कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

बक्यौता भुक्तानीपछि नारायणी अस्पतालको एमआरआई मेसिन सञ्चालन 

भाद्र ३०, २०८१
बक्यौता भुक्तानीपछि नारायणी अस्पतालको एमआरआई मेसिन सञ्चालन 

वीरगन्ज — विगत ५ महिनादेखि अवरुद्ध रहेको नारायणी अस्पतालको एमआरआई मेसिनको सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । सञ्चालनमा आएको ६ महिना नबित्दै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिनको सेवा अवरुद्ध बनेको थियो । आपूर्तिकर्ता कम्पनीले बाँकी रहेको २० प्रतिशत भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगर्दा एमआरआई मेसिनमा समस्या देखिएको थियो । 

सरकारी अस्पतालमा एमआरआई नहुँदा गरिब, विपन्न परिवारका बिरामी बाहिर निजी अस्पतालमा महँगो शुल्क दिई एमआरआई गराउन बाध्य बनेका छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआईका लागि निजीले करिब दोब्बर मूल्य लिने गरका छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.एनामुल हकका अनुसार आपूर्तिकर्ता कम्पनीलाई बाँकी रहेको भुक्तानी दिएपछि दुई दिन अगाडिमात्र एमआरआई मेसिनको सफ्टवेयर अपडेट भएको थियो । ‘आपूर्तिकर्ता कम्पनीले मेसिन खरिद गरी ल्याएबापतको ५ प्रतिशत कर सरकारलाई तिरेपछि हामीले पनि २० प्रतिशत बाँकी रहेको रकम भुक्तानी गरेका छौं,’ मेसु डा. हकले भने, ‘त्यसपछि कम्पनीले सफ्टवेयर अपडेट गर्‍यो । त्यसपछि शुक्रबार मेसिनको परीक्षण गरिएको थियो । आइतबारदेखि सेवा सुचारु गरिएको छ ।’

रेडियोलोजी विभागका अनुसार एमआरआई सामान्य अवस्थामा हुँदा दैनिक ८ देखि १० वटा बिरामीको एमआरआई हुने गरेको थियो । २० प्रतिशत रकम डलरको रेट बढेका कारण भुक्तानी गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको थियो । अपुग रकम मन्त्रालयसँग माग गरिएको थियो ।

गत असोज १३ मा नेपाल सरकारका तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले एमआरआई कक्षको उद्घाटन गरेका थिए । आन्तरिक परीक्षण र विशेषज्ञ टोलीहरुले विशेष तालिम लिएपछि एमआरआई मेसिन भित्रिएको ८ महिनापछि गत कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएको थियो । जडान हुनुअघि पनि ३० करोड लागतको एमआरआई मेसिन अस्पताल परिसरमा करिब साढे २ महिना खुला आकाशमुनि थन्किएको थियो । त्यसबेला मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले मेसिनमा प्रयोग हुने हिलियम ग्यास अभावको कारण देखाउँदा मेसिन जडानमा ढिलाई गरेको थियो । जडान भएपछि पनि अस्पतालमा जेनेरेटरको अभाव र प्राविधिक कारणले मेसिन ६ महिनासम्म सञ्चालनमा आएको थिएन ।

नेपालकै उत्कृष्ट र अद्यावधिक मानिएको ७२ च्यानल, ३ टेस्ला एमआरआई मेसिनबाट अस्पतालमा सेवा सुरु भएको जनाइएको थियो । सरकारी अस्पतालमा यो सेवा सुरु भएपछि पर्सालगायत बारा, रौतहट, सर्लाहीका बिरामी अत्यन्त विशिष्ट मानिने इमेजिङ प्रविधि एमआरआईबाट लाभान्वित भएका थिए ।

प्रकाशित : भाद्र ३०, २०८१ १७:३४
x
×