरु गरेको झुमर साँझ करम उखालेर नदी, खोला, नहर या पोखरीमा विसर्जन गरेर आएसम्म पनि खेल्ने गरिन्छ । यसको गीत र नृत्यको गति तीव्र हुन्छ ।

अघिल्लो दिन जोजो उपवास बसेका हुन्छन्, सबै करम गाडेको ठाउँमा जम्मा हुन्छन् । त्यहाँ नेंग र बुज्रुक बूढाबूढी पनि रहन्छन् । करमलाई गाउँको प्रत्येक घरमा डुलाएर र नदी वा नहरमा विसर्जन गर्नुपर्छ ।

घरघरबाट पाएको उपहार सबै व्रतालु र बाजागाजा बजाउने समूहमा बाँडफाँट हुन्छ । जम्मा भएको रकम थप बाजा किन्न वा लुगा किन्नका लागि छुट्याइन्छ । समुदायमा जे आवश्यक छ, त्यसको जोहो गरिन्छ । प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ । करमपूजा प्रकृति र कर्मकै पूजा हो । हामी प्रकृतिपूजक हौं ।

प्रकाशित : भाद्र २९, २०८१ ०८:२०
×