कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

नेपाली सेनाको टोली अभ्यासका लागि सोमबार लन्डन आइपुग्ने

भाद्र २३, २०८१
नेपाली सेनाको टोली अभ्यासका लागि सोमबार लन्डन आइपुग्ने

लन्डन — नेपाली सेनाको टोली विश्वकै प्रख्यात एक अभ्यासका लागि ९ सेप्टेम्बर सोमबार लन्डन आइपुग्ने भएको छ । नेपाली सेनाका १० जनाको टोली संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित ब्रेकनमा हुने ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२४’ मा सहभागी हुन आउन लागेको हो । उक्त अभ्यास अक्टोबर ४ देखि १३ सम्म चल्नेछ ।

यो ब्रिटिस सेनाको प्रमुख पट्रोल इभेन्ट मानिन्छ जुन मुख्यालय १६० औं वेल्स ब्रिगेडले आयोजना गरेको हो । गत वर्ष २०२३ मा ११३ टिमले यस अभ्यासका लागि आवेदन दिएका थिए, जसमध्ये ३८ वटा टिम अन्तर्राष्ट्रिय थिए । ब्रिटिस सेनाले यसको उद्देश्य परिचालन क्षमता वृद्धि गर्न चुनौतीपूर्ण विश्वस्तरिय गस्ती अभ्यास प्रदान गर्नु रहेको जनाएको छ ।

क्याम्ब्रियन पेट्रोल आवेदन छनोट भएका सबै तीन सेवा (नियमित र रिजर्भ बल) एवं विदेशी सैन्य एकाइहरुबीच वार्षिक रूपमा सञ्चालन गरिन्छ । अभ्यास ४८ घण्टाका दरले आठ चरणमा १० दिनसम्म हुनेछ । प्रत्येक गस्तीले लगभग ६० किलोमिटर (औसत आरोहण र अवतरण एक हजार मिटर बढी) कभर गर्नेछ र प्रति व्यक्तिले ३५ किलो तौल बोक्नेछन् ।

अभ्यास ज्यादै कठोर हुने भएकाले सबै सहभागी मानसिक र शारीरिक दुवै रूपमा चुनौती सामना गर्न तयार हुनुपर्ने ब्रिटिस सेनाको भनाइ छ । गत वर्ष नेपाली सेनाले यो अभ्यासमा रजत पदक जितेको थियो ।

प्रकाशित : भाद्र २३, २०८१ ०६:३७
×