कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

व्यासासनमा आचार्य कृष्ण दमाई 

व्यासासनमा आचार्य कृष्ण दमाई 

Highlights

  • श्रावण मास पशुपतिनाथको कोटिहोममा कञ्चनपुरका आचार्य कृष्ण दमाईं व्यासासनमा बसे । तर, यो घटनाले उनीबाहेक दलित समुदायको सम्मानमा योगदान गर्छ कि गर्दैन ?  के प्रयोजन त्यो व्यासासनको, जसमा बसे पनि कोही कथित ‘अछुत’ नै हुन अभिशप्त हुन्छ भने ? 
  • हामीले छुँदा वा प्रवचन दिँदा पनि पाप लाग्छ भनेर विभेद गरिरहेका छन् मान्छेहरू । अन्धविश्वास अन्त्य गर्न ‘दमाईं महाराज’ सिर्जना गरेको थिएँ । कृष्ण महाराजहरू जन्मिनु सुखद् घटना हो  – प्रकाश सपुत

जीवन फूल कि काँडा ? कसैले आचार्य कृष्णलाई यो सोध्नुपर्छ । उत्तरमा उनको एउटा वैदिक दर्शनमा चोपलिएको वाक्य फुत्त निक्लन्छ– जन्मिँदा काँडैकाँडा, बुझ्दै जाँदा फूलैफूल ! 

पण्डितहरू भन्लान्, यो वेदको संक्षेपीकृत संश्लेषण हो । यस्तो भन्नेहरूले आचार्य कृष्णलाई ‘उधारो वचन लिएर दिएको उत्तर’ भनी आलोचना गर्न सक्लान्, जसमा अनुभवको पुट नभएको तिनको तर्क पृष्ठभूमिमा हमेसा सामेल हुने गर्छ ।

अनि गैरपण्डित, मार्क्सवादी वा समाजसुधारको ढाँचा यस्तो हुनुपर्छ भन्ने सामूहिक वा वैयक्तिक धारणा भएका ‘निरपेक्ष’ मतका समर्थकले भन्लान्– एउटा कृष्णलाई ‘आचार्य’ बनाएर कोरिबाटी गरिएको रटिरटाउ वाक्य भन्न लगाउँदैमा समाजको छुवाछूत उन्मूलन हुँदैन, अपितु यसले त भइरहेको सनातनी छुवाछूतलाई वैधानिक बनाउने जोखिम निम्त्याउँछ । किनभने, व्यासासनमा बसालेर पनि आचार्य कृष्णहरूप्रति समाजले गरिरहेको छुवाछूत जारी राख्छ । त, संस्कृतमा आचार्य गरेर पनि यो विभेद मेटिँदैन भने त्यो वैदिक विद्वताको धक्कु लगाउनुको के सार ? के प्रयोजन व्यासासनको, जसमा बसे पनि कोही ‘अछूत’ नै हुन अभिशप्त हुन्छ भने ? के प्रयोजन व्यासासनको, जसमा हजारौं वर्षदेखि बस्दै आएको कोही ‘जगत् मिथ्या, ब्रह्म सत्य’ भन्दाभन्दै पनि सन्तान–दरसन्तान छोइछिटो गर्दै आइरहेको छ भने ?

श्रावण मास पशुपतिनाथमा यसपालि लागेको ‘कोटिहोम’ मा कञ्चनपुरका आचार्य कृष्ण दमाईं जसै व्यासासनमा बसे, तसै यस्ता अनेकन प्रश्नले समाजको सबै वर्ग र समुदायलाई सामाजिक सञ्जालमा मत जाहेर गर्न बाध्य पार्ने गरी उत्तेजित बहसको जन्म गराइदियो । पशुपतिको आँगनमा लगाइएको कोटिहोम अनेकन विवाद र वादविवादको केन्द्र हुन पुग्यो । देवी प्रतिभादेखि चन्द्रकला सखीसम्मले व्यासासनमा बसेर कथा भन्दा लैंगिक समानताको आधुनिक विधिशास्त्रका पक्षधरहरूलाई जसरी टिप्पणी गर्न बाध्य बनाएको थियो, त्यसरी नै जातीय छुवाछूत विरोधी अभियानमा हिँडेको समाजको एउटा ठूलो तप्का आचार्य कृष्ण व्यासासनमा बसेपछि ‘लौ हेर, धर्म कति उदार छ’ भन्ने मार्काको भाष्यले डङ्का पिट्न थालेपछि त्यसको बौद्धिक प्रतिरोधमा उत्रिनु परेको थियो ।

इरानतिरबाट आएका फिरन्तेहरूले आफूलाई ‘आर्य’ भन्दै भारत वर्ष आइपुगेर यहाँका रैथाने द्रविडको सत्ता खोसेपछि तिनमाथि राज गर्न झन्डै ३५ सय वर्षदेखि एउटा ठूलो मानव सुमदायलाई अछूत बनाउनेहरूको शास्त्रले दलितलाई मुक्ति दिन सक्दैन भन्ने एकथरीको बुझाइ छ । हुन पनि हो, जुन शास्त्रले मनुलाई महाराज भन्छ र जुन मनुले मानिसहरूमा शुद्र पनि हुन्छन् भनेर तिनलाई छोइछिटो गर्ने विधान रच्छन्, उही शास्त्र रटी, उही पण्डितको लय समाउँदै कथा हालेर जातीय विभेद हट्छ भन्नुमा कुनै संगति भेटिन्न ।

फेरि, एकथरीको बुझाइ यस्तो छ– ‘विगतमा शास्त्र पढ्न नदिएकैले उनीहरू ज्ञानमा पछि परे । ज्ञानमा पछि परेकाले तर्कमा कमजोर भए । र, तर्कमा कमजोर भएकाले अर्थदेखि समाजका सबै विधामा पछि परे । अनि छुवाछूत गर्नेलाई सजिलो भयो । त्यसको जरो ज्ञानदेखिको वञ्चना हो भने वञ्चनामा परेकालाई शास्त्रज्ञ बनाएपछि त्यसले समाजमा राम्रो प्रवाह जान्छ र अन्ततः व्यवहारमा छुताछूतको धारणै हराउँछ । त्यसैले आचार्य कृष्ण व्यासासनमा बस्नु सर्वथा उचित हो ।’

संस्कृत साहित्यमा आचार्य अर्थात् स्नातकोत्तर गर्ने दलित समुदायका ‘विद्वान्’ ३३ वर्षीय कृष्ण स्वयं चाहिँ के ठान्दारहेछन् यसबारे ? त्यो जान्न हामीले उनीसँग लामो वार्ता गर्‍यौं ।

नेपालको पश्चिम सिमानामा पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ विष्णु टोलका, हाल फलित ज्योतिषशास्त्र सिक्दै गरेका कृष्णले हाम्रा जिज्ञासा ध्यानपूर्वक सुनेपछि उत्तर दिनुअघि प्रार्थना गरेजसरी आप्त स्वरमा मधुरताका साथ भनेका थिए– राधे राधे !

बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ५ बकुन्नामा जन्मेहुर्केका उनका बा रनबहादुर दमाईं र आमा कमलादेवीले जीवनभर छोइछिटो व्यहोरे । वर्षभरि विष्टका लुगा सिलाइदिएर एक पटक बाली बुझेका भरमा रनबहादुर दम्पतीले आफ्ना सन्तान हुर्काउन–बढाउन पुर्ख्यौली गाउँ बुन्नामै बसेर सायद सम्भव देखेनन् । अतः सिलाउने कामको उचित ज्याला खोज्दै ती महेन्द्रनगर झरे । त्यसको फाइदा के भयो भने घरनजिकको बैजनाथ माविमा कष्णले पढ्न पाए । बाआमाका ९ सन्तानमध्ये दोस्रो कृष्ण स्वयंले जन्मेदखि नै जातीय छुवाछूत हरेक दिन, हरेक ठाउँमा भोगे । अपहेलना र सामाजिक वञ्चनामाझ पनि उनले पढ्न भने छाडेनन् । ‘स्कुले शिक्षा त दुःखजिलो गरेर जसोतसो पार लाएँ,’ आचार्य पुराना दुःखका दिन सुमसुम्याउँछन्, ‘तर, मसँग त्यसमाथि पढ्ने पैसा भएन ।’

पढाइको उद्दाम तिर्खा थियो कृष्णको हृदयमा । त्योभन्दा पनि बढी, आफू र आफ्नो समुदायमाथि भएको छुवाछूतले दिएको नओइलाउने घाउ थियो मनमा । उनी ज्ञानको आगोले त्यसलाई सेक्न चाहन्थे सायद । पैसा नभएको स्थितिमा पनि पढ्न र अघि बढ्न सक्ने वैकल्पिक उपाय के होलान् भनेर उनी घोत्लिँदा भए । त्यसै उपक्रममा उनका नेपाली शिक्षक ईश्वरदत्त भट्टले उपाय सुझाएछन्– संस्कृत पढेस्, सित्तैमा पढ्न पाइन्छ ।

आवश्यकतायुक्त परिस्थितिले मानिसको गन्तव्य तय गर्छ भन्छन् । कृष्णको जीवनमा पनि भएको थियो यही । ‘मूलधार’ को शिक्षा दिलाउन परिवारसँग पैसा नहुनु, तर संस्कृत पढ्न छात्रवृत्तिको सुविधा उपलब्ध हुनुले कृष्ण ‘आचार्य’ बन्ने बाटोमा पहिलो पाइला हाल्न पुगेका रहेछन् । त्यसमाथि उनलाई संस्कृत साहित्यको रहस्य जान्ने ठूलो उत्सुकता पनि रहेछ ।

‘जुन शास्त्रले जातभातको जाल रच्यो, त्यो कस्तो रहेछ भन्ने जान्न मलाई मन थियो,’ उनले भने, ‘यस्तोमा पैसै नतिरी पढ्न पाइने भएपछि मैले नाइँनास्ती गर्ने कुरै थिएन ।’

हुन पनि जुन शास्त्रको हवाला दिएर छुवाछूतको अमानवीय व्यवहारले साढे तीन हजार वर्षसम्म निरन्तरता पाएको छ, जुन शास्त्र सुनेको अभियोगमा मर्यादा पुरुष भनिने रामले नै शुद्रको कानमा सिसा पगालेर हाल्न लगाएका थिए भन्ने कथा प्रत्येक जातिवादीको पुस्ताले अर्को पुस्तामा सार्दै आइरहेको छ र जुन शास्त्रले ‘शुद्र, पशु, ढोल र नारीलाई ताडनको अधिकारी’ भन्ने मन्त्र जप्दै आइरहेको छ, त्यो शास्त्रमा रहेछ के भन्ने जान्ने जिज्ञासाले उनलाई महेन्द्रनगरको शारदा विद्यापीठमा शास्त्रीसम्म पढाइमा खुब मिहिनेती छात्र बनाएको थियो ।

छात्रावासमा बसेर संस्कृत पढ्दै जाँदा कृष्णलाई जीवनको भित्री उज्यालो भेट्दै गएजस्तो लाग्न थालेछ ।

‘वैदिक ज्ञान र दर्शनको भण्डारसम्म पुग्ने एउटै बाटो संस्कृत रहेछ र एउटा ठूलो वर्गलाई अर्को वर्गले यो ज्ञानबाट वञ्चित गरेको रहेछ,’ उनी भन्छन्, ‘यो नै ठूलो विभेद हो, व्यावहारिक छुवाछूत त शरीरसम्म सीमित छ, ज्ञानको छुवाछूतले आत्मैसम्म पुगेर दुखाएको छ ।’

यसरी, २०६४ मा एसएलसी उत्तीर्ण गरेपछि सुरु भएको उनको संस्कृत पढाइ ०७३ सालसम्म जारी रह्यो ।

त्यसबीच उनको विवाह भयो । परिवार चलाउन उनलाई घरको कमजोर आर्थिक अवस्थाले मुग्लान् पुर्‍यायो । ‘कर्मको खेल’ र ‘भाग्यको लेखा’ भन्दै उनले उत्तप्त हृदय लिएर नवविवाहिता दुलही र भर्खर जन्मेको छोरालाई छाडेर भारतको मुम्बई, देहरादून रुद्रपुर इत्यादि सहरका ‘रसोइ घर’ हरूमा आवश्यकता अनुसार कहिले मिठाई बनाउने प्रक्रियामा र कहिले झाडु लगाउने भूमिकामा आफूलाई सक्रिय पारे ।

‘त्यहाँ म दिनभरि काम गर्थें, सिकेको ज्ञान नबिग्रोस् भनेर रातभरि पढाइ गर्थें,’ उनी बितेका दिन सम्झन्छन्, ‘जन्मिँदाका बखत र हुर्कञ्जेलको समयमा जीवनमा संघर्षै संघर्ष हुन्छ, यसमा कत्ति पनि हतास नभई अघि बढ्नु नै असली परीक्षा रहेछ ।’

संस्कृत साहित्यका कवि र चिन्तकहरू आचार्य भरत, मम्मट र दण्डीहरूको मानसिक सामीप्यताले उनको हेर्ने दृष्टिकोण बदलियो सायद । त्यसैले उनको जीवनको परिभाषा बदलिएको छ । कुरीति, पछौटेपन र गरिबीले बनेको सामाजिक परिस्थितिबाट मानिस आफूलाई काँडाको बीचमा पाउँछ जन्मेपछि । तर, ज्ञानको संग्रह अनि अनुभूतिले त्यही काँडामाझ पनि आनन्दको फूल फुलाउन सक्छ मान्छे, भन्छन् आचार्य कृष्ण । सुरुवातमै भनिएको छ, उनको यो ज्ञानमा वेदको निष्कर्ष मात्रै छैन, आफ्नै जीवनका अनेकन अनुभव र अनुभूति पनि छन् ।

भारतका अनेकन सहरमा श्रम गरेर झन्डै ७ वर्ष बिताएपछि उनी घर फिरे । महेन्द्रनगरको ‘जनक्रान्ति दैनिक’ मा आचार्य कृष्ण हकर भएर काम गर्न थाले । ठूलो रकम नभए पनि सामान्य खर्चपानी त्यही कामले जुटाउँथ्यो । त्यसपछि उनले रोकिएको संस्कृत साहित्यको आचार्य तहको शिक्षालाई अघि बढाए । पढ्दा पढ्दै कर्मकाण्ड र पुरेत्याइँ पनि गर्ने विचार उनको मनमा आयो । त्यही उपक्रम अनुसारको तयारी थाल्न खोज्दा २०७८ साउन २५ गते ‘गोरखापत्र’ मा समाचार छापियो उनीबारे । शीर्षक थियो– कर्मकाण्ड गर्ने सोचमा कृष्ण दमाईं ।

‘समाचारले देशभरि सूचना पुगेछ, मानिसहरू मलाई भेट्न आउन थाले,’ उनी मुस्कुराउँछन्, ‘त्यसपछि मलाई विभिन्न ठाउँबाट आचार्यसम्मको पढाइ पूरा गर्न चाहिने आवश्यक मद्दत गर्छु भनेर मानिसहरूले सम्पर्क गरे ।’

आफैंभित्र थाती रहेको पढ्ने उत्कण्ठ अभिलाषा छँदै थियो, त्यसमाथि चारैतिरबाट मिलेको हौसलाले कृष्णलाई अघि बढ्न हौस्यायो । र, गत वर्ष संस्कृत साहित्यमा आचार्यसम्मको उनको पढाइले पूर्णता पाएको थियो । त्यसै बेलादेखि हो, उनलाई माया गर्नेहरूले ‘आचार्यजी’ भन्न थालेका र सम्मान जताउन पाएका ।

‘पशुपतिमा कोटिहोम लाग्दै गर्दा आचार्य कृष्ण दमाईं किन आउनु भएन भनेर मेरो सोधखोज भएछ,’ उनी भन्छन्, ‘त्यसपछि सायद मेरो खोजी भयो, र म त्यहाँ निम्त्याइएँ ।’

प्रवचनस्थलमा पुगेपछि ठमठम पर्दै मञ्चतिर हिँडे आचार्य कृष्ण र बसे व्यासासनमा, पशुपति कोटिहोममा । ढाका टोपी, रुद्राक्ष–माला र पीतवस्त्रमा माइकअघि मञ्चबाट उनले नमस्कार गर्दा लाग्यो– उनी प्रवचन सुन्न आएका ज्ञानका भोकाहरूलाई आशिष दिइरहेका छन् ।

उनी त्यस्ता प्रवचक हुन्, जो दलित समुदायबाट पहिलो पटक यसरी पशुपतिको व्यासासनमा बसेका छन् र आएका छन् दलनमा पारिएका मानिसको हृदयको धुन बोकेर । र, आइपुगेका छन्, दशकौंअघिको भगत सर्वजित विश्वकर्माको सपना पछ्याउँदै । तालीको गड्गडाहट ध्वनिबीच मञ्चमा पलेंटी कसेपछि उनी आफ्ना जीवन–संघर्ष र अनुभव–अनुभूतिका भावहरूमा हराए । स्वर्गीय पिता–माताको सम्झना गरे ।

गायक प्रकाश सपुतको एउटा असरदार गीत छ– ‘दमाईं महाराज’ अर्थात् ‘दस हजार महात्मा ईश्वर महाराज’ । गीतको कथा यस्तो छ– मन्दिर पसेको आरोपमा गाउँबाट सहर भागेको एक केटो कालान्तरमा संस्कृत साहित्य पढेर कथावाचक ‘महाराज’ बन्छ र प्रवचन दिन्छ, ‘मन ! मनकै कुरा गर्छु, मनैबाट सुन्नु ! आफ्नो मन कस्तो, लौ आफैं गुन्नु ! मन त हुन्छ चञ्चल, मन त हुन्छ चुलबुल, मनलाई फकाउनुपर्छ बालक फकाएझैं ! नत्र गर्छ सलबल ! हल हल हल मन ! हल हल हल...मनमै हुन्छन् कृष्ण, मनमै कंश पनि !...’

यस्तै भाव र अभिप्रायको छेउछाउमा उभिएर आचार्य कृष्णले कोटिहोममा प्रवचन दिए, जो कुनै कोरा विचार मात्रै नभएर उनै सुदूर अतीतको दलन अनुभव पनि थियो ।

ठ्याक्कै गीतमा झैं, कोटिहोममा प्रवचक भएर झुल्किएका थिए– कृष्णबहादुर दमाईं । मानौं, सपुतको मानस कथा काव्यको जगत्बाट वास्तविक जगत्मा आचार्य कृष्णको अवतार लिएर मञ्चित हुँदै छ !

कृष्ण भन्छन्, ‘वास्तवमै प्रकाशको त्यो गीत हाम्रो वर्गको प्रेरणा बनेर आइपुग्यो । त्यो गीत सुनेकै दिनदेखि मलाई लाग्यो, म त्यो स्थानमा गएर देखाउँछु, प्रवचन दिएर देखाउँछु ।’

जे सोच्यो मनुष्य उही हुन्छ भन्ने वेदवाक्य मानौं उनको जीवनमा चरितार्थ भएको छ । प्रवचन दिँदै गर्दा उनले चर्चित गीतको सम्झना गरे– मान्छे मान्छे एउटै हो, फरक किन भो ? प्रवचनमा उनले लक्ष्मीप्रसाद देवकोटाको सहारा लिएर भक्तजनलाई उपदेश दिए, ‘...उडी छुनु चन्द्र एक’ । अनि भने– ‘मैले पनि त्यही पदमार्ग पछ्याएँ र यहाँ छु ।’

निल आर्मस्ट्रलाई आकाशको चन्द्रमा छुन त्यति गाह्रो थिएन । किनभने, पर्याप्त उपकण र भौतिक सुविधाका साथ केही समयको अभ्यासपछि उनलाई यानले सजिलै चन्द्रमामा लगिदिएको थियो । आचार्य कृष्णले भने जातीय छुवाछूत सुरु भएको दिव्य ३५ सय वर्षपछि धर्तीमै भएको एउटा व्यासासन नामको पिर्कामा बस्न पाए, पण्डित भएर ।

यही भएर होला, त्यहाँ बस्नेबित्तिकै हर्ष र उत्तेजनाको अतिरेकमा कृष्ण दमाईंका जीउ थरथराए, अनुहारमा एक अव्यक्त खुसीको लालिमा पोतियो र उनी भावातीत मुद्रामा बोल्न थाले– आज म स्वर्गमा छु !

उनलाई उनका बा रनबहादुर दमाईं भनिरहन्थे रे– तिमी असल मानिस बन्नु, सफल मानिस बन्नु, शिल्पी (दलित) समुदायका महान् गुरुहरूको सम्झना गर्नु !

बाबुको अर्तीलाई सम्झेलगत्तै भावातिरेकमा उनी बोलिरहेका थिए, ‘दलित समुदायको पनि दीप बलेको छ आज । दलितले पनि अब वेद, भागवत पढ्नुपर्छ ।’

उनले आफूलाई संस्कृत साहित्यमा प्रवेश गराउने गुरूहरूमा नमन पनि गरे । अनि भने, ‘मानिस स्वर्ग जानुपर्छ भन्छन्, तर मेरा लागि त आज यही स्वर्ग भयो !’

आफू यसरी हजारौंहजार भक्तका माझमा पण्डित भएर प्रवचन गर्न पाएको यो दुर्लभ क्षणलाई उनले जातीय विभेदको घेरा मलिनो भएको क्षणका रूपमा सम्झिन चाहे । कसैको कृपा र आशिषले नभएर उनी संस्कृत साहित्यको अध्ययनले व्यासासनमा बस्ने पहिलो दलित प्रवचक हुन पुगेका थिए । त्यसैलाई संकेत गर्दै उनले भने, ‘दलितले पनि वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा आजको यस ऐतिहासिक कोटिहोममा थप बल पुगेको छ, मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन ।’

उनले सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउन संस्कृत अभियानमा प्रवचन दिइसकेपछि नेपाली समाज तरंगित भयो । केही प्रश्नहरू सतहमा आए । उनका पक्ष र विपक्षमा विचार–विमर्शहरू आए, लेखहरू लेखिए । तिनका प्रश्न थियो–

१. उनले त्यति प्रवचन दिँदैमा के अब नेपाल देशका लाखौं दलितको जीवनमा मुक्तिको मार्ग सुरु हुन्छ ? त्यो मुक्ति मार्गबारे उनी सचेत छन् ? वा दलित मुक्तिको सही बाटो यही हो त ?

२. हाम्रा संस्कृत पढाइ हुने विद्यापीठहरूले अरू तमाम दलितलाई भर्ना लिन्छन् ? गुरुकुलमै राखेर पढाउँछन् ?

३. के पशुपतिनाथको कोटिहोममा सानदार प्रवचन दिएपछि उनी साँच्चै ‘आचार्य’ भए ? के दलितमाथि विभेद गरिरहेको समाज उनलाई आचार्य मानेर सुन्न तत्पर रहिरहन्छ ? के उनी सबैजसो कोटिहोम, मठमन्दिरमा स्वीकारिन्छन् ? के सुदूरपश्चिमकै शैलेश्वरी वा कर्णालीको त्रिपुरासुन्दरीमा उनी यस्तो प्रवचनका लागि योग्य ठानिन्छन् ?

‘मैले संस्कृत पढेर समाज नबदलिएला, भागवत जानेर हेप्नेहरूले हेप्न नछाड्लान्,’ व्यासासनमै बसेर प्रवचन दिएझैं आचार्यजी बोले ।

न पशुपतिको कोटिहोममा जानुअघि आचार्य कृष्णलाई कसैले व्यासासनमा बस्न बोलाएको थियो, न कुनै कर्मकाण्ड गराउन पुरोहित नै भइदिन निम्त्याएको थियो । पशुपतिको व्यासासनबाट फर्केपछि पनि उनलाई कसैले पूजा गर्न बोलाएको छैन । न छिमेकीहरूले जारी राखेको छोइछिटो नै रोकिएको छ ।

‘नयाँ पढेलेखेका केटाहरूले छुवाछूत गर्दैनन्, गरे भने त्यो तिनकै जीवनको पछौटेपन भएर रहनेछ,’ आचार्य कृष्ण भन्छन्, ‘पुरानो चलनलाई नै सत्य ठान्ने जीर्ण शरीरका बूढाबूढीहरूले छोइछिटो गर्नाको दुष्परिणाम जान्दैनन्, तीसँग जुधेर हुने केही नहुनाले यस्ता अज्ञानपूर्ण व्यवहारलाई बेवास्ता गरेर हिँडिदिन्छु म, किनभने यसले कसैमा पनि कलह जन्माउँदैन ।’

उनलाई लाग्छ, सबैले संस्कृत पढेर आचार्य नै बन्नुपर्छ भन्ने केही छैन । तर, ज्ञान र अध्यात्मको रसमा दलित समुदाय अलग रहनुहुँदैन । तथापि जुन धर्मका कारण दलितको जीवन नारकीय बन्न पुग्यो, वा विभेद र बहिष्करणमा बाँच्नुपर्ने अवस्था बन्यो, यसको समीक्षा र लेखाजोखा दलित आन्दोलनले गरिरहेको छ ।

‘आधुनिक शिक्षामा पनि कुनै खराबी छैन । त्यही पढे झन् जाती हो,’ उनी भन्छन्, ‘पढेलेखेको र सक्षम भई आफ्नो खुट्टामा उभिएको मानिसलाई अब तेरो जात यो हो भनेर दबाउन सक्ने समय हिजोको समय रहेन, त्यसैले म दलित दाजुभाइ–दिदीबहिनीहरू सबैलाई पढ्न र अघि बढ्न भन्छु, कानुनले छुवाछूत दण्डनीय बनाइसक्यो, हामी उन्नत चेतनाको भए व्यवहारमा त्यो आफैं हट्छ ।’

कानुनले संस्कृत पढ्न कसैलाई नरोकेको र वेद विद्याश्रम तथा गुरुकुलहरूले पढ्न चाहने जुनै जातकालाई पनि उत्प्रेरित गर्ने गरेको अनुभव सुनाउँदै उनले थपे, ‘अहिले कुनै पनि दलित किशोरकिशोरीले चाहने हो भने संस्कृत पढ्न सक्छन्, त्यो पनि छात्रवृत्तिसहित । कुनै रोकतोकै छैन यसमा ।’ तर, व्यवहारमा चाहिँ थुप्रै घटना छन्, पढ्न रोकिएका ।

आचार्य कृष्ण दमाईंले आफ्नो गीत ‘दमाईं महाराज’ को कल्पनालाई यथार्थमा बदलेर व्यासासनमा बसेपछि सन्तुष्टिको एक दीर्घ श्वास छाडे गायक प्रकाश सपुतले । ‘हाम्रो जनजीवन अधिक मात्रामा हिन्दुधर्मबाट प्रभावित छ । धेरै मान्छेलाई त हामीले छोए, प्रवचन गरे पाप लाग्छ भनेरै विभेद गरिरहेका छन् । यस्तै अन्धविश्वास र गलत प्रवृत्ति अन्त्य गर्न ‘दमाईं महाराज’ सिर्जना गरेको थिएँ । यसरी कृष्ण महाराजहरू जन्मिनु त मेरा लागि सुखद घटना हो,’ उनी भन्छन्, ‘विभेदलाई धेरै हदसम्म त कानुनले बर्जित गरेको छ, समाजमा व्यवहारमा अझै बर्जित छैन । धर्म, आस्थाका आडमा पनि विभेद कायम छ भने त्यसभित्रैबाट पनि समानता, सामान्यकरणको पहल प्रयत्न जरुरी छ ।’

कोटिहोममा दलितले प्रवचन दिएको यो दुर्लभ घटना हो, तर यसले कृष्ण दमाईंबाहेकको दलित समुदायको सम्मानमा योगदान गर्छ कि गर्दैन ? राजनीतिक विश्लेषक विष्णु सापकोटालाई लाग्छ, यो घटना महत्त्वपूर्ण भए पनि यसको महत्त्व राम्रो अर्थमा थियो कि नराम्रो भन्ने प्रश्नको उत्तर दिन अलिक जटिल छ । ‘प्रथमतः समाजको एउटा समुदायलाई नै ‘अछूत’ कसले बनायो ? यदि इतिहासमा कुनै शास्त्र वा सम्प्रदाय वा धर्मको संस्कारले कसैलाई दलित बनाएको हो भने, फेरि त्यही समुदायले आफैंले बनाएको ‘दलित’ लाई अहिले कोटिहोममा बोलाएर ‘दलित’ होइन भनिदिने ‘सामाजिक अधिकार’ राख्दा दलित बनाइएको समुदायको सम्मान भयो त ?’ उनको प्रश्न छ, ‘निश्चित हिन्दु शास्त्रलाई लागेको ‘अछूत’ कलंकबाट चोखिन फेरि कोही अर्को दलितलाई ‘शास्त्रीय दलित’ बनाइने जान–अन्जानको काम त होइन यो ?’

कोटिहोमको सेरोफेरोमा त्यहाँ मन्थन भएको भए, शास्त्रका अशास्त्रीय पाटालाई अस्वीकार गर्ने नैतिक साहस देखाइएको भए र दलितमाथि भएको विभेदप्रति सामूहिक प्रायश्चित भएको भए कोटिहोममा कृष्णलाई व्यासासनमा राख्ने कृत्य ‘पर्याप्त नभए पनि राम्रो हो’ भन्छन् उनी ।

‘तर, शास्त्र र संस्कारका जुन जुन ठाउँमा इतिहासदेखिका सच्याउनुपर्ने आयामहरू छन्, तिनलाई नचलाई राख्नका लागि फेरि कुनै एक दलितलाई नै आफ्नो बचाउमा प्रयोग गरिएको हो र त्यसरी प्रयोग हुनेलाई आफू प्रयोग भएको नै थाहा नभएको हो भने यो घटना दलित समुदायप्रतिको थप अपमान हो’ उनको ठम्याइ छ । विष्णुका अनुसार, ‘अछुतपन एक विचारधारा माने ‘आइडियोलोजी’ हो । ‘आइडियोलोजीका ‘अप्यारटस’ वा जराहरूले थाहै नदिने गरी काम गरेका हुन्छन्, जसलाई बुझ्न विषयलाई सूक्ष्म रूपमा हेर्नुपर्छ,’ विष्णुको विश्लेषण छ, ‘कोटिहोमको घटना एउटा हिसाबमा भने पक्का राम्रो भयो । जसरी हामीले अहिले बहस गरेका छौं नि, यो त्यही घटनाको कारण नै त हो ।’

माथि नै उल्लेख गरिएका भगत सर्वजित विश्वकर्माले राणाकालमै दलितलाई व्यासासनमा बसेको देख्न चाहेका थिए । उनले दलितका लागि छुट्टै मन्दिर नै बनाएर पूजापाठ पनि गरे, त्यो एक किसिमको धार्मिक विद्रोह नै थियो । त्यसका लागि प्रजातन्त्रको आगमन हुनु १० वर्षअघि नै सांगठिक दलित मुक्तिको आन्दोलन पनि छेडे । त्यस समयमा समाजको थिचोमिचो, जात व्यवस्था र छुवाछूतविरुद्ध जेहाद छेड्नु असलमै एक क्रान्ति थियो, जसले कोरिदिएको थियो दलित मुक्तिको एउटा गोरेटो । ती दिनमा दलितहरू नयाँ कपडा लगाउन पाउँदैनथे, बाटो हिँड्दा पनि उनीहरू केही मिटर टाढैबाट हिँड्नुपर्थ्यो, धार्मिक कार्जेमा कुनै स्थान थिएन, मन्दिर पस्नु परै जाओस्, मन्त्र वा ज्ञान सुन्न र प्रसाद खानसमेत दिइन्नथ्यो ।

सर्वजितले वि.सं. २००३ मा विश्व सर्वजन संगठन स्थापना गरे, जुन दलित मुक्तिका लागि स्थापना गरिएको पहिलो सांगठिनक संस्था थियो । बागलुङको गैरागाउँमा वि.सं. १९५० मा जन्मिएका सर्वजित विश्वकर्माको विद्रोह इतिहासको नयाँ फड्को थियो । उनले बनारसमा पढ्ने अवसर पाए, संस्कृतमा आचार्य उपाधि पाएपछि उनको नामको अगाडि भागवत प्राप्त व्यक्ति भनियो । र, उनको नाम रह्यो– भगत सर्वजित । उनले वेद, उपनिषद्, पुराण, मनुस्मृतिलगायतका ग्रन्थ पढे । धार्मिक ग्रन्थमा उचनीच छैन, धर्मका आधारमा कसैलाई अपमानित गर्न मिल्दैन भन्ने बहस मात्रै गरेनन्, एक किसिमको धार्मिक विद्रोह नै गर्ने उनी नै पहिलो दलित नेता थिए । उबेला उनले गीत लेखे– ‘बटौलीको बजारमा लाह छ कि छैन, दहीको ठेकी सरोबरी थाहा छ कि छैन ।’

यस्ता युगीन चेतना भएका सर्वजितले गैरागाउँको भालुमारेमा विश्वकर्मा प्रावि विद्यालय स्थापना गरे, दलितको श्रममाथि भएको शोषण र गोल झारेबापत कर तिर्नुपर्ने व्यवस्थाविरुद्ध संघर्ष गरे । यस्तो शोषणविरुद्ध उनले आरनको टुँडो भाँच्ने अभियान नै चलाए । त्यो त्यतिबेलाको आर्थिक शोषणविरुद्धको ठूलो संघर्ष थियो । गाउँका तथाकथित उपल्ला जातिका अगुवाले राणाहरूलाई कसुर लगाए । गाथगादी ताकेको र व्यवस्था भाँडेको आरोपमा उनलाई जेल हालियो र कठोर यातना दिइयो ।

वि.सं. २०१० मा सिद्धीबहादुर खड्गीको संयोजकत्वमा समाज सुधार संघले ‘पशुपति मन्दिर प्रवेश’ आन्दोलन गर्‍यो । यो पनि दलित आन्दोलनको महत्त्वपूर्ण प्राप्ति थियो । मन्दिरमा लेखिएको थियो– ‘अछुतका लागि प्रवेश निषेध’ । आन्दोलन चर्किएपछि सात सय ५० जना पक्राउ परेका थिए । इतिहास भन्छ– २०१३ सालमा भारतीय दलित आन्दोलनका अभियन्ता डा. भीमराव अम्वेडकर नेपाल आउँदा उनलाई ‘सार्की’ भनियो र पशुपतिनाथ प्रवेश गर्न दिइएन । अहिले कृष्ण दमाईं त्यही पशुपति परिसरमा प्रवचन दिए ।

सर्वजितविरुद्ध भएको यो जातीय हिंसाको जानकारी आज पनि दलित समुदायका नरनारीको अवचेतन मनमा भएजस्तो गरी कृष्ण महाराज प्रवचन दिएर काठमाडौंबाट फिरेपछि उनकी पत्नी ज्योति भयभीत हुन पुगिछन् ।

‘हामीविरुद्ध हिंसा होला कि भन्ने चिन्ताले उनलाई खुब सताएको रहेछ,’ आचार्य कृष्णले हाँसेरै पत्नीको भयलाई भगाइदिन खोजे, ‘मैले उनलाई केही हुन्न नडराऊ भनेर धेरै सम्झाउनुपर्‍यो ।’

प्रकाशित : भाद्र २२, २०८१ ०९:२५
x
×