कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

शिक्षाको गुणस्तर बढाउन अभिभावकको महत्त्वपूर्ण भूमिका हुने : मुख्यमन्त्री लामा

आश्विन २, २०८१
शिक्षाको गुणस्तर बढाउन अभिभावकको महत्त्वपूर्ण भूमिका हुने : मुख्यमन्त्री लामा

हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले शिक्षाको गुणस्तर बढाउन अभिभावकहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

शिक्षालाई गुणस्तरयुक्त र नतिजामुखी बनाउन अभिभावकहरूले आफ्ना बालबालिकामाथि निगरानी र विद्यालयको पठनपाठनका बारेमा पनि चासो राख्नुपर्ने उनले बताए ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले बालबालिकाको पहिलो शैक्षिक संस्था घर भएकाले पारिवारिक वातावरण, अभिभावकको हेरचाह, निगरानी तथा व्यवहारले उनीहरूको विद्यालयको पढाइमा महत्त्वपूर्ण प्रभाव पर्ने बताए । शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयमा मात्र शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सकिने उनको तर्क थियो ।

असल नागरिक निर्माणका लागि शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउँदै मुख्यमन्त्री लामाले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकार गम्भीर रहेको छ ।’ शिक्षालाई अनुसन्धानात्मक र व्यावहारिक बनाउन जरुरी रहेको उनको भनाइ छ । असान्दर्भिक ऐन नियम र कानुनलाई समयानुकूल परिमार्जन गरेर शिक्षाको गुणस्तर कायम गर्न र सामुदायिक विद्यालयको अवस्था सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री लामाले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सामुदायिक विद्यालयको अवस्था सुधारमा प्रदेश सरकारले लगानी बढाउने जानकारी गराइन् । उनले सरकारको पहलमा मात्र शिक्षा क्षेत्र सुधार सम्भव नरहेकाले सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्ने उनको तर्क थियो ।

शिक्षा दिवसको अवसरमा प्रदेशका १० विद्यालयलाई पुरस्कृत गरिएको छ । दिवसको अवसरमा ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको हो । शिक्षा विकास निर्देशनालय वाग्मती प्रदेशले छनोट गरेका सामुदायिकतर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्दागिरि नगरपालिका काठमाडौं, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौं र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौं उत्कृष्ट भएका छन् ।

यसैगरी संस्थागततर्फका ह्विज किड्स इन्टरनेसनल स्कुल बालुवाटार काठमाडौं, रिलायन्स इन्टरनेसनल एकेडेमी बूढानीलकण्ठ काठमाडौं, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौं, शांकरी स्कुल छाउनी काठमाडौं र माउन्ट ग्लोरी इंग्लिस बोर्डिङ हाइस्कुल उत्कृष्ट भएका थिए ।

प्रकाशित : आश्विन २, २०८१ १७:१३
x
×