हार्न नजानेकी देविका
Highlights
- पचास–साठीको दशकसम्म देविकाले नेपाली फिल्ममा गाएका अधिकांश गीत हिट छन् । अहिलेको पुस्तासमेत उनको गीत सुनिरहेको छ, त्यही गीतमा झुमिरहेको छ ।
कुनै बेला देविका बन्दना (प्रधान) लाई फिल्मका गीत गाउन भ्याइनभ्याई हुन्थ्यो । जुन गीत गाउँथिन्, ती दर्शकश्रोताको जिब्रोमा झुन्डिइहाल्थे । पचासको दशकदेखि र साठीको मध्यसम्म उनले नेपाली फिल्ममा गाएका अधिकांश गीत हिट छन् । फिल्म हिट नभए पनि उनका गीत श्रोताका मनमनमा छन् ।
अहिलेको पुस्तासमेत उनको गीत सुनिरहेको छ, त्यही गीतमा झुमिरहेको छ । उनले पहिलो पटक फिल्म ‘कस्तूरी’ मा ‘तिमीलाई मेरो आँखामा’ गीत गाइन् । यसमा अवसर दिएका थिए, संगीतकार किरण प्रधानले । आधुनिकतर्फ भने पहिलो पटक स्वर्गीय गायक प्रवीण गुरुङको ‘संगम’ एल्बममा दुईवटा गीत गाइन् । त्यसपछि नै सांगीतिक क्षेत्रमा उनको सक्रियता बढेको हो ।
‘इलामको पशुपतिनगरमा जन्मिएँ, बुवा भारतीय सेना भएकाले भारतका विभिन्न सहरमा म हुर्किएँ,’ उनी सम्झिन्छिन्, ‘विद्यालयमा पढ्दा सबैले तिमी राम्रो गाउँछौ भन्थे, कतिले त रेडियो नेपालमा गाउन सल्लाह दिन्थे ।’ त्यही उत्साहले उनी नेपाल आइन् । संगीतकार शिलाबहादुर र कुन्ति मोक्तानसँग संगीत सिक्न थालिन् । संगीत प्रवीण नरराज ढकाल, कुमार श्रेष्ठ र शारदा क्षेत्री उनका गुरु थिए । फिल्म र आधुनिक गीत गाउनमा भने शम्भुजित बाँस्कोटाको सहयोग उनी बिर्सन सक्दिनन् ।
रेडियो नेपालमा स्वर परीक्षा पास नगरी गीत गाउन पाइँदैन थियो । उनी स्वर परीक्षाको तयारीमै थिइन् । त्यहीबीच संगीतकार बुलु मुकारुङले गोरखामा आयोजित कार्यक्रममा उनी सहितका कलाकारलाई लगेर गीत गाउन लगाए । ‘त्यो बेला बुलु दाइले रेडियोमा स्वर परीक्षण गरायौ भनेर सोध्नुभयो, छैन भनें,’ उनी भन्छिन्, ‘कसरी स्वर परीक्षण गर्ने र रेडियो नेपालभित्र पस्ने भन्ने डर थियो ।’ पछि मुकारुङकै सहयोगमा उनी रेडियो नेपाल छिरिन् । दोस्रो पटकको प्रयासमा पास गरेलगत्तै प्रवीण गुरुङसँग गीत गाउने मौका पाइन् । यसबीच सेक्सोफोन बादक शुभबहादुर सुनामले आर्मी अफिर्स क्लबमा गीत गाउन लग्ने गरेको उनी सम्झिन्छिन् ।
२०४९ सालतिर ललिजन रावलको शब्द र नरेन्द्र प्यासीको संगीतमा ‘एउटा परदेशी आई, सोध्यो मेरो नाम’ गीत रेडियो नेपालमा प्रत्यक्ष गाउने अवसर पाइन् । लगत्तै यादव खरेलको शब्दमा ‘यस्तै रहेछ यहाँको चलन’ गाइन् । जुन गीतमा शम्भुजित बाँस्कोटाको संगीत थियो । ‘रेकर्ड गर्दा शम्भुजित सरले एकदमै मिठो गीत गायौ, यसले तिमीलाई केही न केही गर्छ भन्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘उहाँले भनेजस्तै गीत हिट भयो, सबैले मन पराउनुभयो ।’ उनका यी गीत सदाबहार बनिरहे ।
फिल्मी गायनमा हिट
देविकालाई फिल्मका गीतमा एकपछि अर्को अफर आइरह्यो । ‘कस्तूरी’ पछि अशोक शर्माको ‘गरिब’ फिल्ममा गाउने अवसर पाइन् । राजेश पायल राईसँग ‘नागबेली चुल्ठो’ गीत गाइन् । अशोककै निर्देशनमा बनेको ‘नीरमाया’ फिल्मको ‘राम जाने’ मा उमेश पाण्डे र रमना श्रेष्ठसँगै गाइन् । त्यसपछि ‘दैव संयोग’ फिल्मको ‘अच्छा लोकिन’, ‘ताल’ फिल्मको ‘तल–तल बेंसीमा’ शम्भुजित बाँस्कोटासँग गाइन् । ‘दैव’ फिल्मको ‘सीतको थोपा,’ ‘धर्मसंकट’ को ‘लुकिछिपी लुकिछिपी हेर्नेले’, ‘चाँदनी’ फिल्मको ‘अरे बाबा सुन जस्ती’, ‘संन्यास’ फिल्मको ‘मास्टर साहेब’ र ‘सैनिकलाई टुँडिखेल’, ‘जेठो कान्छो’ फिल्मको ‘राना ज्यु’, ‘सजाय’ फिल्मको ‘म पनि जाउँला मुग्लिन बजार’ गीतले उनलाई चर्चाको शिखरमा पुर्याए । ‘माइली’ फिल्मको ‘भरे आउँछु सपनीमा’ गीत कुमार सानुसँग गाउने अवसर पाइन् । ‘यो मायाको सँगर’ फिल्मको ‘कालो कोटमा टाई हेर’ गीत होस् वा ‘मिस्टर रामकृष्णे’ को ‘म भमरा, ‘ठूल्दाइ’ फिल्मको ‘सुनसुन सनम’, उस्तै चर्चामा रहे । ‘सुन चाँदी’ फिल्मको ‘हे संगिता’, ‘ढुकढुकी’ फिल्मको ‘यो माया के हो’ पनि दर्शकश्रोताले एकदमै रुचाए ।
त्यो समयलाई उनी आफ्नो स्वर्णिम कालका रूपमा लिन्छिन् । ‘जुन गीत गायो, त्यही दर्शकश्रोताले मनपराइदिनु हुन्थ्यो,’ उनी भन्छिन्, ‘कति दर्शक त गीत हेर्नका लागि समेत पटक–पटक हल पुगेको खबर पत्रपत्रिकामा पढ्न पाउँदा दंग हुन्थे ।’ उनले एक सयभन्दा बढी चलचित्रका गीत गाएकी छन् । ‘गीत कसरी हिट भयो भन्ने त त्यो बेला कान्तिपुर ‘साप्ताहिक’ पढेर थाहा पाउँथें,’ उनी भन्छिन्, ‘साप्ताहिकमा टपटेन फिल्मका गीत राखिन्थ्यो, पत्रिका नै किनेर हेर्नुपर्थ्यो । अहिले जस्तो मोबाइल, प्रविधि नभएपछि कहिले शुक्रबार आउला र साप्ताहिक हेर्न पाइएला भन्ने हुन्थ्यो ।’ सधैंजसो टपटेनमा उनकै गीत पर्थे ।
त्यो बेला कतिपय गीत नेपालमा रेकर्ड हुँदैन थिए । भारतको मुम्बई जानुपर्थ्यो । त्यसका लागि उनी १० वटासम्म फिल्मका गीत रेकर्ड गर्ने गरी जान्छिन् । ‘करिब १० दिनसम्मको बसाइ हुन्थ्यो,’ भन्छिन्, ‘धेरै समय लाग्ने भएकाले छोराछोरी र श्रीमान् पनि साथै जानुहुन्थ्यो ।’ त्यो बेला रातभरसम्म गीत रेकर्ड गरेको अनुभव उनीसँग छ ।
उनको मूल्यांकनमा दर्शकश्रोताले आधुनिकतर्फ धेरै नै रुचाएको गीत ‘यस्तै रहेछ यहाँको चलन’ हो । उनले सबैभन्दा धेरै गीत नै शम्भुजितसँग गाएकी छन् । ‘यो क्षेत्रमा लागेर दर्शकको धेरै माया पाएँ, फिल्मका लागि गाएका गीत हराएर गएका छैनन्,’ उनी भन्छिन्, ‘फिल्म पुराना भए होलान्, तर गीत बाँचिरहेका छन् ।’ त्यसो त उनले थुप्रै विज्ञापनमा स्वर दिएकी छन्, त्यसमध्येको एक हो, ‘उपहार चिया’ ।
सांगीतिक साँझ पनि त्यसबेला खुबै व्यस्त भइन् । शिखर, टुबोर्ग साँझ जस्ता कार्यक्रम हुन्थे । त्यसका लागि कलाकारहरू देशदौडाहामा निस्कन्थे । ‘धेरै एकल साँझमा सहभागी भए, एक पटकमा २० देखि २५ वटासम्म गीत गाउँथें,’ उनी भन्छिन्, ‘कोभिडका बेला रोटरी क्लब अफ त्रिपुरेश्वरले जुममार्फत एकल साँझ गराएको थियो, जुन मेरा लागि फरक अनुभव रह्यो ।’
देविकाले सांगीतिक क्षेत्रमै बिताएको साढे तीन दशकभन्दा बढी भयो ।‘अहिले धेरै गायक गायिका आउनुभएको छ,’ उनी भन्छिन्, ‘नआत्तिनूस्, यो क्षेत्रमा मिहिनेत गरेपछि अवश्य सफल भइन्छ, संगीत पढेर र बुझेर लाग्दा झन् राम्रो हुनेछ ।’
किमो लगाउँदै गीत रेकर्ड
कोभिड–१९ सुरु हुनुअघिदेखि नै देविकाको ‘ब्रेस्ट’ दुख्ने गर्थ्यो । चिकित्सकलाई देखाए पनि ठूलो समस्याका रूपमा लिएनन् । जब जुमबाट एकल साँझमा सहभागी भइन्, दुखाइ बढ्न थाल्यो । बुटवलमा रहेकी उनी काठमाडौं आइन् । कतै क्यान्सर त भएन भन्ने डर भने उनको मनमा छँदै थियो । उनी डराइडराइ परिवारसँग अस्पताल पुगिन् । ‘पहिलाभन्दा ब्रेस्टमा कालोपनको मात्रा बढेको थियो । डाक्टरलाई देखाउनेबित्तिकै क्यान्सर भएछ, तेस्रो स्टेजमा छ भन्नुभयो,’ उनले सुनाइन्, ‘अचानक यस्तो सुनेपछि डरको मात्रा बढ्यो । अब बाँच्दिनँ भन्ने मात्र भयो ।’
गायिका तारादेवी थापालाई क्यान्सर भएको उनलाई थाहा थियो । तर, सिधै भन्ने आँट आएन । ‘दिदीलाई फोन त गरें, मलाई क्यान्सर भयो भन्न अप्ठ्यारो लाग्यो,’ उनी भन्छिन्, ‘मेरो साथीलाई ब्रेस्टमा क्यान्सर भयो, कस्तो हुन्छ, के हुन्छ भनिदिनु भनें ।’ पहिलो पटक किमोथेरापी गर्दा ११ दिनसम्म बेडमै बसेको तारादेवीले उनलाई सुनाइन् । खान पनि बेडमै खानुपर्ने भनेपछि उनी झन् नर्भस भइन् । सबै उपचार नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमै गराइन् । ‘सुरुमा किमो लगाउँदा गाह्रो भयो, दोस्रो चरणमा थाईमा तीन दिनसम्म इन्जेक्सन लगाउनुपर्थ्यो, जुनबेला मलाई बढी पीडा भयो,’ उनी भन्छिन्, ‘त्यसपछि बिस्तारै सहँदै गएँ ।’ उनले जम्मा १९ वटा किमो लगाइन् । अचम्म त, यसबीच पनि उनले ११ वटा गीत रेकर्ड गराइन् । तर, आफूलाई क्यान्सर भएकोबारे निकै कमलाई मात्रै भनेकी थिइन् ।
‘आफ्नो व्यक्तिगत भोगाइ किन सबैलाई भन्दै हिँड्नु भन्ने लाग्यो र किताब लेख्ने सोच बनाएँ,’ उनी भन्छिन्, ‘काठमाडौंका लेखकलाई भन्दा हल्ला होला भनेर बुटवलकै लेखक चिरन बराललाई काठमाडौं बोलाएर मेरो अवस्थाबारे सुनाएँ र किताब लेखिदिन आग्रह गरें ।’
अरूलाई थाहा नदिएकाले उनलाई कार्यक्रममा गीत गाउन बोलाइन्थ्यो । उनले नायिका तथा निर्माता रोशनी केसीलाई भने आफूलाई क्यान्सर भएको कुरा सुनाएकी थिइन् । ‘मलाई कार्यक्रममा बोलाउनु हुन्थ्यो, कसैलाई क्यान्सर भएको थाहा थिएन, त्यतिखेर कोरोनाको डर नै थियो,’ उनी भन्छिन्, ‘ग्लोब्स, मास्क लगाएर जान्थें, कतिपय बेला त कार्यक्रम भएको एकछिनपछि किमो लगाउनु पर्ने हुन्थ्यो, कार्यक्रम सकिने बित्तिकै किमो लगाउन अस्पतालतिर दौडिन्थें, त्यो बेला रोशनीले सहयोग गर्ने र गाडीमा लग्नु हुन्थ्यो, किमो लगाइसकेपछि फेरि अर्को कार्यक्रममा पुग्थें ।’
उनको आत्मबल देखेर परिवारका सदस्य छक्क पर्थे । बिहानै उठेर शारीरिक व्यायाम र रियाज गर्थिन् । क्यान्सर भएपछि पनि उनले तीज, आधुनिक र भजन गाइरहिन् । ‘क्यान्सर भएको मान्छे गीत गाउन हिँडेको छु, गीत रेकर्ड गराएको छु, वर्ल्ड रेकर्ड नै राख्छु कि क्या हो भन्ने पनि लाग्यो,’ उनी भन्छिन्, ‘यसबारे बुझेर वर्ल्ड रेकर्डका नेपाल प्रतिनिधिलाई घरमा बोलाएँ, उहाँलाई सबै कुरा सुनाएँ ।’ तर, रेकर्ड त्यत्तिकै नहुने, यथेष्ट प्रमाण चाहिने कुरा आयो । त्यसपछि उनी अप्रेसन गरेकोदेखि बेडमा किमो लगाएकोसम्म भिडियो खिच्न थालिन् । भिडियो बेलायत पठाइदिए पनि एक महिनासम्म केही खबर नै आएन । पछि अचानक लन्डन आउनु, वर्ल्ड रेकर्ड दिने निर्णय भएको छ भन्दा उनी खुसी भइन् । ‘तर, तत्कालै नलिने भनें । किताब लेख्दै छु, जुन दिन विमोचन हुन्छ, त्यही दिन रेकर्ड पनि दिनु होला भनेर जवाफ दिएँ,’ उनी भन्छिन् ।
उनको किताब ‘जित्नेको हाँसो’ २०८० वैशाखमा विमोचन गरियो । क्यान्सरकै अवस्थामा एक दर्जन गीत गाउन सकेकामा सोही दिन लन्डनस्थित वर्ल्ड बुक अफ रेकर्ड्स ‘आइकनिक परफर्मिङ आर्टिस्ट’का रूपमा कदर पत्र प्रदान गरेको थियो ।
‘मलाई स्ट्रेचरमा हालेर अस्पतालभित्र लगेकोदेखि अप्रेसन गरेको, कपाल झरेको सबै गरेर १७ मिनेटको भिडियो किताब विमोचनका क्रममा देखाएँ,’ उनी भन्छिन्, ‘हेरेर हलमा रुवाबासी नै चल्यो । सबैले कस्तो लुकाउन सकेको होला भन्नुभयो, मदन दाइ (मदनकृष्ण श्रेष्ठ) को श्रीमती पनि क्यान्सरले बित्नुभएको थियो, त्योबेलाको कुरा निकालेर फेरि रुनु भयो ।’ वर्ल्ड रेकर्ड राखेको बिरामी भनेर विश्वभर किताब पुर्याउन अंग्रेजी संस्करण पनि निकालेको देविकाले बताइन् ।
६/६ महिनामा फलोअप हुने भएकाले उनको दैनिकी तालिकामा चलेको छ । बिहान ५ बजे उठ्छिन । पूजापाठ सकेर एक घण्टासम्म रियाज गर्छिन् । त्यसपछि फेरि एक घण्टा शारीरिक व्यायाम गर्छिन् । ‘खाना आफैं पकाउन मन लाग्छ,’ उनी भन्छिन्, ‘एक बजे अगाडि कसैलाई समय दिन्न, त्यो बेला आफैंलाई समय दिने हो, नगई नहुने ठाउँमा मात्र जान्छु ।’
अहिले उनी आफ्नै इच्छाले मात्र गीत गाउँछिन् । अब उनलाई फिल्मको गीत गाएर पुराना सांगीतिक दिन सम्झन मन छ । ‘फिल्मका लागि धेरैले भनिरहनुभएको छ,’ उनले सुनाइन्, ‘क्यान्सर रोग त जितें, अब फेरि सबैको मन जित्ने गरी गाउनेछु ।’
प्रकाशित : भाद्र २९, २०८१ १०:२८