कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

चित्रमा स्वतन्त्र नारी

भाद्र ८, २०८१
चित्रमा स्वतन्त्र नारी

Highlights

  • १५ महिला चित्रकारले बनाए नारी स्वतन्त्रतालाई मुख्य विषय बनाएर मिथिला चित्र 

महोत्तरी — घुम्टोमा बस्दा झेल्नुपरेको अप्ठ्यारो र परिवारमा खेप्नुपरेको पीडाबाट मुक्ति चाहेकी जनकपुरकी मधुमाला मण्डल अहिले स्वतन्त्र जीवन बिताइरहेकी छन् । सानैदेखि भित्तामा चित्र कोर्ने अभ्यासले खारिएकी उनीसँग सुन्दर चित्र बनाउने कला छ । मधुमालालाई उनको हातको कलाले स्वतन्त्र जीवन जिउन मद्दत गरेको छ ।

१३ वर्षकै उमेरमा विवाह गरेकी उनी ५/७ वर्ष घुम्टो ओढेरै बसिन् । स्वतन्त्रताको खोजीमा चित्र कोर्न थालेको उनले सुनाइन् । ‘घुम्टोबाट निस्किएपछि देखेको बाहिरी संसार स्वर्गजस्तै लाग्यो,’ मधुमालाले भनिन्, ‘कुनै बेला घुम्टोभित्रबाट देखिने एक चोक्टो धर्ती नै मेरो संसार लाग्थ्यो । ३२ वर्षदेखि मिथिला चित्रकला कोरिरहेकी मधुमाला प्राकृतिक रंग बनाएर कसरी चित्र रंग्याउन सकिन्छ भन्ने सिकिरहेकी छन् ।

जनकपुरमा हालै शिवातालभ फाउन्डेसनले तालिम आयोजना गरी मिथिला चित्रकलाकर्मीलाई प्राकृतिक रंग बनाउने र प्रयोग गर्ने तरिका सिकाएको छ । तालिमको दौरानमा १५ चित्रकारले नारी स्वतन्त्रतालाई मुख्य विषय बनाएर मिथिला चित्र बनाएका शिवातालभ फाउन्डेसनकी अध्यक्ष रागिनी उपाध्यायले बताइन् । चित्रकारले प्रायः आफ्नो जीवनमा गरेको संघर्षबाट मिलेको स्वतन्त्रतालाई चित्रमा उतारेका छन् । मधुमालाले चित्रमा महिला शक्तिशाली छन् भन्ने देखाउन डोजर चलाउँदै गरेको चित्र कोरेको बताइन् ।

मधेशमा घुम्टोमा बस्ने धेरै महिला स्वतन्त्रताको संघर्षपछि अब विभिन्न स्थानमा पुगेर उदाहरण बनिसकेको उनले सुनाइन् । चित्रका माध्यमबाट महिलालाई स्वतन्त्र हुन र बाहिरी संसारमा आफ्नो लक्ष्य लिएर अघि बढ्न प्रेरित गर्ने उद्देश्यसहितका चित्र आफूले बढी बनाउने गरेको मधुमाला बताउँछिन् । मिथिला चित्र बनाएरै देशका धेरै भूभाग र वैदेशिक यात्रामा अमेरिकासम्म पुगिसकेको उनले सुनाइन् । ‘घुम्टो नउठाएको भए चित्र कोर्ने र देशविदेश घुम्ने अवसर मिल्ने थिएन,’ उनी भन्छिन्, ‘मेरो चित्रको तारिफ अमेरिकाका राजदूतले पनि गरे, अमेरिकामा लगेको चित्र तीन सय डलरमा बेचें ।’

मिथिला चित्र बनाउने क्रममै जनकपुरकी अर्की चित्रकार रुबी पाठकले मिथिलाका राजा जनककी छोरी सीतालाई आफ्नो पात्र बनाएकी छन् । महिला कसरी स्वतन्त्र हुन सक्छन् भन्ने विषयमा मिथिलाकी छोरीलाई धेरैले भगवान् मान्छन् भने मिथिलाका हरेक नारी सीता बन्ने लक्ष्य लिएर स्वतन्त्र हुँदै अघि बढ्नुपर्ने आफ्नो चित्रको सन्देश भएको पाठकले बताइन् ।

मिथिला चित्रकलामा मिहिनेत गरे भविष्य निकै राम्रो रहेको उनको अनुभव छ । ८ वर्षदेखि चित्रकलालाई नै पेसा बनाएकी पाठकले यो पेसाबाट आफू निकै सन्तुष्ट भएको उल्लेख गरिन् । पछिल्लो समय मिथिला चित्रकला भित्तामा लगाउने मात्रै नभई हरेक सजावट र सामग्रीमा समेत प्रयोग गर्दै कोर्न थालिएकाले यसमा लाग्नेको भविष्य सुन्दर रहेको पाठकको बुझाइ रहेछ ।

२५ वर्षको उमेरदेखि मिथिला चित्रकला बनाइरहेकी पानो दासले मिथिला चित्रकलामा तीन दशकको अनुभव बटुलेकी छन् । मिथिला चित्र बनाउने र देशविदेशमा पठाउने संस्था महिला विकास जनकपुरकी अध्यक्ष पनि हुन्, उनी । जनकपुर–१३ घर भएकी दासले संस्थामा अहिले २० जना मिथिला चित्रकार सक्रिय रहेको बताइन् । लामो समयको अनुभव र सीप भएका चित्रकला कोर्ने सबै महिला छन् । स्वतन्त्रताको संघर्षपछि आफ्नो कलालाई सुन्दर बनाएर निकै मेहिनत गरी नाम र पैसा कमाई परिवारको जिम्मेवारीसमेत महिलाले उठाइरहेका दासले बताइन् ।

जीवनमा हार खाएर बसेका धेरै महिलालाई महिला विकासले सीप सिकाएर रोजगारी नै दिएको चित्रकारहरू बताउँछन् । जनकपुर–१२ की ५६ वर्षकी राजकुमारी मण्डल सानै उमेरमा पोलियोका कारण शारीरिक रूपमा अशक्त बनिन् । तर महिला विकासमा उनी अहिले राम्रो चित्रकारका रूपमा स्थापित छिन् । परिवार र समाजको अपहेलनापछि निराश भए पनि आफूलाई चित्रकलाले नै जिउने शक्ति दिएको राजकुमारी बताउँछिन् । चित्रकलाकै माध्यमबाट कमाएर घर चलाउने, छोराछोरी पढाउने जिम्मेवारी पूरा गरेको उनले सुनाइन् । २५ वर्षअघि चित्रकला सिकेकी राजकुमारीले आफ्ना संघर्षलाई प्रायः चित्रमा उतार्ने गरेको बताइन् ।

पछिल्लो समय मिथिला चित्रकलाको माग बजारमा बढ्दो छ । लगाउने कपडा, ओड्ने गम्छा, तौलिया, भित्ते चित्रकला र घर, कार्यालयमा प्रयोग हुने सामग्री समेतमा मिथिला चित्र कोर्न र छाप्न थालिएकाले चित्रकलाको स्तरीयता र फरकपन पनि थप्दै लानुपर्ने शिवातालभ फाउन्डेसनका सचिव रामपुजन ठाकुरले बताए । घरआँगनमा पाइने सिमीको पात, चुकुन्दर, गोबरलगायतबाट बन्ने प्राकृतिक रंगको प्रयोग गरेर पनि मिथिलाकला क्षेत्रमा फरकपन ल्याउन सकिन्छ भन्ने उद्देश्यले कलाकर्मीलाई फरकपनको तालिम दिएको उनले बताए ।

तालिमको विषयवस्तु महिला स्वतन्त्रता भएकाले महिलाहरू प्रायःले आफ्नै स्वतन्त्रताको यात्राको कथा चित्रमा उतारेका उनले बताए ।

प्रकाशित : भाद्र ८, २०८१ ०६:५१
×