कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

गिजोलिएको उपसभामुख प्रकरण

भाद्र ३१, २०८१

साउनको पहिलो सातातिरै विवादमा आएर सामसुम भएको उपसभामुख प्रकरण पुनः सतहमा आएको छ । यसले सत्तापक्ष र प्रतिपक्षबीच फेरि एक पटक राम्रै माथापच्ची चल्ने देखिन्छ, मंगलबारको प्रतिनिधिसभा बैठकमा त्यसको सुरुवात भइसकेको छ । जे जसरी गरेको भए पनि उपसभामुख इन्दिरा रानाले गरेको गल्ती गल्ती नै हो । यसलाई सामान्य गल्तीका रूपमा मात्र नभएर मानव बेचबिखनजत्तिकै गम्भीर खालको गल्तीका रूपमा लिन सकिन्छ । न त आफूसँग कुनै साइनो भएका, न संसद्सँग आबद्ध, न त आफू संलग्न कार्यक्रममा उनीहरूलाई सहभागी गराउनुपर्ने कुनै बाध्यता । त्यस्ता अपरिचित व्यक्तिलाई अमेरिका लैजानका लागि उदार भावनाका कारणले मात्रै उनले सहयोग गर्न खोजेकी थिइन् होला त ? यसमा पनि प्रश्न उब्जिन्छ ।

अर्कोतिर उनले आफूसँगै अमेरिका लैजानका लागि अन्तर्वार्ताको मिति चाँडै मिलाइदिन भन्दै पत्र लेखिएका व्यक्तिहरू न केही पीडामा परेका थिए न त कुनै फन्दामा फसेका थिए । उनीहरूलाई उपसभामुखको सोर्सफोर्स लगाई–लगाई अमेरिका लैजानुपर्ने कुनै कारण पनि देखिँदैन । यसले गर्दा पनि उनीहरूमाथि दयामाया देखाउनुपर्ने कुनै अवस्था रहन्न । जानेर वा नजानेर उपसभामुखले गरेको कार्यले उनलाई पदमा बस्न दिँदैन नै तथापि सत्तारूढ दलले अहिले जुन खालको बेमौसमी बाजा बजाइरहेका छन्, त्यो शोभनीय हो भन्ने लाग्दैन ।

जुनबेला यो प्रकरण उब्जिएको थियो यसको किनारा त्यतिबेलै लगाउनुपर्ने थियो । त्यतिबेला गिजोलेर छाडेको विषयलाई अहिले बिनासन्दर्भ एकाएक उठाउँदा प्रतिपक्षी दलले लगाएको आरोपलाई पनि नकार्न सकिँदैन । उपसभामुख आफूले कुनै स्वार्थका कारण नभई उदार मनोभावनाका कारण मात्र पत्र लेखेको भन्ने कुरालाई आधार मान्ने हो भने उनमा आफूले सम्हालेको पद र संसदीय मर्यादाको ज्ञान नभएको भनेर बुझ्न सकिन्छ । उपसभामुखजस्तो पदमा बस्नेले त यति कुराको हेक्का राख्न सक्दैनन् भने अन्य समानुपातिक प्रक्रियाबाटै आएका अन्य माननीयहरूको के कुरा गर्ने ?
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : भाद्र ३१, २०८१ ०७:४१
x
×