कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

हिरोभित्र ‘हिरो’ खोजिरहेको ‘जेन–जी’

भाद्र २२, २०८१
हिरोभित्र ‘हिरो’ खोजिरहेको ‘जेन–जी’

Highlights

  • एक समयका युवा आफ्ना प्रिय हिरो–हिरोइनको पोस्टर घरको भित्तामा टाँस्थे, किताबको पानामा लुकाउँथे । तर, जेन–जीसम्म आइपुग्दा सेलिब्रेटीप्रतिको मोह घटेको छ । जेन–जीहरू हिरो–हिरोइनलाई आदर्श ठान्दैनन्, अनुसरण पनि गर्दैनन् ।
  • सेलिब्रेटीप्रति जेन–जी कति तटस्थ छन् भने तिनले गल्ती–कमजोरी गरे सामाजिक सञ्जालमा क्यान्सिल कल्चर सुरु गर्छन्

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार थिए । उनको बारेमा लेखिएको पुस्तक ‘राजेश खन्ना ः कुछ तो लोग कहेंगे’ मा एउटा यस्तो प्रसंग छ– राजेश खन्नाको नयाँ घरबारे अखबारमा तस्बिर छापिएपछि बम्बई (मुम्बई) मा घर हेर्न आउने दर्शकको ओइरो लागेको थियो ।

एक हिसाबले उनको घर पर्यटकीय गन्तव्य जस्तै बनेको थियो । हरेक दिन जति उनको घर हेर्न मान्छेहरू आउँथे त्योभन्दा बढी उनको नाममा लेखिएका चिठी आउँथ्यो । खासगरी युवतीहरूले उनलाई विवाहको प्रस्ताव गर्दै रगतले लेखेको चिठीको चाङ हुन्थ्यो ।

सिनेमाको पर्दामा देखिने हिरो–हिरोइनप्रति आम मान्छेको आकर्षण कति धेरै थियो भन्ने यो एउटा उदाहरण हो । सोही दशकमा हुर्किएका नेपाली पुस्ता यस्तो थियो, जो हिरो–हिरोइन भनेपछि हुरुक्कै हुन्थे । उनीहरू आफ्ना प्रिय हिरो–हिरोइनको पोस्टर घरको भित्तामा टाँस्थे, किताबको पानामा लुकाउँथे । ‘हाम्रा लागि उनीहरू आइडल नै थिए,’ गायक प्रकाश सपुत सम्झन्छन्, ‘उनीहरूले जे गर्थे, जस्तो लुगा लगाउँथे त्यसको हामी सिको गरिरहेका हुन्थ्यौं ।’ यसरी उनी राजेश हमाल, विराज भट्टलाई आफ्नो आदर्श मान्न थाले । ‘बलिउड चलचित्र हेर्न थालेपछि शाहरूख खान जस्तो बन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो,’ उनी सम्झन्छन् ।

कुनै यस्तो बेला थियो, जतिबेला युवाहरू दसैंतिहार वा नयाँ वर्षमा साथीलाई सप्रेम सन्देश दिन हिरो–हिरोइनको पोस्टकार्ड किन्थे । त्यसको पछाडि ‘शुभकामना’ लेखेर आदानप्रदान गर्थे । निर्माता अविरल थापा सम्झन्छन्, ‘अटोग्राफमा पनि हिरो–हिरोइनको फोटो राखिन्थ्यो । मलाई चाहिँ बलिउड अभिनेत्री सोनाली बेन्द्रे, ब्रुस लि असाध्यै मनपर्ने । उनीहरूको पोस्टकार्ड खोजीखोजी ल्याइन्थ्यो ।’

सिनेमाको पर्दामा देखिने हिरो–हिरोइन हेरेर मान्छेहरू त्यस्तै बन्ने चाहना राख्छन् । ‘हामीलाई के लाग्छ भने ती हिरो–हिरोइनको प्रतिनिधित्व गर्ने पात्रमा पनि त्यो गुण अवस्थित छ,’ निर्देशक मनोज पण्डित भन्छन्, ‘तर त्यो भ्रम हो ।’ ‘नायक खोजिरहेको देश’ शीर्षक लेखमा पण्डितले लेखेका छन्, ‘नायक बन्न आफैंबाट सुरु हुन्छ, यसकारण यो बन्न सजिलो छैन । तर, रमाइलो कुरा चाहिँ समाजलाई नायक चाहिन्छ । समाज आफ्नो परिधिभन्दा बाहिरको नायकलाई अबिर लगाइदिन चाहन्छ । अंकमाल गर्न चाहन्छ । नायक हुर्काउन चाहन्छ ।’

‘हिरोइजमले एउटा प्रवृत्तिलाई संकेत गर्छ,’ फिल्म निर्देशक अनुप बरालले एक लेखमा लेखेका छन्, ‘कुनै उपन्यास, कथा, नाटक वा फिल्मको मुख्य पात्र जसको सेरोफेरोमा कथावस्तु घुम्छ त्यो चाहिँ नायक हो, जसलाई प्रचलित अंग्रेजी शब्दमा प्रोटागनिस्ट भनिन्छ ।’ त्यसैले उनी हिरो र नायक अलग कुरा भएको बताउँछन् । एउटा नायकभित्र हिरोको गुण हुन सक्छ र नहुन पनि सक्छ ।

तर, आज समय बदलिएको छ । जेन–जीसम्म आइपुग्दा सेलिब्रेटीप्रतिको आशक्ति उस्तै छैन । यो पुस्ता हिरो–हिरोइनलाई आफ्नो आदर्श ठान्दैनन् र उनीहरूको शैली अन्धधुन्ध अनुसरण गर्दैनन् । २० वर्षीया विदुषी कँडेल भन्छिन्, ‘हामीभन्दा अघिल्लो पुस्ताले सेलिब्रेटीलाई भगवान् मान्थे । तर, अहिले सेलिब्रेटीलाई आइडल मान्ने र उनीहरूलाई पछ्याउने चलन छैन ।’ उनका अनुसार, सेलिब्रेटीप्रति यो पुस्ता कति तटस्थ छ भने सेलिब्रेटीले केही गल्ती–कमजोरी गरेमा सामाजिक सञ्जालमा क्यान्सिल कल्चर सुरु भइहाल्छ । त्यसले उनीहरूको करियर नै धरापमा बनाइदिन सक्छ ।

‘सेलिब्रेटीलाई आइडलाइज गर्ने कल्चर हटेको छ जस्तो लाग्छ,’ १९ वर्षीया आरजु कोइराला भन्छिन् । आरजुलाई के लाग्छ भने, सेलिब्रेटी भन्दैमा उनीहरूको हरेक कुरालाई सहर्ष स्वीकार्ने जमात छैन । भन्छिन्, ‘म सोसल मिडियामा टेलर स्विफ्ट र दीपिका पादुकोणलाई पछ्याउँछु । उनीहरूको व्यक्तित्व, काम गर्ने शैली मन पर्छ । तर त्यसो भन्दैमा उनीहरूको कमजोरी वा गलत कुरालाई पनि चुपचाप मान्छु भन्ने होइन ।’

२१ वर्षीया संस्कृति आचार्यले सामाजिक सञ्जालमा कुनै पनि सेलिब्रेटीलाई ‘फलो’ गरेकी छैनन् । संस्कृतिलाई अमिताभ बच्चनको व्यक्तित्वले प्रभावित बनाएको छ, अभिनेत्री एमा वाट्सन पनि मनपर्छ । उनको ग्ल्यामरसँगै जुन नम्र स्वभाव छ, त्यो उनलाई औधी आकर्षक लाग्छ । ‘तर, म जुन सेलिब्रेटीबाट प्रभावित छु उनीहरूमाथि कुनै दुर्व्यवहारको मुद्दा लागेमा म त्यसको बचाउमा भने लाग्दिनँ । सोझै सामाजिक सञ्जालमा क्यान्सिल गरिदिन्छु ।’

जेन–जी पुस्ताको यो प्रवृत्तिलाई स्वच्छन्दता र आलोचनात्मक चेतसँग जोडेर व्याख्या गर्छिन्, समाजशास्त्री मीना उप्रेती । उनी भन्छिन्, ‘अहिलेको पुस्तालाई प्रविधि, सामाजिक सञ्जाल र अरू मिडियाले यति स्वतन्त्र बनाइदियो कि अरूलाई के मनपर्छ भन्दा पनि मलाई के मनपर्छ भन्नेतिर गयो ।’ यसैको कारण ‘म फलानो जस्तो बन्न पाए हुन्थ्यो’ भन्ने पुरातन सोचाइ छाडेर उनीहरू ‘म कस्तो छु’ मा केन्द्रित भएको उनको विश्लेषण छ ।

‘हाम्रो पालामा टेलिभिजन, रेडियो वा चलचित्रमा एउटै सेलिब्रेटी देख्थ्यौं । यस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच आउँथ्यो,’ उनी सुनाउँछिन्, ‘तर, अहिलेका पुस्ता प्रविधिसँगै हुर्किए र उनीहरू यो सीमिततामा बाँधिएनन् ।’ उनको बुझाइमा यो पुस्ताले आफूलाई केन्द्रमा राखेर सोच्न र व्यवहार गर्न थाले । आफूलाई कसैको व्यक्तित्व, काम मन परेमा त्यसको खुलेर कदर गर्छन् । तर, चित्त नबुझेमा ठाडै बहिष्कार गर्न पनि पछि पर्दैनन् । सामाजिक सञ्जालमा बेलाबखत चल्ने सेलिब्रेटी फलो, अनफलो ट्रेन्ड यसैको सूचक रहेको उनको बुझाइ छ ।

‘आफूले फलो गरिरहेको सेलिब्रेटीका कत्ति कुरा चित्त नबुझेमा सोसल मुभमेन्ट जस्तो ह्यासट्ग मिटु, ब्ल्याक लाइफ म्याटर सुरु भइहाल्छ,’ आरजु भन्छिन्, ‘यसले गर्दा सेलिब्रेटीमा पहिले जुन किसिमको रवैया हुन्थ्यो, त्यो चाहिँ घटेको छ । उनीहरू सहनशील र सजग भएको छ ।’

यो पुस्ताले हरेक कुरामा तर्क, तथ्य र कारण खोज्ने बताउँछन् समाजशास्त्री टीकाराम गौतम । ‘पहिले सेलिब्रेटीलाई पनि अदृश्य शक्ति जस्तै मानेर हेर्ने गरिन्थ्यो,’ गौतम भन्छन्, ‘तर, अहिले त्यसरी अन्धधुन्ध कसैलाई आदर्श बनाउने प्रवृत्ति छैन ।’

सामाजिक सञ्जालको व्यापकतासँगै सेलिब्रेटीहरू दुर्लभ वा रहस्यमयी लाग्न छाडे । उनीहरू कहाँ जान्छन्, के गर्छन्, कस्तो जीवन बिताउँछन् ? ती खबर छ्यापछ्याप्ती हुन थाल्यो । यसले गर्दा पनि सेलिब्रेटीप्रतिको मोह घटेको हुन सक्ने उनको अनुमान छ ।

जेन–जीकै कारण सिनेमामा ‘स्टारडम’ को खेती सकिएको टिप्पणी गरिन्छ । कुनै जमाना राजेश हमाललाई आदर्श मान्ने यस्तो जमात थियो, जुनबेला सिनेमाको पोस्टरमा उनको टाउको मात्रै टाँसिदिए पुग्थ्यो । राजेश हमालको टाउको देखेर उनका प्रशंसकहरू हलसम्म पुग्थे, तर अहिले अवस्था उही छैन । ‘राजेश हमाल, अनमोल केसी वा दयाहाङ राईको नाम वा क्रेजले सिनेमा चल्ने दिन गयो,’ अविरल भन्छन्, ‘उनीहरूको अभिनय वा कला कस्तो छ भन्ने मूल्यांकन गरेर मात्र दर्शकहरू हल पुग्ने गरेका छन् ।’

यसले सेलिब्रेटीको नकारात्मक रवैया ‘ठीक ठाउँमा ल्याउने’ मात्र नभई उनीहरूलाई सही काम गर्न र सधैं सजग रहन पनि भूमिका खेल्ने अविरलको तर्क छ । भन्छन्, ‘पहिले जस्तो अहिलेको पुस्ताले हिरो–हिरोइनलाई हरेक कुरामा छुट दिँदैनन् । उनीहरूको राम्रो काममा समर्थन गर्छन् र खराब कामको आलोचना पनि ।’

प्रकाशित : भाद्र २२, २०८१ ०९:१७
x
×