कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

काठमाडौं कलिङ महोत्सव : बहसमा नायकदेखि महानायकसम्म

भाद्र २३, २०८१
काठमाडौं कलिङ महोत्सव : बहसमा नायकदेखि महानायकसम्म

काठमाडौँ — फिल्मका मुख्य पात्रलाई हिरो, नायक, अभिनेता, महानायक, स्टार, सुपरस्टार, मेगास्टारजस्ता अनेक विशेषण दिइने गरिन्छ । कतिपय कलाकार आफूलाई हिरो भनेकोमा मन पराउँछन् त कतिले अभिनेता मात्र । कोहीलाई नायक भनिदिँदा ठीक लाग्छ भने नेपाली फिल्म क्षेत्रमा महानायक को भन्नेसमेत हानाथाप भएको पाइने गर्छ । 

नेपाली फिल्म क्षेत्रका तीन प्रभावशाली कलाकार सुरक्षा पन्त, दयाहाङ राई र दीपकराज गिरीले ललितपुरको होटल हिमालयमा शनिबारदेखि जारी काठमाडौं कलिङ महोत्सवमा यही विषयको सेरोफेरोमा चर्चा गरे । कार्यक्रम सञ्चालक तथा फिल्म समीक्षक सुशील पौडेलले तीनै जना वक्तालाई सोधे, तपाईं आफूलाई हिरो, अभिनेता, नायक वा महानायक के भनेको सुन्न रुचाउनुहुन्छ ? जवाफमा दीपकराजले भने, ‘मलाई नायक, महानायक, सम्राट्, मेगास्टार वा सुपरस्टारजस्ता विशेषणभन्दा कलाकार भनेको मन पर्छ ।’

यही प्रश्नको जवाफमा सुरक्षाले थपिन्, ‘मलाई चाहिँ हिरोइन भनेको सुन्न मजा आउँछ । गदगद महसुस हुन्छ । तर, आत्मसात् गर्न र काममा लागू गर्ने सबालमा कलाकार भनिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।’

दयाहाङका लागि भने ‘हिरो’ आयु अस्थायी हुने लाग्छ । भन्छन्, ‘हिरो एउटा टाइटल हो । समयको परिवर्तनसँगै नायकको परिभाषा पनि बदलिँदै जाने रहेछ । म केवल अभिनयका लागि बाँच्ने भएकाले आफूलाई अभिनेता भन्न रुचाउँछु । कलाकारभन्दा पनि उसले निर्वाह गर्ने पात्रहरू चाहिँ कथाभित्रका नायक हुन् ।’

‘नायक र नायकत्व’ विषयक उक्त छलफलमा नायक, नायकत्व र पात्रबीचको अन्तर्सम्बन्धबारे वक्ताहरूले आफ्ना मत राखेका थिए । नायकले पात्र जन्माउँछ वा पात्रले नायक जन्माउँछ भन्ने सबालमा सुरक्षा दुवै सत्य र दुवै एकआपसमा परिपूरक जस्तो लाग्ने धारणा राख्दै भन्छिन्, ‘तर पात्रमा नायकत्व स्थापित गर्ने कुराले बढी अर्थ राख्छ, फिल्ममा एउटा कलाकारले कति धेरै पात्रहरू बाँचिरहेको हुन्छ, कुनै फिल्ममा एउटा विशेष पात्रले नायकत्व लिएर अगाडि बढिरहेको हुन्छ । कलाकारले त्योप्रति इमानदारिता राख्नुपर्छ ।’

यसबारे दयाहाङले भने समय र परिस्थितिले नायकको परिभाषा परिवर्तन हुने धारणा राखे । ‘अहिलेको समयमा समाजले नायक खोजिरहेको छ, उनीहरूबाट क्षणभरमै समाजले परिवर्तन खोजिरहेको छ । तर त्यो समाजको एउटा भ्रम हो,’ उनले थपे, ‘चलचित्रका पात्रको भूमिका एउटा अभिनेताले इमानदार भएर निर्बाह गरेमा सुन्दर सिनेमा बन्छ भने जस्तै आम नागरिकले पनि सही भूमिका निभाए सुन्दर समाज बन्छ । नायक आएर परिवर्तन हुने भन्ने होइन ।’

दीपकराज पनि दयाहाङसँग सहमत देखिए । ‘परम्परागत भाषामा जुन नायक भनिन्थ्यो, त्यो फरक हो । आजकल नायक भिन्नभिन्न शैलीका छन् । प्रविधिको जोडबलमा उभिएको नायक जस्तै, ‘केजीएफ’ को रक्की जस्तो । प्रविधिले उसको उपस्थितिलाई विशाल बनाएर पहिले नै नायकका रूपमा स्थापित गरिदिन्छ । बीजीएमले बनाएको नायक,’ उनले भने, ‘तर पात्रको बलबुताले बन्ने नायक, हाम्रै माटोमा खेलेर हुर्केका, जिन्दगीको भोगाइबाट निस्केका पात्रबाट नायक हुनु महत्त्वपूर्ण हो ।’

फिल्मको पर्दामा नायक बनेर देखिए पनि अभिनेताहरूले सुसंस्कृत सभ्य समाज निर्माणका लागि नायकत्व स्थापित गर्न नसकेकामा भने दीपकराजको स्वीकारोक्ति रह्यो । भने, ‘हामी अझै पनि अभिनेताबाट नायक नै बन्न सकिरहेका छैनौं, तर होडबाजी चाहिँ महानायकका लागि गर्छौं । मेरा लागि त्यो व्यर्थको बहस लाग्छ ।’ महोत्सव आइतबारसम्म चल्नेछ ।

प्रकाशित : भाद्र २३, २०८१ ०६:१४
×