करमधरम पुजामा गाइने गीतको एउटा हरफ यस्तो छ– ‘गोदना पराइदे हता शरीरमे ।’ ढोलकको तालमा गाइने यो समूह–गीतले पूरै गाउँ गुन्जिन्छ, खास गरी झुमर खेल्ने बेला । यो गीत हाम्रो समुदायमा गोदना संस्कृतिको इतिहासजस्तो हो । ‘कुडुख’ आदिवासीका लागि गोदना बनाउनु एक संस्कृति हो । मैले त आमा र हजुरआमाको शरीरभरि गोदना देखें । तर, यो संस्कृति पुस्तौंदेखि चलेर आयो आजसम्मै ।
‘आज्जी, आज्जी, आज्जी... खरा कोहा ककडो रइ,’ हामी दुईबीच घम्साघम्सी चलिरहेको थियो । न मैले छोडिरहेकी थिएँ, न एक हात गहिरो दुलोभित्र बसेको गँगटोले । मेरा दसमध्ये माझीऔंलालाई दुई ठूला बक्का (कैंची) ले बेस्सरी च्याप्प समातिरहेको थियो गँगटो ।