कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ओलम्पिक खेल्ने शरणार्थी खेलाडी

एपी

पेरिस — उनीहरूले एउटै झण्डामुनि खेल्नेछन् । तर उनीहरू विश्वको फरक–फरक भू–भागबाट आएका हुन् । अनि फरक भाषा बोल्छन् । युद्धग्रस्त क्षेत्र छाडेर आएका र आफ्नो देशमा उत्पीडन सहनुपरेका ११ देशका ३७ खेलाडी पेरिस ओलम्पिक २०२४ मा भिड्दै छन् । उनीहरूले खेल्नेछन्, शरणार्थी ओलम्पिक टिमबाट ।

ओलम्पिक खेल्ने शरणार्थी खेलाडी

सन् २०१६ को रियो दी जेनेरियोमा भएको ओलम्पिकका बेला यस्तो टिम पहिलोपल्ट बनेको थियो । उनीहरू अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को झन्डामुनि खेल्छन् ।

यसको एउटै उद्देश्य थियो, विश्वभर रहेको शरणार्थी समस्या उजागर गर्ने । पेरिसमा यो टिमले त्यतिबेला खेल्न लागेको छ, जतिबेला कीर्तिमान संख्यामा बसाइँसराइ चलिरहेको छ । त्यो पनि दसौं लाखको संख्यामा । त्यसमध्ये केहीले आफ्नो घरबार गुमाएका छन् । अहिलेका खेलाडी पनि त्यस्तै हुन्, जसले आफ्नो जीवनलाई फेरि एकपल्ट शून्यबाट केही राम्रो गर्ने उत्साहसहित सुरु गरेका छन् ।

कीर्तिमानी बसाइँसराइकै कारण विभिन्न देशमा यसविरुद्ध आवाज पनि उठ्न थालेको छ । केही देशले भने यो समस्या समाधानका लागि आफ्नो सक्रिय भूमिका हुने बताएका छन् । अहिलेको टिमले त्यस्तो देशमा ओलम्पिक खेल्न थालेको छ, जहाँ शरणार्थी विरोधी राजनीतिक शक्ति उदय हुने डर छ । तर, मतदानमा पराजित भने भएको छ । पेरिसमा यी शरणार्थी खेलाडीले १२ खेलमा सहभागिता जनाउने छन् । ओलम्पिकसम्म पुग्नु नै उनीहरूका लागि जित साबित भइसकेको छ । यस्तै खेलाडीमध्ये केहीको कथा यस्तो छ :

फर्नान्डो डायेन जोर्गे (क्यानोइङ)


क्युबाको सिनेफुगोसमा फर्नान्डो डायेन जार्गेले सानो छँदा माछा मार्ने ढुंगामै बिताएभन्दा हुन्छ । उनको घर पनि समुद्र छेउमै थियो । जतिबेला उनी ११ वर्षका थिए, आफ्नो बुवाको काममा सहयोग गर्न थाले । उनी अहिले २५ वर्षका भए । उनले क्युबाको प्रतिनिधित्व गरेर दुईपल्ट ओलम्पिक पनि खेले । त्यो रियो दी जेनेरियो र टोकियोमा थियो । अहिले उनले बसाइँ सरेका छन् । शरणार्थी भएका छन् । कामदारका रूपमा जीवनयापन गर्छन् ।

अचेल अमेरिकाको फ्लोरिडामा बस्छन् । तर, क्यानोइङप्रतिको माया टुटेको छैन । उनको प्रदर्शन पनि कम्तीको छैन, सबैले प्रशंसा नै गर्छन् । उनी आफ्नो तेस्रो ओलम्पिक सहभागितामा अझ राम्रो गर्न चाहन्छन् । उनी भन्छन्, ‘पेरिस ओलम्पिकमा खेल्ने सपनामा पनि देखेको थिइनँ । तर, यो पूरा भएको छ । यो मेरा लागि ठूलो अवसर हो । मैले त्यस्ता धेरै क्युबाली देखेको छु, जसले आफ्नो देश छाडेर अमेरिका आउँछन् र आफ्नो सपना त्योसँगै टुटेको हुन्छ ।’

उनले टोकियोमा हजार मिटर क्यानोइङ स्प्रिन्टमा स्वर्ण पनि जिते । त्यतिबेला आफ्नो खेलजीवनको उत्कर्षमा थिए उनी । सन् २०२१ मा उनले आफ्नो देश छाडे । मेक्सिकोमा अभ्यास गर्नेक्रममा अमेरिका भागे । उनी के मान्छन् भने क्युबामा फरक राजनीतिक सोच राख्ने हो भने त्यहाँ बाँच्न पनि सकिन्न ।

त्यसैले उनले आफ्नो घर छाडे नयाँ जीवनको आसमा । त्यो नि अनिश्चित भविष्य । अमेरिका आएयता उनले शरणार्थीको दर्जा भने पाएका छन् ।

मनिझा तलाश (ब्रेकिङ)


मनिझा तलाशलाई तालिवानको पटक्कै डर लाग्दैन । स्पेन आएर त्यहाँ शरणार्थी भएकी उनी भन्छन्, ‘म यहाँ आएकी छु । किनभने मलाई आफ्नो सपना पूरा गर्नु छ ।’ उनी आजभोलि म्याड्रिड सहरको बाहिरी छेउतिर बस्छिन् । यी २१ वर्षीया खेलाडीले पहिलोपल्ट समावेश गरिएको ब्रेकिङमा आफ्नो चुनौती पेस गर्नेछिन् । यो खेललाई लोकप्रिय भाषामा ब्रेक डान्सभन्दा हुन्छ । उनी हिपहप संगीतमा आफूलाई सुन्दर ढंगमा ढाल्ने गर्छिन् ।

महिना दिनअगाडिसम्म पनि उनी एउटा हेयर सैलुनमा काम गर्थिन् । सन् २०२१ मा अफगानिस्तानी सत्तामा तालिवान फर्केपछि मनिझा मात्र होइनन् । अरू हजारौं सैनिक विमानबाट स्पेन पुगेका थिए । ब्रेकिङ खेलसँग पहिलोपल्ट परिचय हुँदा उनी भर्खर १७ वर्षकी थिइन् । उनले सामाजिक सन्जालमा यो खेल पहिलो पटक देखेकी थिइन् । त्यही दिन यो खेलमा उनको माया बस्यो । सुरुमा त उनलाई शंका लागेको थियो, यसरी पनि नृत्य गर्न सकिन्छ भनेर । ब्रेक डान्स खेल पहिलोपल्ट यस ओलम्पिकमा समावेश गरिएको हो ।

तर, उनलाई पनि यस्तो गर्न मन लागेको थियो । काबुलमा यस्तो क्लब पनि थियो, जहाँ यस्तो नृत्य सिकाइन्थ्यो । त्यहाँ पुगिहालिन् । यस्तो नृत्य सिक्ने उनी एक्ली केटी थिइन् । मनिझा भन्छिन्, ‘तालिवानलाई कोही केटीले नृत्य गरेको मनपर्दैन । तर यो नृत्यमात्र होइन, एउटा खेल नै हो ।’ एक दिन त्यही क्लबअगाडि बम विष्फोटन भयो । स्थानीय प्रहरी आएर त्यसलाई बन्द गर्न लगाए ।

मोहम्मद अमिन अलसलामी (एथलेटिक्स)


सन् २०१५ को अक्टोबरमा जतिबेला मोहम्मद आमिन अलसलामी बर्लिन ओर्लिए, त्यो निकै चिसो दिन थियो । उनले आफूलाई एक्लो महसुस गरिरहेका थिए । उनलाई घरपरिवारको असाध्यै सम्झना आइरहेको थियो ।

उनले गृहयुद्धमा अल्झेको आफ्नो सहर एलेपो छाडेका थिए । सिरियाबाट भाग्दै सानो ढुंगामा सबैभन्दा पहिले टर्की पुगे, त्यसपछि ग्रिस र अन्त्यमा जर्मनी । एक दशकको समयपछि उनले जर्मनीमा शरणार्थीको औपचारिक परिचय पाएका थिए ।

अहिले उनी २९ वर्षका भए । मज्जाले जर्मन भाषा बोल्न सक्छन् । उनले सक्दो नयाँ साथी बनाएका छन् । अहिले उनले उज्ज्वल सपना देखेका छन् विश्वस्तरीय एथलेटिक्सका खेलाडी बन्ने । एकै महिनाअगाडि मात्र उनलाई पेरिस ओलम्पिक खेल्ने अवसरको समाचार आइपुगेको थियो । स्वाभाविक रूपमा खुसीको सीमा थिएन । उनी भन्थे, ‘ओलम्पिकमा सहभागिताको सपना पूरा भएको थियो, मैले आफूलाई रोक्नै सकिनँ, रोइहालें ।’ एथलेटिक्सप्रति उनको प्रेम भने १५ वर्षको उमेरमै बसेको थियो, जतिबेला स्कुलमा

पढ्दा शारीरिक शिक्षा पढ्नुपर्थ्यो । केही प्रशिक्षकले एथलेटिक्समा उनको सम्भावना देखे । विशेषतः हाइजम्पमा । सिरियामै रहेका बेला उनले केही प्रतियोगितामा खेले अनि पदक पनि जिते । तर, देशमा गृहयुद्ध भइहाल्यो, खेल हुन छाड्यो । सिरियाभित्रै उनी शरणार्थीको स्थितिमा थिए । त्यसैले उनी आफ्नो देश छाड्न बाध्य भए ।

इमान महादभी (कुस्ती)


मिलानस्थित आफ्नो घरमा इरानी स्वादका खाना पकाउँदा इमान महादभी खुसी हुन्छन् । खुसीभन्दा पनि भावुक हुन्छन् । उनी भन्छन्, ‘मैले आफैं खाना पकाएको देखेको भए आमालाई विश्वास नै हुने थिएन ।’ तर उनले

आफ्नी आमालाई नदेखेको धेरै भयो । सन् २०२० को अक्टोबरयता । त्यही वर्ष यी इरानी कुस्तीवाजले ज्यानकै डर भएपछि आफ्नो देश छाडे । आफूले लगाएको एकजोर लुगाकै भरमा उनी सुरुमा टर्की पुगे र त्यसपछि इटाली ।

त्यो पनि नांगो खुट्टा । उनी ती दिन सम्झेर भन्छन्, ‘मलाई त आफू कहाँ जाँदै छु भनेर पनि थाहा थिएन । तर भाग्यले मलाई ठगेन, म इटाली पुगें ।’ अहिले उनी २९ वर्षका भए । शरणार्थीको दर्जा पाएपछि उनले गरेको पहिलो काम भनेकै फेरि कुस्ती खेल्न थाल्नु थियो । उनका बुवा पनि एक समय कुस्तीवाज नै थिए । इरानमा रहेकै बेला उनी सातपल्ट जुनियरस्तरमा च्याम्पियन भए, ५० भन्दा बढी पदक जिते ।

केही वर्षअगाडि उनका बुवाको हृदयघातले निधन भएको थियो । यसको कारण थियो, कसैले उनलाई छोराको दुर्घटनामा मृत्यु भएको समाचार सुनाएको थियो । इटाली आएपछि उनले एउटा नाइट क्लबमा बाउन्सरको काम पाए । त्यहाँ राति ११ देखि बिहान ५ बजेसम्म काम गरे । उनी बडो मुस्किलले प्रशिक्षणका लागि समय निकाल्छन् । उनी भन्छन्, ‘जसले खेल खेल्छ, उसको सपना भनेकै ओलम्पिक खेल्नु हुन्छ । मेरो उद्देश्य त खेल्नु मात्र छैन, पदक नै जित्नुसमेत छ ।’


प्रकाशित : श्रावण १२, २०८१ ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×