कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

पालिका अध्यक्षले बनाइदिए एकल महिलालाई घर

आश्विन १, २०८१
पालिका अध्यक्षले बनाइदिए एकल महिलालाई घर

मकवानपुर — मनहरि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यहाँकी एक विपन्न महिलालाई घर बनाइदिएका छन् । मनहरि–५ वसन्तपुरकी सोनी राईलाई उनले घर बनाइदिएका हुन् ।

२ लाख १५ हजार रुपैयाँ खर्चिएर बनाइएको पक्की घर मंगलबार हस्तान्तरण गरिएको छ । अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधाबापत प्राप्त हुने रकम सामाजिक सेवामा खर्च गर्ने वाचा गर्दै कोष बनाएर जम्मा गर्दै आएका थिए । सोही कोषबाट अहिले एकल महिला राईलाई घर बनाइदिएको उनले बताए ।

सोनीको परिवारमा उनीबाहेक कोही छैनन् । आठ वर्षअगाडि श्रीमान् नरबहादुर राईको काठ काट्न जंगल जाने क्रममा लडेर मृत्यु भएपछि उनी लामो समयदेखि सानो छाप्रोमा एकल जीवन काट्दै आएकी थिइन् । ‘वर्षायाममा पानी चुहिन्थ्यो । हिउँदमा हावाहुरीले छाप्रो उडाउलाझैं हुन्थ्यो,’ घरको साँचो लिँदै गर्दा सोनीले भनिन्, ‘तपाईंहरू सबैको सहयोगले घर बन्यो, साह्रै खुसी लाग्या छ ।’

स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्ष कालाखेतीलाई जानकारी गराएका थिए । ‘सोनी दिदीको अवस्था देखेर हामी निकै चिन्तित थियौं, दैनिक ज्याला मजदुरी गरेर साँझ–बिहानको छाक टार्नुहुन्छ,’ शान्ताले भनिन्, ‘उहाँको दुःख देखेर गाउँपालिका अध्यक्षलाई भनेका थियौं । उहाँको दुःख बुझेर घर नै बनाइदिनु भयो । ज्यादै राम्रो भयो ।’

प्रकाशित : आश्विन १, २०८१ १६:५४
x
×