कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

महिला लिग फुटबल : एपीएफसामु सजिलो बाटो

भाद्र २३, २०८१
महिला लिग फुटबल : एपीएफसामु सजिलो बाटो

Highlights

  • ‘महिला फुटबलमा टिमहरूबीच पहिले जस्तो अन्तर रहेन, फेरि विदेशी खेलाडीको संलग्नताले समीकरण तलमाथि हुनेछ’   

काठमाडौँ — एपीएफ क्लबले एन्फा महिला लिग फुटबलमा कम्तीमा पहिलो चरणको समाप्तिसँगै अब सजिलो बाटो तय गर्नेछ । टोलीले यसक्रममा धेरैखाले प्रयास गर्न सक्नेछ । 

सुरुआती १० टिमबीचको खेलमा एपीएफले सुरुमै पुलिसको सामना गरिसकेको छ अनि आर्मीको पनि । पुलिससँग बराबरीमै चित्त बुझाएको एपीएफ शनिबार आर्मीसँगको खेलमा भने जित निकाल्न सफल रह्यो । एपीएफ स्वयं परिवर्तनबाट गुज्रिरहेको स्थितिमा यो क्लबका लागि राम्रो हो ।

प्रशिक्षक जीवेश पाण्डे मान्छन्, अबको बाटो त्यति साह्रो सजिलो हुने छैन । किनभने अब त महिला फुटबलमा टिमहरूबीचको अन्तर पहिले जस्तो रहेन । फेरि विदेशी खेलाडीको संलग्नताले पनि समीकरण तलमाथि हुनेछ । पूर्वराष्ट्रिय खेलाडी रहेका पाण्डे यति तथ्यमा भने सहमत देखिए, बेञ्चको परीक्षण गर्न सकिनेछ, नयाँ खेलाडी खोज्नमा आफ्नो ध्यान केन्द्रित गराउन सकिनेछ ।

यस्तो किनभन्दा एपीएफलाई लागेको छ, आफ्ना प्रमुख खेलाडी विदेशी लिगतिर जानेक्रम बढ्ने छ । ‘अब हामीसँग कम्तीमा यसपल्ट सावित्रा भण्डारी र एन्जिला सुब्बा तुम्बापो हुने छैनन् । त्यसैले हामीले त्यसको विकल्प त खोज्नुपर्ने हुन्छ,’ उनले सुनाए । उनको विश्लेषण पुलिस र आर्मीविरुद्धको सुरुआती दुवै खेल गाह्रो रह्यो । उनले भने, ‘आक्रमणमा समस्या छ । अब त नयाँ खेलाडीलाई पनि अवसर दिनुपर्ने हुन्छ ।’

एपीएफको जितमा भने सविता रानागमर र गीता रानामगरले गोल गरेका थिए । आर्मीबाट विमला चौधरीले एक गोल फर्काइन् । यो नतिजापछि एपीएफको ४ अंक भएको छ भने आर्मी ३ अंकमै सीमित रह्यो ।

सातदोबाटोको एन्फा कम्प्लेम्समा भएको खेलमा सुरुआती पहिलो हाफमा आर्मी नै हाबी रह्यो । तर त्यसकै इन्ज्युरी समयमा एपीएफ कर्नरबाट सजिला गोल गर्न सफल रह्यो । कप्तान अनिता बस्नेतले कर्नरमा सविताले बललाई पोस्टको दिशा दिइन् । खेलले ५६ औं मिनेटमा आर्मी विमलाको गोलबाट खेलमा फर्किन सक्यो । विमला बिकको क्रसलाई उनले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसमा आर्मीकी गोलरक्षक सावित्री किसनसामु प्रतिक्रिया दिने अवसर पनि रहेन ।

एपीएफको निर्णायक गोल भने विपक्षी गोलरक्षक अञ्जना रानागमरको भुलमा सम्भव भएको थियो । अञ्जनाले अनिता केसीलाई बक्समा लडाएकी थिइन् र त्यसमा पेनाल्टीको निर्णय दिन रेफ्री प्रतीक घिमिरेलाई केही गाह्रो भएन । गोलको डर मान्ने स्थिति नहुँदा पनि अञ्जनाले फाउल खेलिन् र त्यसको प्रतिफल पनि बेहोरिन् । गीताले त्यही पेनाल्टीमा सजिलै गोल गरिन् र आफ्नो टिमलाई बहुमूल्य ३ अंक दिलाइन् । दोस्रो हाफ एकप्रकारले एपीएफकै पक्षमा रह्यो ।

टिमले त्यसको फाइदा पनि लिन सक्यो । खेलको स्थिति फेरिनुमा मध्यपंक्तिकी खेलाडी सरु लिम्बू प्रवेश गर्नु प्रमुख कारण रह्यो । चोटका कारण पछिल्लो केही समय आरामकै स्थितिमा रहेकी सुरुलाई पूरा ९० मिनेट खेलाउने जोखिम एपीएफले उठाउन सकेको छैन । तर उनको संलग्नतामा एएफपी बढी गतिशील देखिएको थियो । यसमा प्रशिक्षक पाण्डे पनि सहमत रहे । ‘पक्कै पनि सरु मैदानमा छँदा त्यसको सकारात्मक प्रभाव देखिन्छ,’ उनले भने ।

आर्मीका सहायक प्रशिक्षक टेकबहादुर बुढाथोकीलाई लागेको छ, आफ्ना खेलाडीले स–सानो व्यक्तिगत भुल गरिरहेका छन्, त्यसैले टिमलाई समस्या भएको छ । उनले भने, ‘सुरुमै प्राप्त अवसर सदुपयोग गर्न सकेनौं र खेलाडी सम्भवतः केही आत्तिए । पहिले नै गोल निस्केको भए, सजिलो हुन्थ्यो । एपीएफले पेनाल्टीबाट गोल गर्दै अग्रता लिएपछि पनि हामीले प्रयास गरेकै थियौं, तर सकेनौं । हारका बावजुत पनि हाम्रो लक्ष्य उपाधिका लागि चुनौती पेस गर्ने नै रहनेछ ।’

प्रकाशित : भाद्र २३, २०८१ ०५:४२
×