कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

वनकरिया महिला : फिरन्ते जीवन छोडेर बन्दैछन् उद्यमी

भाद्र २२, २०८१
वनकरिया महिला : फिरन्ते जीवन छोडेर बन्दैछन् उद्यमी

हेटौंडा — लोपोन्मुख फिरन्ते समुदायका महिलले खेर गइरहेको जडीबुटीबाट साबुन उत्पादन गरेर आम्दानी गरिरहेका छन् । उनीहरुले नौ महिनादेखि गाउँमै भाडा माँझ्ने, लुगा धुने र नुहाउने साबुन उत्पादन गरिरहेका हुन् । उनीहरूले घिउकुमारी, तितेपाती र निमका पातबाट गत मंसिर महिनादेखि साबुन उत्पादन गरिरहेका छन् ।

तीन दशकअघि जंगलबाट मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापमा बस्दै आएका वनकरिया समुदायले घरेलु उद्योगका रूपमा दर्ता गरेर साबुन उत्पादन गरेर बिक्री गरिरहेका छन् । उनीहरूले उत्पादन गरेका साबुन गाउँमै खपत हुने गरेको समुदायकी अगुवा महिला सन्तोषी वनकरियाले बताइन् ।

समुदायका २५ जना मिलेर वनकरिया चेपाङ महिला साबुन उद्योगको नाममा उद्योग पनि दर्ता गरेका छन् । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरूलाई साबुन बनाउने तालिम दिएपछि आयआर्जनमा जोडिने अवसर प्राप्त भएको सन्तोषी बताइन् ।

साबुन उत्पादन गर्नको लागि आवश्यक औजारसमेत मञ्चले उपलब्ध गराएको थियो । ‘साबुनका लागि निमको बोट आफ्नै बारीमा रोपेका छौं । घ्यूकुमारी पनि बारीमै छ । तितेपातीको खासै दुःख छैन, जताततै पाइन्छ,’ सन्तमाया वनकरियाले भनिन् ।

तालिम दिएको संस्थाले फर्मा र साबुन बनाउन आवश्यक सामग्रीसहित दुई लाख रुपैयाँ उपलब्ध गराएको थियो । उनीहरूले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएका थिए । ‘साबुन बनाउन मिहेनत पर्छ, तितेपाती टिप्न जानुपर्‍यो, केलाउनुपर्‍यो पकाउनुपर्‍यो,’ सन्तोषीले भनिन् । यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या भएका र छालाका रोगीलाई राम्रो हुने उनीहरुको दाबी छ ।

घिउकुमारी, निमको पात र तितेपातीको पेस्ट बनाएर, झन्डै एक घण्टा पकाएपछि त्यसलाई साबुन बनाउने फर्मामा हालिन्छ । मञ्चले समूहका लागि साबुन निर्माणाका लागि पाँच वटा फर्मा दिएको छ । जसमा कुनैमा एक पटकमा ६ वटा साबुन बनाउन मिल्छ भने कुनैमा एकै पटक २४ वटासम्म साबुन बनाउन सकिन्छ ।

‘सानो, मध्यम र ठूलो साबुन प्रतिगोटा २० देखि ६० रुपैयाँसम्ममा बेच्छौं । तालिम दिने संस्थालेसमेत खरिद गरिदिने गरेको छ । अहिले बिक्रीको समस्या छैन,’ सन्तोषीले भनिन्,‘पालिकाका विभिन्न कार्यालय र गाउमा यही साबुन खरिद गरेका छन्, बस्तीका २२ घर परिवारले यहीमात्र साबुन प्रयोग गर्छन् ।’

वनकरिया समुदायको बस्तीमै पुगेर मकवानपुरका प्रजिअ तीर्थराज चिलुवाल र प्रहरी उपरीक्षक सीताराम रिजालले वनकरिया महिलाले उत्पादन गरेको साबुनको अवलोकन गर्नु साथै २ हजार रुपैयाँको साबुनसमेत खरिद गरे । साढे दुई दशकअघिसम्म जंगलमा फिरन्ते जीवन बिताएका वनकरिया महिलाले सावुन उद्योग खोलेर आयआर्जनमा जोडिएकोमा खुशी व्यक्त गर्दै प्रजिअ चिलुवालले भने,‘सदियौंदेखि पछाडी परेको समुदाय र वर्गलाई यसरी नै मुलधारमा ल्याउन सकिन्छ, यो नै उदाहरण हो ।’

मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जमिन पनि छैन । ‘उनीहरू धरतीपुत्र हुन् तर उनीहरूकै नाममा एक धुर जमिन छैन,’ वडाध्यक्ष प्रकाश थापाले भने,‘उनीहरू अहिले बसोबास गरिरहेको क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्छ ।’

वनकरिया समुदायीकी अगुवा सन्तोषी वनकरियाले प्रजिअ चिलुवालसमक्ष हाम्रो नाममा यहाँ एक धुर जमिन छैन, धर्तीपुत्र भएर पनि सुकुम्वासी बन्न परेको पीडा व्यक्त गरिन् । ‘हामी अहिले जहाँ बसेका छौं, त्यही थातथलोको जग्गा जमिन हाम्रो नाममा गरिदिने व्यवस्था मिलाईदिए हुन्थ्यो,’ उनले प्रजिअ समक्ष आग्रह गरिन् ।

लोपोन्मुख वनकरिया समुदाय करिब तीन दशक अघिसम्म जंगलमा फिरन्ते जीवन बिताइरहेका थिए । उनीहरूको जीवनलाई सहज बनाउन सरकारले २०६२ सालमा मुसेधापस्थित कबुलियती वन उनीहरूलाई उपलब्ध गराएको थियो । अहिले बसोबास गरेकै स्थानको जग्गाको लालपुर्जा उपलब्ध गराइदिन सरकारसँग उनीहरूले माग गर्दै आएका छन् । तर सरकारले उपलब्ध गराउन सकेको छैन ।

मुसेधापमा अहिले २२ घरपरिवारमा ९३ जना वनकरिया परिवार बसोबास गर्दै आएका छन् । सरकारले २०६६ सालदेखि लोपोन्मुख दश वटा जातिलाई मुलुकको मूलधारमा ल्याउने उद्देश्यले वनकरिया समुदायलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ । मातृ संस्थाको प्रभाव रहेको यो समुदायको अगुवाका रुपमा महिलाहरु नै छन् ।

प्रकाशित : भाद्र २२, २०८१ १८:५९
×