कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

भोटेकोसीमा जिप दुर्घटना : बेपत्ता चालक तीन दिनपछि मृत फेला

आश्विन १, २०८१
भोटेकोसीमा जिप दुर्घटना : बेपत्ता चालक तीन दिनपछि मृत फेला

सिन्धुपाल्चोक — भोटेकोसी नदीमा दुर्घटना भएको बोलेरो जिप चालक तीन दिनपछि ओखलढुंगाको सुनकोसी गाउँपालिका-१ स्थित खुजी नदीमा मृत भेटिएका छन् । 

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेकाअनुसार बा २० च २१८५ नं. को क्षतिग्रस्त जिपका मृत चालक भोटेकोसी गाउँपालिका-५ बस्ने वर्ष ३८ का सानु शेर्पा हुन् । उनलाई जिपबाट भोटेकोसीले बगाएको प्रहरीको प्रारम्भिक अनुमान गरेको थियो । 'सानुको तीनदिनपछि मात्रै शव भेटिएको छ, मंगलबार आफन्तजन र परिवारले परम्परागत रुपमा दाहसंस्कार गरेका छन्,' पाण्डेले भने । शेर्पाको शव ओखलढुंगाबाट काभ्रेको धुलिखेल अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको उनले जनाए ।

सानुसहित बेपत्ता बाहृबिसे नगरपालिका-९ बस्ने वर्ष ३५ की सुन्तली तामाङको शव शनिबार सुनकोसी जलविद्युत्‌को ड्यामसाइड क्षेत्रको नदीमा फेला परेको थियो । 'घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ,' पाण्डेले भने ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार क्षतिग्रस्त जिपमा दुवै सवार थिए । दुवै फोन सम्पर्कमा नआएपछि प्रहरीले शंकास्पद स्थानमा खोजी थालेको थियो । शुक्रबार बिहान बाह्रबिसे-६ बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट करिब सय मिटर तल भोटेकोशीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेको कमाण्डमा ५ जनाको टोली र प्रहरी चौकी हिन्दीबाट प्रहरी हवल्दारको कमाण्डमा २ जना खटिएका थिए । जिप निकाल्न सशस्त्र प्रहरी बल, नेपाली सेनाको उद्धारको टोलीले समेत साथ दिएको थियो ।

मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट मगाइएको एउटा क्रेनबाट पटक-पटक प्रयास गरेका थिए । स्थानीय र आफन्तसँगको सोधपुछका आधारमा जिप बिहीबार बेलुका नै नदीमा खसेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित : आश्विन १, २०८१ १८:१३
x
×