कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सम्बन्धको काँचो धागो

भाद्र २०, २०८१
सम्बन्धको काँचो धागो

काठमाडौँ — प्रकाश झर्दा नझर्दै मञ्चमा एक हूल बाँदर देखा परे । स्टेज छेउमै रहेका वाद्यवादकले मादल र गितार बजाउन थालेपछि माहोल नाचगानमा बदलियो । मञ्चमा बाँदर र मान्छे दोहोरी शैलीमा सवालजवाफमा गाउँछन् अनि सरोबरी भई नाच्न थाल्छन् । 

जंगलका बाँदर गाउँ पसेर खेतीबाली नष्ट गर्न थालेपछि पछिल्ला समय प्रायः गाउँलेका लागि टाउको दुखाइ नबनेको भने होइन । गण्डक क्षेत्रकै एक गाउँ र त्यहाँकी एक लाहुरेनी मनमायाको परिवारभित्रको कथा समेटिएको नाटक ‘काँचो धागो’ ले मानव र मानवेतर सम्बन्धलाई उन्ने प्रयास गरेको छ । लाहुरे दिलुसँग अन्तरजातीय विवाह गरेकी मनमाया जीवनको उत्तरार्धमा अहिले बूढो शरीर लिएर बूढो घर रुँघेर बसेकी छन् । पति पल्टनमा नै बितेपछि न गाउँ छोड्न सकिन्, न त छोरा–नातिको साथ लागेर विदेश नै जान मानिन् । खासमा उनलाई परिवारको जति माया छ, उति नै माया आफ्नै पाखुरीले बनाएको त्यो बूढो घरको पनि छ । कान्छो छोरो सपरिवार अमेरिकामा, जेठो छोरो पनि सहरमा, उनलाई हेरचाह गर्ने जेठी बुहारी मात्र छन्, तर उनी पनि आफ्नै जागिरमा व्यस्त ।

उमेरले ८४ पुग्न लागेकी मनमाया अचेल अनायासै फनन्न रिंगटा लागेर ढल्ने भइसकेकी छन् । कहिलेकाहीं हुने भिडियो कलमा छोराछोरी हेरेरै चित्त बुझाउनुपरेको छ । परिवारका सबै गाउँ छोडेर सहर पसेपछि यतिबेला जंगल छोडेर गाउँ पसेका बाँदरको बिगबिगी छ । गाउँपालिका बाँदर मार्ने योजनासहित गाउँलेलाई बन्दुक बाँडिरहेको छ । तर मनमायाको तिनै बाँदरमध्येको एकसँग प्रेम बसेको छ । गाउँलेका लागि आतंक बनेका बाँदर मनमाया लाहुरेनीका लागि एक्लोपना हटाउने र विगतका यौवनकाल सम्झाउने संगी बनेका छन् । मनमाया आफ्नो स्वर्गीय पतिको झल्को त्यही एक बाँदरमा पाउँछिन् ।

मुक्तिको लेखनमा आशान्त शर्माको निर्देशन रहेको नाटक ‘काँचो धागो’ ले सम्बन्धका पत्रहरूलाई केलाउने प्रयास गरेको छ । पतिपत्नीबीचको सम्बन्ध, आमा र सन्तानहरू बीचको सम्बन्ध, गाउँ र सहरबीचको सम्बन्ध, मान्छे र बाँदरबीचको सम्बन्धको धागोलाई बाट्ने प्रयास गरेको छ, नाटकले । अझ त्योभन्दा बढी एक्लोपना, सन्तानको पर्खाइ र पुनर्मिलनको झिनो आशाको कथा हो, नाटक ‘काँचो धागो’ । मनमायाको भूमिकामा आयुश्मा मगर र लाहुरे तथा बाँदरको भूमिकामा लेखक स्वयं देखिएका छन् भने अभिनयमा सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल, निष्ठा त्रिपाठी, पूर्णिमा आचार्य, मीरा खड्का, कबिर काफ्का, कृष राईलाई पनि देख्न सकिन्छ । कथा घेराको काठमाडौंस्थित टेकुमा रहेको कौसी थिएटरमा मञ्चन भइरहेको ‘काँचो धागो’ भदौ २९ सम्म चल्नेछ ।

प्रकाशित : भाद्र २०, २०८१ ०७:२६
×