कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

नियुक्तिको छद्म युद्ध र दुष्प्रभाव

आश्विन १, २०८१

कान्तिपुरमा सोमबार प्रकाशित ‘आकर्षक नियुक्तिको छद्म युद्ध’ शीर्षकको अच्युत वाग्लेको लेखले हाम्रो व्यवस्थापन प्रणालीको बृहत् विश्लेषण गरेको छ । यसमा नेपालको संस्थागत व्यवस्था र सार्वजनिक नियुक्ति प्रक्रियामा विद्यमान गम्भीर समस्या उजागर गरिएको छ । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पदको रिक्तताले हाम्रो पुँजी बजारमा स्थिरता र नियमितता कायम राख्ने चुनौती खडा भएको छ ।

नियुक्ति प्रक्रियामा आश्चर्यजनक ढिलाइ हुँदा सेयर बजारको अनियमित उतारचढावका समस्या साँच्चै गम्भीर बनेका छन् । यसले नियुक्ति प्रक्रिया केवल कानुनी रूपमा सही हुनु मात्र समाधान होइन, समयमै पूरा गर्नु पनि त्यत्तिकै महत्त्वपूर्ण छ । वाग्लेले लेखमा उदाहरणका रूपमा प्रस्तुत गरेको जिम्बावेका राष्ट्रपति मुगाबेले चिट्ठा जित्नुभएको प्रसंग नेपालको वर्तमान परिप्रेक्ष्यसँग तुलनात्मक विश्लेषण गर्ने एक शक्तिशाली दृष्टान्त हो । यसले संस्थागत क्षयीकरण र भ्रष्टाचार बढाउँछ भन्ने प्रमाण हाम्रो देशमा पनि प्रमाणित तथ्यका रूपमा अगाडि आउन थालेको छ ।

नेपालको सन्दर्भमा, ‘आकर्षक’ नियुक्तिको अर्थ राजनीतिक स्वार्थ र चासोका आधारमा प्रक्रिया चयन गरिनु हो । यसका कारण योग्य र इमानदार व्यक्ति नियुक्ति प्रक्रियामा सहभागी हुन नचाहनु र संस्थागत क्षयीकरणलाई तीव्र पार्नुको अर्को कारण बन्ने खतरा देखिएको छ । यस्तो परिस्थितिले हामीलाई प्रश्न गर्न बाध्य बनाउँछ– हामीलाई चाहिने परिवर्तन के हो र यसलाई कसरी प्राप्त गर्न सकिन्छ ? अतः सरकार र राजनीतिक दलले नियुक्ति प्रक्रिया सुधार्नु आवश्यक छ ।

केवल प्रचारात्मक प्रक्रियाको नाममा अभिलेख राख्नका लाागि मात्र यस्तो प्रक्रिया अपनाउनुको खासै अर्थ छैन । बरू त्यसले नियुक्ति प्रक्रियालाई प्रक्रियागत झन्झट थपेर अनावश्यक रूपमा लम्ब्याउन खोजिएको हो कि भन्ने आभास हुन थालेको छ । वाग्लेको लेखले हरेक सचेत नागरिकले प्रश्न उठाएर प्रणालीलाई सुधार्नका लागि क्रियाशील रहन प्रेरित गरेको महसुस भएको छ ।
– टेकेन्द्र अधिकारी, विराटनगर

प्रकाशित : आश्विन १, २०८१ ०८:१२
x
×