दोलखा — भीमेश्वर नगरपालिका–६ मा रहेको गैराश्वारा कृषि फर्मको बगैँचामा लटरम्मै किवी फलेको छ । यो फर्ममा ८ सय बोट किवी फलेको छ । सञ्चालक राजु थापाका अनुसार गएको वर्षभन्दा यो वर्ष किवी उत्पादनमा बृद्धि भएको छ । तर किवीको बजार भने छैन । बगैँचामा सजावट बनेका किवी कहाँ लगेर बिक्री गर्ने ? थापा अन्योलमा छन् ।
उनको फर्ममा ग्रीन अर्थात् हेवार्ड र एलिसन जातका किवी छन् । किवी टिप्ने समय भइसक्यो, तर दुई महिनादेखि बजार खोजिरहेका थापाले मेसो पाएका छैनन् ।
उनको फर्ममा हुर्केका बोटबाट यो वर्ष कम्तिमा ४ मेट्रिक टन किवी उत्पादन हुने उनको अनुमान छ। तर बजार नभएपछि उनी अन्यौलमा छन् । कतिपय किसानले दसैँ खर्च जोहो गर्न किवी टिप्न थालिसकेका छन् । किवी नपाक्दै टिपेर बजारमा लैजाँदा थप समस्या निम्तिदै गएको उनले बताए ।
‘हेवार्ड र एलिसन जातका किवी मंसिर र पुसमा टिप्नुपर्छ, तर किसानले यी जातका किवी परिपक्क नभइ चाडपर्व खर्च जोहो गर्न टिप्न थालेका छन्,’ उनले भने, ‘बजारमा हरेक वर्ष किवीको मूल्यमा गिरावट आएको छ, यस्तोमा अपरिपक्क किवीले बजार थप संकटमा परेको छ ।’
जिल्लाभर किवी खेती गर्ने किसान बढ्दै गएका छन् । तर बजार भने हरेक वर्ष खुम्चिदै गएको थापा बताउँछन्। ‘सुरुमा किवीबाट राम्रो आम्दानी हुन्छ भनेर यो खेती सुरु गरेँ,’ उनी भन्छन्, ‘तर हरेक वर्ष किवीको बजार घट्दो छ, बजारमा पनि मनलाग्दी किवीको भाउ छ । राम्रो भाउ खोज्दा किवी नबिकेर खेर जाने अवस्था आउन थालेको छ ।'
जिल्लामा निकै कम किसानले रेड र गोल्डेन किवी लगाएका छन् । रेड किवी अन्य जातका किवी भन्दा बढी मूल्यमा बजारमा बिक्री हुने गरेको छ । रेड किवीमध्ये साउनदेखि असोजसम्म परिपक्क भएर बजारमा आउने गरेको छ ।
गत हप्ता रेड किवी टिपेर बजारमा ल्याएका भीमेश्वर–३ का लिलाबहादुर सुवेदीले निकै सकसले किवी बेचे । गएको वर्षसम्म ठिकठाक भाउ पाएका उनले यो वर्ष प्रतिकेजी २ सय रुपैयाँको भाउ लाउने गरेका गुनासो गरे । ‘हरेक वर्ष सयदेखि डेढसयसम्म बजार भाउ घटेको घट्यै छ,’ उनले भने, ‘अलि भाउ पाइने भनेको रेड किवीमा हो, यसको पनि बजार खुम्चिएको छ ।’
जिल्लामा किवी खेती सुरु भएको डेढ दशक भयो । ८ हजार मेट्रिक टन भन्दा बढी उत्पादन भइरहेको छ । बजारमा सबैभन्दा राम्रो ग्रेडिङ भएको रेड किवीको मूल्य २ सयदेखि ३ सय रुपैयाँमा बिक्री भइहरेको उनले बताए । तर किसानले किवी खेतीका नाममा जथाभावी जात रोपेका कारण किवीको गुणस्तरमा ह्रास आएको उनको भनाइ छ ।
जिल्लामा हाल हेवार्ड, एलिसन, मोन्टी ब्रुनो लगायतका ६ जातका किवी किसानले लगाएका छन् । भीमेश्वर–६ की गिता दाहालको फर्ममा ६ सय बोट किवी ५ वर्षअघि लगाइन् । अहिले उक्त बोटहरुले फल दिन लागेको २ वर्ष भयो । तर उनलाई किवी कहाँ बेच्ने टुङगो छैन ।
'विगतमा राम्रो आम्दानी दिन्छ भनेर ठूलो मात्रामा किवी लगायौं,’ उनी भन्छिन्, 'उत्पादन सुरु भएपछि बजारको टुङ्गो छैन, गएको वर्ष थोरै फलेपनि यो वर्ष उत्पादन बढेको छ, बजार खोज्दै छु ।’ बजारमा ग्रीन किवीको ग्रेडिङ गरेको भए मूल्य एकसय पचाससम्म पाइने उनले बताइन् ।
किवी किसानले २ महिनाअघि नै किवी टिपेर बजारमा ल्याउने गरेका कारण थप समस्या परेको उनले बताइन् । आम्दानीको लोभमा किसानले प्राविधिक ज्ञानविनै लगाएका छन् । किवी खेती सुरुमा महँगो हुन्छ । ५० वटा बोट रोप्नु पर्ने भएमा किसानको कम्तीमा २ लाख ५० हजार खर्च हुन्छ ।
‘प्रत्येक वर्ष किवीका किसान बढ्दै गएका छन्,’ दाहालले भनिन्, ‘जिल्लाका हरेक घरमा १/२ बाट किवी नभएको घर छैन । किवीको उत्पादन बढ्दो छ, त्यहीअनुसार गुणस्तर भने खस्किँदै गएको छ ।’ जिल्लामा ३ हजार भन्दाबढी किसानले व्यवसायिक रुपमा किवी खेती गरेका छन् ।
सरकारले किवीलाई ब्राण्डिङ गरे विदेश निर्यात नगरेसम्म किसानले बजार नपाउने उनले बताइन् । किवीको खपत् नेपालमा अत्यन्तै कम हुने र बजार पनि नभएकाले किसानले पुनः खेती माँस्ने हो की भन्ने चिन्ता उनीमा छ । ८० ग्राम भन्दा सानो किवीलाई गुणस्तरयुक्त किवी मानिदैन ।
सरकारले किवी जोन कार्यक्रम अर्न्तगत दोलखालाई प्रोत्साहन गरेर ८ करोड भन्दा बढी लगानी गरेको छ । हाल उक्त सरकारी कार्यक्रम जिल्लामा छैन। स्थानीय तहले पनि किवीलाई प्रोत्साहन गरिरहेको छ । तर यसको बजारीकरण र ब्राण्डिङमा भने तीनै तहको सरकारले कुनै योजना ल्याएका छैनन् ।
भीमेश्वर नगरपालिकाले बजारमा बिक्री नभएर खेर जाने किवीबाट जाम, जेली, जुस लगायत उत्पादन गर्न सीप विकासको तालिम संचालन गरेको उपप्रमुख कमला बस्नेतले बताइन् । ‘किसानले आफ्नो पहुँचले उत्पादित किवी देशभित्र र बाहिर बिक्री गरिरहेका छन्,’ उनले भनिन्, ‘ग्रेडिङमा नपरेका खेर जाने किवीबाट उप्तादन हुने अन्य सामाग्री बनाउन प्रोत्साहन गर्ने गरेका छौं ।’
किवी खेतीमा जिल्लामा सरकारी, गैरसरकारीसहित सहकारी र स्थानीय तहहरुले पनि लगानी गरिरहेका छन् । तर यो फलको भविष्य के हुने हो कुनै निकायले अध्ययनसमेत गरेका छैनन् । विना अध्ययन किसानलाई किवीमा आकर्षित गरेपनि बजारीकरणलाई कतैबाट सहजीकरण नभएको किसानले गुनासो गरेका छन् ।
प्रकाशित : आश्विन ३, २०८१ १६:१८