कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

सुक्खा बन्दरगाहमा कुहिएका वस्तु व्यवस्थापनमै ५५ लाख खर्च लाग्ने अनुमान

भाद्र ३०, २०८१
सुक्खा बन्दरगाहमा कुहिएका वस्तु व्यवस्थापनमै ५५ लाख खर्च लाग्ने अनुमान

पर्सा — आयातकर्ताले नलगेर सिर्सिया सुक्खा बन्दरगाहमै कुहिएर रहेका मालवस्तु व्यवस्थापनमा मात्र ५५ लाख रुपैयाँ खर्च लाग्ने भएको छ । बन्दरगाहस्थित भन्सार कार्यालयले ३ सय ४ वटा यस्ता कन्टेनर लिलाम प्रक्रियामा लगेपनि २ सय १७ कन्टेनरमा कुहिएका वस्तु लिलाम नभएपछि ती वस्तुलाई व्यवस्थापन गर्नु पर्ने भएकाले  व्यवस्थापनमै यति रकम लाग्ने अनुमान भएको हो । 

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले २ सय १७ कन्टेनरमा कम्तीमा २/२ टनको दरले ४३ लाख ४० हजार किलो वस्तु व्यवस्थापन गर्नु पर्ने बताए ।

‘वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसंग तीन चरणमा भएको छलफलपछि महानगर प्रतिकिलो १ रुपैयाँ २५ पैसाको दरले बन्दरगाह परिसरमा रहेका कुहिएका वस्तु आफ्नो ल्यान्डफिल साइटमा लग्न तयार भएको छ,’ उनले भने, ‘अब भन्सार विभागसँग आवश्यक समन्वय गरेर त्यति बजेट माग्ने प्रयास भइरहेको छ, विभागबाट स्वीकृत भएपछि व्यवस्थापन प्रक्रिया सुरु गरिने छ ।’

बन्दरगाह परिसरमा आफ्नै जग्गामा त्यति धेरै वस्तु गाड्न सम्भव नरहेको र त्यति गर्न पनि ३ देखि ४ करोड रुपैयाँ खर्च लाग्ने भएकाले महानगरपालिकाको कार्यालयसंग समन्वय गरी ल्यान्डफिल साइटमा व्यवस्थापनको सहज बाटो खोजिएको उनले बताए ।

लामो समयदेखि बन्दरगाहको दक्षिण भागमा थन्किएका २ सय १७ कन्टेनरमा दाल, छोकडा लगायतका वस्तु बढी रहेका छन् । २ सय बढी कन्टेनरमा रहेका अफसेट मेशिन, अटो पार्टस्, कम्प्युटर पार्टस, मासको दाल, मुसुरोको दाल, सुपारी, पोस्तादाना आदि गरी करिब २० करोड रुपैया बराबरको मालवस्तु लिलाम भई उक्त रकम राजश्व समेत दाखिला भइसकेको छ ।

तीन महिना यता कार्यालयले पटक-पटक सूचना प्रकाशित गरी ती वस्तु लिलामी प्रक्रियामा लगेको हो । कुहिएर लिलाम नभई बाँकी रहेका वस्तुलाई व्यवस्थापन गर्न भने समस्या भएको हो । कोरोनाकाल अघि कतिपय आयातकर्ताले तेश्रो मुलुकबाट आयात गरेका मालवस्तु कोरोनाकालमा बन्दरगाहमा आएर थन्किएपछि उनीहरुमध्ये अधिकांशले जाँचपास गराइ लगेनन् ।

त्यसमध्ये बढीजसो दाल, अन्न, सुपारी, पोस्तादाना आदि कुहिने प्रकृतिका वस्तु थिए । आयातकर्तानै करिब ५ वर्ष कन्टेनर लग्न नआएपछि अन्ततः बन्दरगाह भन्सार कार्यालयले ती कन्टेनर लिलामी प्रक्रियामा लगेको हो ।

कन्टेनरमा रहेका ती वस्तुमध्ये काम लाग्ने र नलाग्ने वस्तु छुट्याइएपनि जफत भने गरिनसकेकाले पनि व्यवस्थापन प्रक्रिया थाल्न प्राविधिक जटिलता हुने भएकाले अब जफतको प्रक्रिया पनि सुरु गरिने बरुवाल बताउँछन् । ती कुहिएका अन्न तथा खाद्यान्न वस्तुबाट बन्दरगाहमा दुर्गन्ध समेत आउन थालेको छ ।

गर्मी सिजनमा ती कुहिएका वस्तु ढुवानी गरेर ल्यान्डफिल साइट सम्म लग्दा बाटोमा तथा बन्दरगाह वरपरका सर्वसाधारणलाई दुर्गन्धले समस्या हुन सक्ने भएकाले मंसिर/पुस महिनामा व्यवस्थापनको काम गर्दा दुर्गन्ध कम आउने बरुवाल बताउँछन् ।

प्रकाशित : भाद्र ३०, २०८१ १७:५२
x
×