कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पेमाको ‘शाम्बाला’ अवतार 

भाद्र २९, २०८१
पेमाको ‘शाम्बाला’ अवतार 

Highlights

  • समाजसँग अहिले पनि पेमाहरूले लडिरहेकै छन् । पेमाले आफूलाई सावित गर्न अन्तिम परीक्षा पनि दिन्छिन्, गाउँ भेलामा तीर हानेर आफूलाई सावित गर्न अन्तिम परीक्षा पनि दिन्छिन्, गाउँ भेलामा तीर हानेर 

तीन दाजुभाइसँग एकसाथ बिहे गरेकी पेमाको गर्भमा बच्चा हुर्कंदै छ । तीन पतिमध्ये जेठो टासीसँग प्रेम गर्ने पेमाको पेटमा बच्चासँगै हुर्कंदै छ, समाजको एउटा शंका ! टासी व्यापारका लागि ल्हासा पुगेको छ । अर्का पति माइलो कर्म रिम्पोछेको सेवामै लिप्त ।

उमेरले छोरोजस्तो लाग्ने कान्छो पति दावाका लागि पेमा कर्मले पनि पत्नी कम, आमा ज्यादा हुन् । त्यही दावाको पढाइकै कारण पेमा गाउँको राम सरसँग नजिकिन्छिन् । समाजले ठान्छ, हुर्कंदै गरेको बच्चा ‘राम सर’ को हो । दावाको बालमस्तिष्कले त्यसैलाई सत्य ठान्छ । हिमाली भेगको चिसो सिरेटोले झैं द्रुत गतिमा यो हल्लाले ल्हासाबाट फर्कंदै गरेको टासीको मुटु चिस्याउँछ । आफ्नो प्रियसीसँग जोडिएको यो हल्लालाई साँचो ठानेर घर फर्कंदै गरेको टासीले बाटो फेर्छ । समाजसँग सामना गर्ने हिम्मत नभेटेका टासीले नाङ्ला पासतिरबाटै बाटो मोडेको थाहा पाएसँगै पतिको खोजीमा निस्किन्छिन्, गर्भवती पेमा π

मीनबहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’, हुर्कंदै गरेका नयाँ प्रश्नहरूको उत्तर खोज्न हिँडेकी पेमाको यात्रा हो । जसले पति खोज्ने यो यात्रामा आफ्नो सह–अस्तित्व भेट्टाउँछिन् । समाज, मान/मर्यादा र प्रेमभन्दा पर आफ्नो संसार देख्छिन् । यो यात्रामा पेमाले अनुभव गर्दै जाने भोगाइ, प्राप्त गर्दै जाने जीवनदर्शन अनि अनुभूतिहरू निकै गहकिला छन् । पेमाको जीवन भोगाइ, अनुभव र संघर्ष ती तमाम महिलाहरूको कथा हो, जो अझै पितृसत्तासँग लडिरहेका छन् । पितृसत्ताले थोपरेको सीमाहरू भत्काउँदै गरिएको एक अन्तरात्माको छुवाइ हो– ‘शाम्बाला’ ।

यो एउटा यस्तो फिल्म हो जहाँ संवाद होइन दृश्यप्रधान छ । फिल्ममा अधिकांश समय पात्रले टिबेटियन भाषा बोल्छन्, एकाध दृश्यमा मात्रै नेपाली भाषाको प्रयोग छ । तर, मीनले कथा वाचनमा समाएको दृश्य भाषाको शैली यति सशक्त छ कि, पात्रहरूका भावना बुझ्न संवादकै सहारा लिइरहनु पर्दैन । फिल्ममा एउटा दृश्य छ, जहाँ भान्सामा तीनै पतिहरू खाना खाइरहेका हुन्छन्, पेमा चुलोमा व्यस्त छिन् । लहरै बसेर खानाको मज्जा लिइरहेको यो दृश्य यति लामो समयसम्म देखाइन्छ कि, टासी र दावाले त्यसबीच गर्ने हरेक रमाइला गतिविधिले ध्यान तानिरहन्छ । जब, क्यामेरा बिस्तारै ऐनाबाट हटेर वास्तविक पात्रहरूतर्फ फर्कन्छ, तब त्यस दृश्यले बोल्ने विम्बले मथिङ्गल हल्लाउँछ । लामो समय वास्तविक लागिरहेको उक्त दृश्य अब असत्य लाग्छ, भ्रमजस्तो देखिन्छ । यो दृश्य विस्तारै पेमाका जीवनबाट तोडिँदै जाने भ्रमहरू अनि अंगाल्दै जाने वास्तविकताहरूको प्रतिविम्ब हो ।

लामा–लामा सटले ‘शाम्बाला’ को कथा भन्ने गतिबिना हतारोको लाग्छ । फेरि यहाँका पात्रहरूलाई गोरखपुरको रेल छुटिहाल्ला भन्ने हतारो पनि त छैन π होला, पेमालाई टासीसँग भेटेर सत्य सुनाउने हतारो π यता, पेमालाई साथ दिन यात्रामा सँगसँगै हिँडेको कर्मसँग छ रिम्पोछेको अन्तिम श्वाससम्मै सेवा गर्ने कर्तव्यनिष्ठताको हुटहुटी । यही हतारो र हुटहुटी पूरा गर्नुअघि यी दुईले यो धीमा यात्राको गन्तव्य भेट्नुछ । गन्तव्य भेट्ने यही यात्रामार्फत निर्देशकले विभिन्न जीवनहरूलाई छोएका छन्, अनि जीवनको नयाँ खोज पहिल्याएका छन् । फिल्मको कथा भन्ने शैली धीमा भए पनि दर्शकलाई बाँधिरहने थुप्रै तत्त्वहरू फिल्ममा छन् । जस्तै, फिल्मको एउटा दृश्यमा पेमा राम सरलाई भेट्न विद्यालय पुगेकी हुन्छिन् । उक्त दृश्यमा क्यामेराले कोठाभित्र ढल्किरहेका राम सरलाई देखाउँछ, जो आधा ढाकिएको शरीरमा देखिन्छन् । पेमालाई अचानक त्यहाँ देखेका रामले हत्त न पत्त शरीर ढाक्छन् । यो दृश्यले दुईबीचको सम्बन्धमाथि पछिसम्म सस्पेन्स सिर्जना गर्छ । हुन त फिल्मको सुरुको दृश्यमै पेमालाई टासीसँगै एउटै ओछ्यानमा देखाइएको हुन्छ । तर, रामसँगको यो दृश्यले भने दर्शकबीच यी दुईको सम्बन्धलाई लिएर कौतूहलता स्थापना गरिएको छ । कथा वाचनको यही शैलीले दर्शकलाई ‘शाम्बाला’ मा बाँधिरहन्छ ।

महिलावादी दृष्टिकोणकै हिसाबले ‘शाम्बाला’ सशक्त फिल्म हो । पितृसत्ताले भन्छ– बिहे नै महिलाका लागि सौभाग्य हो । पेमाले त्यसैलाई सत्य मान्छिन् । पितृसत्ताले सधैं महिलालाई दोषी देख्छ, जसरी गाउँलेले पेमालाई दोषी देख्यो । कुनै बाटोमा भेटेको बटुवाको कुरालाई सत्य मान्दै घर फर्कंदै गरेको बाटो भुलेको टासी यही समाजको प्रतिनिधि पात्र हो । पेमाका लागि टासी केवल प्रेमी रहेन, समाज भइदियो । सत्य सोधखोज नगरी पेमालाई गलत ठान्यो अनि प्रेमको नासो फर्काइदियो । त्यसैले पेमा आफूलाई समाजसामु सही छु भन्ने प्रमाणित गर्न चाहन्छिन् । ‘शाम्बाला’, पेमाले आफूलाई सही सावित गर्न लडेको लडाइँ पनि हो । कारण, पितृसत्तात्मक समाजमा महिलाले हरबखत आफूलाई प्रमाणित गरिरहनुपर्छ । महिलालाई कमजोर, दोषी अनि चरित्रहीन देख्ने समाजसँग अहिले पनि पेमाहरूले लडिरहेकै छन् । पेमाले आफूलाई सावित गर्न अन्तिम परीक्षा पनि दिन्छिन्, गाउँ भेलामा तीर हानेर π तीर हानेर के पेमाले आफूलाई निर्दोष सावित गर्लिन् ? फिल्म हेरिसकेपछि जवाफ तपाईंले आफैंभित्र भेट्नुहुन्छ π फिल्मले यस्ता थुप्रै प्रश्नहरू तेर्स्याउँछ, जसको जवाफ आफैंभित्र खोज्नुपर्ने हुन्छ । ‘शाम्बाला’ को बलियो पक्ष नै यही हो, फिल्मले तपाईं आफैंभित्र उत्तरहरू खोज्न लगाउँछ । अनि, यो बोध गराउँछ– आखिर पेमाहरूले यो समाजलाई कतिन्जेल निर्दोष सावित गरिरहने ? पेटमा हुर्कंदै गरेको सन्तानलाई टासी/राममध्ये कसको हो भन्दै किन तीर परीक्षा दिइरहनुपर्ने ? सन्तान जन्माउने यो महान् कार्यका लागि के कुनै पत्नीका लागि कोही पतिको परिचय आवश्यक हुन्छ ? यो महान् कार्यको निर्णय लिन के उनी स्वतन्त्र छैनन् ?


खासमा ‘शाम्बाला’ पेमाले भेट्ने नयाँ पेमाको कथा हो । नाङ्ला पासको यात्रामा पेमाले बुझ्छिन्, प्रेम क्षणिक हुन्छ भन्ने । समाज, प्रेम र जिम्मेवारीले दबिएकी पुरानो पेमा नाङ्ला पासतिरै छाडिन्छिन् अनि नयाँ पेमाको जन्म हुन्छ । सपनाका विम्बहरूमार्फत ‘शाम्बाला’ को गहिरो अर्थ नयाँ रूप धारण गरेकी पेमामा यहाँ जोडिएको छ । पेमाले विगतका विश्वास, पुरानो जीवनलाई त्यागेर नयाँ स्वरूपलाई अँगालेकी छन् । जहाँ उनी स्वतन्त्र छिन्, पेटमा हुर्कंदै गरेको सन्तानलाई जन्माउन । हिन्दु धर्मशास्त्रअनुसार, विष्णुले कल्कीको अवतार लिने ठाउँ शाम्बाला हो । बौद्ध धर्मअनुसार अन्तिम बुद्ध जन्मिने ठाउँ पनि शाम्बाला हो, त्यसपछि कलियुग सकिन्छ भन्ने विश्वास छ । निर्देशक भामले बारम्बार सेताम्मे हिमालहरूको बीचको स्थान देखाउँदै ‘शाम्बाला’ को गहिरो अर्थ पेमाले धारण गर्ने नयाँ स्वभाव, नयाँ विचार अनि नयाँ अवतारसँग जोडिदिएका छन् । गर्भवती भएसँगै पेमाले सपनामा देख्छिन्, सूर्यको किरण गर्भमा प्रवेश गरेको, त्यो उज्यालो शरीरभरि फैलिएको अनि आफू शाम्बालामा रूपान्तरित भएको π मीनले कथा वाचनमा मिसाएको यही अध्यात्मिक पक्षले पेमाको यात्रा, समग्र महिला संघर्षलाई सशक्त बनाइदिएको छ । महिला चरित्र चित्रण, महिला मुद्दा र महिलावादी दृष्टिकोणमा ‘शाम्बाला’ बलियो उदाहरण बनेको छ ।

फिल्ममा थुप्रै विम्बहरूको प्रयोग छन् । सेतो घोडाले पेमालाई योद्धाका रूपमा उभ्याइरहन्छ । पेमा सेता हिमालझैं अटल छिन्, नकाबधारी पुरुषत्वको पहिचान गर्न सक्छिन्, ढोंगी समाजको वास्तविकता खोलिदिन सक्छिन् । उनीहरूका अनुहारबाट नकाब उतारिदिन सक्छिन् । फिल्ममा बहुपति प्रथा, डोल्पाको जनजीवन र सांस्कृतिका मिहिन पक्षहरू केलाइएका छन् । जस्तै, घरमूलीले ढोकामा झुन्ड्याउने जुत्ता । घरमूली नहुँदा दावाले भित्तामा झुन्ड्याएको त्यही जुत्ताले पनि पितृसत्तात्मक समाज देखाउँछ । फिल्ममा ’शाम्बाला’ को गहिरो अध्यात्मलाई निर्देशक मीनले कथासँगै अन्तरघुलन गरेका छन् । यो अन्तरघुलनलाई बुझ्न एकाग्र हुनैपर्छ । त्यसलाई बुझाउन सपनाका सुन्दर विम्ब प्रयोग गरिएका छन् । पेमाले रिम्पोछेलाई आशीर्वाद दिएको सपनाको दृश्यमा त्यो अन्तरघुलन भेटिन्छ । अभिनयका सवालमा थिन्ले ल्हामोले आफूलाई अब्बल सावित गरेकी छन् । छोटो भूमिकामा कर्माको अभिनय सशक्त छ । सोनम र तेन्जिङको अभिनय उम्दा छन् ।

प्रकाशित : भाद्र २९, २०८१ ०९:०४
×