कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

तीजले छरेको खुसियाली

भाद्र २३, २०८१

नेपालका ठूला सहरदेखि दूरदराजका गाउँसम्म हरितालिका तीजको उल्लास सकिएको छ । हिन्दु महिलासँग जोडिएको भए पनि कतिपय स्थानमा अन्य धर्मावलम्बीले समेत यो चाड मनाउने गरेका छन् ।

आर्थिक क्षमताअनुसार विभिन्न स्थानमा जम्मा भएर दर खाने, नाचगान, भेटघाट, ख्यालठट्टा, भलाकुसारीमा रमाउने प्रचलनका कारण आत्मीयता, सामाजिक सद्भाव बढेको देख्न सकिन्छ । कतिपय ठाउँमा भने महिला, किशोरीहरू मौलिक परम्परा, संस्कारजन्य गीतसंगीतलाई लत्याएर पश्चिमी शैलीमा उफ्रने, डिस्को डान्समा रमाउने विकृति पनि देखियो । तथापि सरोकारवाला सतर्क भएमा यस्ता छिटफुट खराब गतिविधिलाई न्यून पार्न पनि सकिन्छ ।

२०–३० वर्षअघिसम्मका गीतमा माइत जान नपाउँदा महिलामा मानसिक पीडा बढ्थ्यो । यसै परिस्थितिसँग जोडिएका विरहका गीतलाई तीजमा प्राथमिकता दिइन्थ्यो । हिजोआज भने महिला शिक्षित र सबल बन्दै गएका कारण ‘तीजको लहर आयो बरिलै’ जस्ता रोमाञ्चक, ऊर्जामिश्रित गीतले प्राथमिकता पाउने गरेका छन् । विभिन्न पेसा व्यवसायमा व्यस्त रहेका दिदीबहिनीहरूलाई एक दिन भए पनि नाचगानले शारीरिक र मानसिक बोझ हल्का बनाउन मद्दत गर्छ । समाज, परिवारका अन्य सदस्यलाई यसै पनि गीत/संगीतले सकारात्मक प्रभाव पार्छ । शरीरमा ऊर्जा थप्छ । तीज सुरु हुनुअघि साउन महिनाभर महिलाहरू शिवपूजा, आराधनाको क्रममा हरियो सारी, हरियै चुरापोतेमा सजिएका थिए । भदौको सुरुवातदेखि नै तीजको रौनकले उनीहरूमा थप खुसियाली थपिदियो । जसरी छठ, गौरा पर्वहरू देशव्यापी बन्दै गएका छन्, त्यसैगरी तीजलाई पनि सकारात्मक सन्देश फैलाउने पर्वका रूपमा मनाउनुपर्छ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : भाद्र २३, २०८१ ०७:०४
×