कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नेपालको पहिलो खेल श्रीलंकासँग

महतोबाट काभा महिला भलिबल नेसन्स लिगको ट्रफी अनावरण

काठमाडौँ — नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा श्रीलंकासँग खेल्ने भएको छ । नेपाल भलिबल संघले साउन १७ देखि २३ सम्म काठमाडौंमा हुने ५ राष्ट्र सहभागी प्रतियोगिताको खेलतालिका शुक्रबार सार्वजनिक गरेको हो ।

नेपालको पहिलो खेल श्रीलंकासँग

नेपाल र श्रीलंकासहित भारत, इरान र माल्दिभ्सले राउन्ड रोबिन लिगमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले सेमिफाइनलमा प्रवेश पाउँदा पहिलो हुनेले चौथो स्थानमा रहने र दोस्रो हुनेले तेस्रो स्थानमा रहने टिमसँग फाइनल प्रवेश पाउनका लागि खेल्नेछन् ।

साउन १७ मा श्रीलंकासँ खेलपछि नेपालले साउन १८ मा भारत, २० मा माल्दिभ्स र साउन २१ मा इरानसँग राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको अनुमानित बजेट १ करोड ७५ लाख रहेको भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए । उनका अनुसार सरकारले प्रतियोगिता सकिएपछि ३० लाख दिने आश्वासन दिएको र बाँकी खर्च भलिबल संघले आफैं जुटाउनुपर्नेछ । उनले सहभागी टोलीको आवास र खानाको व्यवस्थापन आयोजक राष्ट्रले नै गर्ने जनाए ।

‘अहिले ठूलो आर्थिक मन्दी छ, भारतले खर्चको हिसाबमा प्रतियोगितामा सहभागिता निश्चित गरिरहेको थिएन । नेपालले खाने र बस्ने व्यवस्थापन गर्ने जनाएपछि भारतले सहभागिता जनाउन लागेको हो,’ चन्दले भने । सहभागी सबै ५ टोलीलाई एभरेस्ट होटलमा राखिएको छ ।

महिला राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले ५० दिनदेखि निरन्तर प्रशिक्षणमा रहेकाले नेपाली टोली राम्रो तयारीमा रहेको जनाए । ‘रुसी टोलीसँगको दुई मैत्रीपूर्ण खेलपछि हामीले आफ्नो कमीकमजोरी सुधार गर्ने मौका पाएका छौं,’ भट्टले भने, ‘सहभागी ५ टोलीमा माल्दिभ्सबाहेक अरू समान हैसियतका टोली हौं । भारत र इरानबारेमा हामी राम्रो जानकार छौं । हामी उपाधि जित्नका लागि नै खेल्ने छौं ।’

अरुणा शाहीको कप्तानीमा नेपालले १४ सदस्यीय टोली छनोट गरिसकेको छ । रुसी टोलीसँग नेपालले दुवै मैत्रीपूर्ण खेलमा हार बेहोरेको थियो । प्रतियोगिता सफल बनाउन संघले अध्यक्ष चन्दको संयोजकत्वमा २१ उपसमिति गठन गरेको जनाएको छ ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले काभा महिला भलिबल नेसन्स लिग ट्रफीको अनावरण गरेका थिए । उनले भलिबल संघसँग जोडिनु पाउँदा आफू निकै खुसी रहेको जनाए । रुसी टोलीसँग नेपालले जुन प्रदर्शन देखायो, त्यसबाट काभाका लागि आफू नतिजाका हिसाबमा निकै उत्साहित रहेको महतोले बताए ।

प्रकाशित : श्रावण ११, २०८१ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×