कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कृषि तथा वन विश्वविद्यालयमा तीन सातादेखि ताला

आश्विन ३, २०८१
कृषि तथा वन विश्वविद्यालयमा तीन सातादेखि ताला

चितवन — सत्तारूढ दुई विद्यार्थी संगठनबीचको झडपपछि चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लगाइएको ताला तीन साता बित्दासमेत खुलेको छैन ।

नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच भदौ १३ मा झडप भएपछि गरिएको तालाबन्दी खोल्न मंगलबार भएको छलफल निष्कर्षविहीन भएको छ । अर्को सर्वदलीय बैठक शनिबार बस्ने भएको छ ।

विश्वविद्यालयको पुरुष छात्रावासमा बस्नेहरूबीच झडप हुँदा घाइते भएका नेविसंघका दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ । झडपको भोलिपल्टै विश्वविद्यालयले पुरुष छात्रावास खाली गराएको थियो । असुरक्षाका कारण विश्वविद्यालयका सम्पूर्ण गतिविधि बन्द गर्ने विश्वविद्यालय प्रशासनको सूचनापछि भदौ १५ मा नेविसंघले तालाबन्दी गरेको थियो । विश्वविद्यालयले भदौ १७ मा अपिल निकालेर घटनाको अध्ययन गर्न छानबिन समिति गठन भएको, घाइते विद्यार्थीको उपचार भइरहेको उल्लेख गर्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएर परीक्षा र पठनपाठन यथाशक्य छिटो नियमित गर्न सरोकारवालासँग सहयोग मागेको थियो ।

झडपपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा तीन पटक छलफल भइसकेको छ । पहिलेका बैठकमा नआएको कांग्रेस मंगलबार भने सहभागी भयो । ‘घटनाका विषयमा विश्वविद्यालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको भन्ने सुनेका थियौं । त्यसैले ठोस केही विषय आउला कि भनेर हामी बैठकमा सहभागी भयौं । तर त्यस्तो केही आएन,’ बैठकमा सहभागी चितवन कांग्रेसका सभापति राजेश्वर खनालले भने । उनले नेविसंघका विद्यार्थीमाथि आक्रमण गर्नेलाई विश्वविद्यालयले निष्कासन गर्नुपर्ने बताए । ‘होस्टेलभित्र खसी, रक्सी, हतियार कसरी पुगे ? यसको जिम्मेवारी कम्तीमा होस्टेल इन्चार्जले लिनुपर्ने होला ? उनलाई पनि निलम्बन गर्नुपर्छ,’ खनालले भने । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चितवन रामपुरमा रहेको केन्द्रीय कार्यालय ।

बैठकमा सहभागी एमाले चितवनका सचिव प्रकाश ढुंगानाले पनि होस्टेलभित्र भएको घटनामा पदाधिकारी जिम्मेवार हुने कि नहुने भन्ने विषय उठेको बताए । ‘अहिलेको अवस्थामा ल ताला खोलौं भनेर खोल्ने र त्यसैका कारण पढाइ सुरु हुने वातावरण छैन । समस्या दोहोरिँदैन भन्ने सुनिश्चित नगरी ताला खोलेर मात्रै भएन । यस विषयमा दलहरू र प्रशासनले के–के गर्नुपर्ने हो, विश्वविद्यालयले प्रस्ट भनोस्,’ उनले भने ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले घाइते विद्यार्थीको उपचार भइरहेको र घटनाका विषयमा अनुसन्धान, छानबिन र कारबाही प्रक्रिया चलिरहेको हुनाले पठनपाठन सुरु हुनुपर्ने बताए । ‘विश्वविद्यालयले घटनाको छानबिन गर्न बनाएको समितिले भदौ ३० मा प्रतिवेदन बुझाएको छ । त्यसमा घटनाको पृष्ठभूमि र विवरण आएको छ । अझै बढी छानबिन गर्न आवश्यक देखिएको छ,’ उनले भने । यसका लागि शिक्षामन्त्रीलाई अनुरोध गरेको पनि उनले जानकारी दिए । ‘विद्यार्थीमाथि आक्रमण गर्नेहरू समातिएर फौजदारी कसुरमा अनुसन्धानमा छन् । विश्वविद्यालयका तर्फबाट गर्नुपर्ने कारबाहीका लागि पनि प्रक्रिया सुरु भएको छ,’ उपकुलपति रेग्मीले भने, ‘त्यसैले अब पढाइ नरोकौं विश्वविद्यालय खोलौं, थप बर्बाद हुनबाट जोगाउँ भनेर मैले अनुरोध गरेको छु ।’ उपकुलपति रेग्मीको कार्यकाल यही असोज ८ मा सकिँदै छ ।

नेविसंघका इकाइ सभापति निकेश शर्माले भने आफूहरूलाई अहिलेसम्म कसैले वार्तामा नबोलाएको बताए । ‘छानबिन समिति गठन भयो भन्ने सुनेजस्तै त्यसले प्रतिवेदन पनि बुझायो भन्ने सुनेका हौं । त्यसमा के लेखिएको छ, हाम्रा माग सम्बोधन भए या भएन, कसैले केही बताएको छैन । हामीलाई वार्ता छलफलमा कसैले बोलाएको पनि छैन,’ उनले भने ।

विश्वविद्यालयले कृषि, पशु तथा मत्स्य विज्ञान र वन विज्ञान संकायमा स्नातकदेखि विद्यावारिधिसम्मका कक्षा सञ्चालन गर्छ । नौ वटा आंगिक र आठ वटा सम्बन्धन प्राप्त क्याम्पसमा ४५ सय विद्यार्थी छन् । स्नातक तहका विभिन्न सेमेस्टरका मौका र नियमित परीक्षा सुरु भएका थिए । त्यसैगरी स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा भदौ १४ मा सुरु हुँदै थिए । दसैंअघि नै केही सेमेस्टरको परीक्षा सक्ने योजना विश्वविद्यालयको थियो । ‘स्नातक तहको चारवर्षे कोर्सको परीक्षा सन् २०२४ भित्रै सकेर नतिजा पनि निकाल्ने योजना हो । तर अचानक यस्तो असहज परिवेश बन्यो । परीक्षा र नतिजाको तालिकालाई व्यवस्थापन गर्न गाह्रो हुने खतरा बढेर गएको छ,’ विश्वविद्यालयका परीक्षा प्रमुख सहदेव चौधरीले भने ।

प्रकाशित : आश्विन ३, २०८१ १२:२५
×