कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

लगानीकर्तालाई निरुत्साहित पार्नुहुँदैन : मुख्यमन्त्री लामा

आश्विन २, २०८१
लगानीकर्तालाई निरुत्साहित पार्नुहुँदैन : मुख्यमन्त्री लामा

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लगानीकर्तालाई राज्यले निरुत्साहित पार्नु नहुने बताएका छन् । 

हेटौंडामा बुधबार आयोजित वाग्मती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभालाई सम्बोधनका क्रममा मुख्यमन्त्री लामाले राज्यको नीतिका कारण लगानीकर्ता निरुत्साहित भइरहेको जीकिर गर्दै त्यसलाई संशोधन गर्न जरुरी रहेको औंल्याए । ‘लगानीकर्ता निरुत्साहित गर्ने प्रकृतिको ऐन, कानुन परिमार्जन गर्न जरुरी रहेको छ,’ उनले भने ।

मुख्यमन्त्री लामाले उद्योग क्षेत्रको विकासका लागि तीनै तहको सरकारको अधिकारका बारेमा स्पष्ट हुन जरुरी रहेको पनि बताए । प्रदेशमा औद्योगिक क्षेत्र र उद्योगका विषयहरूको अधिकार नरहेको बताउँदै उनले ठूला अन्तर्राष्ट्रिय कम्पनीहरु नेपालमा लगानीका लागि भित्र्याउने वातावरण बनाउन जरुरी रहेको बताए ।

उद्योग सञ्चालनबिना रोजगारी सिर्जना हुन नसक्ने उनको भनाइ थियो । ‘बढ्दो बेरोजगारीको दर घटाउन र युवा पलायन रोक्न रोजगारीका अवसर सिर्जना गर्नु अनिवार्य रहेको छ’, उनले भने । वर्तमान अवस्थामा सरकारले मात्रै रोजगारी दिने अवस्था नरहेको भन्दै उनले निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिए । ‘सरकार र निजी क्षेत्रबीच समन्वय नभएसम्म उद्योग सञ्चालन हुन सक्दैन । रोजगारी पनि सिर्जना हुँदैन,’ उनले भने,‘रोजगारी सिर्जना गर्ने पहिलो उपाय भनेको उद्योग सञ्चालन हो । अहिले कुनै पनि क्षेत्रबाट उद्योगलाई सपोर्ट भएको देखिँदैन । त्यसैले नेपाली लगानीकर्ताहरू पनि बढी विदेशमा पुगेका छन् ।’ मुख्यमन्त्री लामाले उद्योग कलकारखानामा लगानी कसरी भित्र्याउने भन्ने विषयमा सबैले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशकी उद्योग वाणिज्यमन्त्री सुकमाया तामाङले लोकल मदिरालाई ब्रान्डिङ गर्ने गरी उद्योग स्थापना हुनुपर्नेमा जोड दिइन् । लोकल मदिरालाई ब्रान्डिङ गर्ने योजना कार्यान्वयन गर्न संघ सरकारसँग छलफल भइरहेको र उद्योग सञ्चालन गर्ने अधिकार प्रदेशमा हुनुपर्ने उनले बताइन् ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक विकासले देशको आर्थिक अवस्था सुदृढ हुनसक्ने बताए ।

प्रकाशित : आश्विन २, २०८१ १६:४३
x
×