कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

अस्ट्रेलियाले तोक्यो विश्वविद्यालयमा भर्ना गर्न पाउने विद्यार्थी संख्या

भाद्र २९, २०८१
अस्ट्रेलियाले तोक्यो विश्वविद्यालयमा भर्ना गर्न पाउने विद्यार्थी संख्या

Highlights

  • १५ विश्वविद्यालयले गत वर्षभन्दा कम विद्यार्थी भर्ना लिन पाउने

काठमाडौँ — अस्ट्रेलियाले ठूला विश्वविद्यालयले भर्ना लिन पाउने विद्यार्थी संख्यामा नयाँ कोटा प्रणाली लागू गरेको छ । जसअनुसार १५ विश्वविद्यालयले गत वर्षको तुलनामा कम विद्यार्थी भर्ना लिने पाउने भएका छन् । 

शिक्षामन्त्री जेसन क्लेयरले उच्चशिक्षाको व्यवस्थापनका साथै रोजगारी र आवाससबन्धी समस्या सम्बोधन गर्न अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा कोटा निर्धारणा गरेको जनाएका छन् । क्लेयरले यसअघि नै अर्को वर्षका लागि अन्तर्राष्ट्रिय विद्यार्थी संख्या २ लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेका थिए ।

त्यसअनुसार सरकारले हरेक विश्वविद्यालयले सन् २०२५ मा भर्ना लिन पाउने अन्तराष्ट्रिय विद्यार्थी संख्या तोकेको हो । शिक्षामन्त्री क्लेयरको निर्णयको विश्वविद्यालयलगायत शैक्षिक संस्थाले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

कोटा प्रणालीले नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत प्रत्यक्ष असर पर्ने देखिएको छ । विद्यार्थी संख्या कम हुने विश्वविद्यालयमा नेपाली विद्यार्थीको रोजाइमा परेका केही विश्वविद्यालयसमेत परेका छन् । शिक्षा विभागको तथ्यांक अनुसार केही विश्वविद्यालयले अघिल्ला वर्षहरूमा भएको भर्ना संख्याभन्दा उल्लेख्य रुपमा विद्यार्थी संख्या गुमाएका छन् भने केहीले धेरै पाएका छन् ।

अस्ट्रेलिया अध्ययन गर्न आउने विद्यार्थी संख्यामा कोटा लगाएसँगै यहाँस्थित शैक्षिक संस्थाले आर्थिक रुपमा क्षति व्यहोर्नुपर्ने र ठूलो संख्यामा रोजगारी गुम्ने बताउँदै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

विश्वको उत्कृष्टमध्येको एक अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) ले करिब १५ प्रतिशत विद्यार्थी संख्या गुमाएको छ । त्यस्तै, युनिभर्सिटी अफ न्यु साउथ वेल्सले १४ प्रतिशत विद्यार्थी संख्या गुमाएको छ । एएनयूले अर्को वर्ष जम्मा ३ हजार ४ सय विद्यार्थी भर्ना गर्न पाउनेछ भने युनिभर्सिटी अफ न्यु साउथ वेल्सले ९ हजार ५ सय विद्यार्थी भर्ना गर्न पाउने बताइएको छ ।

छुट्याइएको कोटामध्ये सबैभन्दा बढी युनिभर्सिटी अफ सिड्नीले ११ हजार ९ सय विद्यार्थी भर्ना गर्न पाउने भएको छ । यो विश्वविद्यालयको गत वर्षको भर्ना संख्या भन्दा ७ प्रतिशत कम हो । यसैगरी, छुट्याइएको कोटामध्ये सबैभन्दा कम युनिभर्सिटी अफ न्यु इंग्ल्यान्ड र युनिभर्सिटी अफ नोट्रडामले ७ सयको दरले विद्यार्थी संख्या पाएका छन् ।

फेडेरेसन युनिभर्सिटी अस्ट्रेलियाले ११ सय विद्यार्थी भर्ना गर्न पाउने भएको छ । यो गत वर्षको भर्नाको तुलनामा करिब ५२ प्रतिशत कम हो । मर्डोक युनिभर्सिटीले गत वर्षको भन्दा ३४ प्रतिशत कम विद्यार्थी संख्या पाएको छ । यस युनिभर्सिटीले जम्मा ३ हजार ५ सय विद्यार्थी संख्या पाएको हो ।

केही विश्वविद्यालयले भने सरकारले दिएको कोटामा गत वर्षभन्दा धेरै विद्यार्थीसमेत पाएका छन् । सबैभन्दा धेरै चार्ल्स स्टुअर्ट युनिभर्सिटीले गत वर्ष १ सय ६२ विद्यार्थी भर्ना लिएकामा २०२५ का लागि एक हजार कोटा पाएको छ । युनिभर्सिटी अफ सनसाइन कोस्ट, युनिभर्सिटी अफ तास्मानिया, युनिभर्सिटी अफ नोट्रेडाम, युनिभर्सिटी अफ एडिलेड, साउदर्न क्रस युनिभर्सिटी, फिलिन्डर्स युनिभर्सिटी लगायतको संख्या भने गत वर्षको तुलनामा वृद्धि भएको छ ।

कोभिड महामारीपछि अस्ट्रेलियाले आफ्नो अध्यागमन नीति परिवर्तन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीलाई नियन्त्रणसम्बन्धी विभिन्न नियम ल्याइसकेको छ ।

प्रकाशित : भाद्र २९, २०८१ १८:११
x
×