कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सर्लाहीको हरिवन नगरपालिकाका वडाध्यक्षले खोसे मेयर र उपमेयर चढ्ने गाडी

भाद्र ३०, २०८१
सर्लाहीको हरिवन नगरपालिकाका वडाध्यक्षले खोसे मेयर र उपमेयर चढ्ने गाडी

सर्लाही — नगरले बजेट नल्याएको भन्दै सर्लाहीको हरिवन नगरपालिकाका वडाध्यक्षहरूले मेयर तथा उपमेयर चढ्ने गाडीको साँचो नियन्त्रणमा लिई प्रमुख प्रशासकीय अधिकृतको जिम्मा लगाएका छन् ।

बजेटको माग गर्दै ११ वटै वडाका वडाध्यक्षहरूले आइतबार नगर प्रमुख रमेश बुढाथोकी चढ्ने प्रदेश–२–०३–००१ झ–००२० नम्बरको स्कार्पियो तथा उपप्रमुख हरिमाया घलान चढ्ने ना१झ १५७१ नम्बरको सुमो नियन्त्रणमा लिई साँचो प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालाई बुझाएका छन् । बजेटको छिनोफानो नहुन्जेल साँचो नदिने अडान वडाध्यक्षहरूको छ ।

नगर सभा उद्घाटन भएको डेढ महिना बितिसक्दा पनि आन्तरिक द्वन्द्वका कारण २०८१/०८२ को बजेट आउन सकेको छैन । हरिवनको बजेट तथा योजनामा वडाध्यक्ष र मेयरबीच विवाद देखिएको छ । वडाध्यक्षहरूले शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा एकमुष्ट ठोस योजनाको माग गरेका छन् । उनीहरूले मेयर बुढाथोकीले टुक्रे योजना राख्न खोज्दा विवाद उत्पन्न भएको बताए । हरिवन–३ का वडाध्यक्ष दीपमान लोप्चनले मेयरले एकलौटी रूपमा अघि बढ्न खोज्दा बजेटमा कुरा मिल्न नसकेको जानकारी दिए । उनले बजेट नआउँदा सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलब, प्रशासनिक खर्चसहित योजनाको काम अघि बढ्न नसकेको बताए ।

हरिवन–१० का वडाध्यक्ष शम्भु मैनालीले समयमा बजेट ल्याउन चासो नदिने तर विभिन्न कार्यक्रममा गाडीको प्रयोग गर्ने गरेकाले गाडी नियन्त्रणमा लिई साँचो प्रमुख प्रशासकीय अधिकृतको जिम्मा लगाइएको जानकारी दिए । ‘बजेट नल्याई विभिन्न कार्यक्रममा पुग्नका लागि नगरपालिकाको सरकारी गाडी प्रयोग गर्न पाइँदैन, त्यही भएर हामीले गाडी नियन्त्रणमा लिएर साँचो अधिकृतको जिम्मा लगाएका छौं,’ उनले भने, ‘बजेट नआउन्जेलसम्म साँचो नदिन अधिकृतलाई आग्रह गरेका छौं ।’ वडाध्यक्षहरूले बजेटका लागि वार्ता र संवादका हरेक ढोका खुला रहेको समेत जानकारी दिए ।

मेयर बुढाथोकीले जारी विवाद मिलाएर बजेट ल्याउने प्रयास भइरहेको जानकारी दिए । उनले गाडी नियन्त्रणमा लिंदा पनि आफूलाई फरक नपर्ने बताए । ‘विवादकै कारण अहिलेसम्म बजेट आउन सकेको छैन, वडाध्यक्षहरूको आफ्नै किसिमको योजना छ, मेरो आफ्नै किसिमको योजना छ, यसमै कुरा मिल्न सकेको छैन,’ उनले भने, ‘विवाद मिलाउने प्रयास भइरहेको छ ।’

प्रकाशित : भाद्र ३०, २०८१ १६:४३
×