कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रिमोट जागिरमा जेनजी पुस्ताको लगाव

मिल्लेनियल्स र जेनजी हिजोआज ‘इन–अफिस सट्टा वर्क–फ्रम होम, टाइम बेस्ड सट्टा डेलिभरी–बेस्ड, लङ–टर्म सट्टा सर्ट–टर्म जब र फुल–टाइमर सट्टा फ्रिलान्सर’ कामतिर आकर्षित हुादैछन् । बदलिादो विश्वमा यो शैली फैलिँदो छ ।
टेबल–कुर्सी भाडामा लिएर काम गर्न पाइने ‘को–वर्किङ स्पेस’ देखि ‘अफिस स्पेस’ नै लिन सकिने सुविधासम्पन्न विकल्प काठमाडौंमै उपलब्ध छन्
सजना बराल

विगत तीन वर्षदेखि ‘आलय द डिजाइनिङ स्टुडियो’ नामक स्टार्टअप कम्पनी चलाइरहेकी इन्टेरियर डिजाइनर अपराजिता बस्नेतको आफ्नै कार्यालय भने छैन । सानोतिनो ‘होम–अफिस’ त बनाएकी छन्, तर कर्मचारी र क्लाइन्ट सबैलाई दैनिक घर बोलाउने कुरा भएन । जम्मा दुई/तीनजना स्टाफ अनि मोबाइल र ल्यापटपबाट सहजै सम्पन्न हुने कामका लागि उनलाई सिंगै अफिस खोल्ने जरुरी पनि छैन । तर, स्टाफसँग हरेक दिन ‘मिट एन्ड ग्रिट’ (भेटघाट) त गर्नैपर्‍यो ! 

रिमोट जागिरमा जेनजी पुस्ताको लगाव

अपराजिताको जस्तै आधुनिक व्यावसायिक जीवनका विशिष्ट आवश्यकता र अप्ठ्याराहरू सम्बोधन गर्न अहिले उस्तै प्रकृतिका समाधानमुखी विकल्प पनि प्रशस्तै जन्मेका छन् । नयाँ शैलीको वर्किङ कल्चर (कार्यशैली) ख्याल गर्दै काठमाडौंका कतिपय रेस्टुरेन्ट तथा क्याफेहरूले ल्यापटप, मोबाइललगायत डिभाइस चार्ज गर्ने सुविधादेखि क्याफेमै बसेर काम गर्ने वातावरणका लागि लामा–लामा र फराकिला टेबल–कुर्सीहरू राखिदिन थालेका छन् । उदाहरणका लागि हिमालयन जाभाका अधिकांश आउटलेटमा देखिने ‘को–वर्किङ टेबल’ त याद गर्नुभएकै होला ।

प्रतिघण्टा वा प्रतिदिनका दरले टेबल–कुर्सी भाडामा लिएर काम गर्न पाइने ‘को–वर्किङ स्पेस’ देखि महिनाको एक/डेढ लाख रुपैयाँ तिरेर सिंगो ‘अफिस स्पेस’ नै भाडामा लिन मिल्ने सुविधासम्पन्न विकल्प काठमाडौंमा उपलब्ध छन् । ‘को–वर्किङ’ र अफिस स्पेस उपलब्ध गराउने कतिपय विदेशी कम्पनीका काठमाडौं– शाखाबाटै धेरैजसो सरकारी एवं गैरसरकारी संस्थाका कार्यालयहरू सञ्चालन हुने गरेका छन् । रेगस, रेम डट वर्क जस्ता कम्पनीले अत्याधुनिक अफिस स्पेस प्रदान गर्दै आएका छन् जहाँ बोर्ड रुम, कन्फरेन्स रुम, प्रिन्टिङलगायत कार्यालयका सुविधा, सुरक्षा प्रबन्ध, रिसेप्सन, पार्किङ स्थलदेखि ‘स्मोकिङ जोन’ को समेत व्यवस्थित प्रबन्ध मिलाइएका छन् ।

अपराजिता पनि नक्सालको द लर्निङ सेन्टर नामक ‘को–वर्किङ स्पेस’बाट आफ्नो कम्पनी चलाइरहेकी छन् । प्रतिव्यक्ति महिनाको ५ हजार रुपैयाँ सदस्यता शुल्क तिर्छिन् । बत्ती, पानी, इन्टरनेट, फर्निचर, कार्यालय सहयोगी, क्याफे सबैथोकको सुविधा पाउने भएकाले कम्पनी विस्तार नगरुन्जेल यसरी नै काम गर्ने उनले बताइन् । ‘को–वर्किङ स्पेस भाइब्रेन्ट हुन्छ, कोही किताब–कपी खोलेर पढिरहेका हुन्छन्, कोही धमाधम ल्यापटपमा काम गरिरहेका हुन्छन्, कोही मिटिङ रूममा छलफलमा व्यस्त हुन्छन्, वरिपरि मान्छेको गतिविधिले एक्लो महसुस हुन दिँदैन,’ अपराजिता भन्छिन्, ‘आफ्नै अफिस खोल्यो भने कर्मचारीलाई एक्लै छोडेर आफू फुत्त निस्किँदा एक किसिमको नमज्जा पनि लाग्छ । धुमधुम एक्लै काम गर्न बोरिङ नै हुन्छ ।’ यावत् कारणले स्थायी कम्पनी नहुनेका लागि ‘को–वर्किङ स्पेस’ राम्रो विकल्प हुने उनको राय छ ।

द लर्निङ सेन्टरका संस्थापक विपिन थापा पछिल्लो समय कार्यालय नगई घरबाटै काम गर्ने, जागिर छोडेर ‘फ्रिलान्सिङ’ (संस्थामा आबद्ध नभई स्वतन्त्र रूपले गरिने काम) गर्ने, विदेशी कम्पनी तथा क्लाइन्टका लागि सोध, अनुसन्धान, डेटा विश्लेषणसँगै सूचना प्रविधिसम्बन्धी सेवा दिनेहरूको संख्या बढिरहेको बताउँछन् । यस्तै फरक किसिमले जागिरे जीवन बिताइरहेका १८/१९ जना युवायुवती सेन्टरमा नियमित आउने गरेको उनले जानकारी दिए । ‘डक्टर, सीए पढ्दै गरेका विद्यार्थी र स्टार्टअप कम्पनी चलाइरहेका वा ‘फ्रिलान्सर’का रूपमा सक्रिय व्यावसायिकहरू हाम्रा नियमित ग्राहक हुन्,’ विपिन भन्छन्, ‘हामीले पनि उहाँहरूलाई नै लक्ष्य गरेर सुपथ शुल्क तोकेका छौं ।’ बिहान ८ देखि राति ८ बजेसम्म बसेको शुल्क ३५० रुपैयाँ, हप्ताको सदस्यता लिनेलाई १७ सय ५० रपैयाँ र मासिक सदस्यता शुल्क ५ हजार लिने गरेको उनले बताए ।

विशेषगरी युवा पुस्तामाझ हप्ताको पाँच/छ दिन निरन्तर कार्यालय धाउने वा बिहानदेखि साँझसम्म अफिसमै बसेर काम गर्नुको साटो घर वा आफूलाई मनपर्ने स्थानमा बसेर प्रविधिको सहाराले काम फत्ते गर्ने सोख वा चलन बढ्दै गएको देख्न सकिन्छ । सन् १९९० को दशकयता जन्मेका मिल्लेनियल्स, नयाँ शताब्दी लागेपछि जन्मेका जेनजीसँगै कतिपय पाको पुस्ताका व्यावसायिकहरूसमेत हिजोआज ‘इन–अफिसको सट्टा वर्क–फ्रम होम, टाइम बेस्डको सट्टा डेलिभरी–बेस्ड, लङ–टर्म जबको सट्टा सर्ट–टर्म जब र फुल–टाइमरको सट्टा फ्रिलान्सर’का रूपमा काम गर्ने प्रवृत्तितर्फ आकर्षित भएका छन् । नेपालमा मात्रै होइन, वर्क कल्चरमा देखिएको विश्वव्यापी नयाँ ‘ट्रेन्ड’ नै हो यो ।

तीन दशक सरकारी सेवामा आबद्ध रहेर निवृत्त भएका पूर्वअर्थ सचिव रामेश्वरप्रसाद खनाल पछिल्लो समय विश्व बैंक समूह, लोक सेवा आयोगजस्ता संस्थाहरूका लागि आर्थिक मामिला विज्ञका रूपमा उत्तिकै सक्रिय छन् । अझै पनि दिनको १२/१३ घण्टा काम गर्ने उनी आफ्नो जिम्मेवारीको मुख्य अंश घरबाटै पूरा गर्छन् । बैठकका लागि र संवेदनशील दस्तावेज केलाउनुपर्‍यो भने मात्रै सम्बन्धित कार्यालय जाने गरेको उनले बताए । आफूहरूको अघिल्लो पुस्ताले स्थायी वा कार्यालयमै काम गर्न रुचाउने भए पनि नयाँ पुस्ताले स्वतन्त्रता बढी भएको काम मन पराउने उनको अनुभव छ । ‘सूचना प्रविधि, ट्राभल एन्ड टुरिजम, गाइडका काम गर्नेहरू युवाहरू स्थिर भएर एउटै अफिसमा टिकिरहँदैनन्,’ उनले भने, ‘एउटै कार्यालयमा आबद्ध भएर लामो समय काम गर्नुलाई कतिपय युवाहरूले त बँधुवा मजदुरसरह नै महसुस गर्न थालेका छन् । त्यसैले स्वच्छन्द शैलीमा, चाँडो–चाँडो कम्पनी फेर्दै, संस्थाले दिने बढुवाभन्दा आफ्नै वृत्तिविकासमा उनीहरू बढी केन्द्रित देखिन्छन् ।’

विशेषगरी कोभिड–१९ महामारीका कारण जारी लकडाउनजस्ता अन्योलपूर्ण समयपश्चात् विश्वभर नै घरबाटै काम गर्ने चलन बढेको थियो । अहिले कोभिडको असर घटिसक्दा पनि कतिपय विदेशी नियोग र गैरसरकारी संस्थाहरूले पूर्ण रूपमा घरबाटै काम गर्न दिने वा केही दिन कार्यालय, केही दिन घरबाट काम गर्न दिने मिश्रित तरिकाका सुविधाहरू कायम राखेका छन् । काठमाडौंस्थित एक अन्तर्राष्ट्रिय नियोगमा कार्यरत सुनिता (नाम परिवर्तन) कोभिड–१९ पछि कार्यालय पुगेर हाजिर गर्नुपर्ने पुरानो संस्कार हटेयता जिन्दगी सहज र उत्साहपूर्ण भएको अनुभव सुनाउँछिन् ।

‘कार्यालयले हामीलाई कम्तीमा ३ दिन प्रत्यक्ष उपस्थित भएमा २ दिन घरबाटै काम गरे पनि हुने सुविधा दिएको छ, मेरो त भर्खरै बच्चा भएकाले मलाई निकै सहज पनि भएको छ,’ उनी भन्छिन्, ‘कार्यालय नजाने र घरबाटै काम गर्दाको बेफाइदा चाहि हिँडाइ एकदमै कम हुने रहेछ । सिर्जनात्मकताको हिसाबले घरबाट काम गर्दा चाँडो काम सकिएको छ, अफिसमा साथीभाइसँगको गफगाफ, कफी ब्रेक, लन्ज ब्रेक, मिटिङ आदिले काम गर्ने समय कम हुँदो रहेछ ।’

त्यस्तै, ललितपुरमा केन्द्रीय कार्यालय रहेको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्राविधिक विभागको नेतृत्व गर्ने किरण (नाम परिवर्तन) ले पनि आफूहरूलाई पूर्ण रूपमा घरबाट काम गर्ने सुविधा रहेको बताए । कार्यालय प्रयोजनकै लागि घरको एक कोठालाई आधारभूत साधन सम्पन्न बनाएको र संस्थाले समेत त्यसमा सघाएको उनले बताए । ‘महत्त्वपूर्ण सम्झौता वा सामूहिक निर्णयका कुरा एकआपसमा प्रत्यक्ष भेट भएरै गर्दा सहज हुने अवस्थाबाहेक दैनिक हुने बैठक, रिपोर्टिङ, दस्तावेजमाथिका छलफलजस्ता काममा कार्यालय धाइराख्नु पर्दैन भन्ने सोच बढ्दै गएको छ,’ उनी भन्छन्, ‘म पनि फिल्ड जानुपर्‍यो वा प्रत्यक्ष भेटेर कुरा गर्दा आफ्ना सहकर्मी वा सेवा प्रदायकलाई सहज हुन्छ भने मात्रै कार्यालयसम्म पुग्छु ।’

‘फ्रिलान्स, कन्सल्टेन्सी वा कन्ट्र्याक्ट वर्क’मा मात्रै नभएर औपचारिक कार्यालयका कामहरू पनि आफ्नै छनोटको माहोलमा गर्न खोज्नेहरू बढ्दै गएका छन् । कतिपय देशका सरकारी निकायहरूले समेत कोभिडपछि ‘वर्क फ्रम होम’जस्ता सुविधालाई निरन्तरता दिएका छन् । फ्लेक्सजब्स नामक संस्थाले केही समयअघि गरेको सर्वेक्षणमा झन्डै ८० प्रतिशत मिल्लेनियल र जेनजी उमेर समूहका युवाले कार्यालय नगएरै काम गर्न मिल्ने रिमोट वर्कको विकल्प दिने किसिमको काम रुचाउने गरेको उल्लेख छ । सर्वेक्षणमा सहभागी ६० प्रतिशतले सो विकल्प नभए बरु जागिर छोडिदिने बताएका थिए । यस्तै, स्टानफोर्ड विश्वविद्यालयको एक खोजमा पनि कार्यालयमै पुगेर काम गर्नेहरूभन्दा घर वा आफ्नो छनोटको स्थानबाट काम गर्नेहरूको उत्पादकत्व १३ प्रतिशत बढी रहेको उल्लेख छ ।

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले सन् २०२१ मा गरेको अध्ययनअनुसार, नेपालमा ६ हजार ५०९ जना स्वतन्त्र रूपमा काम गर्ने ‘फ्रिलान्सर’हरू छन् । गत वर्ष सार्वजनिक भएको केन्द्रको प्रतिवेदनअनुसार, ‘फ्रिलान्सर’हरूले सफ्टवेयर विकास तथा प्रविधि सेवा निर्यात गर्ने गरेका छन् । नेपालबाट निर्यात हुने आईटी सेवाहरूमा ‘प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ’ मुख्य रहेको सो प्रतिवेदनमा देखिन्छ । त्यस्तै, सूचना प्रविधि सेवा निर्यात गर्ने १०६ वटा कम्पनी नेपालमा सञ्चालनमा रहेको उल्लेख छ । केन्द्रले गरेको अध्ययनले नेपालको आईटी क्षेत्रले सन् २०२२ मा ५१ करोड ५० लाख अमेरिकी डलर (करिब ६७ अर्ब ६२ करोड रुपैयाँ) बराबरको सूचना प्रविधि सेवा निर्यात गरेको देखाएको छ ।

सेवा निर्यातमा अझै पनि राम्रो सम्भावना भइरहँदा आईटी कम्पनीहरूमा दक्ष जनशक्ति टिकाउन भने मुस्किल पर्दै गएको कम्पनी सञ्चालकहरूको गुनासो छ । काम सिकेपछि जागिर छोडेर अर्को कम्पनीमा जाने वा विदेश नै पलायन हुनेजस्ता प्रवृत्तिका कारण समयमै काम सक्न चुनौतीपूर्ण हँदै गएको ईके सोलुसन्स, सफ्टवेयर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गौरव पाण्डेको अनुभव छ । ‘हामी पहिला आफ्नै कर्मचारीबाट मात्रै काम गर्थ्यौं, धेरैभन्दा धेरै नियुक्ति गर्थ्यौं, तर जति गरे पनि टिकाउनै गाह्रो हुने,’ गौरव भन्छन्, ‘अहिले चाहिँ कर्मचारीभन्दा फ्रिलान्सरमार्फत काम गर्ने गरेका छौं । हामी आफ्ना लागि र अरूका लागि पनि फ्रिलान्सर जुटाइदिन्छौं ।’

‘डेभेलपर’हरू टिकाउन गाह्रो हुने भएकाले अधिकांश आईटी कम्पनीहरूले ‘फ्रिलान्सर’हरूलाई नै करारमा काम लगाउने गरेको उनको बुझाइ छ । सरकारले पनि हाल फ्रिलान्स काम गर्नेहरूलाई सहजीकरण गर्ने नीति लिएको हुँदा यसमा आईटी जनशक्तिको आकर्षण बढेको गौरवले बताए । ‘त्यसले गर्दा पनि हामीले आफ्नो वर्किङ मेथडोलोजी फेर्नुपर्ने अवस्था आएको हो,’ उनले भने, ‘विदेशबाट आउने काम गर्दा ५ प्रतिशत मात्रै कर लाग्छ । यसले सबैको रुचि त्यतैतिर छ ।’ सधैं काम पाउने सुनिश्चितता नहुनु, काम गरेपछि कहिलेकाहीं पारिश्रमिक नपाउने जस्ता समस्या यस क्षेत्रका चुनौती रहेको उनले बताए ।

सन् २०२१ को फेब्रुअरीमा अमेरिकाको नेसनल मेडिसिन इन्स्टिच्युटले फर्च्युन– ५०० सूचीसहित झन्डै ७१५ कम्पनीका ३० लाख व्यक्तिमाझ गरेको एक अध्ययनले पनि कार्यालय धाउनु नपर्ने प्रकृतिका कामले व्यक्तिहरूको व्यावसायिकतामा झन्डै ६ प्रतिशत वृद्धि भएको देखाएको थियो । त्यसयताका दिनमा काम र व्यक्तिगत जीवन बीचको सन्तुलन, कार्यालयले दिने थकान, आफ्नो व्यावसायिक जीवनमा कार्यालयमै नियमित हाजिर गरेर सानातिना कामका लागि खेप्नुपर्ने झन्झटको साटो स्वतन्त्रतापूर्वक छनोटको शैलीमा काम फत्ते गर्ने किसिमको विकल्प खोज्ने प्रचलन अत्यधिक बढेको पाउन सकिन्छ ।

अर्बपति इलन मस्कको एक्ससँगै केही ठूला टेक कम्पनीले कार्यालयमै आएर काम गर्नुपर्ने नियम लगाए पनि विश्वका विभिन्न चलेका कम्पनी र त्यसका प्रमुखहरूले खुला रूपमै कार्यालय धाउनुको साटो प्रोजेक्टमा आधारित घरबाटै वा मिश्रित शैलीको कार्यशैलीको वकालत गर्दै आएका छन् । एप्पलमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख टिम कुकले आफ्नो कम्पनीले कोभिडका बेला ‘वर्क फ्रम होम’ गर्दा सफलताका मानकलाई निरन्तरता दिन सके पनि एकअर्काको साथ र मित्रताको अभाव महसुस भएको टिप्पणी गरेका थिए । त्यसयता एप्पलले सोमबार, मंगलबार र बिहीबार कार्यालय आउनुपर्ने र बुधबार र शुक्रबार भने घरबाटै काम गर्न मिल्ने नीति लिएको छ । अल्फाबेट (गुगल) का प्रमुख सुन्दर पिचाइले पनि हप्ताको ५ मध्ये ३ दिन कार्यालय आउनुपर्ने र बाँकी २ दिन आफूलाई जहाँ सजिलो हुन्छ, त्यहाँबाट काम गर्न मिल्ने मिश्रित प्रणाली लागू गरेका छन् । अल्फाबेटका कतिपय पदहरू अहिले पनि पूर्णतया घरबाटै गर्न मिल्ने प्रकृतिका छन् ।

सन् २०२४ मा पनि ड्रपबक्स, स्क्वायर, अपस्टार्ट, ब्ल्याक बड, एट्लासियनजस्ता सिलिकन भ्याली कम्पनीहरूले आफ्ना कर्मचारीलाई पूर्ण रूपमा आफूले चाहेको स्थानबाट काम गर्न मिल्ने सुविधा दिएका छन् । माइक्रोसफ्ट, सेल्सफोर्स, एनभिडिया, शपिफाइ जस्ता ठूला कम्पनीले मिश्रित शैलीको कार्यालय प्रणाली अपनाएका छन् भने स्पेस एक्स, टेस्ला, मेटा, ओर्‍याकल, सिस्कोजस्ता कम्पनीहरूले कर्मचारीहरूलाई पूर्णरूपमा कार्यालय आउनुपर्ने नियम लगाएका छन् ।

नेपालमा पनि सकेसम्म रिमोट काम गर्न मिल्ने विकल्प खोज्ने जनशक्तिको जमात बढ्दै गएको बुझाइ छ, युवा अर्थशास्त्री निशान्त खनालको । आफूले सन् २०१८ यता नै रिमोट शैलीका कामहरू गर्दै आइरहेको बताउने खनाल आफ्नो समय र स्थानमा कार्यालयको झन्झटबिनै काम गर्न पाउँदा सहज र स्वच्छन्द महसुस हुने प्रतिक्रिया दिन्छन् । ‘कोभिडभन्दा अगाडि नै नेपाल बाहिरका कम्पनीहरूसँग काम गर्न सुरु गरेकाले महामारी आउँदासम्म म यो शैलीमा अभ्यस्त भइसकेको थिएँ, पछि पढ्नका लागि सिंगापुर पुगेपछि रिमोट र कन्सल्टेन्सी शैलीका काम अझै थपिए,’ उनी भन्छन्, ‘९ देखि ५ बजेसम्म काम गर्न मन नलागे पनि बस्नैपर्ने र अफिस जाँदा–आउँदा ट्राफिक जामको हैरानी, कामभन्दा बढी समय कुराकानी र भेटघाटमा सकिने भएकाले मलाई पूर्ण रूपमा कार्यालयमै बस्नुपर्ने कामले त्यति तान्न सकेको छैन ।’

आर्थिक क्षेत्रको सोध, अनुसन्धान र विश्लेषणको काम गर्ने खनाल कुनै कार्यालयमा आबद्ध भएर भन्दा ‘फ्रिलान्सर’का रूपमा काम गर्न आफूलाई बढी रमाइलो लाग्ने बताउँछन् । ‘फ्रिलान्सिङ’ गर्दा एकैपटक विभिन्न प्रोजेक्टमा काम गर्न मिल्ने र हाल तीनवटा प्रोजेक्टका काम गरिरहेको उनले जानकारी दिए । बिहान घरबाटै एउटा, दिउँसो क्याफे वा ‘को–वर्किङ स्पेस’मा गएर अर्को र साँझको समय तेस्रो प्रोजेक्टलाई उनले छुट्याएका रहेछन् । यो शैलीको स्वतन्त्रले आफ्नो सिर्जनात्मकता र कामको गति बढेको उनले महसुस गरेका छन् ।

बदलिँदो कार्यशैली संस्कृतिमाथि मध्यनजर गर्दै नयाँ पुस्ताका र विशेषगरी टेक कम्पनीले ‘टाइम–बेस्ड’ अर्थात् कार्यालयमा बिताउने समय अवधिभन्दा पनि ‘डेलिभरी–बेस्ड’ (काम फत्ते गर्ने पक्ष) लाई प्राथमिकतामा राख्न थालेको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज् (नास–आईटी) का कोषाध्यक्ष अभय पौडेलको विश्लेषण छ । ‘कम्पनीहरूले प्रस्ट रूपमा दुवैथरी कर्मचारी राख्न थालेका छन्, एकथरी नियमित कार्यालय जाने र ४० घण्टा काम गर्ने हुन्छन् भने अर्कोथरी ४० घण्टा बराबरको काम आफ्नै समय र स्थानबाट गर्ने हुन्छन्, काम खोज्नेहरूले पनि त्यस्तै रुचाउन थालेका छन्,’ उनी भन्छन्, ‘अहिले धेरै कामहरूको डिजाइन नै फ्रिलान्सरले गर्न मिल्ने र कार्यालय आइराख्न नपर्ने गरी गर्न थालिएको छ । संवेदनशील र व्यक्तिगत रूपमै भेटेर गर्नुपर्ने काममा कर्मचारी नियुक्त गर्ने र बाँकी काम फ्रिलान्सर र रिमोट कर्मचारीलाई दिने चलन बढ्दो छ ।’

नेपालमा कर्मचारी छनोट र वृत्ति विकासका काम डिजिटाइज हुने क्रम बढ्दो रहेको अनुभव सुनाउने पौडेल नेपालका प्रविधि कम्पनीहरूमा व्यावसायिक र प्राविधिक कर्मचारीहरू औसतमा ३ वर्ष मात्रै टिक्ने गरेको दाबी गर्छन् । स्थायी तरिकाको भन्दा पनि आफ्नो रुचि र शैली मिल्दो काम खोज्नेहरू बढेको उनको बुझाइ छ । बारम्बार समस्यामा पर्दै आएको नेपाली अर्थतन्त्रलाई कोभिड महामारीले थप सुस्त बनाए पनि रिमोट वा घरबाटै काम गर्न मिल्ने शैलीलाई सामान्यीकरण गर्न यसले प्रमुख भूमिका खेलेको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।

आईटीसम्बन्धी सेवा र कर्मचारीका लागि प्रख्यात भारतमा सन् २०२३ सम्ममा कुल जनशक्तिको १२.७ प्रतिशतले पूर्ण रूपमा रिमोट र झन्डै २८ प्रतिशतले मिश्रित शैलीको काम गर्ने गरेको प्रतिवेदनहरू सार्वजनिक भएका छन् । सन् २०२५ को अन्त्यसम्ममा लगभग २२ प्रतिशत जनशक्तिले रिमोट काम गर्ने फोर्ब्सको प्रक्षेपण छ । झन्डै ५९ करोड जनशक्ति रहेको मानिने भारतमा सन् २०२५ सम्ममा झन्डै ९ करोड जनशक्तिले कार्यालय नै नगई काम गर्न सक्ने अवस्था सिर्जना हुने अध्ययनको दाबी छ । फोर्ब्सकै अध्ययनमा सहभागीमध्ये लगभग ९८ प्रतिशतले आफूहरू रिमोट वा मिश्रित शैलीको काम गर्न उत्सुक रहेको बताएका थिए । भारतकै आँकडा हेर्दा लगभग १६ प्रतिशत आईटी कम्पनीहरू पूर्ण रूपमा रिमोट रहेको र मार्केटिङ, कर्मचारी उपलब्ध गराउने, चिकित्सा तथा स्वास्थ्य, लेखापढी तथा वित्तीय, ग्राहक सेवा क्षेत्रका कयौं कम्पनीले रिमोट शैलीका कर्मचारी बढाउँदै लगेको अध्ययनले देखाएका छन् ।

नेपालमा पनि कार्यशैलीको नयाँ ट्रेन्डभित्रै पर्ने अनलाइन माध्यमबाट पदपूर्तिको प्रक्रिया आफूहरूले लागू गरिसकेको लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी बताउँछन् । ‘वर्क फ्रम होम’जस्ता सुविधा भने सरकारी सेवामा त्यति व्यापक नभएको र गोपनीयता, संवेदनशीलता लगायतका कारण कार्यालयका विवरण घर लैजान वा कम्प्युटरमा घरबाट हेर्नसमेत सुरक्षित नहुने भएकाले सार्वजनिक सेवालाई ‘फ्लेक्जिबल’ बनाइहाल्न नमिल्ने उनले स्पष्ट पारे । ‘आयोगका सबै प्रणाली अनलाइन छन्– फर्म भर्ने, शुल्क भुक्तानी गर्ने सबै अनलाइनबाटै गर्न मिल्छ,’ उनले भने, ‘परीक्षामा उत्तीर्ण भएपछि बल्ल आयोगमा आउँदा हुन्छ ।’ सरकारी निकायहरूमा पनि महालेखा नियन्त्रकको कार्यालयअन्तर्गतको कोष तथा लेखा नियन्त्रक कार्यालयले ‘वर्क–फ्रम होम’ संस्कृति अवलम्बन गरेको छ । यहाँका कर्मचारीहरू कार्यालय गइरहनु पर्दैन, बलियो सूचना प्रविधि प्रणाली र इन्टरनेट सेवाका कारण घरबाटै काम गर्न सक्ने अवस्था सिर्जना गरिएको छ ।

रोजगारी बजारका यस्तै नयाँ आयाम र प्रवृत्तिहरू पहिचान गरेर नीति निर्माताले विद्यमान कानुन परिमार्जन र नयाँ कानुन निर्माणमा चासो देखाउनुपर्ने सरोकारवालाको सुझाव छ । सरकारले ‘फ्रिलान्सिङ’ गर्नेलाई ध्यानमा राखेर काठमाडौंका दुई ठाउँ र सातै प्रदेशमा सूचना प्रविधि ‘वर्क स्टेसन’, अत्याधुनिक सूचना प्रविधि पार्क र सूचना प्रविधि हब स्थापना गर्ने विषय चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका छन् । आईटी पार्कमा तीन वर्षका लागि ‘वर्क स्टेसन’ सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने भनिएको छ ।

रोजगारी बजारका नयाँ प्रवृत्ति सम्बोधन बजेटमा गरिने व्यवस्था मात्रै पर्याप्त नहुने सरोकारवालाको राय छ । यसका लागि समयसाक्षेप श्रम कानुन बनाउनुका साथै विद्यमान कानुनहरू परिमार्जनका लागि पनि पहल गर्नुपर्ने काठमाडौंमा डेढ दशकदेखि अनलाइन फुड डेलिभरी कम्पनी ‘फुडमान्डु’ सञ्चालन गरिरहेका मनोहर अधिकारीको सुझाव छ । उनका अनुसार, पछिल्लो समय छोटो अवधिका लागि काम गर्ने प्रवृत्ति बढिरहेकाले यो विषयलाई ध्यानमा राखेर व्यावहारिक किसिमका प्रावधानसहितको कानुनी व्यवस्था लागू गर्नुपर्ने बेला आएको छ ।

छोटो अवधिका लागि काम गर्ने कर्मचारीलाई सामाजिक सुरक्षा कोषजस्ता सुविधामा संलग्न गराउँदा ती कर्मचारीले कोषको रकम आफ्नै हो भन्ने महसुससमेत गर्न नपाएको मनोहर बताउँछन्  । ‘हाम्रा प्रायः कर्मचारी लामो अवधिका लागि काम गर्न आउँदैनन्, एक हप्ता वा एक/दुई महिना जागिर गरेर छोड्छन्, उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुको अर्थ छैन तर नगरी पनि भएन,’ उनले भने, ‘आबद्ध गरेपछि रकम जम्मा हुन्छ, जुन उनीहरूले ६० वर्षपछि मात्र झिक्न पाउँछन् । दुई महिना काम गर्नुपर्नेछ, कम्पनीले पैसा दिएको छ तर ६० वर्षपछि आउने भएकाले उनीहरूलाई त्यो पैसा पाएको महसुस भइरहेको छैन । यस्ता विषयको व्यावहारिक हल खोज्न आवश्यक छ ।’

प्रकाशित : श्रावण १२, २०८१ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×