विगतको आँखा, वर्तमानको तस्बिर
Highlights
- प्राग्इतिहास विषयमा, खस नेपाली भाषामा, सरस रूपमा लेखिएको उत्कृष्ट पुस्तक हो– इतिहासअघिको इतिहास
प्राग्इतिहासबारे एक विद्वान्ले भनेका रहेछन्, ‘यदि सिङ्गो मानव इतिहासलाई फुटबल मैदान मान्ने हो भने कृषि–जीवनले ओगटेको समय भकुन्डो जत्रो मात्र हो ।’
थोरै परिमार्जनसहित भन्ने हो भने अक्षरको प्रारम्भ हुँदासम्मको यस्तै ‘फुटबल मैदान’ जत्रो प्राग्इतिहासबारे मानवशास्त्री सुरेश ढकालद्वारा लिखित गतिलो पुस्तक प्रकाशनमा आएको छ– ‘इतिहासअघिको इतिहास’ (२०८१) । यसलाई विश्वस्तरीय प्राग्इतिहाससम्बन्धी खस नेपाली भाषामा सरस रूपमा लेखिएको उत्कृष्ट पुस्तक भन्न सकिन्छ ।
पुस्तकबारे मानवशास्त्री जनक राईले भित्री गातामा सटीकसँग लेखेका छन्, ‘रोचक शैलीमा लेखिएको यस पुस्तकले इतिहासअघिको मानव जीवनको रोमाञ्चकारी इतिहासतर्फ विचरण गराउँदै मानवशास्त्र र मानवशास्त्रीय पुरातत्त्वको आधारभूत सैद्धान्तिक ज्ञान, मूलभूत विषयवस्तु तथा अनुसन्धान पद्धतिका बारेमा सरल ढंगले सिकाउँछ ।’ यस अर्थमा यो पुस्तक मानवशास्त्र र प्राग्इतिहासका खाँट्टी विद्यार्थीहरूलाई मात्रै नभएर आम पाठकहरूका लागि पनि उत्तिकै पठनीय छ ।
खासमा म सुरेश ढकाललाई सांस्कृतिक मानवशास्त्रीका रूपमा बुझ्थें । यो पुस्तक पढेपछि मेरो भ्रम साफ भएको छ । उनी पुरातात्त्विक मानवशास्त्र र एथ्नो–आर्कियोलोजीका पनि उत्तिकै आधिकारिक अध्येता रहेछन् । पुस्तक हात परेपछि विषयसूची हुँदै भित्री पानाहरूउपर सररर नजर दौडाउने क्रममा जब ‘एथ्नो–आर्कियोलोजी’ उपशीर्षक देखें, तब म टक्क अडिएँ र त्यहींबाट पढ्न सुरु गरें । एथ्नो–आर्कियोलोजी मेरो पनि रुचिको विषय भएकाले ‘डिजिटल’ रूपमा प्राप्य केही सामग्रीहरू पढेको थिएँ । समुद्रपार रहेको साथीले किनिदिएको केही पुस्तक छिचोल्न खोज्दै थिएँ । सहरिया चल्तीको भाषामा भन्दाखेरि म एथ्नो–आर्कियोलोजीको ‘फ्यान नै हुँ’ भन्दा पनि फरक पर्दैन । अझ मखलेल चाहिँ त्यति बेला भएँ, जब पुस्तक पढ्दै जाँदा नेपाली विद्वान्हरूले पनि एथ्नो–आर्कियोलोजीमा काम गरेका छन् भन्ने थाहा भयो । स्वयं सुरेश ढकाल त बर्गेन विश्वविद्यालयबाट एथ्नो–आर्कियोलोजीका ‘एमफिल’ हुन् भन्ने थाहा पाएपछि के चाहियो, मलाई खुसीले झन्डै उताउलो बनायो । मनमनै यस्तो लाग्यो, ‘मैले गुरु भेट्टाएँ ।’
सुरेश ढकालले एथ्नो–आर्कियोलोजीबारे स्पष्ट गर्दै लेखेका छन्, ‘एथ्नो–आर्कियोलोजी सांस्कृतिक मानवशास्त्रीय अध्ययनको सहायताले पुरातात्त्विक प्रमाणहरूको व्याख्या गर्ने विधि हो । वर्तमानमा गरिएको पुरातात्त्विक सामग्रीहरूको विश्लेषण गरेर विगतको समग्र पुनर्निर्माण गर्ने उपाय हो ।’ त्यस अर्थमा नेपाली प्राग्इतिहासबारे जमिनमुनि उत्खनन गर्ने पुरातत्त्वले जति कुरा बताउन सक्छ, त्यसभन्दा कम बताउँदैन एथ्नो–आर्कियोलोजीले पनि ।
एथ्नो–आर्कियोलोजीले सामाजिक जीवनमा जीवित अभ्यासमा रहेका भौतिक संस्कृतिको इथ्नोग्राफिक अध्ययन गर्छ र त्यसलाई सुदूर अतीतको निरन्तरता मान्दछ । त्यही भएकाले आर. ए. गोउल्डले एथ्नो–आर्कियोलोजीलाई ‘जीवित पुरातत्त्व’ (लिभिङ आर्कियोलोजी) नाम दिएका हुन् । अलि फरक भाषामा भन्ने हो भने उत्खननवाला पुरातत्त्वले जमिनको तहमुनि छोपिएको शिल्पकृतिहरू (आर्टिफ्याक्ट) मार्फत प्राग्इतिहासको पुनर्निर्माण गर्छ । एथ्नो–आर्कियोलोजीले चाहिँ जमिनमाथि जीवन्त अभ्यासमा रहेका शिल्पकृतिहरूमार्फत प्राग्इतिहासको पुनर्निर्माण गर्छ जसको नेपाली समाजमा अत्यधिक सान्दर्भिकता छ ।
खासगरीकन नेपाली समाजमा अहिले पनि आदिम समाजको निरन्तरताका रूपमा जीवित अभ्यासमा रहेका अनेकन भौतिक संस्कृतिहरू छन्, जसका आधारमा सुरेश ढकालले भनेझैं ‘विगतको समग्र पुनर्निर्माण’ गर्न सकिन्छ । जस्तो कि पुनम राज्यलक्ष्मी राणा (‘सिमिलारिटिज् अफ् कस्टम/अर्नामेन्ट्स अफ् इन्दुज भ्याली सिभिलाइजेसन एन्ड इथ्निक कम्युनिटिज् अफ् नेपाल’, २०११) को अध्ययनमा सिन्धुघाँटीमा उत्खननबाट प्राप्त भौतिक शिल्पकृतिहरूमा देखिने पहिरन र गरगहनासँग लगभग मिल्दोजुल्दो पहिरन र गरगहनाहरूको प्रयोग अहिले पनि घले (गुरुङ), तामाङ र शेर्पाहरूमा जीवित छ ।
पाटनको च्यासलहिटीमा रहेको गजलक्ष्मीको मूर्तिमा खुट्टामा कल्ली लगाएको मातृदेवीको मूर्ति छ, जसलाई लैनसिंह बाङ्देल (प्राचीन नेपाली मूर्तिकलाको इतिहास, २०३९) ले सिन्धुघाँटीमा पाइएका मातृदेवीसँग तुलना गरेका छन् र इसापूर्व पहिलो शताब्दीको मानेका छन् ।
ठ्याक्कै त्यस्तै कल्लीको प्रयोग अहिले पनि नेपालका पहाडी आदिवासी जनजातिहरूमा जीवित छ । यी भौतिक संस्कृतिहरूलाई सिन्धुघाँटीको सभ्यता र नेपालका आदिवासी जनजातिहरूबीचको सम्बन्धका आयामहरू अध्ययन गर्ने एउटा भरपर्दो तथ्यका रूपमा लिन सकिन्छ, जसले नेपाली प्राग्इतिहासको पुनर्निर्माण गर्न मदत पुग्नेछ । यस्तो काम जो एथ्नो–आर्कियोलोजीले गर्न सक्छ । यस्ता अनगिन्ती नेपाली भौतिक संस्कृतिहरूमध्ये प्रतिनिधि सन्दर्भहरू मात्रै समेट्ने हो भने पनि यो पुस्तक सदावहार पाठ्यपुस्तक हुनेछ ।
मानवको ‘इतिहासअघिको इतिहास’ बारे लेखक सुरेश ढकालले विभिन्न १४ अध्यायमा चर्चा गरेका छन् । त्यसमा प्राग्इतिहास र पुरातत्त्वका सैद्धान्तिक विषयबारे गरिएका छलफलबारे सम्मति जनाउँदै म पुरातत्त्व विज्ञानलाई व्यवहारमा लागू गरेर निकालिएका निचोडहरूमाथि थोरै विमर्श गर्न चाहन्छु ।
सुरेश ढकालले पुस्तकमा मानव इतिहासलाई नै नयाँ मोड दिने पुर्खाहरूका पाँच ‘आधारभूत आविष्कारहरू’ बारे चर्चा गरेका छन् । ती हुन् कृषि, आगो, पाङ्ग्रा, धातु र लेखनकला, जसलाई उनले ‘प्रागैतिहासिक निर्धारक घटना’ नाम दिएका छन् । यी विषयबारे चर्चा गर्दा लेखक विश्वव्यापी सन्दर्भमा केन्द्रित हुनु स्वाभाविक हो किनभने पुस्तक नै समग्र मानव प्राग्इतिहासबारे हो । यद्यपि नेपाली सन्दर्भहरू अझ बढी समेट्ने हो भने यो नेपालीकृत ‘इतिहासअघिको इतिहास’ हुनेछ । मानवशास्त्री सुरेश ढकालसँग यस्तो अपेक्षा गर्नु अन्यथा हुने छैन । यस दृष्टिबाट नमुना स्वरूप एकदुई विषय उठान गर्न चाहन्छु ।
जस्तो कि किरात राई धामीहरूले ‘हैकाम बैथर निनाम बैथर’ भनेर मुन्दुममा पाषाण उपकरण ‘बैथर’ को वर्णन गर्छन् र नवपाषाण उपकरणहरू त सांस्कृतिक औजारका रूपमा नै प्रयोग गर्छन् । त्यस्ता केही उपकरण मैले पनि अध्ययनका क्रममा संकलन गरेको छु । सांस्कृतिक सामग्रीका रूपमा भए पनि धनुवाणको प्रयोग कायमै छ । यी जीवित शिल्पतथ्यहरू जो प्राग्इतिहास पुनर्निर्माणका जीवित भौतिक तथ्यहरू हुन् ।
जस्तो कि लेखक ढकालले भनेझैं विश्वस्तरमा कृषिको सुरुवात १२ हजार वर्षअघि भएको कुरामा लगभग मतैक्यता छ । नेपालमा चाहिँ कहिले सुरु भयो त खेतीपाती ? यसबारे भने पुरातात्त्विक प्रमाणहरू उति उपलब्ध छैनन् । लेखक ढकालले नेपालमा इसापूर्व ३००० तिर कश्मीरतिरबाट खेतीपाती गर्ने ज्ञान प्रवेश गरेको हुन सक्ने सम्भावना औंल्याएका छन् । यद्यपि मुन्डा (कोल) हरूले नवपाषाणकालको अन्तिमतिर आसामबाट काठमाडौं उपत्यकामा गोरुले नजोती धान खेती गर्ने प्रविधि प्रवेश गराएका हुन् भन्ने मानवशास्त्री फुरर–हाइमेनडोर्फ (कमलप्रकाश मल्ल, फ्रम लिटरेचर टु कल्चर, २०१५) को कुरा पनि स्मरणीय छ । अर्कोतिर, निरीश नेपाल (धान खेतीको उद्गमस्थल, १९८९, रोलम्ब) ले चाहिँ काठमाडौं उपत्यकामा धान खेती भित्र्याउने श्रेय किरातीहरूलाई दिएका छन् । खासगरीकन किरातीहरूमा विद्यमान सांस्कृतिक अभ्यास र नेवारभित्रको किरात मानिने ज्यापू (ज्या भनेको काम र पु भनेको तौली धान) हरूलाई आधार मानेर यस्तो तर्क गरेका हुन् ।
लेखक ढकालले चर्चा गरेका छन्– कृषिको सुरुवात हुनुमा महिलाहरूको मूलभूत योगदान छ । र, मुन्दुममा पनि फेरो (कागुनी) लगायत अन्नको खेतीको सुरुवात आदिम बजु चिनिमाबाट भएको वर्णन हुँदो रहेछ, जुन महिलाले कृषिको सुरुवात गरेको हो भन्ने मानवशास्त्रीय निचोडसँग ठ्याम्मै मेल खान्छ । नेपाली समाजमा इतिहासका टुटेका कडी (मिसिङ लिङ्क) हरूलाई जोड्ने यस्ता अनेकन मौखिक ज्ञान परम्परा र सांस्कृतिक अभ्यासहरू जीवित छन् । यी पनि ‘इतिहासअघिको इतिहास’ का कामयावी स्रोत हुन सक्छन्् । यस सन्दर्भमा रमणिका गुप्तालाई उद्धृत गर्नु सान्दर्भिक नै हुनेछ । उनी लेख्छिन्, ‘पुर्खाहरूका गोत्रकथाहरू अथवा कविला र उनीहरूका पुर्खाहरूको विस्थापन, पलायन र बसाइका कथाहरूका गर्भमा ती कविलाहरूको मात्र नभएर मानवजातिकै विकास र इतिहासका इतिवृत्त छन् जसबारे गहिरो शोधको आवश्यकता छ । इतिहासका कैयौं टुटेका कडी (मिसिङ लिङ्क) हरू कथामार्फत खोजी गर्न सकिन्छ’ (पूर्वोत्तर आदिवासी सृजन मिथक एवं लोककथाएं, २०११) ।
जस्तो कि लेखक ढकालका अनुसार, धातुको प्रयोग आजभन्दा ६ हजार वर्षअघि सुरु भएको हो र तामा पहिलो धातु हो मान्छेले प्रयोग गर्न जानेको । फलामको प्रयोग ४ हजार वर्षअघि सुरु भयो । नेपालमा कहिले सुरु भयो धातुको प्रयोग ? ठोस पुरातात्त्विक जवाफ उपलब्ध छैन । यद्यपि स्मरणीय कुरा के भने नेपालका आदिवासी जनजातिहरूमा पनि धातुको कला थियो । उदाहरण स्वरूप किरात राईहरूकै कुरा गर्ने हो भने अझै पनि यस्ता पाछा (वंश) हरू छन्, जो धातुको कामका लागि परिचित छन् । सांस्कृतिक अनुष्ठानहरूमा तामाको भाँडालाई सर्वथा पवित्र मान्छन् । सम्भवतः प्रथम पटक प्रयोग गर्न जानेको हुनाले त्यस्तो भएको हुन सक्छ । तर, आदिवासी जनजाति समाजसम्म विस्तार भएपछि वर्णव्यवस्थाले उनीहरूको यो औद्योगिक क्षमतालाई पूर्णतः विलुप्त बनाइदिसकेको छ । नेपाली समाजका लागि यो एउटा गम्भीर क्षति हो ।
पुस्तक पढ्दा मलाई बेजोड लागेको अर्को एउटा अध्याय हो ‘प्राक्–इतिहास ः धर्म र महिला’ । इतिहासमा महिलाहरूको नेतृत्वदायी भूमिकाबारेका प्राज्ञिक छलफल तथा पुरातात्त्विक तथ्यहरूबारे बडो मिठोसँग चर्चा गरिएको छ पुस्तकमा । वर्तमानमा महिलाहरूको अवस्थाबारे छलफल गर्ने क्रममा लेखक ढकालले सन्दर्भवश लेखेका छन्, ‘मिथक र संस्कार यस्ता शक्तिशाली अवयव हुन्, जसको समय समयमा गलत व्याख्या गरिन्छन् । विगतको बारेमा खास धारणा बनाउन । कतै यस्तै मिथक र संस्कारको आडमा महिलालाई अहिलेकै थान्कोमा बस भन्ने प्रपञ्च त रचिएका छैनन् ? मिथकहरू विनिर्माण गर्ने बेला पो भएको हो कि ?’ अवश्य पनि मिथक र संस्कारको एउटा अँध्यारो पाटो हो यो । तर, यसको उज्यालो पाटो पनि छ जसप्रति लेखकको ध्यानाकर्षण हुन पाएको छैन ।
रमणिका गुप्ताकै भाषामा भन्नुपर्दा ‘आस्था जगाउनका लागि चमत्कार, आश्चर्य अथवा पराशक्तिहरूको सहारा’ लिइने ‘हिन्दु पुराण र अन्य धर्मका चामत्कारिक कथाहरू’ चाहिँ लेखक सुरेश ढकालले भनेजस्तै विनिर्माण गर्न लायक छन् । यद्यपि आध्यात्मिक आस्थाद्वारा प्रेरित ‘चामत्कारिक कथाहरू’ र मौखिक परम्पराका रूपमा विद्यमान आदिवासी जनजाति समाजका सांस्कृतिक मिथकहरूमा अन्तर छ भन्ने कुरा चाहिँ पक्का हो ।
जस्तो कि किरात राईहरूमा घरभित्र ‘मोछामा’ (बजु) स्थापना गरिएको हुन्छ, जसको प्रतीकका रूपमा माटोको सानो घैला राखिएको हुन्छ । मोछामालाई घरमूली र घरको संरक्षकका रूपमा लिइन्छ अर्थात् सांस्कृतिक रूपमा अहिले पनि बजु नै घरमूली हुन् । यसले आदिम युगमा किरात समाजमा महिलाहरू नेतृत्वदायी स्थानमा थिए भन्ने सुस्पष्ट संकेत गरिरहेको छ । यस्ताखालका मिथक र संस्कारहरूलाई चाहिँ विनिर्माण होइन, अझ समृद्ध बनाउनुपर्छ जस्तो लाग्छ । अथवा, यस्ता प्रगतिशील संस्कारहरूलाई बढावा दिँदा विनिर्माण गर्नुपर्ने मिथक र संस्कारहरू स्वतः निष्प्रभावी हुँदै जान सक्छन् ।
अन्तिममा लेखक सुरेश ढकालले भनेझैं ‘विगतको जति यथार्थ बुझ्न सकियो त्यति नै वर्तमानको जटिलतालाई बुझ्न सकिन्छ र परिकल्पना गरिएजस्तो भविष्यको योजना तय गर्न सकिन्छ ।’ अनि यो पनि त्यति नै सत्य हो कि वर्तमान समाजलाई जति राम्ररी पर्गेल्न सकिन्छ, विगतलाई पनि त्यति नै सही रूपमा बुझ्न सकिन्छ । विगतको आँखाबाट वर्तमान बुझ्ने अनि वर्तमानको जीवन्त यथार्थबाट विगतको तस्बिर खिच्ने द्वन्द्वात्मकता नै ‘इतिहासअघिको इतिहास’ पुस्तकको सार हो ।
प्रकाशित : भाद्र २२, २०८१ ०९:१०