कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

शिक्षक खोज्दै रौतहटका विद्यार्थी सडकमा

आश्विन २, २०८१
शिक्षक खोज्दै रौतहटका विद्यार्थी सडकमा

रौतहट — शिक्षक खोज्दै रौतहटका विद्यार्थी सडक आन्दोलनमा उत्रिएका छन् । आम जनता पार्टी (आजपा) निकट आम विद्यार्थी मोर्चाले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै बुधबार सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा विद्यार्थीसहित शिक्षक, अभिभावक र स्थानीयको समेत सहभागिता थियो ।

विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक-पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले बताए । ‘मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजिएको छ,’ उनले भने, ‘शिक्षकबिना पढाइ हुन सक्दैन । सरकारले मधेसलाई हेपेकै हो ।’ आन्दोलनमा सहभागी विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराई विरोधी नारासमेत लगाएका थिए ।

राष्ट्रिय शिक्षा दिवस सरकारले मनाउँदै गर्दा मधेसका विद्यार्थीहरू शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रेका हुन् । आम विद्यार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहको नेतृत्वमा वीरगन्जमा र विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो । यसअघि मौलापुर नगरपालिकाका प्रमुख रिनादेवी साहले शिक्षकको माग गर्दै सरकारको ध्यानकर्षण गराउँदै आएकी छन् ।

विद्यार्थी मोर्चा मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ । आजपाले मधेसका जिल्लाहरूमा भदौ २५ गतेदेखि ३० गतेसम्म प्रत्येक विद्यालयहरूमा संघर्ष समिति गठन गरेको जनायो ।

मधेसका विभिन्न जिल्ला र प्रमुख सहरहरूमा असोज २ गतेदेखि ४ गतेसम्म विद्यार्थीहरूले प्रदर्शन गर्ने कार्यक्रम रहेको विद्यार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहले जानकारी दिए । असोज ९ गते देखि २० गतेसम्म मधेसका प्रत्येक जिल्लामा विद्यार्थीको अनुफातमा शिक्षक दरबन्दीको व्यवस्थाको विषयमा सरोकारवालासँग अन्तर्त्रिया कार्यक्रम गर्ने र कात्तिक ५ गतेदेखि आम शैक्षिक हडताल गर्ने घोषणा आजपाले यसअघि नै गरिसकेको छ ।

प्रकाशित : आश्विन २, २०८१ २०:३२
x
×