कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

कांग्रेस र कम्युनिष्टका कारण देशको दुर्दशा : यादव

भाद्र ३०, २०८१
कांग्रेस र कम्युनिष्टका कारण देशको दुर्दशा : यादव

सिरहा — जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादवले कांग्रेस र कम्युनिष्टका कारण देशको दुर्दशा भएको आरोप लगाएका छन् ।

सिरहास्थित मिर्चैयामा आइतबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र कम्युनिष्टहरूको असक्षमताले मुलुक हरिकंगाल बनेको आरोप लगाएका हुन् ।

'यो मुलुक प्राकृतिक रूपले धनी छ, यहाँ अनेक सम्भावनाहरू छन्,' उनले भने, 'तर, मुलुकमा शासन गरेका कांग्रेस र कम्युनिष्टहरूले देश बनाउनुको साटो हरिकंगाल बनाएर छाडे, आज यो देश दक्षिण एसियाकै गरिब मुलुकमा पर्छ ।'

मुलुकमा कांग्रेस र कम्युनिष्टहरू लामो शासन गरे पनि उनीहरू बेइमान भइदिँदा र नेतृत्वका लागि सक्षम नहुँदा यस्तो दुर्दशा भोग्नुपरेको उनको आरोप छ । 'मुलुकमा आज शिक्षा, स्वास्थ्य सबैको अवस्था दयनीय छ, रोजगारी छैन,' उनले भने, 'यसको कारण नै कांग्रेस र कम्युनिष्ट हो ।'

कांग्रेस र कम्युनिष्टकै अक्षमताका कारण राजनीति जस्तो गम्भीर र संवेदनशील चिज अहिले सस्तो चिज बनेको र पछिल्लो समय अराजनीतिक व्यक्तिहरूले राजनीतिका नाममा समाजलाई गलत दिशातर्फ डोर्‍याउन उद्यत रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

अवस्था बदल्ने नाममा मुलुकमा पटक-पटक सरकार बद्लिने गरेको भए पनि प्राथमिकतामा भने अर्कै कुरा भइदिँदा नागरिकमा आज चरम निराशा पैदा भएको उनको भनाइ छ । अहिलेको सरकार पनि गिरोहतन्त्रकै सेवामा तल्लीन रहेको आरोप यादवको छ ।


प्रकाशित : भाद्र ३०, २०८१ २२:२५
x
×