कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

संगीत प्रशिक्षणमा जमेकी सरिता

भाद्र २३, २०८१
संगीत प्रशिक्षणमा जमेकी सरिता

Highlights

  • दैनिक ८ वटा कक्षामा विद्यार्थीलाई सिकाउँछिन्, साताको २ दिन एक विद्यालयमा बालबालिकालाई सिकाउन जान्छिन्, त्योबाहेक गीत रेकर्ड गर्न परे स्थानीय स्टुडियो, काठमाडौं जानेआउने क्रम चलिरहेको छ

लुम्बिनी — क, क, क, क, कलकल बग्ने कति हो पानी
ख, ख, ख, ख, खलखल पसिना किन हो नानी ?
जथाभावी फोहोर फाल्ने बानी नगरौं
घरआँगनको फोहोरलाई व्यवस्थापन गरौं 

अनेक रोग भित्रिँदै छ प्रदूषणकै कारण

त्यसैले नै राखौं सफा स्वच्छ वातावरण

विद्यालयका कक्षाकोठामा विद्यार्थीले रमाउँदै गुनगुनाउने ‘राइम्स’ होस् या नगरका घरघरमा फोहोर संकलनका लागि आउने सवारीसाधनमा घन्किने वातावरणको गीत । गायन हो, रूपन्देहीकी ३७ वर्षीया सरिता पन्थी सुनारको । रूपन्देहीको सैनामैना नगरपालिका–११ सालझन्डीकी सरिता परिवारकी जेठी छोरी हुन् । परिवारको आर्थिक अवस्था बलियो थिएन, खेतीकिसानी गरेर गुजारा चल्थ्यो ।

चार छोरीलाई बुवाआमाले जसोतसो पढाए । एसएलसीसम्म स्थानीय नवप्रभात माविमा अध्ययन गरेकी सरिताले त्यसपछि क्याम्पस भर्ना भइनन् । संगीत कक्षामा भर्ना भएर त्यसैलाई करियरका रूपमा अघि बढाउने सोच बनाइन् । विद्यालयमा आयोजना हुने प्रतियोगितामा भाग लिन्थिन् । उनको स्वर सुनेर गुरुहरूले संगीत सिक्न सल्लाह दिन थालेपछि भारतको इलाहाबादमा रहेको संगीत विद्यालयका लागि बुटवलस्थित बागेश्वरी संगीतालयमा भर्ना भएर गीत/संगीत सिक्न थालिन् । ‘फुपू बुटवलमा बस्नु हुन्थ्यो, म पनि त्यहीं बसेर सिक्न थालें,’ उनले भनिन्, ‘बुवाआमा, बहिनीहरूले संगीत सिक्न जान्छु भन्दा मानेका थिएनन्, तर मैले अडान छाडिनँ ।’

बागेश्वरी संगीतालयमा सरिताले ४ वर्षे कोर्स पूरा गरिन् । उनका अनुसार कक्षा बुटवलमा लिए पनि परीक्षा दिन भारतको गोरखपुर जानुपर्थ्यो । २०६२ देखि २०६५ सम्म अध्ययन गरेपछि पास भएर प्रमाणपत्र पाएको उनले बताइन् । त्यसपछि उनी संगीतकला तिखार्न भनेर काठमाडौं लागिन् । फुपूकै सहायतामा काठमाडौंमा बसेर संगीतमा २ वर्षे डिप्लोमा गरिन् । उनले काठमाडौंमा प्रकाश गुरुङसँग संगीत सिकेको बताइन् । संगीत कला सिकिरहेकी थिइन् ।

काठमाडौंको बसाइँका क्रममा उनलाई गायिका बन्न पाए हुन्थ्यो भन्ने रहरले पछ्यायो । गुरुले कोरस समूहमा पारिदिएकाले बेलाबेला त गाउन पाइरन्थिन् । तर पूर्णकालीन गायिका बन्ने चाहनालाई भने चाँडै पूरा गर्न सकिनन् । उनको अनुभवमा नयाँ ठाउँ, नयाँ मानिसहरू, कसैले प्रयोग गर्ने नियतले बोले, कसैले हेपेर बोले । त्यसपछि काठमाडौं छाडेर बुटवल आइन् ।

उनी २०६७ मा बुटवल फर्किइन् । बुटवलमा फुपूसँगै बसिन् । आफूले सिकेको कला बागेश्वरी संगीतालयमा आबद्ध भएर अरूलाई सिकाउन थालिन् । त्यहींबाट उनको संगीत प्रशिक्षकको यात्रा सुरु भयो । ‘मेरो त गायिका बन्छु भन्ने चाहना थियो,’ उनले भनिन्, ‘तर, पेसागत रूपमा प्रशिक्षक भएँ, त्यसैले गीत गाउने काम सोचे जस्तो धेरै गर्न सकेकी छैन ।’ कसैसँग झ्याप्प भेट हुँदा बोलिहाल्ने बानी छैन । त्यसैले मलाई गीत गाउन दिनुहोस् भनेर अनुरोध गर्न नजान्दा पछि परें कि जस्तो लाग्ने उनले बताइन् ।

सरिता हार्मोनियममा विद्यार्थीलाई राग, ताल, गीतको लय र स्वर सिकाउँछिन् । तानपुरा, मादल बजाउन पनि सिकाउँछिन् । बागेश्वरी संगीतालयमा उनलाई गुरु सुरेश सेन्चुरीको साथ छ । त्यसबाहेक स्थानीय विद्यालय र अहिले रागश्री संगीतालयमा पनि संगीत सिकाइरहेकी छन् । ‘म निरन्तर रियाज गर्दै विद्यार्थीलाई सिकाउँछु,’ उनले भनिन्, ‘साना बाबुनानीदेखि ७० वर्षका पनि विद्यार्थीका रूपमा हुनुहुन्छ ।’

सरिता आफूले रोजेको पेसाबाट खुसी छिन् । उनले २०७९ सालमा रेडियो नेपालबाट स्वर परीक्षासमेत पास गरिन् । परिवारका सदस्य मक्ख छन् । उनीहरू सरिताले गीत सुन्ने, स्टेजमा गाएको हेर्न पुग्छन् । अहिले आर्थिक रूपमा कमाइ पनि सन्तोषजनक छ । गीतसंगीत सिकाएर पनि कमाएको देखेपछि परिवारले जीवनमा फरक पढाइले पनि सफलता मिल्दो रहेछ भन्ने बुझेका छन् ।

पहिलो पटक सरिताले एउटा दोहोरी गीत गाएकी थिइन् । त्यसपछि दिल चलचित्रमा गाउने मौका पाइन् । उनले सोलो एल्बम २ वटा निकालेकी छन् । उनको व्यस्तता फरक खालको छ । मुलुकभरिका विभिन्न संघसंस्था, पालिकाका वातावरण संरक्षणका गीत, विद्यालयका गीत, राइम्समा स्वर भरेकी छन् । यस्ता रचना ल्याएर उनीसमक्ष आउने गरेका छन् । उनले स्वर भर्ने गरेकी छन् । संगीत प्रशिक्षणमा रमाइरहेकी उनी अन्य कलाकार जसरी हाइलाइटमा आउने चाहना नरहेको बताउँछिन् ।

‘पर्दा पछाडिकै कामबाट मलाई धेरै सन्तुष्टि मिलेको छ,’ उनले भनिन्, ‘मैले सिकाएका विद्यार्थी बरु अन्तर्राष्ट्रियस्तरमै गाउने भइसकेका छन् ।’ सुरेश सेन्चुरीसँग सिक्न आउने विद्यार्थीले सरितासँग पनि सिकेका हुन्छन् । गायिका एन्जिला रेग्मी, सुजाता पाण्डे, अफ्सर अली, विशाल आत्रेयलगायत सरिताका विद्यार्थी हुन् । उनीहरूले नेपालका विभिन्न रियालिटी सो र आफ्ना गीतमार्फत सांगीतिक क्षेत्रमा प्रगति गरिरहेका छन् ।

काठमाडौंमा संगीत सिक्न बस्दा विभेद सहनुपर्‍यो । त्योभन्दा ठूलो जातीय विभेद विद्यालय तहबाटै खेपिन् । विद्यालय नगएका दिन शिक्षकले जातीय विभेद गर्दै खिज्याएको, साथीभाइ हाँसेको तीतो सम्झना अझै याद आउँछ । ‘धेरै पटक सरले त्यही शब्द भनिरहेपछि कम्प्लेन गरें,’ उनले भनिन्, ‘कक्षा ८ मा पुग्दा मैले गोत्रीय थरमा पन्थी थपेर नाम लेख्न थालें ।’ उनीमाथि विभेद गर्ने ती शिक्षक रेस्टिगेट भए । तर सामाजिक दृष्टि बदल्न धेरै गाह्रो रहेको उनले बताइन् । ‘अहिले पनि केही विद्यार्थी आउनुहुन्छ, मैले दिएको प्रसाद नखाने, पानी नपिउने, दुःख लाग्छ,’ उनले भनिन् ।

संगीतका लागि दौडधुप चलिरहेका बेला उनलाई किन यो पेसा रोजेछु, छोडेर बसौं कि भन्ने पनि लाग्यो । उनी ४ महिनाजति घरमा बसिन् । आर्थिक अभावले कमजोर हुँदा सोलो एल्बम गर्न नसक्नु, गाउने रहरलाई पछाडि राख्न पर्नु जस्ता चिन्ताले मन दुखेपछि उनलाई यो यात्रा टुंग्याउन मन लाग्यो । तर, आफ्ना गुरु सुरेश सेन्चुरीले आफूले जानेको कुरा अरूलाई सिकाउनु पनि महान् काम हो भन्ने बुझाएपछि उनले प्रशिक्षणलाई निरन्तरता दिइरहेको उनले बताइन् ।

सरिता दैनिक ८ वटा कक्षामा विद्यार्थीलाई सिकाउँछिन् । साताको २ दिन एक विद्यालयमा बालबालिकालाई सिकाउन जान्छिन् । त्योबाहेक गीत रेकर्ड गर्न परे स्थानीय स्टुडियो, काठमाडौं जानेआउने क्रम चलिरहेको छ । बुवाआमा र एक बहिनी अहिले सालझन्डीमै बस्छन् । उनी कोठा भाडामा लिएर बुटवलमा बस्दै आफ्नो काम गरिरहेकी छन् । बेलाबेलामा घर जान्छिन् । ‘बीचमा फेरि विवाहको कुराले हैरान थिए,’ उनले भनिन्, ‘संगीतको लगाबले उता सोच्ने समय नै भएन, अहिले सामान्य लाग्छ ।’

उनको आवाजलाई मन पराएर कति राम्रो भन्दै विवाह गर्छु भन्नेहरू नआएका होइनन्, उनलाई त्यो सबै आवाजको आकर्षण मात्र हो भन्ने लागेर उनले वास्ता गरिनन् । संगीतले दिने आनन्द, मानिसलाई स्थिर, संयमित बनाउने सांगीतिक शक्ति र एक दबाइकै रूपमा यसको अनुभूति गरेकाले सरिताले अरू कुरामा त्यति चासो नराख्ने बताइन् । उनी बिहान ६ बजेदेखि कक्षामा पस्छिन्, साँझ ७ बजे सबै कक्षा सकेर फर्किन्छिन् । कुनै बेला भने घाँटीले दुःख दिन्छ । उनी तातो पानी पिउँदै सिकाउँछिन् तर गीत रेकर्ड गर्नुपर्दा भने त्यसको प्रभाव स्वरमा झल्किन्छ । त्यसैले उनी स्वरको जतन गरेर अघि बढ्दै सिकाइरहन चाहन्छिन् ।

प्रकाशित : भाद्र २३, २०८१ ०६:१५
×