कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कर्णालीका दु:ख बिसाउँदै 'कसंम नाटक घर'

श्रावण १४, २०८१
कर्णालीका दु:ख बिसाउँदै 'कसंम नाटक घर'

जुम्ला — कनकासुन्दरी-५ का ४० वर्षीय दीपेन्द्र उपाध्याय दुई दशकदेखि नाटकमा सक्रिय छन् । नाटकमा अभिनय गरेर कर्णालीको कथा मात्र सुनाइरहेका छैनन्, उनले कर्णाली खस संस्कृति संरक्षण मञ्चमार्फत 'कसंम' नामक नाटकघर स्थापना गरेर कलाकारसमेत जन्माइरहेका छन् । उनको नाटकघरमा हाल १८ जना कलाकार छन् । नाटकघरले ४ दर्जनभन्दा बढी सडक नाटक देखाइसकेको छ । परम्परागत पहिरन, रैथानले बोलीचाली र स्थानीय कथावस्तुले दर्शकको मन जितिरहेको दीपेन्द्रको भनाइ छ ।

मादक पदार्थ सेवनका कारण हुने हानि, सामाजिक कुरीतिका कारण देखिएका समस्यादेखि सुशासन र पारदर्शीताको बारेमा दीपेन्द्रको समूहले नाटकमार्फत सचेतना फैलाइरहेको छ । गत जेठ ५ मा 'करनालीको आँशु' नामक नाटक प्रदर्शन गरिएको थियो, त्यसमा कर्णालीका कथा-व्यथा उठान गरिएको थियो । 'कर्णाली प्राकृतिक रूपमा सुन्दर छ तर भौगोलिक विकटताले नराम्रो देखिरहेको छ,' दीपेन्द्र भन्छन्, ‘कर्णाली रोग, भोक, अनिकाल, स्वास्थ्य समस्याले मात्रै ग्रसित छैन्, कर्णालीमा सम्भावनाको खानी पनि छ । तर, राज्यको आँखा नपुग्दा भोगिरहनु परेको पीडा नाटकमा समावेश छ ।’ कर्णालीलाई झुटो आश्वासन दिएर वषौँसम्म दबाइएको, कर्णालीका नाममा ल्याएको बजेट जनतासम्म पुग्न नसकेको जस्ता मर्म नाटकमा देखाइएका छन् ।

लडुकुका भानुभक्त उपाध्यायले लेखेको नाटक 'करनालीको आँसु'मा रोशनी बुढा कर्णाली नामको मुख्य पात्रमा छिन् । योसँगै नाटकघरमा पुइँचो, फड्को र कुटिरो नामको नाटक प्रर्दशन भइसकेका छन् । कसम नाट्य समूहलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ध्वनि, प्रकाश र निर्देशनबारे प्रशिक्षण दिइरहेको छ । कला र प्रतिभाका माध्यमबाट समाजमा असल अभ्यासको थालनी गर्न सकिने प्रतिष्ठानकी उपकुलपति निशा शर्मा पोखेरलको भनाइ छ । 'स्थानीय कलाकारले देखाउने हरेक अभिनयले कर्णालीबासीको आवाज बोलेको छ,' उनले भनिन्, 'कर्णालीको दर्द ओकलेको छ । राज्य संयन्त्रमा रहेकाप्रति तिखो खबरदारी गरेको छ ।' हालै मात्र उपकुलपति शर्मासँगै वरिष्ठ र‌ंगकर्मी सुनील पोखरेललगायत कलाकार नाटक घर हेर्न जुम्ला आएका थिए ।

कसम नाटकघर २०६४ सालमा स्थापना भएको थियो । सुरुमा आफूहरूले सडक नाटक धेरै देखाएको नाटकघरका अध्यक्ष तन्जन हमालले बताए । 'नाटकघर नै खोलेर नाटक देखाउँदा व्यवस्थित पाराले देखाउन मिल्ने र दर्शकको चाख पनि बढ्ने देखिएको कसम नाटकघर खोलेका थियौं,' अध्यक्ष हमालले भने, ‘दोहोर्‍याएर देखाउन पनि सहज भयो ।'

प्रकाशित : श्रावण १४, २०८१ १३:१२
×