काठमाडौँ — सन् २०१९ मा आजकै दिन (जुलाई १४) मा इंग्ल्यान्डले एकदिवसीय क्रिकेटको विश्वकपको उपाधि जितेको थियो । इंग्ल्यान्डले फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गरेको हो ।
लन्डनको लर्ड्स क्रिकेट मैदानमा भएको खेलमा दुवै टिमले २४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । तर, सुपरओभरमा पनि दुवै टिमले समान १५ रन बनाएका थिए । त्यसपछि खेलको क्रममा बाउन्ड्री प्रहारका आधारमा इंग्ल्यान्डलाई विजयी घोषित गरिएको थियो ।
इंग्ल्यान्डले २६ बाउन्ड्री प्रहार गरेको थियो भने न्युजिल्यान्डले १७ वटा मात्र प्रहार गरेको थियो । क्रिकेट विश्वकपको फाइनलमा खेल सुपर ओभरमा पुगेको र बाउन्ड्री प्रहारका आधारमा विजेता घोषित गरिएको यो पहिलो पटक हो । त्यही कारणले यो फाइनल खेललाई एकदिवसीय क्रिकेट इतिहासकै हालसम्मै उत्कृष्ट र नाटकीय रहेको मानिन्छ ।
यो प्रतियोगितमा १० देश सहभागी थिए । फाइनलमा ‘प्लेयर अफ द म्याच’ इंग्ल्यान्डका बेन स्टोक्स भएका थिए भने ‘प्लेयर अफ द सिरिज’ न्युजिल्यान्डका काने विलियम्सन घोषित भएका थिए ।
