कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बेलायतभन्दा रमाइलो भेडीगोठ

भाद्र १५, २०८१
बेलायतभन्दा रमाइलो भेडीगोठ

Highlights

  • माछापुच्छ्रेको लेक नौंजेमा एउटै भेडीगोठ छ सुर्जेको । गोठमा छन्– पाँच सय भेडा । बुक्यानी र खर्कमा चरिरहेका भेडालाई चिसो, चितुवा र भालुसँग जोगाउन कठिन छ । संकटमा छ हिमाली भेडीगोठ–संस्कृति, छोराहरूले बेलायत बोलाइरहेका छन् तर सुर्जेलाई हिमालकै भेडीगोठ रमाइलो छ ।
  • हिमाली भेगको गहना भेडीगोठमा भेडा मात्रै छैनन्, ‘वनको भ्याउने’ अर्थात् मान्छेजस्तै देखिने प्राणीका केही तर्साउने कथा पनि छन् । गोठमूली भन्छन्— वनको भ्याउने बेलाबेला आइराख्छ र गोठमा एक्लै बस्न डर लाग्छ ।

माछापुच्छ्रे हिमालमुनिको भेडीगोठ नै सुर्जेको घर हो । उनको भेडीगोठमा छन्– पाँच सयभन्दा बढी भेडा र बाख्रा । श्रीपञ्चमीमा उभौली सुरु हुन्छ, श्रीपञ्चमीपछि सुर्जे गोठलाई गाउँबाट लेकतिर उँभो लाउँछन् । बुक्यानी र खर्कमा चराउँदै लैजान्छन् । गर्मी बढ्दै जाँदा गोठ माथिमाथि सर्छ । नौंजेसम्म गोठ पुर्‍याउँछन् ।

साउने संक्रान्तिबाट उधौली सुरु हुन्छ । हरिया घाँस, जडीबुटी खुवाउँदै गोठ उँधो लाग्न सुरु हुन्छ । चिसो बढ्दै जाँदा गोठ गाउँतिर झर्छ ।

सुर्जेको त्यही भेडीगोठ पछ्याउँदै भेडा हिँड्ने बाटो हुँदै हामी पनि माछापुच्छ्रे हिमालतिर नौंजेको उकालो लागेका थियौं ।

योग, ध्यान र पदयात्रामध्ये एक रोज्नुपरे मेरो रोजाइमा पदयात्रा पर्छ । योग गरेभन्दा कम्ता हुँदैन उकालो चढाइ । ध्यान गरेजस्तै हुन्छ, पहाडको टुप्पोमा पुगेर चारैतिर नियाल्दाको अनुभव । गृहस्थी जीवन नहुँदो हो त हिँडेरै बिताउँथे दिनहरू । टोनी हेगनले भूगोल चिन्न पैतालाले नेपाल नापेजस्तै । जीवनको अर्थ खोज्न टम टर्सिचले ७ वर्ष ४९ दिन लगाएर ६ महादेशका ३८ देश हिँडेजस्तै ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख रविन कडरियाको प्रस्ताव थियो– तीनशिर पदयात्रा मार्गको एक साता लामो अन्वेषणमा निस्कने । यति सुन्दर प्रस्ताव कसरी अस्वीकार गर्नु ? धेरैपछि निस्किएँ पदयात्रामा ।

माछापुच्छ्रेको देब्रे कोखा काट्दै अन्नपूर्ण हिमशृंखलाले बनाएको उपत्यकामा पुगेर सेती गण्डकीको शिरमा विराजमान भएको दृश्य मानसपटलमा घुमिहाल्यो । हिमाललाई परबाट हेर्न जति आनन्द आउँछ, त्योभन्दा बढी रोमाञ्चक हुन्छ हिमालकै फेदीमा पुग्नु । ‘कुमारी हिमाल’ को उपमा पाएको माछापुच्छ्रेमै पुग्ने रहर कसलाई नहोला ? बरु माछापुच्छ्रेलाई ‘कुमारी’ पो किन भनियो होला ? ‘कुमार’ किन भनिएन ! किन एकथरी मानिस माछापुच्छ्रेलाई ‘कुमारी’ नै राखिरहनुपर्ने तर्क गर्छन् ? आखिर चढे पनि, नचढे पनि माछापुच्छ्रेको गरिमा घट्ने होइन । हिमालको कुनै लिङ्ग हुँदैन ।

२०६९ वैशाख २३ मा सेतीमा आएको बेमौसमी बाढीले ढलेको खारपानी बजार अझै उठ्न सकेको छैन । शनिबारको दिन वनभोजमा गएका विद्यार्थी, तातोपानीमा डुबुल्की मारिरहेका स्थानीय, घुम्न गएका विदेशी पर्यटक, व्यापार गर्न बसेका व्यापारी, बालुवा चाल्दै गरेका मजदुर गरी २८ जना बाढीमा बगे । ३० जना बेपत्ता बने । अन्नपूर्ण चौथोबाट खसेको हिमपहिरोले सेती थुनिएर बनेको ताल एक्कासि फुट्दा अकल्पनीय क्षति पुग्यो ।

साउन ३० गते जिपले पोखराबाट एक घण्टामा खारपानी पुर्‍यायो । साथमा थिए एक्यापका सबइन्जिनियर रामजी आचार्य । लामाचौर, पुरुन्चौर हुँदै माछापुच्छ्रे गाउँपालिका प्रवेशपछि अन्नपूर्ण संरक्षण क्षेत्र सुरु भयो । एक्यापको भुर्जुङखोला चेकपोस्टबाट इलाका संरक्षण कार्यालय ल्वाङका रेन्जर शक्ति पौडेल मिसिए । पहिलो दिनको गन्तव्य थियो– मिर्सा गाउँ । मिर्सा पुग्न खारपानीबाट उकालो ठडियौं । कच्ची मोटरबाटो गाउँसम्म पुगिसकेकाले स्थानीय पुरानो पैदल बाटो हिँड्न छाडिसकेका रहेछन् । ढुंगा छापिएको बाटोमा लेउ जमेर चिप्लो भएको थियो । सेतीलाई दाहिने पारेर उक्लिएपछि एक घण्टामा मिर्सा आइपुग्यो ।

ढुंगा छापिएका डहर छिचोल्दै ठूलो आँगन भएको घरमा पाइला राख्यौं । लामो पिँढी, ढुंगाकै पालीमुनि लस्करै झुन्डिएका मकैका झुत्ताले घरलाई आकर्षक देखाएको थियो । घरमूली सुर्जे गुरुङले चर्को स्वरमा स्वागत गरे । हामीलाई तीनशिर पुर्‍याउने जिम्मा उनकै काँधमा थियो । साविकको गाविसस्तरमा एक्यापले स्थानीयलाई समेटेर संरक्षण क्षेत्र व्यवस्थापन समिति बनाएको छ । पहिलेको माछापुच्छ्रे गाविस हाल माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १ बनेको छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति, माछापुच्छ्रेका अध्यक्ष हुन्, सुर्जे गुरुङ । माछापुच्छ्रेमा एकमात्र भेडीगोठका सञ्चालक । उनी आफू स्वयम्लाई ‘भेडीगोठालो’ भन्न रुचाउँछन् ।

तीनशिर पुग्ने टोलीमा थिए, स्थानीय पथप्रदर्शक, भरिया र भान्से । पन्ध्रजनाको टोली तयार भयो । ‘क्याम्पिङ ट्रेक’ भएकाले टेन्ट, स्लिपिङ ब्याग, ग्यास, खानेकुरालगायत बन्दोबस्तीका सामानको भारी बेलुका नै कसियो । भोलिपल्ट बिहानको चर्को घाम, नीलो आकाशले मौसम सफा रहने संकेत दियो । बर्खाले यात्रालाई कष्टकर बनाउने चिन्तामा अलिकति राहत मिल्यो । सुर्जे दाइको भेडीगोठ माछापुच्छ्रेकै फेदीतिर थियो । हिउँदमा बेसी झर्ने गोठ, बर्खामा लेकमा राखिन्छ । हामीले हिँड्नु थियो, त्यही भेडा हिँड्ने बाटो । पछ्याउनु थियो भेडाको पदचाप ।

मिर्सा गाउँ छाडेदेखि नै उकालो सुरु भयो । भरियाका रूपमा संखुवासभाको सिलिचोङका तीन युवा थिए– सन्दीप, रामकेशर र सम्राट राई । तीमध्ये १९ वर्षीय सन्दीप पहिलोपल्ट भारी बोक्न आएका थिए । कक्षा १२ को परीक्षा दिएका उनले कोरिया जान भाषा पढे । परीक्षामा एक नम्बर पुगेन । घुम्न पनि पाइने, आम्दानी पनि हुने सोचले उनी भारी बोक्न आइपुगेका थिए । भारी बोकेर उकालो चढ्दाचढ्दै उनलाई गाह्रो भयो । अर्को साथीसँग भारी साटे । भारी बिसाएर पसिनाका धारा पुछ्दै उनले सुस्केरा छोडे, ‘अब कस्सिएर पढ्छु ।’

मिर्साबाट सात घण्टा हिँडेर खुमैडाँडा (३२६७ मि.) पुग्यौं । त्यतिञ्जेल मसिनो पानी पर्न थालिसकेको थियो । वर्षादीले शरीर भिज्न पाएन । भोलिपल्ट बिहानै खुलेको हिमालले अघिल्लो दिनको थकान जम्मै मार्‍यो । हरिया डाँडा, नीलो आकाश, सेतो हिमाल र चिसो बतासको मिश्रणले साँच्चै एक प्रहर ध्यानबाट मिल्ने जत्तिकै ऊर्जा दियो ।

अचेल खुमैडाँडा चल्तीको गन्तव्य बनेको छ । पोखराबाट एक दिनमै माछापुच्छ्रे गाउँपालिकाकै घाचोक, टुसे, सरिपाखा हुँदै पनि खुमैडाँडा पुग्न सकिन्छ । यसलाई स्थानीयले ‘ग्रेट माछापुच्छ्रे ट्रेल’ नाम दिएका छन् । माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला, धौलागिरि, पोखरा र वरपरका दृश्यावलोकनका लागि खुमै उत्कृष्ट गन्तव्य हो । हिउँ पर्ने र गुराँस फुल्ने मौसममा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति खुमैमा हुने गरेको छ । खुमैमा ७ होटल छन् । एक होटल निर्माणाधीन छ ।

खुमैडाँडाबाट फेरि यात्रा सुरु गरेर कोर्चों (३६९० मि.) पुग्यौं । एकाबिहानै सेता हिमालमा घामका पहेंलो झुल्को परेको दृश्य निकै मनमोहक देखिन्छ । कोर्चोंमा हाल दुईवटा होटल छन् । ल्वाङघलेलको सैतीघट्ट, मेस्रम हुँदै कोर्चों पुग्ने अर्को विकल्प हो । माछापुच्छ्रे मोडल ट्रेकका रूपमा यो पदयात्रा परिचित छ ।

कोर्चोंबाट उत्तरतर्फको यात्रा अब उकालो–ओरालो थियो । पानी परेर बाटो हिलाम्मे थियो । हिंकुको उकालो चार हातखुट्टा टेकेर उक्लनुपर्‍यो । त्यति हुँदा पनि भरिया अघिअघि, हामी पछिपछि । पहिरोमाथि दुई पाइला मात्रै अट्ने बाटो काटेपछि पैंस्यो देउराली (४१९० मि.) आइपुग्यो । सुर्जे दाइले आजलाई अप्ठेरो बाटो त्यति नै भएको बताए । आफू हिँडेर आएको बाटो एकपल्ट फर्किएर हेरे । कुहिरोले केही तलसम्म मात्रै भीर देखियो । मौसम खुलेको हुँदो हो त तल मर्दी खोलासम्मको भीरले खङ्ग्रङ्ग बनाउँथ्यो ।

सुर्जे दाइसँग भेडीगोठबाट पछि लाएर आएको थियो, थोप्ले । साथी ज्यादा, कुकुर कम । उनी भेडीगोठबाट गाउँ आउँदा र गाउँबाट गोठ उक्लिँदा थोप्ले सँगै ओहोरदोहोर गर्थ्यो । भेडीगोठ हेर्ने ४ कुकुरमध्ये थोप्ले सुर्जे दाइको खास थियो । हामी हिँड्ने बाटो भालुको बासस्थान थियो । सुर्जे दाइले भालुले भर्खरै खाएर गएको हुन सक्ने भन्दै एक वनस्पति देखाए । साथमा बच्चा भएमात्रै भालुले आक्रमण गर्छ भनेपछि पाइला केही हलुका भयो । केही परे थोप्ले पनि छँदै थियो ।

दिनभरिको हिँडाइपछि बुंगा (४११० मि.) खर्कमा टेन्ट टाँगेर बास बस्दा थोप्लेले रातभर पहरा दिइरह्यो । भोलिपल्ट बिहानै बुंगा खर्क हेर्दा माछापुच्छ्रे अब केही किलोमिटर मात्रै टाढा देखिन्थ्यो । एकछिनमा बादलले छोपियो । मैले भने सम्झिइरहे लोचन रिजालको गीत– ‘त्यो पहाडबाट बादल हटायो भने इन्द्रेणीका रंगहरू देखिन्छ र...!’

बुंगाबाट अबको हाम्रो यात्रा नौंजेसम्मको थियो, सुर्जे दाइको भेडीगोठ भएको ठाउँ । अघिल्लो दुई दिनभन्दा कम हिँड्नुपर्ने भए पनि बाटो कम खतरनाक थिएन । सुर्जे दाइले बाटोमा जडीबुटी चिनाउँदै लगे, उस्तै देखिने नीरमसीको औषधि र विष । सेतो फूल फुल्ने औषधि, नीलो फूल फुल्ने विष । यही विषबाट भेडा जोगाउने चिन्ता उनलाई हुन्छ । जटामसी, कुड्की, सुनपाती, मरामुल, सेतो र कालो भूतकेशजस्ता जडीबुटी उनले चिनाए । आधाउधी बाटो हिँडिसकेपछि भेडीगोठका अरू दुई कुकुर हाम्रो स्वागतमा आइपुगे । कालु र भोटेलाई देखेर थोप्लेले पुच्छर हल्लायो । उनीहरू सुर्जे दाइसँग गुटमुटिए ।

नौंजे (४३२० मि.) मा भेडीगोठ भेटियो । हाम्रो टोली त्यस दिन मर्दी हिमालबाट पानी बग्दै आउने नैंसा बगरमा बस्यो । खाना खाइवरी सुर्जे दाइ, म, हाम्रा स्थानीय गाइड मनबहादुर पुन र भान्से निर्मल गुरुङ दाइ भेडीगोठमा बस्ने भयौं । गोठमै खोले उनले गोठाले जीवनको रहस्य ।

माछापुच्छ्रेको लेकमा पहिला घाचोक, चौर, खादरजुङ, रिभानलगायत गाउँबाट भेडीगोठ बस्थ्यो । सबैका आ–आफ्नै खर्क हुन्थे । सुर्जे दाइको बाजेकै पालादेखि भेडीगोठ थियो । गाउँले मिलेर सामूहिक रूपमा पनि भेडा पाल्थे । बुबाको पालामा उनी विद्यालय हापेरै भए पनि भेडीगोठसम्म पुग्थे । पोखराको मल्टीपर्पोज हाइस्कुल (हालको राष्ट्रिय मावि) मा १० कक्षा पढ्दापढ्दै उनी बेलायती सेनामा भर्ती हुन गए । तर मेडिकलमा फालिए । गाउँ फर्किएर गोठमा बस्न थाले । २०४५ मा उनी २१ वर्षको हुँदा एकजना साथीको माध्यमबाट पर्यटन क्षेत्रमा प्रवेश गरे । काठमाडौंको हिमालय एड्भेन्चरमा उनले काम पाए । ‘क्याम्पिङ ट्रेक’मा निस्कने गोराको सहयोगी, शेर्पा हुँदै सरदारको पदमा पुगे ।

त्यतिखेर पोखराको टुँडिखेलबाट पदयात्रा सुरु भएर हेम्जा, लाहाचोक, धिप्राङ, खारपानी, च्याङलुङ, घलेखर्क, न्याउलीखर्क, पार्चे, सिक्लेस, स्वता, लामाखेत, भैंसे, ठूलाकोट हुँदै बेगनासताल निस्कन्थ्यो । यो क्षेत्रमा त्यतिबेला मोटरबाटो थिएन । पर्यटकसँग उनी घान्द्रुक, म्याग्दीको घोरेपानी, खयर–खोप्रा, गोरखाको धार्चे, लाङटाङ क्षेत्र, पाँचपोखरी, कञ्चनजंगा, सगरमाथा आधार शिविर पुगेका छन् ।

साढे सात वर्ष पर्यटन क्षेत्रमा बिताएपछि उनी दलालमार्फत ताइवान पुगे । पुगेको ९ महिनामा त्यहाँको प्रहरीले समातेर फिर्ता पठाइदियो । नेपाल फर्किएर फेरि हङकङ, युरोप जाने प्रक्रिया चाले पनि सफल भएनन् । २०६२ मा उनकी आमा बितिन् । बुबा वृद्ध भइसकेका थिए । घरको जिम्मेवारी आफूले लिनुपर्छ भन्ने महसुस गरे । गाउँ फर्किएर गोठ धान्न थाले । भेडा, बाख्रा, कुकुर अब उनको साथी भए । हिमालमुनिको भेडीगोठ नै उनको घर भयो ।

बजारको नुनबाहेक भेडा, बाख्रालाई अरू कुरा किनेर खुवाउनु पर्दैन । गोठमा चार कर्मचारी छन् । मूलीका रूपमा ७ वर्षदेखि घाचोकका ७० वर्षीय चन्द्रबहादुर पुनले काम गरिरहेका छन् । सुर्जे दाइ नहुँदा चन्द्रबहादुरले गोठ धान्छन् । बाँकी तीन जना धादिङबाट आएका कामदार छन् । मूलीले वार्षिक १ लाख २० हजार रुपैयाँ पाउँछन् । साथमा ५० वटा भेडा उनको नाममा छ । दोस्रो मूलीले वार्षिक ७५ हजार र बाँकी दुईले ६०–६० हजार रुपैयाँ पाउँछन् । तीन जनाको नाममा १५–१५ वटा भेडा छन् । रासन पानी गोठधनीले भर्छन् । ‘यस्तो ठाउँमा बसेर काम गर्ने मान्छे पाउनै गाह्रो छ,’ सुर्जे दाइले गोठ राख्दाको अप्ठेरो सुनाए, ‘यही दुःखले धेरैले गोठ राख्न छाडिसके । मैले बाउबाजेको परम्परा धान्छु भनेर छोड्न सकेको छैन ।’

भेडापालनमा पहिले र अहिले बजारको माग फेरिएको छ । उनले भेडीगोठ सम्हाल्दासम्म पहिलो आवश्यकता भेडाको ऊनबाट राडी, पाखी बुन्ने हुन्थ्यो । दोस्रोमा खेती किसानीका लागि मलको आवश्यकता । र, तेस्रोमा मात्रै मासुका लागि बेचेर घरको नुन, तेल, लुगाफाटोको गर्जो टर्थ्यो । अहिले ठीक उल्टो छ । मासुका लागि उनको भेडा बढी बिक्री हुन्छ । दसैंमा उनी माग पुर्‍याउनै सक्दैनन् । एक वर्षअघिदेखि नै पैसा बुझाएर ‘भेडा राखिदिन’ भन्छन् । ‘पहिलाजस्तो राडी, पाखी बुन्ने मान्छे अहिले छैनन् । काठमाडौंबाट ऊन खरिद गर्न आउँथे, त्यो पनि बन्द भयो,’ समयसँगै बदलिएको परिस्थिति उनले सुनाए, ‘मलका लागि पनि त्यति प्रयोग हुँदैन । गाउँमा मान्छे छैनन्, खेतबारी बाँझै छ ।’ मासुका लागि बढी बिक्री हुन थालेपछि भने उनको आम्दानी पनि बढेको छ । ऊन भने नबिकेर एक वर्षदेखि घरमै थुप्रिएको छ ।

उनका तीन छोरामध्ये माइलो आशिष र कान्छो अशोक बेलायती सेनामा भर्ती भएका छन् । जेठो छोरा धनबहादुर पोखरामै व्यवसाय गर्छन् । छोराहरूले उनलाई गोठ छोडेर पोखरा नै बस्न सल्लाह दिन्छन् । दुई छोराले बेलायत नै बोलाएका छन् । गोठ छोड्न उनको मन मानेको छैन । ‘यस्तो स्वर्ग जस्तो ठाउँ छोडेर जान मनले मान्दैन,’ ५७ वर्षको उमेरमा ठमठम उकालो–ओरालो गर्ने उनले भने, ‘मनमा शान्ति छैन भने विदेशमा गएर अग्लो बिल्डिङअघि उभिएर फोटो खिच्नुको के अर्थ ?’

उनलाई आफूपछि भेडीगोठ कसले सम्हाल्ला भन्ने चिन्ताले अहिलेदेखि सताउँछ । ‘भेडीगोठ भनेको हिमाली भेगको गहना हो,’ गोठका मूलीतिर देखाउँदै उनले भने, ‘यिनीहरूले धानिदिए त हो । यस्तो पानी परिरहने ठाउँमा गाह्रो छ । खाडी मुलुकमा दुःख गर्नुको साटो यहीं गर्ने हो भने कमाइ पनि छ ।’ उनी दसैंमा झन्डै ६०–७० वटा भेडा बिक्री गर्छन् । अहिलेको बजार भाउ अनुसार एउटा भेडाको ४० देखि ६० हजार रुपैयाँसम्म पर्छ ।

गोठका मूली चन्द्रबहादुरसँग सात वर्ष भेडीगोठमा बिताउँदाका अनेक अनुभव छन् । भेडालाई चिसो, चितुवा र भालुसँग जोगाउनुपर्छ । यी जनावरसँग यिनलाई डर लाग्दैन बरु बेलाबेला तर्साउन आउनेसँग कहिलेकसो झस्किन्छन् । गोठमा बस्दा उनले ‘वनको भ्याउने’ अर्थात् तर्साउने जिनिसको किस्सा सुनाए । परार उनले नौंजेमा गोठभन्दा पर कालो भेडा बसेजस्तै माने । यसो हेरेर बोलाए । उताबाट हिँड्दैहिँड्दै केही चिज आयो । कुकुर पनि भुक्न मानेन । अलि नजिकनजिक आउँदा उनले सर्लक्क कालो मान्छे देखे । उनको बोली निस्किएन । मान्छेजस्तै देखिने त्यो जिनिस परपरबाटै उकालो लाग्यो । वनको भ्याउने बेलाबेलामा आइराख्ने भएकाले गोठमा एक्लै बस्न पनि डर लाग्ने उनले सुनाए ।

मलाई भने तर्साउनेभन्दा पनि अरू नै केही हो कि झैं लाग्यो । कतै रहस्यमै रहेको यति पो हो कि ! वा हिमाली भेगमा मान्छेजस्तै देखिने कुनै प्राणी पो छ कि ? हिमाली भेगका मानिस यतीसँग लडेको नै किस्सा नसुनिएका होइनन् । टोनी हेगनले आफ्नो किताबमा कास्की र लमजुङको सीमा क्षेत्रमा यतीको पाइला भेटेको प्रसंग उल्लेख गरेका छन् । उनको किताब ‘बिल्डिङ ब्रिजेज टु द थर्ड वर्ल्ड’ मा उनले सन् १९५० देखि १९९२ सम्म नेपालमा रहेर गरेको भौगोलिक सर्वेक्षणको नालीबेली उतारेका छन् ।

भेडीगोठमा रहेका सबैले वनमा बस्ने, तर्साउने वा भूत नै भएको तर्क गरे । गोठभित्रको धूवाँले उकुसमुकुसजस्तो भयो ।

भोलिपल्ट तीनशिरको यात्रा तय गर्नुथियो । माछापुच्छ्रे, गन्धर्ब चुली र अन्नपूर्ण तेस्रो–चौथो हिमालले बनाएको उपत्यकामा पर्छ, तीनशिर । तीन मुहानबाट आएको पानी मिसिएर सेती गण्डकी बन्छ । आधाभन्दा बढी माछापुच्छ्रे चढेर पुग्नुपर्ने यो ठाउँमा कि त सिकारी पुगेका छन्, कि त धर्मावलम्बी लिएर पुग्ने स्थानीय पथप्रदर्शक । जनैपूर्णिमाका दिन तीनशिर पुग्ने हाम्रो लक्ष्य थियो ।

मौसमको भर थिएन । पानी पर्ने, रोकिने, फेरि पर्ने भइरहेको थियो । दुई दिनदेखि घाम लागेको थिएन । साँझपख भने मौसम हल्का खुलेर सुनौलो माछापुच्छ्रे हेर्ने मौका मिलेको थियो । स्थानीय गाइडका रूपमा तीनशिर पुगेर आइसकेका मिर्साको छिमेकी गाउँ करुवाका मनबहादुर पुन र दिलबहादुर पुन हामीसँग थिए । गाइड र भरियाको टोली दिउँसो माछापुच्छ्रेबाट बग्ने डाङडुङे खोलाको पहिरोमा बाटो बनाएर फर्किएका थिए । उनीहरूले पहिरो पार गरेर तीनशिर पुग्न सकिने बताए ।

तीनशिर पुग्न नैंसा बगरबाट दुई दिन लाग्छ । नैंसा बगरबाट भद्रे देउराली हुँदै माछापुच्छ्रे हिमालको केही भाग छिचोलेर रानीखर्क वा अन्नपूर्ण डाँडा (झन्डै ५ हजार मिटर) मा बास बस्न पुग्नुपर्छ । अर्को दिन तीनशिर पुगेर पुनः अन्नपूर्ण डाँडा वा रानीखर्क बास बस्न आइपुगिन्छ ।

दुई दशकअघि तीर्थयात्री र आरोहण टोलीसँग तीनशिर पुगेका मनबहादुर पहिला डाङडुङे खोला नै नभएको सम्झन्छन् । ‘पहिला त्यहाँ बरफ थियो । बरफमाथि हिँडेरै जान्थ्यौं,’ उनले भने, ‘अहिले बरफ पग्लिएर खोला बनेर पहिरो नै गएछ ।’ पृथ्वीको तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा कसरी परिरहेको छ भन्ने उदाहरण माछापुच्छ्रे हिमालको हिमनदी डाङडुङे खोलामा देखियो । यसअघि पनि दुई वर्षपहिले नेपाल पर्वतारोहण संघ, गण्डकीको टोलीसमेत तीनशिरको अन्वेषणमा निस्किएको थियो । डाङडुङे खोलाकै पहिरो छिचोल्न नसकेर त्यो टोली फर्किएको थियो । हामी पुग्नुभन्दा दुई दिनअघि माछापुच्छ्रे गाउँपालिकाकै एक टोली डाङडुङे खोलाबाट फर्कियो ।

भेडीगोठमा सुर्जे दाइको रात छटपटीमा बित्यो । तीनशिर पुग्नु पनि थियो, मौसमको खराबीले पुग्न नसकिने हो कि भन्ने चिन्ता अर्कोतर्फ थियो । हामीसँग भएका टेन्ट पुरानो भएर पानी चुहिने भएका थिए । माथि जाँदै गर्दा चल्ने चर्को हावाहुरी टेन्टले नथाम्ने अवस्था आउन सक्थ्यो । बिहान साढे २ बजे सुर्जे दाइले धेरै सोचविचार गरे । त्यस क्षेत्रमा कसैलाई केही भइहाले उद्धारका लागि अप्ठेरो थियो । मौसमको खराबी र सञ्चार सम्पर्कको अभावका कारण हेलिकोप्टर आउन सक्दैनथ्यो । बोकेर पोखरा पुर्‍याउन तीन दिन लाग्थ्यो । आफूले लगेको टिमलाई जोखिममा पार्न चाहेनन् । हिँड्ने भनेको दिन उनले टिमलाई सुनाइदिए, ‘यसपालि नजाने भइयो, अर्कोपल्ट प्रयास गरौंला ।’

एक्यापका रामजी सरले उनको निर्णयमा समर्थन जनाए । जोखिम मोल्न नहुने तर्क जायज माने । टिममै रहेका केहीलाई भने त्यो निर्णयले निराश बनायो । त्यस दिन नैंसा बगरमै बास बस्यौं । केही साथी मर्दी हाइक्याम्प (४७०० मि.) सम्म पुगे । मौसम खुल्थ्यो भने माछापुच्छ्रे र हाम्रोबीचमा हावाबाहेक केही हुने थिएन । डाँफे, मुनाल त्यहीं देखिन्थ्यो । थार, घोरल र झारलका बथान दौडिरहेका भेटिन्थे ।

अर्को दिन नौंजे, बुंगा हुँदै पिपर फर्कियौं । पिपरमा करुवाको दुई भैंसी गोठ रहेछन् । हाम्रा गाइड मनबहादुरका छोराले भैंसीगोठ सम्हालेका थिए । पिपरको डाँडामा पिपर ताल छ । यो तालमा रूखको पात झर्नेबित्तिकै चराले टिपेर बाहिर फ्याँक्ने गरेको जनविश्वास छ । चैत, वैशाखको खडेरीमा समेत पिपर तालमा पानी नसुक्ने भएकाले जंगली जनावर र चराचुरुंगी पानी पिउन यो तालमा आउँछन् । कालिज प्रजातिका डाँफे, मुनाल, चिर, चिलिमे, फोकराँस लगायत चराको अवलोकनका लागि विदेशबाट समेत चराप्रेमी, संरक्षणविद् एवं अनुसन्धानकर्मी पिपर पुग्छन् ।

अर्को दिन पिपरबाट पिलिचों, ठूलो खुम, सानो खुम हुँदै ओरालो झरेपछि करुवा गाउँ आइपुग्यो । बुंगाबाट पिपर, पिपरबाट करुवा झर्दा जुत्ता गाडिने हिलोमा जुका फालिसाध्ये थिएन । करुवा आइपुगेपछि बल्ल मानवबस्ती देखियो । करुवाबाट तेर्सै हिँडेर मिर्सा आइपुगियो ।

यात्राको उद्देश्य प्रकृति नियाल्नु मात्रै हुँदैन, मानिस पढ्नु पनि हुन्छ । तीनशिर पुग्ने अभियान सफल भएन । तर, यो पदयात्राले सहयात्री जोड्यो । यात्रीका कथा थाहा पाउने मौका मिल्यो । गाली पनि गर्ने र मनका उस्तै सफा सुर्जे दाइ, हिँडाइमा सँगसँगै भएर साथ दिएका रामजी सर, युवा जोस भएका शक्तिजी, मीठो खाना पकाउने निर्मल दाइ र साथीहरू, भारी बोक्न गाह्रो भएपछि अब पढ्ने प्रतिज्ञा गरेका सन्दीप राई, तर्साउनेको किस्सा सुनाउने गोठमूली, टिममा भएका सबैसबैसँग अझै यात्रामा छु जस्तो लाग्छ ।

समयले साथ दिएछ भने एकफेर भेट्न पक्कै आउनेछौं, प्रिय तीनशिर ।

प्रकाशित : भाद्र १५, २०८१ १०:४९
x
×