‘युगको साँचो’ लिएर थिएटरतिर

टंकको यो चौथो निर्देशकीय नाटक हो, जसलाई उनी थिएटरमा मञ्चन गराउँदै छन् । बर्सेनि विद्यालयमा २०/२५ नाटक निर्देशन गर्ने उनी पछिल्लो समय व्यावसायिक दर्शक लक्षित गरेर नाटक बनाउन हौसिएका छन्

असार ३०, २०८१

रीना मोक्तान

To the theater with the 'key of the era'

काठमाडौँ — गकर्मी टंक चौलागाईंले नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’लाई यसअघि धेरै पटक विद्यालय/कलेजमा मञ्चन गरिसकेका छन् । तर, यस पटक भने उनले ‘म्युजिकल’ नाटक बनाउने सोचसहित यस नाटकलाई नेपाली परिवेश सुहाउँदो भावानुवाद गरे र नाटकको नाम राखे, ‘युगको साँचो’ । 

नाटकलाई पूरा ‘म्युजिकल’ बनाउन नसके पनि आफूले सक्दो कोसिस गरेको उनले सुनाए । वास्तवमा ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ बालबालिका केन्द्रित नाटक हो । तर, टंकले यसलाई नेपाली बनाउँदा बाल कलाकारको पात्र र उमेर परिवर्तन गरिदिएका छन् । वास्तविक कथा मनोरञ्जनमा सीमित छ तर टंकले त्यही कथालाई नेपालीमा ल्याउँदा युवा लक्षित बनाएका हुन् ।

जब उनी यो नाटकलाई नेपालीमा अनुवाद गर्दै थिए, तब लाखौं युवा विदेश भासिरहेको परिवेश उनको आँखाअघि थियो । हुन पनि नेपाली युवामा छाएको चरम निराशाको संकेत रित्तो गाउँ पनि हुन् । सहर पनि बिस्तारै रित्तिए के होला ? यस्तै परिकल्पनाबीच टंकले यो नाटक निर्माण गरेको बताए । विदेश गइरहेका युवालाई रोक्ने कसरी त ? यही प्रश्नले ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ तर्फ टंकको ध्यान पुग्यो । उनलाई लाग्यो, देशमा उद्योग स्थापना भए त अधिकांश युवा नेपालमै बस्ने थिए । उद्योग स्थापना हुनु रोजगारी सिर्जना हुनु हो ।

To the theater with the 'key of the era'‘कृषि त छँदै छ । तर, हाम्रो परिवेशमा उद्योग चाहिन्छ । ठाउँ र आवश्यकताअनुसार खेती गर्ने र त्यही कच्चा पदार्थअनुसार ती ठाउँमा उद्योग स्थापना भए त विदेश गएर सीप सिकेकाहरू, कमाएर फर्कनेहरूलाई यहीं बस्ने ठाउँ मिल्ने थियो,’ उनले भने, ‘कतार पुगेर ८० हजार कमाउनेले नेपालमै ६० हजार कमाउन पाए परिवार छोडेर किन विदेशिन्छ र ?’

बाल साहित्यतर्फ निकै चर्चित ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ मा एउटा यस्तो बालकको कथा छ, जो गरिबीबाट अचानक ठूलो चकलेट फ्याक्ट्रीको मालिक बन्छ । एक दिन चकलेट फ्याक्ट्रीका सफल व्यापारी विल्ली वांकाले पाँच ‘गोल्डेन’ टिकटको घोषणा गर्छन् । टिकट पाउनेले त्यो विशाल र विरासत बोकेको फ्याक्ट्री घुम्ने सुवर्ण अवसर पाउने बताइएको हुन्छ । त्यही पाँचमध्येको एक पात्र हुन्, चार्ली ।

‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ मा चकलेट कम्पनी छ । ‘युगको साँचो’ मा भने दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योगको पृष्ठभूमि समावेश गरिएको छ । ‘हेटौंडा कपडा उद्योग खोल्नुपर्छ भन्दै बजेट छुट्याइन्छ । होला, यो कपडा उद्योग पुनः सञ्चालनमा आउला । यसले चीन र भारतका सस्ता कपडासँग प्रतिस्पर्धा गर्न नसक्ला ।

To the theater with the 'key of the era'तर, हाम्रो उद्योगबाट उत्पादित कपडालाई नै देशमा भएकाले उपभोग गर्नुपर्छ भन्ने नीति बन्यो भने यस्ता उद्योग फस्टाउने थिए,’ टंकले भने । खासमा टंकले विल्ली पात्रले दिने त्यही ‘गोल्डेन’ टिकटलाई ‘युगको साँचो’ का रूपमा नेपाली अनुवादमा राखेको सुनाए । ‘हामीलाई गोल्डेन टिकटको आवश्यकता छैन । हाम्रो देशको परिवेश हेर्दा हामीलाई चाहिने त उद्योग हो । त्यो उद्योगधन्दा खोल्ने साँचोका रूपमा हामीले नाटकको नाम ‘युगको साँचो’ राखेका हौं,’ टंकले भने, ‘त्यो उद्योग खोल्ने साँचो युगको साँचो हो, जुन साँचो युवालाई दिनुपर्छ भन्ने सन्देश नाटकमा छ ।’ 

१३ कलाकारको अभिनय रहेको यो नाटकमा केही परिवर्तन निकै उम्दा छन् । वास्तविक कथाका पुरुष पात्रलाई ‘युगको साँचो’ मा महिला पात्रमा रूपान्तरण गरिएको छ । जस्तै, विल्ली वांका चरित्र वास्तविक नाटकमा पुरुष पात्र छ, तर ‘युगको साँचो’ मा कपडा उद्योगकी सफल व्यापारी, मून मिस (आकांक्षा कार्की) छन् । चरित्रमा गरिएको यस किसिमको परिवर्तनमा टंकले आफ्नो अनुभव र दृष्टिकोण मिसाएका छन् ।

To the theater with the 'key of the era'१५/१६ वर्षदेखि जुन विद्यालयमा उनले रंगमञ्च पढाए, ती अधिकांश विद्यालय सफल छन्, जसका प्रिन्सिपल महिला छन् । समाजमै हेर्दा पनि महिलाको बलियो उपस्थिति देख्थे उनी । महिलाले सञ्चालन गरेका उद्योग पनि सफल हुन्छन् भन्ने सोचसहित आफूले विल्लीको चरित्रलाई मून बनाएको टंकले बताए ।

कथाको प्रमुख पात्र चार्लीलाई पनि ‘युगको साँचो’ मा महिला बनाएका छन् । टंक आफैं पनि महिलाका कथालाई नाटकमा ल्याउन रुचाउँछन् । सीमान्तमा पारिएका महिलालाई उनी आफ्नो कथामा उचित स्थान दिन्छन् । उनका पछिल्ला नाटक ‘माधवी’, ‘यायाती’ र ‘योगमाया’ मै पनि महिलाको सशक्त चरित्र चित्रण छ ।

‘मलाई खासमा पर्दा पछाडिका कथा ल्याउन मन लाग्छ । त्यसैले महिलावादी दृष्टिकोणबाट नियोजित रूपमै यो नाटकमा पुरुष चरित्रलाई महिला बनाइएको हो,’ टंकले भने । वास्तविक कथामा फ्याक्ट्री साना बालकले पाउँछ, युगको साँचोमा भने युवाले पाएको देखाइएको छ । सफल व्यवसायी मून किन युगको साँचो युवालाई दिन चाहन्छिन् त ? उनी पढ्न भनेर विदेश गएकालाई फर्काउन चाहन्छिन् । १२ सकेर विदेशिएकालाई देशमा आकर्षित गराउन चाहन्छिन् । 

To the theater with the 'key of the era'जब, चेल्सी कलेजमा २ सय ५० कलाकार लिएर टंकले ‘चार्ली एन्ड द चकलेट’ गरे, उनलाई विदेश गइरहेका युवाको विषयले घोचिरह्यो । नेपालमा खासै विल्ली वांकाको जस्तो ठूलो उद्योग छैन । त्यस किसिमको उद्योग कल्पिँदै उनले नाटक निर्देशन सोचेर सन् २०१८ देखि नै रूपान्तरण सुरु गरे । सन् २०२२ तिर नाटकले नै उनलाई जर्मनी पुर्‍यायो । जर्मनीबाट फर्कनासाथ व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाले टंकलाई यो विषयमाथि नाटक बनाउनैपर्छ भन्ने लाग्यो । 

नाटकमार्फत देशमा फेरि उद्योग खुल्नुपर्ने बहस छेड्ने तयारीमा रहेका टंक उद्योगलाई लिएर सरकारमा अझै नीतिगत स्पष्टता नभएको बताउँछन् । ‘आयात कम गरेर निर्यात बढाउने नीतितर्फ सरकारले जोड दिनुपर्ने हो,’ उनले भने, ‘एउटा प्रदेशमा २ वटा उद्योग खोल्दै रोजगारीको व्यवस्थापन गरे त विकल्प भेटिन्छ नै । १०/१५ वर्ष यसरी नै उद्योग सञ्चालन गरेर अगाडि बढ्ने हो भने हाम्रा युवा देशमै बस्ने थिए ।’ विद्यालयका विद्यार्थीबीच रंगमञ्च पढाउने हुँदा धेरैले ‘युगको साँचो’ लाई बाल नाटकमा रूपमा पनि व्याख्या गरेका छन् ।

‘युगको साँचो’ सहित टंकको यो चौथो निर्देशकीय नाटक हो, जसलाई उनी थिएटरमा मञ्चन गराउँदैछन् । बर्सेनि विद्यालयमा २०/२५ नाटक निर्देशन गर्ने टंक पछिल्लो समय व्यावसायिक दर्शक लक्षित गरेर नाटक बनाउन हौसिएका छन् । विद्यालयमा थिएटर पढाइरहेका उनलाई व्यावसायिक दर्शक लक्षित गरेर किन नाटक बनाउन मन लाग्यो त ?

To the theater with the 'key of the era'‘म पनि छु है भन्नका लागि थिएटरतिर आएर नाटक गरिरहेको छु । विद्यालयमा मात्रै हुँदा यो त बच्चालाई पढाउने हो, यसले जानेकै छैन भनिदिन्छन् । सायद त्यही इगोले मलाई थिएटरसम्म डोर्‍याइरहन्छ । खासमा हाम्रो थलो त यही हो,’ टंक भन्छन्, ‘विद्यालयका नाटक गर्दा घाटा हुन्न । विद्यालयबाट बनाएको नाटक लिएर हामी युरोप पुगिरहेका हुन्छौं । तर थिएटर लक्षित नाटक गर्दा घाटा हुन्छ । तर, वर्षको एक पटक थिएटरमा नाटक गरौं भन्ने लाग्छ ।’ 

बानेश्वरको भ्याली भ्यु स्कुलबाट टंकले विद्यालयमा थिएटर पढाउन थालेका हुन् । सन् १९९८ तिर टंकले बानेश्वर क्याम्पसमा निःशुल्क अभिनय भन्ने ‘पोस्टर’ देखे । त्यही ‘पोस्टर’ले वीरेन्द्र हमालकहाँ पुर्‍यायो । ३ सय रुपैयाँ खर्चेर हमालसँग अभिनय सिके । जागिर खाने कि विदेश जाने ?

To the theater with the 'key of the era'यही दोधारबीच नाटकको ‘कन्सेप्ट’ बोकेर टंक विद्यालय पुगे अनि विद्यालयले थिएटर पढाइलाई अँगाल्यो । अहिले अधिकांश विद्यालयमा नाटक पढाइन्छ । सीसीए (को करिकुलर एक्टिभिटिज) अन्तर्गत विद्यालयले नाटक पढाउने वातावरण बनाइदिएका छन् । यस अर्थमा टंक झन्डै १५ वर्षदेखि नाटकप्रेमी, नाटक कलाकार र नाटकमै विद्यार्थी हुर्काउन व्यस्त छन् ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully