बाढीको त्रासले बगरमा बास

सडक अवरुद्ध हुँदा आउजाउ गर्नै गाह्रो, तीन सातादेखि विद्युत् अवरुद्ध 

श्रावण १२, २०८१

भवानी भट्ट

Live in Bagar due to fear of flood

कञ्चनपुर — दुवैतिर खहरे खोलाको बीचमा काठले बनेका घर छ । चुरे फेदीको बस्ती भएकाले सामान्य झरीमा पनि खहरे खोला उर्लेर आउँछन् । भीमदत्त नगरपालिका–९ खल्लाका मदन कार्कीलाई खहरे खोलामा बाढी आएका बेला ज्यान जोगाउनै मुस्किल हुन्छ । असार तेस्रो साता अविरल वर्षासँगै आएको बाढी आँगनसम्मै पुग्यो । घरनजिकै रहेको बाटो बाढीले पूरै बगायो । ‘राति बाढी आए त भाग्न पनि सकिन्न,’ कार्कीले भने ।

असार तेस्रो साताको बाढीले खल्लामा धेरै क्षति पुर्‍याएको छ । रोपाइँ गरेको धान खेत पनि बगाएको छ । ‘अब त खोला घरछेउ नै पुगिसकेको छ, कति बेला घर पनि लैजान्छ,’ स्थानीय मीना लावडले भनिन्, ‘बाढी आउँदा घरमा बस्न पनि डर लाग्छ ।’ उनका अनुसार दुई साताअघिको बाढीले खल्ला क्षेत्रमा धेरै क्षति गरेको छ । 

ब्रह्मदेवदेखि ५ किलोमिटर उत्तर चुरे फेदीमा रहेको खल्ला बस्तीको पूर्वतिर चुरे र पश्चिममा महाकाली नदी पर्छ । बीचमा बग्ने आधा दर्जनभन्दा बढी खहरे खोलाका कारण यो बस्ती जहिल्यै जोखिममा छ । बाढीका कारण खल्ला मुसेट्टीसम्मको सडक अवरुद्ध छ । जसका कारण दैनिक उपभोग्य सामग्री किनमेलदेखि बालबालिकालाई विद्यालय आउजाउमा समेत समस्या भएको छ । ‘कोही बिरामी भए बोकेर लैजानुपर्ने बाध्यता छ,’ मुसेट्टीका किसन भाटले भने, ‘मर्मतका लागि नगरपालिकासँग पटक–पटक आग्रह गरिसक्यौं तर केही वास्ता गर्दैनन् ।’ 

यस्तै गुनासो सुनाउन भाटसहित मुसेट्टीका बासिन्दा बुधबार नगरपालिकाको कार्यालय पुगे । खल्ला र मुसेट्टीमा आधारभूत विद्यालय मात्रै छ । उक्त क्षेत्रका विद्यार्थीले माध्यमिक तह पढ्न ब्रह्मदेव पुग्नुपर्छ । सडक अवरुद्ध भएपछि बालबालिका एक/डेढ घण्टा हिँडेर विद्यालय आउजाउ गर्छन् । पानी परेर खहरे खोला बढेका बेला हिँडडुल गर्न नसकिने उनीहरू बताउँछन् । उक्त क्षेत्रमा खल्ला, टुँडिखेल र मुसेट्टी गरी तीन वटा बस्तीमा ५ सयभन्दा बढी परिवारको बसोबास छ । महाकाली करिडोरमा पर्ने यी बस्ती बर्खामा भने सडक सम्पर्कबाट विच्छेद हुने गरेका छन् । सुत्केरी र वृद्धवृद्धालाई अस्पताल लैजानसमेत समस्या हुने गरेको मुसेट्टीका वीरेन्द्र विष्टले बताए । उनका अनुसार मुसेट्टीमा असार तेस्रो साताको वर्षापछि विद्युत् सेवा पनि अवरुद्ध छ । 

ट्रान्समिटर खराब भएका कारण उक्त क्षेत्रका ३ सयभन्दा बढी परिवार अन्धकारमा छन् । ‘पूरै गाउँ अन्धकार भएको छ,’ विष्टले भने, ‘एकातिर बाढीपहिरोको जोखिम, अर्कोतिर विद्युत् नहुँदा सर्प र किराको पनि डर छ ।’ उक्त क्षेत्रमा एक सातासम्म फोन सेवा पनि अवरुद्ध थियो । अहिले फोन सेवा सञ्चालन भए पनि विद्युत् नहुँदा मोबाइल फोन चार्ज गर्न नसकेर अवरुद्धजस्तै भएको विष्टले बताए । सडक अवरुद्ध भएका कारण उक्त क्षेत्रमा नुन–तेलदेखि दैनिक उपभोग्य सामग्री पाउनसमेत गाह्रो हुन थालेको छ । स्थानीयले दुई घण्टा पैदल हिँडेर ब्रह्मदेव हुँदै टनकपुर पुगेर खाद्य सामग्री ल्याउने गरेका छन् । अहिले त हिँड्ने बाटोसमेत बगेको छ । उक्त क्षेत्रका बासिन्दाले कुटानी–पिसानीका लागि समेत ब्रह्मदेव पुग्नुपर्छ । 

बाढीपहिरो

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully