कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

रैथाने बाली संरक्षण र हाट बजार सञ्चालन गर्न प्रदेश सरकारले सघाउँछ : मन्त्री श्रेष्ठ

भाद्र ३१, २०८१
रैथाने बाली संरक्षण र हाट बजार सञ्चालन गर्न प्रदेश सरकारले सघाउँछ : मन्त्री श्रेष्ठ

काभ्रे — बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले रैथाने बाली संरक्षण र पालिकास्तरीय हाट बजार सञ्चालन गर्न प्रदेश सरकारले सघाउने बताएका छन् ।

सोमबार काभ्रेको धुलिखेलमा जिल्ला कृषि विकास कार्यालय, बागवानी विकास केन्द्र पाँचखाल र पशु सेवा कार्यालयले संयुक्तरुपमा गरेको आर्थिक वर्ष २०८०/८१ को समिक्षा तथा २०८१/८२ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेशले रैथाने बाली संरक्षणका लागि नयाँ कार्यक्रमको तयारी गरिरहेको बताए ।

उनले रैथाने बाली संरक्षणका विषयमा धेरै प्रचार भइरहेको, तर वास्तविक रुपमा भने संरक्षणका कुनै पनि कार्यक्रम नभएको पाइएको बताए । उनका अनुसार, यस विषयलाई सरकारले पनि चासो नदिएको अवस्था छ । प्रदेश सरकारले भने रैथाने बाली संरक्षणका लागि प्रदेशका १३ जिल्लाका ११९ वटै पालिकासँग सहकार्य गरेर संरक्षण गर्न फरक अनि नयाँ खालको कार्यक्रम गर्ने योजना बनाइरहेको उनले बताए ।

त्यस्तै, किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सघाउनको लागि प्रदेश सरकारले प्रदेशका ११९ वटै पालिकामा हाट बजार सञ्चालन गर्ने योजना बनाएको मन्त्री श्रेष्ठले बताए । उनका अनुसार, बिचौलियाको हाबीका कारण वास्तविक किसानले आफूले उत्पादन गरेको कृषि उपजको राम्रो मूल्य पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले प्रदेशका सबै पालिकामा हाट बजार सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ १८:०६
x
×