पहिले पहिले
म हजुरलाई जंगबहादुर पो भन्ठान्थें
डेजी मोरीले एक दिन भनी—
“त्यो त वीरशमशेर हो
जंगबहादुर त टुँडिखेलको अर्कै कुनामा थन्किबसेको छ”
मोरी ट्यालेन्ट छे, त्यसलाई हिस्ट्री कस्तो आउँछ !
मलाई त जो पनि जंगबहादुर लाग्छ
हरेक टोलमा एउटा जंगबहादुर देख्छु
हरेक टोलमा एउटा जंगबहादुर भेट्छु
कोतपर्वको शुभ साइत कुरिबसेको...
तरबारमा पाइनमाथि पाइन चढाइबसेको...
ट्रिगरमा औंला अडाइबसेको...
कहिलेकाहीं, जब भोकले निर्घात चक्कु चलाउँछ
म आकाशेपुलमा उभिएर हजुरलाई प्रस्ताव गरिरहेको हुन्छु—
महाराज वीरशमशेर, जानी हो ?
हजुर भने फर्केर हेर्नु हुन्न
तमासा बन्दा बन्दा थाकिसकें म
मलाई देख्यो कि मान्छेहरु हाँस्छन्
मैले बोल्यो कि मान्छेहरु हाँस्छन्
मलाई त यो सिङ्गै पृथ्वी
तमासाहरुको कामाठीपुरा लाग्छ
चोटसिबाय मलाई कसैले केही दिएन
मलाई सानैदेखि राम्री बनेर हिँड्न मन लाग्थ्यो
लिपस्टिक, पाउडर, नेलपालिसप्रति मेरो आसक्ति
दिदीबहिनी र भाउजूहरुप्रति मेरो लगाव
आफ्नै उमेरका केटाहरुप्रति मेरो अलगाव देखेर
बाउ मुर्दारले कोदालोको बिँड भाँचिने गरी
बजारेको थियो मेरो पिँडुलामा
र, यसरी चोटहरुको दुनियाँमा मैले
प्रवेश गरें
चोटहरु सँगाल्दा सँगाल्दा
म म्युजियम भएँ
चोटसिबाय मलाई कसैले केही
दिएन
एक दिन राबत भन्ने कविले
प्रेमपूर्वक मलाई दिएको थियो
एउटा सेन्टर फ्रुट चुइँगम
(चोटबाहेक पहिलो चोटि मलाई कसैले
केही दिएको थियो)
कति मिठोसँग बोलेको थियो ऊ
र, सोधेको थियो सन्चो–बिसन्चो
मेरा दुःखमाथि गीत लेख्छु भनेको थियो
जीवनमा पहिलो चोटि आनन्दले मदहोस भएर
ज्यानै फाल्दिऊँजस्तो लागेको थियो
तर, यो महाराजहरुले बनाएको खुनी मुलुकमा
कविका शब्दमा लट्ठ भएर
ज्यान दिन कहाँ पाइन्छ र ?
ज्यान त मलाई वसन्त याममा
पनि दिन मन लाग्छ
जब ज्याकारान्डा कि के जाति फूलले
(भँगेरीफूल पनि भन्दो रछ नि, उही डेजीले भनेकी)
बैजनीनिमग्न बन्छ यो रत्नपार्कको सेरोफेरो
यस्तो लाग्छ—
भुइँभरि पोखिएर
भँगेरीफूलहरुले
मेरा हिक्का र आँसुसँग
बात मारेका हुन्
मेरा सइनहरुलाई अङ्कमाल गरेका हुन्
महाराज वीरशमशेर, तपाईंलाई दिक्क लाग्यो होला
खुनखराबीबाहेक तपाईंहरुलाई जम्मै
कुरा
बोरिङ लाग्छ, हगि ?
यो मुलुकको हातमै खुन छ
यो मुलुकको आत्मै खुनी छ
आफूलाई त
त्यो मस्क्विटो र्याकेट भन्दो रछ नि
(डेजीबाटै मैले सिकेकी)
ब्याडमिन्टनको ब्याटजस्तो देखिने क्या !
हो, त्यसले दुईचार वटा लामखुट्टे मार्दा पनि
भयानक हत्याकाण्ड मच्चाएजस्तो लाग्छ
कहिले कहिले त निद्रै लाग्दैन रातभर...
ओहो, महाराजहरु कसरी निदाउन सक्नुभयो होला
आफ्नै काकालाई ढालेको छ...
खुद आफ्नै बडाबाका सन्तानलाई सोत्तर बनाएको छ...
यदाकदा ऐनाले गर्यो होला नि एकदुई सबाल, कि—
“क्रूरताको हद हुन्छ कि हुँदैन?”
यदाकदा साबुनले व्यक्त गर्यो होला नि दिक्दारी, कि—
“सक्दिनँ म पखाल्न उप्रान्त रक्तरञ्जित हातहरु”
कैले महाराज ! अब त तपाईंलाई
पक्का झर्काे लाग्यो होला
यता, तपाईंको घण्टाघरको
प्रत्येक ट्याङ ट्याङले
झन् झन् चर्काउँछ मेरो भोकग्रस्तता
ओर्लिनुस् घोडाबाट
म तेस्र्याइदिन्छु आफ्ना एक जोर सिलिकनका स्तन
भर्याङ उक्लिँदा र ओर्लिंदा
अभागी तरूनीका छातीहरु
समात्ने रइसी जो थियो तपाईंहरुको
खुनीहरुले बनाएको मुलुक कस्तो
हुन्छ,
एक फेर नजर गर्नी हो ?
महाराज वीरशमशेर, जानी हो ?
प्रकाशित : भाद्र २२, २०८१ ०७:२९