कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पुलबाट बस खस्दा १ यात्रुको मृत्यु, ४३ घाइते 

भाद्र ३१, २०८१
पुलबाट बस खस्दा १ यात्रुको मृत्यु, ४३ घाइते 

बारा — पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका-८ उनासी पुलबाट आइतबार मध्यराति यात्रुवाहक बस खस्दा १ जनाको मृत्यु भएको छ । बसमा सवार ४३ यात्रु घाइते भएका छन् ।

६ जनालाई गम्भीर चोट लागेको छ । तिनीहरूको वीरगन्जस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । निजगढ सामुदायिक अस्पतालमा उपचार हुन नसकी थप उपचारका लागि त्यहाँ पठाइएको हो ।

विराटनगरबाट दाङ तर्फ जाँदै गरेको ना८ख ११६४ नम्बरको बस पुलबाट १० मिटर तल खस्दा दाङ देउखुरी गटवा गाउँपालिका-५ का ४५ वर्षीय चेतन राय यादवको उपचारको क्रममा बयोधा अस्पतालमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुसवाहाले बताए ।

४३ जना सवार रहेको बसको धनी, चालक र सहचालकसमेत सवार सबै जनालाई चोटपटक लागेर घाइते भएका हुन् । चालकको खुट्टा भाँचिएको छ । नाम खुल्न नसकेको बस धनीको अचेत अवस्थामा उपचार भइरहेको छ ।

अरुलाई सामान्य चोटपटक लागेपछि निजगढकै सामुदायिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।

उनकाअनुसार तीव्र गतिमा रहेको बसको पट्टा भाँचिएर बस अनियन्त्रित भई पुलबाट १० मिटर तल खस्दा दुर्घटना भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । बस खस्दा पुलको फलामे बारमा समेत क्षति पुगेको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ १२:२७
x
×