कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कलैयामा ३ किमि सडक एक दशकदेखि अधुरै

भाद्र २२, २०८१
कलैयामा ३ किमि सडक एक दशकदेखि अधुरै

Highlights

  • उबडखाबड मिलाउने, सरसफाइ गर्ने र दैनिक ट्यांकरले पानी छर्किने काममा उपमहानगरपालिकाले बर्सेनि लाखौं खर्चिंदै

बारा — मानमत–मटिअर्वा २६ किमि सडकअन्तर्गत कलैयाको मुख्य बजारमा पर्ने ३ किमि सडक एक दशकदेखि अधुरो छ । मानमत–मटिअर्वाको बीच भागमै पर्ने कलैयाको यो सडक बनाउन नगरवासीले चौतर्फी दबाब दिए पनि सडक बन्न सकेको छैन ।

कलैयाको मुख्य बजारभन्दा वारि (उत्तर) र पारि (दक्षिण) तर्फ गरी २३ किमि सडक कालोपत्र भए पनि बीचको बाँकी भाग शीतलपुरदेखि अवधापुरसम्मको बनाउनुपर्ने चार ‘लेन’ को सडक बन्न नसकेर लथालिंग बनेको हो । घरहरु तोडफोड गरेर माटो, इँटा, बालुवा त्यत्तिकै छाडिएको छ । नाला काटेर जथाभावी माटो थुपारिएको छ ।

दुवैतर्फ नाला, कतैकतै ढलान र पैदलमार्ग (फुटपाथ) बनाउनुपर्ने ठेक्का छ । तर, दशकदेखि बन्न सकेको छैन । सडक अधुरो रहँदा बजारको सौन्दर्य नै धुमिल बनेको छ । २६ किमि सडकमध्ये २० किमिजति कलैया उपमहानगर क्षेत्रभित्र पर्ने भए पनि १७ किमि निर्माण भई बाँकी ३ किमिमा अड्केको हो । हुलाकी मार्ग आयोजनाअन्तर्गत दक्षिणमा दसगजासित जोडिएको मटिअर्वा भन्सार नाकादेखि उत्तरमा पूर्व–पश्चिम राजमार्गको पिलुवासम्म जोडिने उक्त २६ किमि सडकको कालोपत्र पूरा गर्न भारतीय लगानीमै भारतीय कम्पनी भिस्वा कन्ट्रक्सनले २०७१ मा ठेक्का पाएको थियो ।

तर, कम्पनीले निर्माण कार्य अधुरै छोडेर गयो । त्यसपछि उक्त सडक बनाउन सरकारले आफ्नै लगानीमा ८ वर्षअघि फेरि ठेक्का गर्‍यो । आशिष डीएस जेभी कन्ट्रक्सन कम्पनीले २ वटा प्याकेजमा ठेक्का लियो– एउटा १५ किमि र अर्को ११ किमिको । त्यसमध्ये २३ किमि निर्माण पूरा भएको छ । बाँकी ३ किमि सडक भने अलपत्र छ । त्यही सडक बनाउन साढे दुई वर्षअघि २०७८ पुसमा तेस्रो पटक २२ करोड ३१ लाख रुपैयाँमा ठेक्का भएको थियो । २०७९ पुससम्म सम्पन्न गर्ने गरी काठमाडौंका सप्तकोशी जलाधार र ओम साई एण्ड कम्पनीले संयुक्त रुपमा ठेक्का पाएका थिए ।

ठेक्का अवधिमा काम नगरेपछि २०८१ फागुनसम्म म्याद थप गरियो । कम्पनीले अहिले भने काम सुरु गरी यस अवधिमा जम्मा ४० मिटर नालाको ढलान र ‘पीसीसी’ गरिएको हुलाकी मार्ग आयोजना वीरगन्जका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले बताए । सडक निर्माणका लागि साइट ‘क्लियर’ गर्ने काम सबै सम्पन्न भए पनि ठेकेदारले आनाकानी गरिरहेको उनले बताए । ‘आउँदो असोजसम्म निर्माण कार्यमा अपेक्षित प्रगति नभए ठेक्का तोड्ने प्रक्रिया सुरु हुनेछ,’ उनले भने, ‘चार लेन सडकका लागि जमिन अधिग्रहण गरिएकामा त्यसको मुआब्जा वितरण, बिजुलीका पोल सार्नेलगायत निर्माण क्षेत्रको साइट क्लियर भइसके पनि निर्माण कम्पनीले तदारुकता देखाएको छैन ।’

लामो समयसम्म मुआब्जा विवाद, ‘साइट क्लियरेन्स’ नहुनु, ठेकेदार सम्पर्कविहीन रहनु, ठेकेदार अदालती प्रक्रियामा पुग्ने, म्याद थप्ने प्रक्रियामा समय खर्चिने भइरहेकाले सडक निर्माण पूरा हुन दशक लागेको उनले बताए । सडक नबन्दा धूलो उड्ने समस्या भएपछि त्यसमा बाह्रैमास ट्यांकरले दैनिक रुपमा पानी छर्किने, उबडखाबड मिलाउने, सरसफाइ गर्ने काममा उपमहानगरपालिकाले बर्सेनि लाखौं रुपैयाँ खर्च गर्दै आएको छ ।

संसद्को सार्वजनिक लेखा समितिको अनुगमन र ठेकेदार कम्पनीसहित हुलाकी आयोजनाका अधिकारीलाई निर्देशन दिने काम सम्पन्न भएको छ । नगरवासीको पटक–पटक आन्दोलन, यस निर्वाचन क्षेत्रका तत्कालीन सांसदहरुद्वारा सम्बन्धित निकाय र मन्त्रीकहाँ पुगेर पटक–पटक डेलिगेसन, निर्माण कम्पनीका इन्जिनियरलाई स्थानीय प्रशासनको निर्देशनमा नियन्त्रणमा लिनेजस्ता कार्य भएसम्म सडक बन्न नसक्ने नगर प्रमुख विनोद साहले बताए ।

‘नगरवासी र बाह्य यात्रुलाई बाटो हिँड्न समस्या र सवारीलाई सहजताका लागि बाध्यताले नगरबाट साधनस्रोत, बजेट र जनशक्ति परिचालन गरेर सुविधा दिइरहेका छौं,’ उनले भने, ‘जति प्रयास गरे पनि नगरको ३ किमि सडक बन्न सकेको छैन । दशकदेखि नगरको लाखौं खर्च भइसक्यो ।’ तर, आउँदो मंसिरसम्म आफ्नै पहलमा जसरी पनि सबबेसको कार्य गराउने योजना आफूले बनाएको उनले बताए ।

गत वैशाखमा सार्वजनिक लेखा समितिका सांसदहरु प्रदीप यादव, अमरेशकुमार सिंह, देव तिमल्सेनालगायतले सडकको अनुगमन गरेका थिए । सडक निर्माणका लागि नगरवासीले पटक–पटक आन्दोलन गर्दै आएका छन् । ‘सडक नबन्दा धूलोले घरधनी र व्यापारी हैरान छन् । बिरामीले त झन् समस्या झेलिरहेका छन्,’ कलैया–१ भरतचोकका स्थानीय प्रकाश सोनारले भने, ‘घरहरु तोडेर हटाए पनि बनाइदिएको छैन । जसले कलैया बजार कुरुप देखिएको छ ।’

प्रकाशित : भाद्र २२, २०८१ १८:५९
×