अस्ट्रेलियाले तोक्यो विश्वविद्यालयमा भर्ना गर्न पाउने विद्यार्थी संख्या

१५ विश्वविद्यालयले गत वर्षभन्दा कम विद्यार्थी भर्ना लिन पाउने

भाद्र २९, २०८१

नारायण खड्का

Australia sets the number of students allowed to enroll in universities

काठमाडौँ — अस्ट्रेलियाले ठूला विश्वविद्यालयले भर्ना लिन पाउने विद्यार्थी संख्यामा नयाँ कोटा प्रणाली लागू गरेको छ । जसअनुसार १५ विश्वविद्यालयले गत वर्षको तुलनामा कम विद्यार्थी भर्ना लिने पाउने भएका छन् । 

शिक्षामन्त्री जेसन क्लेयरले उच्चशिक्षाको व्यवस्थापनका साथै रोजगारी र आवाससबन्धी समस्या सम्बोधन गर्न अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा कोटा निर्धारणा गरेको जनाएका छन् । क्लेयरले यसअघि नै अर्को वर्षका लागि अन्तर्राष्ट्रिय विद्यार्थी संख्या २ लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेका थिए । 

त्यसअनुसार सरकारले हरेक विश्वविद्यालयले सन् २०२५ मा भर्ना लिन पाउने अन्तराष्ट्रिय विद्यार्थी संख्या तोकेको हो । शिक्षामन्त्री क्लेयरको निर्णयको विश्वविद्यालयलगायत शैक्षिक संस्थाले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । 

कोटा प्रणालीले नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत प्रत्यक्ष असर पर्ने देखिएको छ । विद्यार्थी संख्या कम हुने विश्वविद्यालयमा नेपाली विद्यार्थीको रोजाइमा परेका केही विश्वविद्यालयसमेत परेका छन् । शिक्षा विभागको तथ्यांक अनुसार केही विश्वविद्यालयले अघिल्ला वर्षहरूमा भएको भर्ना संख्याभन्दा उल्लेख्य रुपमा विद्यार्थी संख्या गुमाएका छन् भने केहीले धेरै पाएका छन् । 

अस्ट्रेलिया अध्ययन गर्न आउने विद्यार्थी संख्यामा कोटा लगाएसँगै यहाँस्थित शैक्षिक संस्थाले आर्थिक रुपमा क्षति व्यहोर्नुपर्ने र ठूलो संख्यामा रोजगारी गुम्ने बताउँदै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । 

विश्वको उत्कृष्टमध्येको एक अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) ले करिब १५ प्रतिशत विद्यार्थी संख्या गुमाएको छ । त्यस्तै, युनिभर्सिटी अफ न्यु साउथ वेल्सले १४ प्रतिशत विद्यार्थी संख्या गुमाएको छ । एएनयूले अर्को वर्ष जम्मा ३ हजार ४ सय विद्यार्थी भर्ना गर्न पाउनेछ भने युनिभर्सिटी अफ न्यु साउथ वेल्सले ९ हजार ५ सय विद्यार्थी भर्ना गर्न पाउने बताइएको छ । 

छुट्याइएको कोटामध्ये सबैभन्दा बढी युनिभर्सिटी अफ सिड्नीले ११ हजार ९ सय विद्यार्थी भर्ना गर्न पाउने भएको छ । यो विश्वविद्यालयको गत वर्षको भर्ना संख्या भन्दा ७ प्रतिशत कम हो । यसैगरी,  छुट्याइएको कोटामध्ये सबैभन्दा कम युनिभर्सिटी अफ न्यु इंग्ल्यान्ड र युनिभर्सिटी अफ नोट्रडामले ७ सयको दरले विद्यार्थी संख्या पाएका छन् । 

फेडेरेसन युनिभर्सिटी अस्ट्रेलियाले ११ सय विद्यार्थी भर्ना गर्न पाउने भएको छ । यो गत वर्षको भर्नाको तुलनामा करिब ५२ प्रतिशत कम हो । मर्डोक युनिभर्सिटीले गत वर्षको भन्दा ३४ प्रतिशत कम विद्यार्थी संख्या पाएको छ । यस युनिभर्सिटीले जम्मा ३ हजार ५ सय विद्यार्थी संख्या पाएको हो । 

केही विश्वविद्यालयले भने सरकारले दिएको कोटामा गत वर्षभन्दा धेरै विद्यार्थीसमेत पाएका छन् । सबैभन्दा धेरै चार्ल्स स्टुअर्ट युनिभर्सिटीले गत वर्ष १ सय ६२ विद्यार्थी भर्ना लिएकामा २०२५ का लागि एक हजार कोटा पाएको छ । युनिभर्सिटी अफ सनसाइन कोस्ट, युनिभर्सिटी अफ तास्मानिया, युनिभर्सिटी अफ नोट्रेडाम, युनिभर्सिटी अफ एडिलेड, साउदर्न क्रस युनिभर्सिटी, फिलिन्डर्स युनिभर्सिटी लगायतको संख्या भने गत वर्षको तुलनामा वृद्धि भएको छ । 

कोभिड महामारीपछि अस्ट्रेलियाले आफ्नो अध्यागमन नीति परिवर्तन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीलाई नियन्त्रणसम्बन्धी विभिन्न नियम ल्याइसकेको छ ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully