ग्यालरीमा विद्यार्थीका थेसिस

असार ३०, २०८१

प्रकृति दाहाल

Student theses in the gallery

काठमाडौँ — भर्चुअल दुनियाँ रंगीन छ । यही रंगीन दुनियाँमा प्रवेश गर्दा वास्तविक दुनियाँ बिर्सेको भान हुन्छ मिर्जा ब्रजाचार्यलाई । रंगीन दुनियाँमा आजको युवापुस्ता कसरी हराइरहेको छ त ? उनले यसै सन्देशलाई आफ्नो कलामार्फत देखाउन खोजेकी छन् । भर्चुअल दुनियाँलाई उनले रंगीन दुनियाँका रूपमा प्रस्तुत गरेकी छन् भने वास्तविक जीवनलाई अँध्यारो (डार्क कलर) मा देखाएकी छन् । 

काठमाडौं विश्वविद्यालयबाट मास्टर्स अफ फाइन आर्टमा दीक्षित विद्यार्थी हुन् मिर्जा । ग्राफिक डिजाइनअन्तर्गत उनको पिक्सल आर्ट यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भइरहेको छ । कलामा आफ्ना अनुभवसँगसँगै उनले सामाजिक विषयवस्तुलाई समेट्ने प्रयास गरेकी छन् । ‘हजुरआमा बितेपश्चात् आफूलाई भुलाउन धेरै समय सामाजिक सञ्जालमा बिताएँ,’ उनले भनिन्, ‘वास्तविक दैनिकीमा फर्कन धेरै समय लाग्यो, त्यही कारण पनि यो आर्टको आइडिया फुरेको हो ।’

Student theses in the galleryआफ्नो कलालाई उनले ‘भी मोक्ष विटविन वर्ल्ड’ शीर्षक दिएकी छन् । आर्ट निर्माण गर्न न ब्रस, न त क्यानभास नै प्रयोग गरेकी छन् । विभिन्न एपमार्फत आर्ट गरेको उनले बताइन् । ‘भर्चुअल दुनियाँ र वास्तविक दुनियाँलाई देखाउन खोजेकी हुँ,’ उनले भनिन्, ‘रंगीन संसार देखाएर सामाजिक सञ्जालले दैनिक जीवनलाई कसरी खलबलाइरहेको छ भन्ने देखाउन खोजेकी छु ।’ 

Student theses in the gallery‘रेम्नेन्ट्स अफ अ स्पिरिट’ शीर्षक दिएर शुभेक्षा प्रधानले नेवारी संस्कारमा रक्सी (ऐला) को महत्त्वलाई दर्शाउन खोजेकी छन् । ‘नेवारी समुदायमा मृत्युसंस्कार, उत्सव र पूजाआजा सबैमा रक्सीले परम्परा धानिरहेको छ, कलामार्फत त्यसलाई देखाउन खोजेकी छु,’ उनले भनिन्, ‘घरमा बनाउने ‘ट्रेन्ड’ बिस्तारै घट्दै गइरहेको र रक्सीलाई व्यावसायिक रूपमा बेच्न नपाउनुले यसको महत्त्व हराउन थालेकाले ‘रिसर्चबेस’मा रहेर थेसिस तयार पारेकी हुँ ।’

प्रदर्शनीमा उनले रक्सीका ‘स्याम्पल कलेक्सन’ देखि रक्सी बनाउने भाँडा पनि राखेकी छन् । विदेशबाट ‘ब्रान्डिङ’ गरेर आएका रक्सीका बोतल पनि उनको प्रदर्शनीमा छन् । ‘पछिल्लो समय विदेशी ब्रान्डले बजार लिइरहेका छन्,’ उनले भनिन्, ‘जापानबाट कोदोको रक्सी, चाइनाबाट छ्याङ भनेर नेपाली बजारमा आएका छन् तर नेपालमै किन यिनको ब्रान्डिङ नगर्ने ?’ 

Student theses in the gallery‘राइजोम्स एमएफए थेसिस प्रदर्शनी २०२४’ शीर्षकअन्तर्गत काठमाडौं विश्वविद्यालयका २१ जना विद्यार्थीको (मास्टर्स अफ फाइन आर्ट) को थेसिस यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भइरहेको छ ।

विद्यार्थीको दुई वर्षको अध्ययनपश्चात् उनीहरूका विचार र धारणाका साथै अनुसन्धानलाई देखाउन खोजिएको ‘क्युरेटर’ सुवानीसिंह श्रेष्ठले बताइन् । ‘विद्यार्थीको सोच र धारणालाई कक्षाकोठामा मात्र सीमित नराखी पब्लिकमा पुर्‍याउने उद्देश्यले यो प्रदर्शनी सञ्चालन गरिएको हो,’ उनले भने । २४ देखि सञ्चालन भइरहेको प्रदर्शनी आज (३० असार) सम्म चल्नेछ ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully