कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

इँटा उद्योगलाई वातावारण र प्रविधिमैत्री बनाइनुपर्छ : मन्त्री भण्डारी 

भाद्र ३१, २०८१
इँटा उद्योगलाई वातावारण र प्रविधिमैत्री बनाइनुपर्छ : मन्त्री भण्डारी 

काभ्रे — इँटा उद्योगलाई वातावारणमैत्री र प्रविधिमैत्री बनाइनुपर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् ।

सोमबार काभ्रेको धुलिखेलमा नेपाल इँटा उद्योग महासंघको १६ औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपालमा सञ्चालित इँटा उद्योगलाई वातावारणमैत्री र प्रविधिमैत्री बनाइनुपर्ने बताएका हुन् ।

नेपालमा इँटा उद्योगले पुरानो इतिहिास रहेको बताउँदै मन्त्री भण्डारीले नेपालमा सञ्चालित इँटा उद्योगहरू वातावरणमैत्री, प्रविधिमैत्री, गुणस्तर मापन, उत्पादनको सुनिश्चितता, रोजगारीको सुनिश्चितता लगायतका विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गरी उद्योग क्षेत्रको सुधारको लागि कार्यदल गठन गरिएको बताए । इँटा उद्योगहरूले श्रमिकको स्वास्थ्य प्रतिकुलताको विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले इँटा उद्योगले देश विकासमा ठूलो योग्दान पुर्याएको हुनाले यस उद्योगलाई पर राख्न नमिल्ने बताए । यस उद्योगको आन्तरिक बजार निकै अत्यावश्यक रहेको बताउँदै उनले भने, ‘यस उद्योगमा धेरै चुनौती देखिएका छन्, यो निर्माणको धरोधर रुपमा परिचित छ, मजबुद उद्योग भएकाले चुनौतीका बाबजुद पनि यो उद्योग ढल्दैन ।’

उनका अनुसार, यस उद्योगमा सुधार गर्नुपर्ने पाटोहरू धेरै रहेका छन् । वातावरण प्रतिकुल, स्वास्थ्य प्रतिकुललगायतका विविध विषयमा ध्यान दिन उनले उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे ।

आर्थिक मन्दी तथा सरकारले विकास खर्च गर्न नसकेको कारण त्यसको प्रत्यक्ष मारमा इँटा उद्योगहरू परेको भन्दै झन्डै ३० प्रतिशत इँटा उद्योगहरू बन्द भइसकेको महासंघका अध्यक्ष शंकरबहादुर चन्दले बताए । उनका अनुसार गत सिजनमा ४ सयको हाराहारीमा मात्रै इँटा उद्योगहरू सञ्चालनमा रहेपनि उत्पादन पूर्ण क्षमतामा गर्न नसकेको, उत्पादित इँटाहरू पनि विक्री हुन नसकी उद्योग परिसरमा नै मौज्दात हुादा बैंकको ब्याज र किस्ता सम्म तिर्न गाह्रो परिरहेको उद्योगीहरूको गुनासो गरेका छ्न ।

स्थानीय एवं प्रदेश सरकारहरूले आफ्नो ढंगले कर असुली गर्दा इँटाको लागतमा फरक पर्न गई एक स्थानीय तह वा प्रदेशको इँटा अर्को स्थानीय तह वा प्रदेशमा जान नसक्ने अवस्था सिर्जना भएको भन्दै त्यसको पनि महासंघले ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ १३:३२
x
×