सन् १९०४ मा आजको दिन : कवि पाब्लो नेरुदाको जन्म

असार २८, २०८१

कान्तिपुर संवाददाता

On this day in 1904: Birth of poet Pablo Neruda

काठमाडौँ — सन् १९०४ मा आजकै दिन (जुलाई १२) मा चिलीका कवि पाब्लो नेरुदाको जन्म भएको थियो । उनी कविका अलावा कूटनीतिज्ञ र राजनीतिकर्मी पनि थिए । उनले सन् १९७१ मा साहित्यतर्फ प्रतिष्ठित नोबेल पुरस्कार प्राप्त गरेका थिए । उनको मृत्यु सन् १९७३ सेप्टेम्बर २३ मा भएको थियो । 

नेरुदाको खास नाम नेफ्ताली रिकार्डो रेयेस बासोल्तो हो । १३ वर्षको उमेरदेखि कविता लेख्न थालेका पाब्लोलाई ल्याटिन अमेरिकाको २० औं शताब्दीकै महान् कवि मानिन्छ । दोस्रो विश्वयुद्धपछि शीतकालीन समयमा साम्राज्यवाद, वैदेशिक हस्तक्षेप र मानवताविरोधी तानाशाही शासनको विरुद्धमा उनले क्रान्तिकारी कविता लेखेका थिए । 

सामान्य परिवारमा जन्मिएका पाब्लोले तानाशाही शासकविरुद्ध कविता लेखेका कारण धेरै वर्ष निर्वासित जीवन बिताउनु परेको थियो । पाब्लोका ‘ट्वान्टी लभ पोयम्स् एन्ड अ सङ अफ डिस्पेयर’, ‘कान्टो जनरल’, ‘मेमोर्स’, ‘द पोयट्री अफ पाब्लो नेरुदा’, ‘रेजिडेन्स अन अर्थ’ लगायत पुस्तक प्रकाशित छन् ।

कान्तिपुर

Link copied successfully