कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

खुट्टा नकमाई दोषीलाई कारबाही होस्

आश्विन २, २०८१

सहकारीमा जम्मा भएको जनताको पैसा अपचलन गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा आउनैपर्छ । अहिले पनि कतिपय सहकारीका मालिक सहकारीको पैसाबाट पार्टी प्यालेस खोल्ने, जग्गा वा सेयरमा लगानी गर्ने गरिरहेका छन् । हिजोसम्म मेरो केही दोष छैन भनिरहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषी देखिएका छन् ।

संसदीय विशेष छानबिन समितिले पाँच सहकारीको ६५ करोड ५४ लाख बचत गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको निष्कर्षसहित कम्पनीका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालक छविलाल जोशी र कुमार रम्तेलमाथि कारबाहीको सिफारिस गरेको छ । अब हेरौं, गृहमन्त्रीले कारबाही गर्ने आँट देखाउँछन् कि देखाउँदैनन् ।

हिजो जनताले विश्वास गरेका रविको छवि एकाएक धमिलिएको छ । ठगी अभियोग लागेका रवि अब रास्वपाका सभापति रहलान् या पार्टीले उनलाई कारबाही गर्ला, त्यो हेर्न बाँकी छ । जनताले वैकल्पिक पार्टीका रूपमा रास्वपालाई हेरेका थिए । संसदीय निर्वाचनका बेला २१ सिट जितेर चौथो ठूलो दल बन्न सफल भएको रास्वपाको आगामी निर्वाचनमा जनताले के भनेर विश्वास गर्लान् ?

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने रविले अब आफूलाई कारबाही गर्नुपर्छ भन्न सक्लान् या अन्य कुनै चाल चाल्ने हुन् । सानालाई ऐन ठूलालाई चैन नहोस् । अपराध गरेपछि जो भए पनि कारबाहीको दायरामा आउनैपर्छ । रवि लामिछाने, छवि जोशी र जीबी राई मात्र होइन अन्य दोषीले पनि सजाय पाउनैपर्छ । विधिको शासन, कानुनी राजको प्रत्याभूति दिलाउन सरकार अग्रसर बन्नुपर्छ । जनतामा छाएको नैराश्य हटाउने समय आएको छ । खुट्टा नकमाई दोषीलाई कारबाही होस् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन २, २०८१ ०७:२०
x
×