कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

गाईजात्रा यूकेमा गजुरेलको भूपू ब्रिटिश गोर्खा अवतार

भाद्र २५, २०८१
गाईजात्रा यूकेमा गजुरेलको भूपू ब्रिटिश गोर्खा अवतार

लन्डन — ‘अरे माई गड ! 
‘जन्में हुर्कें नेपालको पाखा पखेरामा, 
लाहुरे बनी लडाईं लडें हङकङ मलायामा,

रिटायर्ड भई नेपाल फर्कें फेरी यूके बोलायो,

जन्मथलो सम्झियो अनि सधैं टोलायो !’

‘गाईजात्रा यूके’मा भूतपूर्व गोर्खा क्याप्टेन मिस्टर थापा (मनोज गजुरेल) ले प्रधानमन्त्री केपी ओली बनेका कलाकार सुबोध गौतमलाई सुनाएको कथा हो यो । क्याप्टेन थापा (गजुरेल) आइतबार साँझ लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा भूतपूर्व लाहुरेको अवतारमा स्टेज उत्रिएर माथिको पीडा व्यक्त गरिरहँदा दर्शकदीर्घामा रहेका सयौं भूतपूर्व सैनिक वृद्धवृद्धा कतिबेला भावुक देखिन्थे त बेला बेला हाँसो थाम्न नसकेर उत्साहित पनि हुन्थे ।

‘अरे माई गड !’ थेगो लगाएर बोल्ने क्याप्टेन थापा (गजुरेल) प्रधानमन्त्री ओली बनेका (सुबोध गौतम) लाई भन्छन् - ‘मन मुटुमा त मातृभूमिकै प्यास छ नि साब । नेपाली माटोमै रमाउन मन कसको नहोला र ? तर, बाध्यताले यतै पिल्सिनु परेको छ । हामीलाई न यहाँ छरछिमेक समाज छ, न अंग्रेजी भाषा । धित मरुन्जेल मनका कुरा खोल्न सन्तान पनि त साथमा छैनन् ।’

‘नेपाल फर्केर ढुक्कसँग बस्न’ दिएको सुझावमा क्याप्टेन थापा (गजुरेल) भन्छन् - ‘अरे माई गड, जुन देशमा नेता सधैं ढुकढुक भएर बसेको हुन्छ, त्यो देशमा जनता कसरी ढुक्कले बस्न सक्छ ?’

'साब नेपाल जान मन त लाग्छ नि तर ‘महिनावारी’को समस्या छ । महिना दिनभित्र नफर्किए यताको पाउँदार (बेनिफिट) गुम्छ । नजाउँ विरक्तलाग्दो परिवेशमा कति बसौं’- केपी बा (सुवोध गौतम) सँगको एक भेटमा क्याप्टेन थापा आक्रोश पोख्दै थिए, 'तपाईं नेताहरुले देश बनाइदिएको भए हामी बन्दुक बोकेर अर्काको लागि किन लड्न आउनु पर्दथ्यो ? किन विदेशिनु पर्दथ्यो ? अहिले त वंशजको नागरिकता पनि गुम्यो । देशसँगको सम्बन्ध पनि टुट्दैछ ।'

केपी बा बनेका गौतमसँग क्याप्टेन थापाको असन्तुष्टिका पोका धेरै छन् । नेपालमा युवा पलायनको बाढी छ । क्याटेन थापा बनेका गजुरेल अगाडि थप्छन् - ‘यस्तै अवस्था रहने हो भने अबको केही वर्षमा नेपालमा ४ वटा ‘ब’ मात्र बाँकी रहनेछन्- बुढापाका, बिरामी, बेरोजगारी र बाँझो खेतबारी ।’

क्यारिकेचर र स्ट्याण्डअप कमेडीमा हरेकपटक केही नयाँपन दिइरहेका कलाकार गजुरेल पहिलोपटक ‘गाइजात्रा’ लिएर यूके आएका हुन् । इभेन्ट्स नेपाल यूके र ब्राण्डवर्थ प्रा लिको सहकार्यमा बेलायतमा पहिलोपटक गाइजात्रा देखाइएको हो । ब्राण्डवर्थका सिइओ मोहन गजुरेल विदेशमा नेपाली जनसंख्या बढिरहँदा मौलिक कला, संस्कृति डायास्पोरासम्म लैजाने प्रयासमा आफूहरु लागेको बताउँछन् । अब छिट्टै क्यानडा पनि लैजाने तयारी गरेको उनको भनाइ छ ।

कार्यक्रममा अर्का कलाकार सुवोध गौतमले स्ट्यान्डअप कमेडी तथा नेपाली वैज्ञानिक महावीर पुनको अवतारमा देखिएका प्रभात लामाले महावीरका केही फन्नी किस्साबाट हँसाए अनि नेपाली वैज्ञानिक र समाजको यथार्थ पनि झल्काए ।

प्रकाशित : भाद्र २५, २०८१ २०:००
×