कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘कमजोर चेतनास्तर भएको समाजमा इतिहास धराप पनि बन्न सक्छ’ 

दीपक सापकोटा

मानवशास्त्री सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास : सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ प्रकाशित छ । उद्विकासको लामो यात्रामा मानव सभ्यताले हासिल गरेको उपलब्धि र झेलेको चुनौतीबारे ढकालको यो किताब अन्तर्दृष्टियुक्त छ ।

‘कमजोर चेतनास्तर भएको समाजमा इतिहास धराप पनि बन्न सक्छ’ 

मानव सभ्यता विकासको मानवशास्त्रीय अवलोकनकर्ता तथा अन्वेषक ढकालसँग किताबको सेरोफेरोमा दीपक सापकोटाको वार्ता :

सन् २०१५ सम्म नेपालमा मानवशास्त्र र समाजशास्त्र एउटै विभाग मातहत थिए । त्यसको अध्यापन, अनुसन्धान कार्य र नेतृत्वमा मानवशास्त्रीहरूको उल्लेख्य उपस्थिति हुँदा पनि 'पब्लिक डिस्कोर्स’मा भने मानवशास्त्र तुलनात्मक रूपमा कम प्रभावी भयो भनिन्छ । यो कसरी र किन ?

एउटै विभागको मातहतमा थिए, तर डिग्री भने मानवशास्त्र र समाजशास्त्रको छुट्टाछुट्टै नै हुन्थ्यो । त्यो सही हो कि अध्यापन, अनुसन्धान र विभागीय नेतृत्व आदिमा मानवशास्त्रीहरूको उल्लेख्य उपस्थिति हुँदा पनि सार्वजनिक तहमा मानवशास्त्र परिचयविहीन जस्तै थियो । आदर कायम नै राखेर भन्नुपर्दा, अग्रज मानवशास्त्रीहरूले विषयको विशिष्टता र सार्वजनिक पहिचानका लागि गरिनुपर्ने पर्याप्त गृहकार्य नगरेकै हो । ‘कान्तिपुर’ मै मैले केही वर्षपहिले ‘शुशिला जी, सोसो लोजी र सोसिओलोजी’ शीर्षकमा एक लेख लेखेको थिएँ, त्यो एकप्रकारको भद्र कटाक्ष थियो आफ्नै अग्रजहरूप्रति ।

जहाँसम्म मानवशास्त्र ‘पब्लिक डिस्कोर्स’मा कम प्रभावी भन्ने प्रश्न छ, पहिलो त विषय र यसको महत्त्व नै सार्वजनिक रूपमा स्थापित हुनुपर्‍यो त्यसपछि प्रभावकारी ‘डिस्कोर्स’ निर्माणमा भूमिका निर्वाह गर्न सकिने हो । कति प्रभावी भूमिका छ भन्ने निरपेक्ष रूपमा हेर्न मिल्ने विषय पनि होइन ।

मानवशास्त्रको क्षेत्र व्यापक छ । फोर 'फिल्ड्स अफ एन्थ्रोपोलोजी’ भनेर भौतिक मानवशास्त्र, पुरातात्त्विक मानवशास्त्र, भाषिक मानवशास्त्र र सांस्कृतिक मानवशास्त्रलाई व्याख्या गरिए पनि नेपालको मानवशास्त्रीय अध्ययन, अनुसन्धानले सांस्कृतिक मानवशास्त्रको क्षेत्रभन्दा पर पखेटा फिँजाउन सकेको देखिँदैन, त्यसको कारण के होला ?

हामी चारै विषयका ‘कोर’ कोर्ष पढाउँछौं, तर आधारभूत र सैद्धान्तिक ज्ञान मात्रै दिइन्छ । सांस्कृतिक मानवशास्त्रको प्राधान्यता छ । यो छनोटको विषय हो । बाहिर देशतिर पनि चारै फिल्डमा बराबर ‘वेटेज’ भने हुन्न नै । हाम्रोमा प्रयोगशाला र प्रयोगात्मक शिक्षाको अभाव पनि छ । साथै त्रिभुवन विश्वविद्यालयको विभागीय प्रणाली पनि केही हदसम्म जिम्मेवार छ । जस्तै पुरातत्त्व, भाषा विज्ञान लगायतका विभागसँग सहकार्य गरेर केही साझा विषय पढाउन सकिने व्यवस्था गर्नसमेत सकिँदैन । चारै ‘सबफिल्ड’ मा बराबर पखेटा फैलाउन नसक्नु हाम्रो सन्दर्भमा धेरै चिन्ता गर्नुपर्ने सवाल होइन ।

मानवशास्त्रको रक्तसम्बन्ध औपनिवेशिकतासँग छ भनेर आरोप लगाइन्छ । एक मानवशास्त्रीका रूपमा यो आरोपलाई कसरी लिनुहुन्छ ? नेपालको मानवशास्त्रमा 'कोलोनियल ह्याङओभर’ कत्तिको छ ?

मानवशास्त्रलाई औपनिवेशिक शासनको मानषपुत्र (या पुत्री) नै भनिन्छ । किनकि मानवशास्त्रको सुरुवाती उपयोग नै औपनिवेशिक शासकको हितमा भएको थियो । जस्तो पश्चिमाहरूले आदिम–प्राचीन समुदायका भाषा, रीतिथिति, सामाजिक– राजनीतिक संगठन, नेतृत्वप्रणाली र संस्कृतिका महत्त्वपूर्ण सूत्र वा भनकहरू थाहा पाएरै उनीहरूलाई अधीनस्थ गर्न, दूरदराजका आदिवासी भूमि र स्रोत कब्जा गर्न मानवशास्त्र प्रयोग गरे, ताकि पश्चिमका औद्योगिक विकासमा सहयोग पुगोस् । तर, बीसौं शताब्दी र खासगरी दोस्रो विश्वयुद्धको समाप्तिपछि त मानवशास्त्र नै स्वतन्त्रता, सार्वभौमिकता, पहिचान र उन्मुक्तिको सहयोगी विषय बन्न गएको छ । ज्ञान प्रणालीलाई पश्चिमा धङधङ्गीबाट मुक्त गर्न अनुसन्धान, अध्ययन विधि, सैद्धान्तिक र दार्शनिक धरातलको खोजी र विकास पनि सम्भवतः सबैभन्दा बढी मानवशास्त्रले नै गरेको छ । ज्ञानशास्त्रका हिसाबमा विविधता र मानवताको वकालत मानवशास्त्रले नै गर्छ । यद्यपि नेपालको सन्दर्भमा मानवशास्त्र मात्रै होइन मानविकी तथा सामाजिकशास्त्र, शिक्षा आदिमा कुनै न कुनै रूपको ‘कोलोनियल ह्याङओभर’को अवशेष भेटिन सक्छ । पैसा र ज्ञानको स्रोत एउटै हुने भएपछि त्यस्तो अलिअलि हुन्छ नै ।

मानवशास्त्रको विकासमा कैयौं सैद्धान्तिक घुम्ती आएका छन् । पछिल्लो समय मानवशास्त्र उत्तरआधुनिकतावादमा चुर्लुम्मै डुब्यो र यसले मानवशास्त्रीय खोजलाई विषयगत पक्षमा केन्द्रित गरी वस्तुगत यथार्थबाट विमुख गरायो भनिन्छ । यसमा कत्तिको यथार्थ छ ?

पहिलो कुरा त मानवशास्त्र उत्तर आधुनिकवादमा चुर्लुम्म डुब्यो भन्ने भाष्य कसरी वा कुन प्रमाणका आधारमा तयार गरियो, यो आफैंमा एक प्रश्न हो । मलाई त्यस्तो लाग्दैन ।

दोस्रो, वस्तुगत यथार्थ भनेको के र कस्तो हुन्छ ? यथार्थ एक आयामिक त हुंदैन नै, एउटै र अन्तिम पनि हुँदैन । मानवशास्त्री वा कुनै पनि अनुसन्धानकर्ताले दार्शनिक आधार वा पक्षधरताबिनै अनुसन्धान गर्छ वा गर्नुपर्छ भन्ने पनि हुँदैन । अनुसन्धानमा ‘न्युट्रालिटी’ भन्ने हुँदैन, तर ‘अब्जेक्टिभिटी’ भने हुनुपर्छ । ज्ञानमीमांस, सत्तामीमांस आदि दार्शनिक पक्षधरतासँग सम्बन्धित विषय हुन् । तसर्थ मानवशास्त्रीय खोजी अन्तिम र एक मात्र यथार्थका लागि नभई बहुल यथार्थका लागि हुने गर्छ, त्यो भनेको यथार्थविहीनता पनि होइन । तसर्थ उपरोक्त आरोप सही र सान्दर्भिक छैन जस्तो लाग्छ ।

नेपालमा अहिले पनि सयौं मानवशास्त्री अनुसन्धानरत छन् । एनजीओका अनुसन्धानबाहेक आम मान्छे, समाजका मुद्दा उत्खनन र ॅपब्लिक डिस्कोर्स’ निर्माणमा नेपालका मानवशास्त्रीको भूमिका कस्तो छ ? के त्यो सन्तोषजनक छ ?

‘पब्लिक डिस्कोर्स’ निर्माणमा नेपालका मानवशास्त्रीको भूमिका सन्तोषजनक छैन । म मान्छु कि यो पर्याप्त छैन । तर, निरन्तर अध्ययन अनुसन्धान गरिरहेकै छन् । विश्वविद्यालय बाहिर पनि अनुसन्धान संस्थामा मानवशास्त्रीहरू अनुसन्धानरत छन् । उनीहरूले आम मान्छे र समाजका मुद्दा नै उत्खनन गरिरहेका छन् । अन्तत्वोगत्त्वा तिनै अनुसन्धानहरूले ‘पब्लिक डिस्कोर्स’लाई खुराक प्रदान गर्ने हुन् । त्यसैले यसलाई तुलनात्मक रूपमा हेरिनुपर्छ । तुलनात्मक रूपले पब्लिकमा मानवशास्त्र अझै पर्याप्त परिचय सहित स्थापित हुन पनि बाँकी नै छ । मिडियाकै साथीहरू मानवशास्त्र र समाजशास्त्रको भेद गर्न चुक्नुहुन्छ । ‘पब्लिक डिस्कोर्स’ निर्माणमा मिडियाको अहं भूमिका हुने, तर मिडियमै मानवशास्त्रबारे पर्याप्त साक्षरता नहुँदा पनि केही फरक त परेकै होला । त्यस्तै विषयको उपादेयता सार्वजनिक संकथन निर्माण गर्न सक्ने वा नसक्ने भन्ने कुराले मात्र पनि मापन गरिने होइन ।

मानवशास्त्र किन पढ्ने ? आम मानिसका लागि यसको अर्थ र महत्त्व के छ ?

यो प्रश्नको हजारौं जवाफ होलान् । आफूले आफूलाई अनेकन सामाजिक, सांस्कृतिक भ्रमबाट मुक्त गर्न वा समकालीन सामाजिक, सांस्कृतिक, विकास लगायतका मानवीय व्यवहारका जटिलता बोध गर्न र उन्नत दृष्टिकोण हासिल गर्न मानवशास्त्र पढ्नुपर्छ । मानवको विगत र वर्तमानबारे प्रमाणमा आधारित ज्ञान हासिल गर्न पनि यो पढ्नुपर्छ ।

सामाजिक परिवर्तन, सांस्कृतिक पहिचान, मानवोचित र संस्कृति सापेक्ष विकास, मानवताको बृहत्तर हितमा मानवशास्त्रले गर्ने योगदानका आधारमा नै आम मान्छेका लागि यसको अर्थ र महत्त्व उजागर हुन्छ ।

हामीकहाँ मानवशास्त्रीय अध्ययनप्रति रुचि किन बढ्न सकेन ? यो विषय नै निरश र दिक्कलाग्दो भएर हो कि पढ्नु वा नपढ्नुले मानिसको जीवनमा खास फरक नपार्ने भएर ?

मानवशास्त्रीय ज्ञान भनेकै के हो ? यो ज्ञान प्राप्तिका स्रोत के हुन् ? यी प्रश्नको उत्तर थाहा भएपछि नै थाहा पाइन्छ– मानवशास्त्र पढ्ने कि नपढ्ने वा यो रुखो छ कि रसिलो ? मानवशास्त्र विज्ञान र कला दुवै हो । मानवशास्त्रको विषय, अध्ययन अनुसन्धानको विविधता र दायरा हेर्ने हो भने यो जत्ति रसिलो विषय अरू हुन सक्छ जस्तो मलाई लाग्दैन । जीवन–जगत्लाई हेर्ने, बुझ्ने उन्नत दृष्टिकोणले व्यक्तिगत र सामूहिक जीवनमा केही फरक पक्कै पार्ला ।

यसै प्रसंगमा थप कुरा गरौं । हाम्रो समाजको अध्ययन संस्कृति, आलोचनात्मक चेत र चेतनास्तर छिपछिपे अनि कमजोर देखिन्छ । यसको मानवशास्त्रीय विश्लेषण के हुन सक्छ ?

मूलतः नेपालको आधुनिक संस्थागत शिक्षाको तुलनात्मक रूपमा छोटो इतिहास, शिक्षासम्बन्धी राष्ट्रिय दृष्टिकोणको अभाव, राणाकालदेखि अहिलेसम्मै पनि विद्यालय शिक्षाको विषयवस्तु सारमा उन्नत हुन नसक्नु, विश्व शिक्षासँग नेपाली शिक्षाले संवाद र सहकार्य गर्न नसक्नु, सोच्न सिकाउनेभन्दा पनि घोक्न सिकाउने शिक्षा नीति र विधि, शिक्षा हासिल गर्ने बहुल अवसरको कमी लगायतका कारण हुन सक्छन्, जसले आलोचनात्मक सोचको तालिम नै दिन सक्दैन ।

‘किताब पनि उपहार हुनसक्छ’ भन्ने मान्यता र व्यवहार स्थापित गर्न सकेका छैनौं, ‘कोर्सबाहेकका किताब नपढ्नु’ भन्ने अभिभावक छौं । पहिले भएका सामुदायिक पुस्तकालयहरू जोगाउन सकेका छैनौं । तब कसरी बन्न सक्छ तपाईंले भनेजस्तो अध्ययन संस्कृति ? तर, फेरि पनि यो तुलनात्मक कुरा हो । केही उज्याला संकेत पनि देखिन थालेका छन् ।

हाम्रो ज्ञान निर्माणको परम्परा र प्रक्रियामा पनि समस्या छ ? गहन अध्ययन, अनुसन्धान र खोजतिर पढेलेखेकै मानिसको पनि रुचि नहुनुको कारण के होला ?

ज्ञान निर्माण प्रक्रिया सामूहिक र संस्थागत कार्य हो । कोही एक व्यक्तिले ध्यानमार्फत हामीले भनजस्तो ज्ञान उत्पादन गरिदिने होइन । ज्ञान निर्माण वा उत्पादनका लागि लगानी चाहिन्छ, संस्था चाहिन्छ, तालिम/प्रशिक्षण चाहिन्छ तसर्थ यो महँगो विषय हो । कुनै पनि देशमा ज्ञान निर्माणका लागि राज्यले लगानी गरेका हुन्छन् । अनुसन्धानमा आधारित शिक्षा प्रणाली हुनुपर्छ । तसर्थ हाम्रो संस्था, प्रक्रिया र परम्परामै समस्या छ । अध्ययन र अनुसन्धान बृहत्तर हितका लागि गरिन्छ । शिक्षाको चरित्र र अर्थ भएको छ– घोकन्ते विद्या र जागिर । यो नफेरिएसम्म अध्ययन, अनुसन्धानको अवस्था यस्तै हुन्छ होला ।

तपाईंको 'इतिहासअघिको इतिहास’ भर्खरै बजारमा आएको छ । एक मानवशास्त्रीले लेखेको यो किताबमा पाठकले के अपेक्षा गर्न सक्छन् ?

यो किताब इतिहास लेखनको लेख्य परम्पराभन्दा अघिको समयको, अर्थात् प्रागैतिहासिक मानव संस्कृतिबारे हो । सांस्कृतिक मानवको इतिहास करिब २५ देखि २२ लाख वर्ष पुरानो मानिन्छ । यस पुस्तक त्यही अवधिमा भएको सांस्कृतिक आविष्कार, विस्तार र परिवर्तनबारे हो । त्यतिबेलाको समय, सामाजिक संगठन, जीविकोपार्जन र परिवर्तन लगायत विषय र विधिबारे यसमा उल्लेख छ । उदाहरणका लागि सांस्कृतिक उद्विकासक्रमको महत्त्वपूर्ण आविष्कार जस्तै आगो, कृषि, धातु विज्ञानलगायत ईश्वर, धर्मको अवधारणाको उदय आदिबारेमा चर्चा गरिएको छ किताबमा । यस्तो चर्चा प्राप्त पुरातात्त्विक प्रमाणका आधारमा गरिएको छ । मानिस कुन सम्भावित कारणले कृषियुगमा प्रवेश गरे ? किन कृषिको सुरुवातलाई नवपाषाणकालीन क्रान्ति भनियो ? मानव सभ्यताको विकासमा कृषिको प्रभाव कस्तो रह्यो ? यी विषयमाथि विस्तारमा चर्चा छ । त्यस्तै धर्म वा ईश्वरको आदि संकेतबारे पनि लेखिएको छ । आगो र धातुको आविष्कार कसरी सांस्कृतिक उद्विकासका महत्त्वपूर्ण चरण सावित भए भन्ने व्याख्या पनि छ ।

त्यस्तै कसरी मानव विगतको सुदूर इतिहास समेतले राजनीतिक चरित्र ग्रहण गर्छन् भन्ने व्याख्या र पुरातात्त्विक अध्ययनको सार्वजनिक महत्त्व जस्ता विषयसमेत समेटिएको छ किताबमा ।

तपाईंले पुस्तकमा लिखित इतिहासमा महिलाको योगदान र भूमिका लुकाइएको विषयमाथि गम्भीर विमर्श गर्नुभएको छ । महिलाको भूमिकालाई किन लुकाइयो ? यो पछाडिको राजनीति के हो ?

लैंगिकता सामाजिक–सांस्कृतिक संरचना र अभिप्रायः हो । यो एतिहासिक रूपमा क्रमशः निर्माण भएको हुन्छ । मानवशास्त्रीय पुरातात्त्विक अध्ययनले सांस्कृतिक उद्विकासमा महिलाको अहं भूमिका रहेको प्रमाण अघि ल्याएका छन् । कृषिको सुरुवातसँगै महिलाले लाखौं वर्षदेखि उपभोग गरेको स्वतन्त्रता क्रमशः गुमाउँदै गए । लिखित इतिहासको परम्परा सुरु हुँदासम्म त पुरुषहरूले लेखनकार्यलाई कब्जा गरिसकेका थिए भन्दा हुन्छ, जुन निकट विगतसम्म पनि निरन्तर नै थियो । यसरी पुरुषसत्ता लेखनमा हावी हुँदा महिलाको अस्तित्वलाई कमजोर बनाउने कार्य भयो । मिथक, पुराणमा गरिने महिलाको स्थानबारेका विषय प्रमाणित गर्ने वैज्ञानिक आधार/पुरातात्त्विक तथ्यहरू उपलब्ध छैनन् ।

लिपि र लेखनकलाको आविष्कारपछिको इतिहास विभेदकारी र शासकवर्गीय पक्षधरतामा आधारित देखिन्छ । इतिहास किन र कसरी शासक वर्गको हतियार बन्न पुग्यो ?

इतिहासको शासकीय पक्षधरताको लामो इतिहास छ । भनिन्छ नै इतिहास जित्नेको हुन्छ । शक्तिका आधारमा विभाजित समाजको इतिहास शक्तिशालीहरूको नै लेखिन्छ, लेखाइन्छ । नेपालको इतिहास–लेखनको परम्परा पनि त्यस्तै हो । राजनीतिक लाभका लागि उपयोग गरिने हुँदा इतिहास शासक वर्गको हतियार बन्न पुग्छ । कमजोर चेतनास्तर भएको समाजमा इतिहासले धरापको कामसमेत गर्छ ।

आजको हाम्रो समाजमा संकट, असन्तुष्टि, अराजकता, राजनीतिक गोलचक्कर, विसंगति, सामाजिक अपराध व्यापक बढिरहेको देखिन्छ । यसको मानवशास्त्रीय कारण र आधार के हो ?

मानवशास्त्रीय दृष्टिकोणबाट हेर्दा एक प्रकारको शासकीय संरचना र प्रणालीबाट अर्को शासकीय संरचना र प्रणालीमा जाँदा हुने संक्रमणको व्यवस्थापनमा चुक्दा अक्सर यस्तो हुने गर्छ । यस्तो समस्या नेपाली समाजको मात्र पनि होइन । नयाँ खाले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सम्बन्धहरू निर्माण हुन्छन् भन्ने अपेक्षा गरिएको थियो, जुन हुनु अनिवार्य थियो त्यसो हुन सकेन । शासन प्रणाली र नेतृत्व अपेक्षाकृत रूपमा जिम्मेवार बन्न नसक्दा यस्ता समस्या आउने गर्छन् । तसर्थ यी समस्या होइनन् समस्या पछिका लक्षण हुन् । शासन प्रणाली अक्षम हुने र नेतृत्व असफल रहने केवल आन्तरिक कारण मात्र हुँदैनन् वा सतहमा जे देखिन्छन् ती मात्र पनि हुँदैनन् ।

प्रकाशित : श्रावण १२, २०८१ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×