कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

सहकारी ठगीमा असमान व्यवहार

आश्विन १, २०८१
सहकारी ठगीमा असमान व्यवहार

सहकारी ठगीमा नेताका लागि एउटा नियम र व्यवहार अनि जनताका लागि अर्को हुन्छ र ? सहकारी अपचलनमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको हकमा किन फरक व्यवहार गरियो ? पीडितहरूले नामै किटानी गरी उजुरी दिँदा प्रदेश सरकारले उनीहरूको नामै हटाएर प्रहरीकहाँ पत्राचार गरेछ । उनीहरूको नाम जाहेरीबाट हटाउने काम कसले गरेको हो ? कसको निर्देशनबाट त्यस्तो गरियो ?

यसबारे सूर्य थापा नेतृत्वमा गठित संसदीय छानबिन समितिले थप अनुसन्धान गरी नाम हटाउनेमाथि कडा कारबाही सिफारिस गर्नुपर्छ । राज्यको विधि र नियम सबैलाई उस्तै हुनुपर्छ । अहिले सत्तारूढ नेताहरूलाई बचाउन खोजिएको छ । सत्तामा बस्नेहरूले विपक्षमा बस्ने पार्टीका नेतालाई पूर्वाग्रह राख्न पनि मिल्दैन । उस्तै प्रकृतिको केसमा रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरी अनुसन्धान गर्न हुने, छानबिन समिति बन्ने अनि धनराज गुरुङ र अञ्जला कोइरालामाथि गर्न नहुने ? यो कस्तो असमान व्यवहार हो सरकार ?

यस्तै, सम्बन्धविच्छेदलाई ठगीको माध्यम बनाउने प्रवृत्ति पनि बढ्दै गएको देखिन्छ । पहिले ठगी गरी अकुत सम्पत्ति कमाउने अनि त्यो सम्पत्ति पत्नीको नाममा नामसारी गरेर कानुनबाट बच्न नक्कली सम्बन्धविच्छेदको नाटक रच्ने कार्यलाई कानुनबाटै निरुत्साहित गर्नु आवश्यक छ । अन्यथा ठगी र भ्रष्ट प्रवृत्ति रोकिने छैन । यस्तो नक्कली काम पहिला पहिला कर्मचारी र नेताहरूले धेरै गर्थे अहिले आएर सहकारी सञ्चालकहरूमा सरेको छ । श्रीमती र आफन्तहरूका नाउँमा कुन स्रोतबाट अकुत सम्पत्ति आयो, त्यसको अनुसन्धान गरी सम्पूर्ण सम्पत्ति जफत गर्नुपर्छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

प्रकाशित : आश्विन १, २०८१ ०८:१५
x
×